पृथक यौन पहिचान बोकेको नितान्त एक्लो व्याक्ति


विश्वराज अधिकारी /पहिचान -आम मानिस सोच्ने गर्छन समलिंगि सम्बन्ध कस्तो होला भनेर ? मनभरी जिज्ञासाको तिल जौ पकाएर सत्य तथ्य बुझ्ने प्रयास भन्दा नकारात्मक कल्पनातीत तथ्यको महल बनाएर त्यही भ्रमको विउ समाजभरी छर्छन् । अनि बहुसंख्यकहरुले छरेको यो विउ सिस्नोले आफ्नो सीमा बढाएझै झाँगिदै जान्छ । यस्तै भएको छ यहाँ । यसरी नै बाचेको छ यो समाज । यौनिक अल्पसंख्यकको अस्तित्व अप्राकृतिक सावित गर्न गराउन बहुसंख्यक भनिएका केही व्यक्तिहरु आफुमात्र समाजको सर्वस्व हो, आफुमात्र समाजमा सही हो, आफ्नो मात्र समाजमा राज हुनुपर्छ भन्ने घमण्डी मानसिकता बोकेर हिडेका छन् ।

यहि घमण्डलाई तोड्न, यो भ्रमलाई चिर्न अब यौनिक अल्पसंख्यक पनि बोल्ने बेला आईसकेको छ । जब थिचोमिचो हुन्छ, जब एकले अर्कालाई विभेद गर्छ । त्यहाँ हुन्छ विद्रोह । त्यहाँ हुन्छ क्रान्ति । हो त्यही क्रान्ति गर्ने बेलामा छौ हामी । जरुर हाम्रो क्रान्ति हिंसात्मक छैन । हुदैन पनि । हामी त हृदयको सम्मान गर्छा । प्रत्येक मनहरुलाई सम्मान गछौ । हरेक पृथक मनहरुको पुजा गछौ । त्यसैले हाम्रो क्रान्ति मायाको लागि हो । मायाको सम्मानको लागि हो ।

यसलाई बुझाउन यो समाजका बहुसंख्यक व्यक्ति जसमा समलिंगिप्रतिको भ्रमको जालोले आखाँ टालिएको छ तिनीहरुको जालो निकाल्न क्रान्ति गर्नैपर्छ । हो अनि त्यो जरुरी पनि छ । हरेक नयाँ परिवर्तनका लागि गरिने क्रान्ति आज म गर्दैछु । हो एउटा ठुलै हिम्मत सगाँलेर आज मैले मेरो आत्मअनुभुतिहरु रेडियो कार्यक्रम मार्फत पोखिरहेको छु । समलिंगि सम्बन्ध कस्तो हन्छ भन्ने जिज्ञासा भएकाहरुका लागि यो मेरो अनुभुति प्रतिउत्तर हुा
मेरो जन्मपछिको शरिरीक तथा मानसिक बृद्धि विकास स्वभाविक रुपमा हुँदै थियो । तेह्र, चौध बर्षको उमेरमा जव मेरो जुँगाको रेखी बस्न थाल्यो, स्वर बिस्तारै धोद्रो हुन थाल्यो तब मलाई पहिलो पटक आफू किशोराबस्थामा प्रवेश गरेको अनुभुती भयो । यौनजन्य भावनात्मक छालहरु मेरो मन मस्तिकमा छचल्कीन थाली सकेका थिए । किशोराबस्था , अल्लारे उमेर जिस्कँदा जिस्कँदै एक जना केटा साथी सँगै पन्ध्र बर्षको उमेरमा यौन समागमका अभ्यासहरु गर्न पुगें । हामी दुवै असाध्यै मिल्थ्यौ अनि केटाकेटी झै यौन आलिङ्गनमा आबद्ध हुन्थ्यौं । जब सत्र बर्षको उमेरमा कलेज छिरे म मा विचीत्र परिर्वतन भएको अनुभुत गरे ।

