चीनका राष्ट्रपतिलाई पन्तको खुल्ला पत्र

काठमाडौं (पहिचान) जेठ ११ – चीनमा अझै समलिंगी तेस्रोलिंगीलाई विरामीको रुपमा उपचार गर्ने प्रयास भइरहेकोमा नेपालका समलिंगी तेस्रोलिंगीले आपत्ती जनाएका छन् । चीनका राष्ट्रपति सि जिन पिङलाई खुल्ला पत्र लेखेर समलिंगी तेस्रोलिंगीलाई विरामीको रुपमा उपचार गर्ने प्रयास भइरहेको आपत्ती जनाएका हुन् । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा समलैङगिकतालाई मानसिक रोगको सुचीबाट हटाए पनि चीनले यसलाई अझै बिरामीको रुपमा उपचार गर्ने प्रयास गर्नु गलत भएको पन्तले उल्लेख गरेका छन् ।

संसार कै ठुलो शक्तिको रुपमा फैलदै गरेको चीनले समलिंगी तेस्रोलिंगीको अधिकार र समानताका लागि काम गर्नु पर्ने बताउँदै पन्तले चीनमा हुने गरेको गलत प्रयोगमा आपत्ती जनाएका हुन् । चीनमा अझै पनि समलैङ्गिकतालाई धेरै डाक्टर र स्वास्थ्य केन्द्रले परामर्श दिनेदेखि लिएर विद्युतिय झड्काको प्रयोगले निको पार्ने कोसिस गर्छन ।

समलैङगिकता रोग नभएकाले बेकारको उपचारले समलिंगी तेस्रोलिंगीको अधिकार खोस्ने पन्तले बताएका छन् । चीनले यस्ता कार्यलाई छिटो रोकेर उनीहरुको अधिकार सरक्षित गर्नु पर्नेमा जोड दिदैं आवश्यक परे नेपालका समलिंगी तेस्रोलिंगीको मातृ संस्था नील हिरा समाजले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।