मन परेकी केटी भाउजु भएपछि …….


नीरमाया वि.क./पहिचान – एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिर¥यो, सिरेटो चलिरहर्याे मेरो जीवनमा अनि रुखो रहिरहे म, एउटा पतझर रुखजस्तै । मेरो यस्तो भावना सुनेर कतिलाई दिक्क लाग्ला कतिलाई वाक्क । मैले गरेका जीवनका अनुभूतिहरु तपाईले महशुस गर्न पनि सक्नुहोला या नहोला । तापनि म आज सबैलाई सुनाउँदै छु मेरो ठगिएको जिन्दगीको आत्मकथा, पिल्सिएको जिन्दगीको जीवनकथा ।
म संसारमा जन्म लिने महिला र पुरुष बाहेक भएर जन्मिए । अर्थात् तेस्रोलिंगी भएर । हुनतः जन्म मेरो अस्वभाविक होईन अनि न त स्त्री र पुरुष नछुट्टिने अङ्ग नै थिए मसँग । यसर्थ त्यतिबेला कसैलाई थाहा भएन मेरो अलग अस्तित्वको । म स्त्रीलिंगी थिए । यसर्थ नाम राखियो नीरमाया । हाम्रो परिवार त्यति धेरै सम्पन्न होइन । कास्कीको काँडे लुम्लेमा मेरो घर, थोरै जग्गा पनि थियो, त्यसमै हात खुट्टा बजाथ्र्यौ, अन्न उव्जाउथ्यौ । गाई भैसी थियो । तिनलाई स्याहार गरी आएको दुधले घरको सामान्य खर्च टाथ्र्यौ । दुईवटा दाई पछि म जन्मे । यसर्थ महत्वकै थिए म । हामी हुर्कदै गयौ । घरको आर्थिक अवस्था त्यति धेरै सबल नभएकोले गर्दा दाईहरुले पढाई पनि बिचैमा छाडी कामको खोजी गर्दै काठमाडौ छिर्नुभयो । मेरो पढ्ने तीव्र ईच्छा । यसर्थ परिवेशसँग संघर्ष गर्दै पढे मैलै । विहान बेलुका घरको कामसँगै गाँउलेको काम गर्न जान भ्याउथे म । यसविचमा पनि मेरो पढाई रामै्र थियो । मेरो शारिरीकसँगै मानसिक विकास हुदै गर्दा म स्त्रीलिंगी भएर स्त्रीप्रती नै आकर्षित हुने स्वभावको भएँ । सुरुमा म यो स्वभावदेखि डराएको थिए ।

संसारमा केटाकेटी बिच आकर्षण भएको, केटाकेटी बिच प्रेम भएको, केटाकेटी बिच विवाह भएको अनि केटाकेटी बिच नै गृहस्थी चलेको मात्र थाहा थियो मलाई । यसर्थ ममा चाँहि किन यो अलग किसिमको आकर्षण पलाउदैछ भनेर आत्तिएको थिए म । तर मेरै गाँउमा अरु २ जना साथी पनि मजस्तै पाएँ मैले । उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर । म उनीहरु जस्तो धेरै चञ्चल चाहि थिएन । घरको आर्थिक सामाजिक परिवेशले होला । म बच्चादेखि नै अन्तर्मुखी थिए । यसर्थ ‘असल’ शब्दको विशेषण थपिदिएका थिए मेरो नाममाथि छिमेकीहरुले । यसको प्रभावले नै होला कुनै बदमासी गरिएन बच्चाबेलामा ।
कक्षा ८ पढ्दै गर्दा पल्लो गाउँकी नीला रिजालसँग मेरो आकर्षण रहन गयो । मेरो पढाई राम्रोे भएकाले सबै विद्यार्थी अनि शिक्षक मसँग नजिकिन्थे । यस्तै तवरले उनी पनि नजिकिएकी हुन मसँग । उनी राम्री थिइन । यसर्थ मैले उनलाई विशेष साथी बनाए । उनी अंग्रेजी विषयमा रुचि राख्थिन अनि मचाँहि विज्ञान र गणितमा । हामी भेटमा दुवै एकअर्कालाई सिक्ने सिकाउने गथ्र्यौ । हाम्रो भेट वाक्लिदो थियो अनि सम्बन्ध पनि । विद्यालयको समयले मात्र नपुगेर हामी एकअर्काको घरमा ओहोर दोहोर गर्न थालिसकेका थियौ । उनी मलाई असल साथी, सहयोगी साथीको रुपमा हेर्थिन् । म भने उनलाई छुट्टै किसिमको प्रेम नै गर्न थालेको थिए । यद्यपी डरले भन्न चाहि सकिरहेको थिएन । एक दिन उनी हाम्रो घरमा बस्ने गरी आईन् । बेलुकाको खानापछि हामीसँगै सुत्यौ । त्यस रात मैले आफूले चाहेको व्यक्ति आफ्नो अगाँलोमा हुँदा आफूलाई नियन्त्रण गर्न सकिन र विस्तारै उनलाई स्पर्श गर्न थाले । उनले अवरोध गरिनन् बरु झन् मसँग टाँसिन थालिन् । यसरी त्यो रात हामीबिच सहवास हुन गयो ।