कति साथीहरु केटी साथीहरुको फरक फरक ढंगले प्रशंसा गर्दर्थे । उनिहरुका सुन्दरतामा मोहित हुन्थे । एकै मुस्कानमा सम्मोहित हुन्थे । अनि कर्के नजरको एकै हेराइले भुतुक्क हुन्थे तर मलाई कुनै केटी साथीहरुको सुन्दरताले लोभ्याएन । मुस्कानले आकर्षित गर्न सकेन न त हेराईले नै घाइते बनायो । बरु मलाई त राम्रा केटासाथीहरु देख्दा निकट हुन मन लाग्ने, उनिहरुसँगको निकटतामा आत्मियताको अनुभुती हुने, उनीहरुकै आकर्षणले आकर्षित गर्न थाल्यो । यस्तै भावनात्मक उथलपुथलताका बिच कक्षा बाह्र पास गरिसकेको थिए ।
म उन्नाइस बर्षकै उमेरमा हेटौडाको एक एफ.एम. स्टेशनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्दथे । त्यही एफ.एम. मा एउटा जिंगल बज्यो sexual and gender minority को । त्यसपछि म जिल्ला प्रशासन कार्यालय हेटौडामा दर्ता भई निलहिरा समाजको शाखाको रुपमा क्रियाशिल फ्रैन्डस हेटौडा मा परमर्श लिन पुगे । तब मलाई मेरो यौनिकताको बारेमा जानकारी भयो । पन्ध्र बर्षकै उमेरमा केटासाथी सँगको मेरो सहवास अल्लारे पनको उछृल्खलता नभएर शारिरिक मानसिक र भावनात्मक आर्कषण पो रहेछ । वास्तवमा मेरो यौनिकता समलैङ्गिकता रहेछ । त्यसपछि म लामो निन्द्राबाछि झल्याँस्स ब्यूँझिए झै ब्युझिँन पुगे ।
त्यसपछि म सोचमग्न भएँ । भित्र भित्रै उकुस मुकुस हुन थाल्यो । म भित्र एक किसिमको छटपटाहट शुरु भयो । विस्तारै साथीहरुको विचमा मजाकको बिषय बने । समाजलाई परिर्वतन गर्ने सरकारको चौथो अंग पत्रकारिता अन्तर्गत संचार गृहको छानामुनी म हाँसोको पात्र बन्न थाले । विस्तारै मलाई अछुतको व्यवहार गरिन थाल्यो । मलाई “एलियन” को रुपमा हेरीन थाल्यो । एकातिर म स्वयममा प्राकृतिक रुपमा उत्पन्न फरक खालको यौनिकताको कारण एक किसिमको मानसिक अन्तरद्वन्द भइ रहेको थियो भने अर्को तर्फ साथीहरुका कारण तनाब व्यवस्थापन गर्न झन् झन् कठीनाई भईरहेको थियो ।

विपरित लिङ्गीबाद हाम्रो समाज र हाम्रो अस्तित्व सापेक्ष मेरो यौनिकता थिएन जसले मेरो मानसिकता उथल पुथल गराइदियो । विस्तारै एफ.एम स्टेशनलाई मैले अतितका कुनै दिनहरुमा काम गर्ने थलोमा रुपान्तरण गर्दै फ्रैण्डस् हेटौडा मै साथी शिक्षकको रुपमा काम गर्न थाले । तै पनि मेरो मन बेचैन थियो । सोचाइका श्रृंखला एक पछि अर्को मडारीरहेको हुन्थ्यो । मेरो मानसिकतामा बादल मडारिन्थ्यो, मेघ गर्जन्थ्यो अनि ज्वालामुखी बिस्फोट भएझै अनेकै भावनाहरु बिस्फोट हुन पुग्थे । शायद यस्तै मानसिक अन्तरद्वन्दको कारण अथवा सामाजिक सोच र आकाक्षा भन्दा बिल्कुलै फरक यौनिकता भएकै कारण म उदासिनता (डिप्रेसन) को रोगी बन्न पुगे । अस्पताल भर्ना भएँ, औषधी खाएँ र निरन्तर चार बर्षको उपचार पछि बल्ल म आफुले बिस्तारै आफुलाई सम्हाल्न थाले ।
भावनात्मक उथलपुथलका कारण छिन्न भिन्न भएका मनहरु बिस्तारै संगठित हुँदै गए । अनि मनलाई बुझाउन सक्नु पनि ठुलै सफलता हो । म पनि त्यो सफलता प्राप्तिका लागि हिडे । बिस्तारै मेरो मन दह्रो हुन थाल्यो । मैले आफ्नो यौनिकतालाई पहिचान गदै गएँ । केही साथीहरुको सहयोगले मेरो गुमेको आत्मबल विस्तारै सक्रिय भएर आउन थाल्यो । आम मानिसको अपेक्षा भन्दा पृथक यौन व्यवहार मलाई प्रकृतिले दिएको छुट्टै र विशिष्ट उपहार थियो भन्ने कुरा मैले अनुभूत गर्न थाले । म पृथक यौन पहिचान बोकेको नितान्त एक्लो व्याक्ति पनि थिइन । समलैङ्गिकता यौनिकता म मा मात्र होइन फरक खाले यौनिकता भएका झण्डै दश प्रतिशत मानवहरु छन् जसमध्ये म मा प्रकृतिले पुरुष पुरुष बिचको समलैङ्गीकता यौनिकता दिएको थियो ।

स्पेनमा गरिएको एक अध्ययनले यस्तो यौन व्यवहार न त विकृत मानसिकताको उपज हो न त अप्रकृतिक नै भनेर प्रमाणित गरेको थियो भने विश्व स्वास्थ्य संगठनले सन १९९० मा फरक खाले यौनिकता पनि सामान्य भन्ने तथ्यलाई स्विकार गरेको थियो । हिजो आज पनि केही व्याक्तिहरु यस्तो यौन व्यवहारलाई पश्चिमा विकृती र विदेशी डलर खेलाउने बाटो मान्ने गर्दछन् । यथार्थ त्यसो हुँदै होइन । पूर्विय दर्शन र सभ्यतामा फरक खाले यौनिकताका थुप्रै उदाहरणहरु भेटिन्छन् । मन्दिरका टुँडालहरुमा समलैङ्गिक यौन आसनका थुप्रै काष्ठकला र बास्तुकला कुदिएका पाउँछौं । माहाभारतका एक प्रमुख पात्र अर्जुनले वृन्दलाको रुप धारण गरेको उल्लेख छ त्यो transwoman थियो । त्यस्तै अहिप्पालाई हरिहर (हरि, विष्णु र हर–महादेव)का पुत्र मानिएको छ । यस कथालाई मनन् गर्ने हो भने बिष्णु र महादेव विच पनि कुनै समय समलैङ्गिक यौन सम्बन्ध थियो भन्न सकिन्छ । त्यस्तै जब राम, पिता दशरथको आदेशलाई स्विकार्दै बनबास गई रहेका थिए, सहर भन्दा केही टाढा पुगेपछि रामले आफ्ना जनतालाई संबोधन गर्दै भन्नु भयो हे नरनारी हो तिमीहरु फर्क, यहाँबाट हामी मात्र जान्छौ । त्यसपछि राम वनबास जानु भयो तर बनवास सकेर फर्कदा शहर भन्दा धेरै पर जंगलको नजिकै एउटा सानो बस्तीमा आफ्ना जनता देखेर अचम्म हुनु भयो ।

तिमीहरु किन पर्खिरहेका ? रामले सोध्नुभयो । प्रभु हजुरले हे नर नारी हो तिमीहरु फर्क भन्नुभयो तर हामी त न नर (पुरुष) हौं न त नारी (महिला) नै हों त्यसैले हजुरको आज्ञा पर्खेर बसिरहेका छौं भनेर जवाफ दिए । यसबाट पनि त्यसबेला पनि फरक यौनिकता बोकेका व्याक्तिहरु थिए भन्न सकिन्छ । महाभारतका एक पात्र शिखण्डी जो जन्मँदा महिला थिए पछि उनले पुरुषको रुप धारण गरे transman को रुपमा । यस्ता थुप्रौ कथाहरु पूर्विय दर्शनमा पढ्न पाइन्छ । यसबाट म यो समाजको एक्लो अपवाद होइन भन्ने कुराले ढुक्क भएँ । विस्तारै आफ्नो जस्तै पहिचान बोकेका साथीहरुको निकटताले म रमाउन थालेँ । अहिले म मा आफ्नो फरक यौनिकताका कारण न त कुनै पश्चताप छ न त आत्मग्लानी नै हुन्छ । म मेरो जीवन सँग सन्तुष्ट छु । फरक खाले यौनिकता दिएकोमा मलाई प्रकृति सँग पनि कुनै गुनासो छैन । आखिर मानवमा मात्र होइन चार सय पचास भन्दा बढि जीव, जन्तु जनावरमा समेत समलैङ्गिक यौन व्यवहार हुन्छ भने म किन हिनताभाषमा बाँचौ । यस्तै दृढताले मेरो मन दरो भयो र म बिस्तारै स्वस्थ जीवन जीउन थाले ।
यौनिकता नितान्त प्राकृतिक देन हो । यस्तो भावना केही किशोर किशोरीमा हुन सक्छ । यदि फरक खाले यौनिकता भएका अथवा भिन्न खाले यौन झुकाव , ब्यवहार र दर्शन भएका किशोर किशोरी छन् भने मनभित्र विभिन्न कुण्ठा बोकेर सामाजिक मूल्य र मान्यताको नाममा आफ्ना भावनाको बलि चढाएर भित्र भित्रै उकुश मुकुश भएर निस्सासिदै बाँच्ने असफल प्रयास गर्नु हुँदैन । खुल्ला रुपमा आफ्ना कुराहरु आफ्ना अभिभावकलाई भन्नु पर्छ । निलहिरा समाज र यसका स्थानिय स्तरका शाखाहरुबाट आवश्यक सहयोग र परामर्श लिन सकिन्छ । मेरो घर परिवारमा पनि कही समय म टाउको दुखाईको बिषय बने तर हाल यो सबै सामान्य बन्दै छ । मेरो बाबा ममिलाई थाहा छ वहाँहरुले कुनै दिन एउटी महिला बुहारी घरमा भित्रयाउन पाउनु हुने छैन । तै पनि वहाहरु सन्तुष्ट हुनुहुन्छ ।

हुन त केही व्यक्तिहरु आफ्नो आवश्यकता विभिन्न खाले स्वार्थ र उपहार प्राप्तीका लागि केही समलिङ्गी यौनिकता भएकाहरु सँग विपरितलिङ्गी यौनिकता बोकेका व्यक्तिहरु समेत समलिङ्गी यौन व्यवहारका लागि तयार हुन्छन् भने कोही प्रयोगको रुपमा समेत समलिङ्गी यौन सम्बन्ध कायमै राख्छन् । मेरो पन्ध्र बर्षमा यौन सम्बन्ध कायम भएको केटा साथी हाल विपरित लिङ्ग जोडी बाँधेर आफ्नो जीवन बाँची रहेको छ । उसले आफ्नो यौनिकता दबाएको पनि हुन सक्छ या म सँगको त्यो सम्बन्ध क्षणिक आवेशमा भएको अप्राकृतिक (उसका लागि मात्र) पनि हुन सक्छ । अन्यथा एउटा विपरित लिङ्गी यौनिकता बोकेको व्यक्ति जसरी समलिङ्गी हुन सक्दैन त्यसैगरी यो विश्वराज अधिकारीलाई पनि कुनै केटीको सुन्दरताले आकर्षण गर्न सक्दैन । यो नै मेरो जिन्दगीको यथार्थ हो । यो यथार्थ कतिपयलाई कटु यथार्थ लाग्न सक्छ । तर मेरा लागि यो यथार्थ गर्भको विषय बनेको छ ।
मेरो जीवनको लागि नोभेम्बर उनन्तीस महत्वपूर्ण दिन हो । जुन दिन मैले मेरो हालको साथीहरुलाई पाए । त्यो दिन काठमाडौं मलमा भेटघाट ग¥यौं र कफि पियौं । अहिले हामी दुवै सँगै छौं । विवाह गरेका छैनौं तर लिभिङ्ग टुगेदर छौं । हाम्रो सम्बन्धलाई साथीको परिवारले स्वीकारेको पनि छ । हामीहरु बिचमा लिङ्ग र योनी विचको घर्षण बाहेक सबै खाले यौन आदान प्रदान हुन्छ । हामी पनि डेटिङ्ग जान्छौं, एक आपसमा उपहारको आदान प्रदान गर्दछौं च्याटिङ्ग गछौं, मोवाइलमा एस.एम.एस. गछौं, भाइवर र स्काइपमा लामो समय सम्म भुल्छौं । भ्यालेन्टाइन डे हामीलाई पनि लाग्छ । त्यसकारण हामी अलग होइनौं हामी पनि यही समाजको अभिन्न अंग हौं ।
परिवार र सामाजिक दबाबको कारण विपरित लिङ्गी जीवन विताइरहेका कतिपय व्याक्तिहरुमा सुसुप्त र दवित अबस्थामा फरक खालको यौनिकता बाँचीरहेको छ भने जीवनको कुनै कालखण्डमा उसले आफ्नो यौनिक पहिचान दिन सक्ला तर समलैङ्गिक यौनिकता भएकाहरु कुनै समय विपरित लिङ्गी हुनै सक्दैन ।
अन्तमा म सम्पुर्ण किशोर किशोरीहरुलाई आफ्नो लौङ्गिक पहिचान अनुसारको जीवन जीउन अनुरोध गर्दछु । आफ्नो यौनिकतालाई दबाएर अनि आफ्नो भावनामा उथल पुथल ल्याएर बाँच्न निकै कठिन हुन्छ । खुल्ला भावना र स्वच्छन्द जीवनको लागि प्राकृतिक रुपमा प्रदत्त यौनिकताको जीवन जीउन सक्नु पर्छ । अरुले चाहेको होइन आफुले चाहेको जिन्दगी बाचौ र त्यो जिन्दगी बाच्नबाट तपाईलाई कसैले रोक्न सक्दैन । मैले चाहेको जिन्दगी विताउन लाग्दा समाजले दिएको अपहेलनालाई नियन्त्रण गर्न मलाई निल हिरा समाजले सहयोग ग¥यो । तपाईहरुलाई पनि कुनै पनि किसिमको सहयोग आवश्यक छ भने यसले सहयोग गर्न सक्छ । सुझाव, सल्लाह र परामर्शका लागि नील हिरा समाज  तपाई सबैको प्रिय साथी बन्न सक्छ ।

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार