कानुन नबन्दा जोडिएका सम्बन्ध तोडिएका छन् : पिंकी गुरुङ्ग


pinky-phकाठमाडौं/पहिचान – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय यतिवेला संबिधानमा पहिलो पटक लेखिएको आफ्ना अधिकार कार्यान्वयन गराउने अभियानमा छन् । संबिधानको धारा १२ मा लैंगिक पहिचान अनुसार नागरिकता दिने, धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै आधारमा विभेद गर्न नपाइने र धारा ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेशी सिद्धान्त अनुसार राज्यका नीति निर्माण तहमा प्रतिनिधित्व गराउनु पर्ने लेखिएको छ । संबिधानमा लेखिएका यि अधिकारसँगै समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाज समलिंगी विवाहलाई कानुनी मान्यता दिलाउने अभियानमा बर्षौदेखि लागिरहेको छ । नागरिकता, राहदानी पहिचान अनुसार लिएकाहरु सरकारी अवसरबाट वञ्चित हुनु परिरहेको छ । त्यसैले राज्यले यो समूदायका अधिकार सुनिश्चित गरेर कार्यान्वयन गर्नु पर्ने आवाज उठिरहेको छ । यसै सन्र्दभमा नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी दलित तथा अल्पसंख्यक विभागकी संयोजक पिंकी गरुङ्गसँग कुराकानी गरेका छौ ।
समलिंगी विवाहको कानुन नहुँदा कस्तो समस्या छ ?
सर्वोच्चले दिएको आदेश त्यो कानूनी मान्यता होइन, एउटा मानब अधिकारको दृष्टिकोणले जुनसुकै उमेर पुगेका व्यक्तिहरु संगै बस्न पाउने फैसला गरिदिएको हो । सम्मानित अदालतले दिएको फैसला सकारात्मक रह्यो, अहिले नेपालको कानुन बन्ने क्रममा छ हाम्रो लागि पनि । अदालतले गरेको जुन फैसला र त्यसको आदेश छ, त्यसलाई पनि आधार मानेर समलिंगी विवाहलाई मान्यता दिन सकिने ठाउँ छ । नेपालमा कानुनी अभाव त छदैछ सँगसँगै समलिंगी विवाहलाई नेपालको सन्दर्भमा कसरी हेरिन्छ भन्ने कुरा अझै अन्योलमा छ । त्यसको लागि नेपाल सरकार आफैले स्पष्ट भएर अघि बढ्नु आवस्यक छ ।
कानुन निर्माणको जिम्मा लिएका कतिपय सांसदहरुमा नै समलैंगिकताका विषयमा भ्रम छन् । कानुन्विदहरुमा समेत त्यहि खालको भ्रम रहेको पाइन्छ । नेपाल सरकारको बिभिन्न निकायमा बस्ने बिशिष्ट पदमा बस्ने व्यक्तिहरु हुनुहुन्छ उहाँहरुमध्ये कतिपयमा पनि त्यस्तै खालको भ्रम छ । तर त्यो भ्रमको पछाडि समलिंगी विवाहले मान्यता नपाउदा कस्तो खालको विकृति निम्तिरहेको छ, त्यसलाई नियाल्न सकिरहेको अबस्था छैन ।
अहिलेको वर्तमान अबस्थालाई केलाएर हेर्दा समलिंगी विवाहले मान्यता पाइरहेको छैन । र त्यो कानुनी अभावको कारणले गर्दा सम्पूर्ण समलिंगी तेस्रोलिंगीहरु बाध्यात्मक परिस्थितीमा परेर अथवा परिवारिक दवावमा विपरितलिंगीसँग विवाह गर्न बाध्य छन् । आफनो प्रकृति एकातिर, आफनो इच्छा चाहाना एकातिर र सामाजिक बन्धनको बाध्यता अर्कातिर हुँदा दुर्घटना भएका छन् । आफुले चाहेको भन्दा फरक व्यक्तिसँग जीवन बिताएर बस्नुपर्दा मानसिक समस्या भएर आत्महत्या सम्म गर्नुपर्ने पीडा कस्ले बुझिदिने ? हाम्रो समाजमा वैवाहिक सम्बन्ध कायम हुन नसक्नुका कारण पारिवारिक विखण्डन र डिभोर्सहरु हुन्छन् । त्यसले गर्दा बच्चामा पर्ने शारिरीक तथा मानसिक असर, पारिवारिक विखण्डन र आर्थिक समस्याका कारणले धेरै जनाको जीवन बर्वाद भइरहेको छ । समलिंगी तेस्रोलिंगीको सम्बन्धमा त झन व्यापक विकृति फैलिरहेको छ ।
त्यो विकृतिलाई हेरेर मान्छेले कुरा काटने गरेका पनि त छन नि हैन ?
समलिंगी विवाहलाई मान्यता दिनु भनेको समाजमा अप्रत्यक्ष रुपमा अदृश्य भएर जुन विकृति भइरहेको छ त्यसलाई न्युनीकरण गर्नु पनि हो र समलिंगी विवाहको मान्यता पाएर के पनि फाइदा हुन्छ भन्ने छ । कानुन नहुँदा समलिंगी तेस्रोलिंगीले अहिले जतिजनासँग सम्बन्ध राखे पनि केहि फरक परेन । सम्बन्ध राखे पनि भो टुटाए पनि भो, त्यसको कुनै लिमिटेसन भएन । त्यसले एकातिर जोडीहरुबीच विश्वास भएन, अर्कातिर धेरै यौनजन्य रोगको संक्रमण हुने र प्रत्येक पटक बिछोडिएर बस्नुपर्ने हुँदा मानसिक रोगका समस्याहरु पनि हुने गर्छन । यसले जीवनलाई अगाडि लैजानुपर्ने र स्वतन्त्रपूर्वक बाच्न अवरोध खडा गर्छ ।
यसको प्रत्यक्ष असर राज्यलाई सम्वृद्ध बनाउने अभियानमा पर्न जान्छ । अहिलेको सामाजिक परिवेशले कुनै पनि समलिंगी तेस्रोलिंगीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ भएर अगाडि बढनसक्ने वातावरण दिदैन । यसले देशलाई सम्वृद्धतिर लैजान सक्दैन । समाजलाई स्वच्छ, सभ्य र भेदभाव रहित बनाउने अभियानमा पनि बधा खडा भइरहेको छ ।
अहिले जो कोहि व्यक्ति ुम विवाह बन्धनमा बाधिन्छु, म विवाह गर्छुु भन्दा विवाह गर्न पाइदैन भनेर रोकेको त छैन नि ?
रोकेको छैन, तर त्यसरी गरेको विवाहले कानूनी मान्यता पाएको पनि छैन । समाजमा भएको विभेदको कारणले गर्दा खुलेर आउन सक्ने अबस्था नै छैन । खुलेर आउने वातावरण सरकारले मिलाईदिनुपर्ने हो । सामाजिक रुपमा जस्तो खालको विभेद छ, त्योसँग लड्न सक्ने कानुनी आधार हुनुपर्यो । जबसम्म समलिंगी विवाहले कानुनी मान्यता पाउदैन, तवसम्म समलिंगी तेस्रोलिंगीहरु खुलेर आउन सक्दैनन्, समाजसँग लड्न पनि सक्दैनन् । केही आँट गरेर खुलेर आएका पनि थिए, तर त्यो सम्बन्ध कानुनी रुपमा स्थापित हुन नसक्दा फेरी उहाँहरुको सम्बन्धमा नै समस्या आएर सम्बन्धलाई कायम राख्न नसकेको अबस्था पनि छन् । यसले गर्दा अरु जोडिहरु खुलेर आउन सकेको अबस्था छैन ।
त्यस्ता खुलेर आएका जोडिहरुलाई नील हिरा समाजले के गर्छ ?
हामीले सामुदायिक पहिचान मात्रै दिने हो । हामीसँग कानुनी आधार त केहि पनि हुदैन हामी विवाह गर्ने कानुनी मान्यता त दिन सक्दैनौ खाली हौंसलासम्म दिन सक्छौं ।
एक सय बर्ष भन्दा अगाडि अमेरिकाको सिकागोमा महिलाले समान ज्याला पाउनु पर्छ भनेर सुरु गरेको आन्दोलनको माग नेपालमा अझै लागु भइसकेको छैन तर महिला राष्ट्रको नेतृत्व गर्ने तहसम्म पुगिसके, त्यो अबस्थामा तेस्रोलिंगी पुग्न सक्लान् ?
त्यो संभावना छ तर, त्यतिबेला आफ्नो नयाँ संघर्ष कति हदसम्म अगाडि जान सक्छ त्यसमा भर पर्छ । दश पन्ध्र बर्ष अगाडि जुन अबस्था थियो, त्यसलाई हेरिकन अहिले धेरै नै परिवर्तन भइसकेको छ ।
मलाई के लागेको छ भने अझै पनि जति समुदायका साथीहरु खुलेर आफनो अधिकारमा सजग भएर लाग्नुपर्ने हो । जसरी खुलेर आफनो अधिकारको माग गर्नुपर्ने हो त्यो भइरहेको अबस्था छैन । नील हिरा समाज र नील हिरा समाजका केहि अभियन्ताहरुले मात्रै यो मुद्धालाई उठान गरेर संघर्ष गरेर त्यो स्तरसम्म हाम्रो अधिकार स्थापित हुन गाह्रो छ । स्थानीय स्तरबाट, जिल्लास्तरसम्म र केन्द्रस्तरसम्म संयुक्त अभियान जरुरी छ । एकै स्वरमा आफनो अधिकारको मुद्धा उठान गर्नुपर्ने आबस्यकता छ ।
जसरी महिला राज्यको नेतृत्व तहमा पुगेका छन समलिंगी तेस्रोलिंगीहरु पनि पुग्न नसक्ने भन्ने होइन । विगतको इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि हाम्रो समुदायबाट सुनिलबाबु पन्त सभासद भइसक्नुभएको छ । केहि साथीहरु राजनीतिक पार्टीमा पनि लागेका छन । समलिंगी तेस्रोलिंगीका बिषयमा राजनीतिक पार्टी कति उदार हुन्छन र समुदायले गर्न सक्ने क्षमता कति छ भन्ने नै निर्णायक हुन्छ ।
राजनीतिक मुद्धा पनि एउटा मात्रै दलले उठाएर त सम्भब छैन होला हैन ?
त्यसैले त्यो मुद्धा स्थापित गर्न राजनीतिक पहुँच बढाउन राजनीतिक शक्तिको आबश्यकता छ । त्यो यो वा त्यो भन्ने हुँदैन ।
त्यसको लागि त अधिकारका पक्षमा हुने सबैले आफनो पहिचान पनि खुलाउनु पर्ला नि । जस्तो अहिले सरकारले अन्य उल्लेख गरेर नागरिकता दिएको छ, कतिपयले त पहिले नै लिनुभएको छ तर धेरै जना अझै नागरिकता लिन गइरहनु भएको नैं छैन किन ?
आफनो अधिकारको बारेमा व्यक्तिहरु सचेत बनिरहेका छैनन् जस्तो मलाई लाग्छ । त्यो हुनाले यहि अनलाईन मार्फत म नेपालमा रहेका समलिंगी तेस्रोलिंगी साथीहरुलाई कानुन र संविधानको प्रावधान अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य भनेर नागरिकता लिन आह्वान गर्छु । त्यो प्रावधान कार्यान्वयन भइसकेको पनि जानकारी गराउछु र त्यसलाई उपभोग गर्दै आफ्नो पहिचान अनुसारको नागरिकता लिन आह्वान गर्छु । र समुदायका मानिसहरुलाई भन्न चाहन्छु( तपाई आफनो पहिचानमा गर्व गर्नुहुन्छ भने लिखित रुपमा त्यसलाई प्रमाणिकरण गर्ने भनेको त नागरिकताले नै हो । त्यो नभइ पहिचान खुल्दैन ।
त्यो नभए त राज्यले तथ्यांक कसरी लिने भन्ने पनि समस्या हुन्छ हैन?
तथ्यांक लिदाखेरी, जनगणना गर्दाखेरी जुन तथ्यांक आउछ सरकारी सुविधाहरु त्यसकै आधारमा आउने हुन् । यी सबै नागरिकतासँग नै जोडिएर आउने कुरा हुन् । हाम्रो वास्तविक संख्या कति छ ? सरकारले यो समुदायलाई कसरी अगाडि लैजाने ? भनेर सोच्नको लागि पनि लिखित रुपमा हाम्रो दस्तावेज रेकर्ड हुनु जरुरी छ । त्यो हुनाले सम्पूर्ण तेस्रोलिंगी साथीहरुले अन्यको नामबाट नागरिकता लिएर आफनो पहिचान राज्यको एउटा पानाभित्र लेखेर राख्न सकियो भने त्यो रेकर्ड रहन्छ र त्यसको आधारमा हामीले आफनो अधिकारको आवाज उठाउन र सुरक्षित गर्न सक्छौं । त्यो हुनाले सम्पूर्ण साथीहरुलाई अन्य उल्लेख गरिएको नागरिकता लिन म आग्रह गर्छु ।
किन होला समुदायकै मानिसहरु अन्य भनेर नागरिकता लिन नचाहने ?
नचाहाने भन्दा पनि हाम्रो समुदायमा कस्तो छ भने तेस्रोलिंगी समलिंगीको कुराहरु बुझ्दाखेरी सुविधाहरु एकै पटक चाहिने, धेरै नै चाहिने । संर्घष गर्न नखोज्ने सहनसिलता र धैर्यता नहुने सबै कुरा आफुले भनेको जस्तै हुनुपर्ने भन्ने खालको जुन सोचाइ छ त्यसले गर्दा हो । अधिकारहरु पूर्णरुपमा कसैले पनि पाउदैन । हामीले पाएको अधिकार लिने कि नपाएको अधिकारमा लडदै जाने हो ? नागरिकताको मुद्धामा अन्य भनेर आइसक्यो, तेस्रोलिंगी साथीहरुलाई केटी पहिचान भएकालाई केटिकै र केटा पहिचान भएकाहरुलाई केटाकै नाम राख्नुपर्ने भन्ने उहाँहरुको माग छ । अहिले अन्य भनेर लिंदाखेरी पछि फेरी नाम परिवर्तन गर्न त सकिन्छ । नामसंग जोडेर कतिले लिन चाहिरहेका छैनन् । कतिलाई नागरिकता लिइसकेपछि कस्तो खालको अडचनहरु आउला ? रोजगारको अबस्था नेपालमा छैन वैदेशिक रोजगारमा सबै नेपाली युरोप अमेरिका जान सक्दैनन । गल्फतिर अन्यको नागरिकता बेचेर आफुले श्रम गर्न पाउने कि नपाउने भन्ने कुराहरुले गर्दा पनि ढिला भइरहेको छ । राज्यले पनि अझै अन्य कुराहरु जसरी सिमान्तकृत वर्गहरुलाई दिइसकेको छ त्यस्तो अबस्था तेस्रोलिंगीलाई छैन ।
अन्य सिमान्तकृत वर्ग भन्दा पनि यो समुदाय जति भए पनि अधिकारहरु अझै स्थापित भइसकेको छैन । भएका अधिकारहरु पनि पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको छैन । त्यो हुनाले हिचकिच्याइ रहेको अबस्था छ । नागरिकता कै पहलमा कुरा गर्ने हो भने जुन खालको क्राइट एरिया छ त्यसलाई मिट गर्नको लागि सबै तेस्रोलिंगी समलिंगी साथीले सक्दैनन । नागरिकता लिनकै लागि पनि सात जनाको सर्जिमन आवस्यक हुन्छ, त्यो धेरै भन्दा धेरै जटिल छ, ९५ प्रतिशत भन्दा धेरै साथीहरु परिवारबाट बहिस्कारमा बस्नुपरेको छ । सर्जिमा गर्नको लागि परिवारको समर्थन चाहियो । सर्जिमन जुटाउन नसक्दाखेरी नागरिकता लिन नसकिएको अबस्था छ । अर्को चाहि सीडीओे अफिसरका कर्मचारीहरुमा पनि जुन निर्देशनात्मक आदेश जारी गर्याछ नेपाल सरकारले त्यो सम्बन्धमा उहाहरु स्पस्ट हुनुहुन्न । तेस्रोलिंगी समुदायको बारेमा उहाहरु पनि बुझ्नुहुन्न, नागरिकता लिन जाँदा अनावश्यक प्रश्नहरु, डिमाण्डहरु गर्ने, सहज रुपमा दिन अनकनाउने गर्नुहुन्छ । नागरिकता दिनको लागि डाक्टरको सर्टिफिकेट चाहिने देखि लिएर फिजिकल भेरिफिकेसन गर्ने भन्ने कुराहरुमा डिमाण्ड राखिदिने, त्यस्तोखालको गतिविधिले अलिकति हतोत्साहि पनि भएका हुन् ।
त्यसको लागि नील हिरा समाज यो देश भरका समलिंगी तेस्रोलिंगीहरुको मातृ संस्था छ । संस्थाको एउटा सिफारिसमा नागरिकता लिने व्यवस्था मिलाए सहज हुन्थ्यो होला नि ?
सर्जिमन नै लिनुको सट्टा संस्थाको एउटा सिफारिसको आधारमा दिने व्यवस्था सरकारले मिलाए धेरै सजिलो हुन्थ्यो । नील हिरा समाजको सिफारिस पत्र लगेर हुने भइदिएको भए सबैलाई सर्वसुलभ पनि हुन्थ्यो ।
अहिले मानब अधिकारको अभियानमा नील हिरा समाज लागिरहेको छ । सँगसंगै जीविको पार्जनका लागि चाहि अब के गर्न सकिन्छ ?
जीविको पार्जनका लागि सरकारले नै प्रावधान गर्नुपर्छ । जस्तो अहिलेको अबस्थामा जुन खालको सामाजिक विभेद छ रोजगारको क्षेत्रमा पनि त्यसले रोजगारी पाउन मुस्कील छ । अहिलेदेखि नै शैक्षिक स्तरमा जुन खालको विभेद छ त्यसलाई कम गर्नको लागि सरकारले केहि चेतनामुलक कार्यक्रम ल्याउन जरुरी छ । सरकारले त्यसपछि सर्टेन टाइमसम्म आरक्षण कोटा पनि दिनुपर्छ । सिपमुलक र आय आर्जनमुलक तालिम पनि दिन आवस्यक छ । समुदायका साथीहरु जोखिमपूर्ण व्यबहारहरु गरिरहेका छन् । त्यसको विकल्पको रुपमा मैले अरु केहि सिपमुलक कार्यहरु गर्न सक्छु भन्ने खालको आसा जगाउनु आवस्यक छ । अहिलेदेखि नै सरकारले शैक्षिक र रोजगारको क्षेत्रमा रहेका विभेदहरु कमगर्न नीति तय गरेर तत्कालै कार्यान्वयन गर्नु पनि आवस्यक छ । त्यसो भयो भने अबको दश पन्ध्र बर्षमा सामाजिक रुपान्तरण हुन सक्छ । त्यसपछि अटोमेटिक समानताको अभ्यास हुन सक्छ ।
जस्तो महिला मन्त्रालयले चालु आर्थिक बर्षमा केहि बजेट व्यवस्था गरेको छ के त्यो समलिंगी तेस्रोलिंगीहरुलाई पर्याप्त हुन्छ ?
रोजगारको समस्या आर्थिक समस्या भनेको नेपालको समलिंगी तेस्रोलिंगीलाई मात्रै नभएर सबैको समस्या छ । तेस्रोलिंगी समलिंगीलाई मात्रै राज्यले अहिले नै हल गर्न सक्ने अबस्था छैन । अलिकति केहि गर्न सक्ने बनेर आउन जरुरी छ ।
स्वरोजगार बन्न सकियो भने पछि कसैको भर परिरहनु परेन । यहाँहरु त लामो समयदेखि यो अभियानमा हुनुहुन्छ ?
नील हिरा समाजको अहिलेको चिन्ताको बिषय भनेको पनि त्यहि हो । न्यु जेनेरेशनको लिडरसिप कस्तो हुने भन्ने कुरा अर्को छ । अब हामीले तत्कालै तयार भइसकेको अबस्था छैन । बिगतको इतिहासलाई हेर्ने हो भने सुनिल दाईले जसरी गर्नुभएको थियो नेतृत्व, त्यसलाई हामी पछ्याउँदै छौ । उहाँको नेतृत्वपछि जसरी हाम्रो काँधमा जिम्मेवारी आइपुग्यो त्यतिखेर हामीलाई पनि त्यो नेतृत्व बहन गर्न सकुला जस्तो लागेको थिएन । जिम्बेवारी आइसकेपछि गर्न सकिदो रहेछ । गर्दै गएपछि अनुभवले निखारता ल्याउदै जानेरहेछ । तर सुनिल दाईसंगै हामीले काम गर्दाखेरी जुन खालको व्यक्तिगत जीवन र संस्थागत रुपमा लागू गर्ने कुरा सिकाउनु भयो त्यो प्रयास हामीले पनि गर्यौ । तर अबको न्यु जेनेरेशनले धेरै सिक्न बाँकी छ । नेतृत्व भनेको क्षमता मात्रै होइन नेतृत्व भनेको व्यक्तिगत व्यबहार र आचरणमा भर पर्ने कुराहरु पनि हो । क्षमता हुदाहुदै पनि व्यक्तिगत सोच, व्यवहारले र आचरणले फरक पारिदिन्छ । आफुले आफुलाई कस्तो तवरले प्रस्तुत गर्नुपर्ने त्यो तरिका जानेन भने क्षमताले मात्रै नेतृत्वको जिम्वेवारी धान्न सक्दैन ।
जस्तो तपाइहरुले सुनिलबाबु पन्तबाट सिक्नुभयो । अब आउने जेनेरेशनले के सिक्नु पर्नेछ ?
अबको न्यु जेनेरेशनहरुले चाहि त्यो कुराहरुलाई मनन गर्न सकिरहेको अबस्था म देख्दिन । तर आशावादी त हुनैपर्छ । हामीले पनि तयार गर्दै सिकाउदै लैजाने कुराहरु हो । यो समयसँगै सबै कुराहरु सिकाउदै र सिक्दै गयौ भने त्यो तयार हुन्छ भन्ने मलाई लाग्छ ।
तपाइको सुझाव के छ ? जस्तो तपाई सुनिलबाबु पन्त संबिधान सभासम्म पुग्नुभयो तपाइ यो समुदायको अधिकार प्राप्तिको अभियान लडदा लडदै नयाँ शक्ति पार्टीको दलित तथा अल्पसंख्यक विभागको संयोजक समेत बनिसक्नु भएको छ । तपाईबाट सिक्नुपर्ने कुरा के छ समुदायले ?
यो कुरा म आफुले भन्न अप्ठेरो हुन्छ । म आफुबाट सिक्ने कुराहरु भनेको नेतृत्व तहमा बसेको मान्छेहरुले समुदायको मान्छेलाई हेर्ने दृष्टिकोण र व्यबहार छ त्यो समान हुनु पर्छ त्यसमा फरक आउन हुदैन । सालिनता हुनुपर्यो । सबैलाई मिलाएर लैजान सक्ने क्षमता देखाउन पर्यो, समुदायको समस्यालाई आत्मसाथ गर्न सक्ने क्षमता र सहयोगी भावनाहरु हुनुपर्यो । त्यसदेखि बाहेक नेतृत्व तहमा बसेको मान्छेको क्षमता त चाहिन्छ नै । क्षमता बाहेक पनि थुप्रै कुराहरु हुन्छ त्यो कुराहरु न्यु जेनेरेशनका नयाँ साथीहरुले सिक्नु पर्ने जरुरी छ । मैले कति कुराहरु बुझाउन खोजिरहेको हुन्छु यो समुदायमा अझै त्यो बुझिसकिएको छैन । समुदायभित्र अनहेल्दि कम्पिटिसन भइरहेको छ । शारिरीक सुन्दरताका आधारमा समुदायभित्रै विभेद छ । आर्थिक आम्दिानीकै दृष्टिकोणबाटै एक अर्कामा विभेदहरु भइरहेको अवस्था छ । म राम्रो म कमाउने भन्ने अहमता बढदै गएको छ । समुदाय भित्र नै अर्को विभेद छ । हामी आफुमा भइरहेको विभेदमा लडिरहेका छौ भने हाम्रो आफनै मानसिकता आफनै मानसपटलभित्र छ । विभेदको जुन खालको शब्द छ त्यसले गहिरो रुपमा जरो गाडिरहेको छ । हामी वास्तविक रुपमा विभेदका अर्थहरु के हो भनेर बुझन सकिरहेका छैनौ । जस्तो आफुलाई गर्दा विभेद लाग्छ तर अरुलाई नि हुन्छ भन्ने भेद मनन गर्न आवस्यक छ । जुन खालको शिक्षित र अशिक्षितबीचको अथवा धनि र गरिवबीचको दुरी छ । त्यो दुरीलाई कम गर्नै पर्छ । त्यो विभेदलाई हामीले कम गर्नैपर्छ । समाजबाट भएको विभेद त हामी अन्त्य गरौला तर समुदायभित्र हुने जुन खालको विभेद छ त्यो विभेदले झन ठुलो चोट पुर्याउछ ।
यो समुदायभित्र हुने विभेद अन्त्य गर्नको लागि यहाँहरुले के गरिरहनुभएको छ ?
विभेदलाई भन्दा पनि हामीले त्यो आफै समाजको जुन खालको वैमनस्यता छ त्यसलाई हामीले राखेर चाहि एक आपसमा भएको जुन रिस छ त्यसलाई कम गराउनका लागि एउटा कार्यक्रमद्धारा समुदायबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रयास हामीले गरेका छौं । यसले कहिलेकाही टुटेफुटेका सम्बन्धहरु जोडेको र सम्बन्ध फेरी सुधारिएको पनि छ । जुन सकारात्मक पक्ष हो ।
तर नकारात्मक के छ भनेदेखि यस्तो कार्यक्रमहरु गर्दा फेरी त्यहि कार्यक्रम को भन्दा को कम को भन्दा को राम्रि देखिने भन्ने खालको कम्पिटिसन पनि हुन्छ । त्यो चाहि नकारात्मक पक्ष हो र जस्ले जस्तोसुकै लाए पनि त्यसमा एकले अर्कालाई तुलना चाहि गर्न भएन । त्यो बाट मुक्त हुन जरुरी छ ।

यसमा तपाइको मत

फिचरबाट अन्य समाचार