अब मलाई आफ्नो फरकपनको बारेमा उनलाई भन्नु कुनै अप्ठेरो लागेन र भने पनि, अनि प्रेम प्रस्ताव पनि राखे । उनले स्वीकार गरिन् । मेरो खुशीको सीमा नै थिएन । संसार नै जितेझै लाग्यो । झन् धेरै मेहेनत गर्न थाले पढाइमा अनि काममा पनि । गाउँका सामाजिक कार्यक्रममा धेरै सक्रिय हुन थाले । सबैले मलाई धेरै राम्रो मान्थे । म उनलाई औधी माया गर्थे । यसर्थ म हरक्षण उनीसँगै रहन चाहन्थे । उनलाई हरेक काममा सहयोग गर्थे । यहाँसम्म कि पल्लो गाँउको उनको घरमा पुगी घाँस काटीदिने लगायतका घरायसी काममा सहयोग गरिदिन्थे उनको प्रेमले मेरो जीबनमा वसन्त छाएको अनुभब थियो म आफैमा मग्न थिए मस्त थिए ।
मेरो जेठो दाईले विवाह गर्नुभयो । पोखरातिरै काम गरी भाउजुलाई लिएर उतै बस्न थाल्नुभयो । घरमा उहाँहरुको कुनै आर्थिक सहयोग थिएन । माईलो दाई विदेशिनु भएको थियो । मलेसिया जानुभएको मेरो दाईले पनि खासै कामाइ गर्न नसकेको भन्दै घरमा आर्थिक सहयोग गर्नुभएको थिएन । यसर्थ एस.एल.सी.पछि मेरो पढाईमा अवरोध आयो । एक बर्ष गाउँमै खेतबारीको काम गरी बसेँ । पढ्ने रहर मरेको थिएन । गाउँकै एउटा प्रा.वि.मा शिक्षक बन्ने मौका पाएँ । त्यसपछि भने आफुले पनि माछापुच्छ्रे उच्च मा.वि.मा +२ का लागि कक्षा ११ मा भर्ना भएँ । बिहानी कलेज थियो तर नियमित जान भने पाएको थिईन । यद्यपी राम्रै नम्बरसहित +२ पास गरे । नीला पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्न थालिसकेकी थिइन् ।

यसर्थ हाम्रो भेट पहिलेको तुलनामा पातलिदो थियो । तर हामी एकअर्कालाई उत्तिकै माया गर्थेउ र उनी घर आएको प्रत्येक पटक हामी सँगै विताउथ्यौ हाम्रो समयहरु । उनी मलाई जीवनमा हार नखान प्रशस्त प्रेरणा दिन्थिन् । परिवारको जिम्मेवारी धानेकोमा गर्भ गर्न आग्रह गर्थिन् । यसरी नै चलिरहेथ्यो जिन्दगी ; केही अभाव, केही जिम्मेवारी, केही अप्ठेरो, केही आशा, अनि केही माया । हो, यसरी नै चलिरहेथ्यो मेरो जिन्दगी ।
मेरो गाँऊका म जस्ता २ जना साथीहरु एकाएक गाउबाट गायव भएँ । मलाई उनीहरुको चासो थियो । यद्यपी म उनीहरुजस्तो गाँउमा खुलेको थिइन । उनीहरुले आफ्नो इच्छा अनुरुपको कपडा लगाउँथे र कपाल काटी केटा झँै बनाएका थिए । यो कुरालाई गाँउमा स्वभाविक रुपले लिइएको थिएन । उनीहरु गाँउबाट हराउनुका पछिको कारण मैले उनीहरुको लैंगिकतालाई लिए । उनीहरुले यो गाँउ छाड्नुपरेको अवस्थालाई मैले मेरै आँखाले नियालेको थिए । यसर्थ मैले मेरो फरकपनलाई दुनियाँसामु खुल्ला प्रर्दशन नगर्ने निर्णय लिए र आफूलाई नियन्त्रण गर्दै गर्दै जिन्दगी बाँच्दै गएँ । विदेशबाट दाई आउनुभयो । दाईको शरीर पहिलेको तुलनामा मोटाएको थियो, अनुहार चिल्लो भएको थियो, बाँकी कुनै परिवर्तन थिएन । निलाकै सल्लाहमा म पी.एन. क्याम्पस पोखरामा भर्ना भएको थिए । यद्यपी परीक्षा दिन मात्र पोखरा झर्थे । नीला गाँउ आउँदा मेरो घरमा आउँथी । उसको उपस्थितिलाई मेरो बुबाआमाले पनि रुचाउनुहुन्थ्यो ।

ऊ राम्री थिई । दाईले उसलाई मन पराउन थाल्नुभएछ । यसर्थ नीलाका बारेमा मलाई प्रश्न सोध्न थाल्नुभयो । म उहाँलाई बताउन चाहन्थे नीला सिर्फ मेरी हो भनेर तर बताउन सकिन, अरुले मलाई के भन्ने हुन् भनेर तनाव थियो । दुनियाँले मलाई छोरी भनेर चिन्थे यसर्थ केटी केटीबिचको सम्बन्धलाई अरुले बैधानिकता नदिने र नीलाको समेत यसमा बेइज्जती हुने डरले मैले केही बोल्न सकिन । आमाबाबुले पनि मलाई दाईको विवाहका लागि नीलासँग कुराकानी गर्न भनेपछि त एउटा चोटमाथि फेरी खुकुरीको प्रहार परेजस्तै भयो । न म आफुलाई अभिव्यक्त गर्न सक्थे, न नीला मेरो दाजुलाई सुम्पन तयार हुन सक्थे । कसैलाई सुनाउन नसक्ने यो पीडाले मलाई भित्रभित्रै खोक्रो बनाउदै लग्यो । एक दिन नीलाले उनलाई मेरो दाई मन पर्न थालेको र उनीहरुबीच शारिरीक सम्बन्ध पनि भईसकेको भन्दै मसँग माफी मागीन् । म झन् गहिरो खाडलमा परे ।

आफै सपना देख्न लगाई अनि आफै भत्काईन् त्यो सपनालाई उनले । म निस्तब्ध बने । केही भनिन उसलाई । अब मलाई ससांर हेर्ने रहर हुन छाड्यो, भोग्ने रहर हुन छाड्यो तैपनि जिन्दगीलाई मृत्युवरण गराउन लगाउन सकिन । मृत्युभन्दा झन् धेरै पीडादायक यहि जिन्दगी बाँच्न थाले म । केही दिन कोठाभित्रै गुप्तवास बसे । फेरी बल्ल बल्ल आफैलाई थोरै सम्झाउने प्रयास गरे । आखिर नीलाको खुशी मेरो उद्देश्य हो त म उसको यो खुशीलाई किन स्वीकार नगरिदिउँ भन्ने लाग्यो । आफ्नो परिवार पनि पराई झैँ लाग्न थाले । संसारमा म एक्लो महशुस गर्न थाले सवैको संयुक्त चाह भएपछि निरीह म के नै गर्न सक्थे र ? मेरै आँखाअगाडी मेरै प्रेमिकालाई दाईले घर भित्राउनु भयो । मेरो जिउने आधार टुट्यो, दैवले नि मलाई लुट्नसम्म लुट्यो ।
हिजो उनलाई हेर्न आतुर मेरा आँखा अब उनलाई देख्नासाथ तर्सन थालेका थिए । यो कस्तो बिडम्बना ! हामी एउटै छतमुनि थियौ । तर पनि चैन थिएन । सम्बन्ध बदलिएको थियो , समय बदलिएको थियो । म झन् नीरिह बन्दै थिए । म मेरो मनलाई एक्लै एक्लै सम्झाउदै थिए र पुनः पहिलेकै अवस्थामा आफुलाई ढाल्ने प्रयास गर्दै थिए । उनी पनि मेरै विद्यालयमा अंग्रेजी विषय पढाउन थालिन् । उनी हर समय मेरै आँखाअगाडि हुन्छिन् तर मेरो भएर होईन । मलाई थाहा छ उनीपनि मलाई माया गर्थिन् । यसर्थ उनलाई पनि धेरै अस्वभाविकता त लागेको थियो होला, त्यो परिबेशमा । यसैले पनि हुन सक्छ उनले म प्रतिको व्यबहार एक्कासी परिवर्तन गरिन् । मसँग नबोल्ने, बोल्नै परे पनि झस्केर बोल्ने गर्न थालिन् ।

गाँउमा सबैले मलाई राम्रो मान्थे । तैपनि गाँउमा गएर मेरा बारेमा नराम्रा कुरा गर्न थालेकी रहिछन् । म प्रेममा मात्र होइन जिन्दगीमा नै हारेको मान्छे, के गर्न सक्थे र ?चुपचाप बसे अनि उनका विरुद्ध मलाई गर्नु पनि केही थिएन । विवाहको छ महिनापछि नै बुवा आमा र मलाई छाडी उनीहरु छुट्टै बस्न थाले । मलाई अलिकति सहज भयो । फेरी पुरानै शैलीले जिन्दगी अगाडी चल्दैछ मेरो । फरक यति मात्र हो कि हिजो मसँग नीला नामकी उत्प्रेरक थिइन, प्रेमिका थिइन्, आज कोही छैन बश यति मात्र हो फरक । म अहिले पी.एन. क्याम्पसमा गणित विषयमा मास्टर गर्दै छुँ । अनि व्यवहार चलाउन शिक्षण पनि गरिरहेकै छु । आज गाँउबाट एकाएक हराएका मेरा २ साथी नील हिरा समाज संस्थामा आबद्ध भएर आफ्नो ईच्छा अनुशारको जिन्दगी जिइरहेका छन् ।

हाम्रो समुदायको अधिकारका बारेमा आवाज उठाउदै छन् उनीहरु । उनीहरुलाई देखेर खुशी लाग्छ । अनि उनीहरुको त्यो आँटलाई सलाम पनि गर्न मन लाग्छ । म हिजो खुल्न डराए । अहिले पनि डराएरै आफूलाई खुम्चाएर बाचेको छुँ । ती साथीको अभियानमा प्रत्यक्ष सहयोग गर्न नसकेकोमा पीडाबोध हुन्छ । उमेर ढल्दै जादाँ भविष्यको चिन्ता पनि लाग्ने रहेछ । आमा बुवाले विवाह गर्न धेरै आग्रह गरिरहनुहुन्छ । तर पनि मैले उहाँहरुलाई मेरो चाहना अनि रहर बताउन सकिरहेको छैन ।
यसरी थुपै्र आन्तरिक द्वन्द्व छटपटि भित्र बाँचेको छ मेरो जीवन । बाँचेको पनि के भन्नु मरिराछ भन्नु नै उपयुक्त होला । मैले समयमै आफुलाई आत्मप्रकाशन गर्न नसक्नुको पीडा जिन्दगीभरी भोग्ने भएँ । अब जिन्दगीमा एउटै उद्देश्यले जन्म लिएको छ–समाजसेवा गर्ने । साथीहरु खुलेर समाजसेवा गर्दै हुनुहुन्छ तर म अप्रत्यक्ष रुपले उहाँहरुलाई साथ दिईरहेको छु । सामाजिक चेतना बढ्दो छ । यसर्थ म पनि अब छिट्टै खुलेर समाजमा प्रस्तुत हुन्छु होला । पीडाको यो जिन्दगी अब धेरै बाँचिरहन सक्दिन म । सायद् यसैको परिणामले हुनसक्छ , म आज यो मेरो आफ्नै आत्मकथा सबैलाई सुनाउने जमर्कोमा जुटे । जिन्दगी यस्तै रहेछ कहिले काडाँ अनि कहिले फूल ।

तस्विर/इन्टरनेट 

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार