महिला पुरुषबीचको माया र समलिंगीबीचको मायामा कुनै फरक हुन्छ भन्ने मान्दिन : सुमन


काठमाडौं/पहिचान – सन २०१० देखि अमेरिका बसेर फर्किएकी सुमन पन्त नेपाल फर्कदा अमेरिकाकै समलिंगी महिलालाई आफ्नी जीवनसाथि बनाएर फर्कएकी छन्। उनले नेपाल फर्किएर समलिंगी भिषा माग गरेपछि उनको चर्चा अहिले चुलिएको छ । अमेरिकाबाट पिएचडिको उपाधिसँगै समलिंगी पार्टनर लिएर फर्किकी सुमनको नेपालमा बस्ने योजना के हो? नेपालमा उनीहरुको जोडी के गर्न चाहन्छ ? प्रस्तुत छ यिनै विषमा पहिचानले गरेको कुराकानी।
अध्यागमन विभागले तीन महिने भिषा त दिन्थ्यो नि त्यसो किन गर्नुभएन ?
हामीले अमेरिकाको क्यालिफोर्नियामा एक बर्ष अगाडि विवाह गरेका थियौ । त्यसपछि मेरो पढाइ सकाएर नेपाल फर्कने हाम्रो योजना भयो र सँगै फर्कियौ तर म त बस्न मिल्छ नेपालमा उहाँलाई पनि लिगल रुपमा लामो समयसम्म बस्नको लागि यो प्रोसेस सुरु गरेको हो ।
एप्लिकेशन अनुसार एक बर्षसम्म मात्रै बस्नको लागि हो कि त्यहा भन्दा अलिपछिसम्म बस्नको लागि यो प्रक्रिया चाल्नुभएको ?
हाम्रो लामो समय नै नेपाल बस्ने योजना हो । उहाँले नेपाल फर्केर नेपालकै नागरिकता लिनुहुन्छ भन्ने पनि केहि छैन । तर, सकेसम्म लामो समयसम्म हामी दुबै जना नेपालमा कानुनी रुपमा बस्न पाउने अधिकारको माग हो ।
जस्तो सन् २०१० सम्म त नेपाल हुनुहुन्थ्यो यहाँ त्यतिबेला तपाईलाई म समलिंगी महिला हुँ भन्ने लाग्थ्यो कि लाग्दैनथ्यो ?
लाग्थ्यो ।
तपाइ साथीहरुसंग खुल्नु भएको थियो ?
मसंग नजिक भएका धेरै जस्तो साथी भाइलाई थाहा थियो ।
परिवारमा ?
परिवारमा आमा बुबालाई थाहा थिएन तर, मेरो भाइ बहिनीलाई थाहा थियो ।
तपाइलाई म आफु समलिंगी महिला हु भन्ने कसरी थाहा भयो ?
पहिलादेखि त थाहा थिएन । अलिकति उमेर पुगेपछि मेरो आकर्षण पुरुष भन्दा पनि महिलातिर हुदै गयो । त्यतिबेलासम्म मैले यतिकै भावनात्मक आकर्षण मात्रै हो त्यो बाहेक केहि होइन जस्तो पनि लाग्थ्यो । सोच्न अलिक गाह्रो पनि थियो । तर बिस्तारै नेपालमा बस्दा बस्दै म ब्रिटिस च्यारिटिमा काम गर्थे । त्यतिखेर एकदुइ जना साथीहरु गे (पुरुष समलिंगी) थिए । उनीहरुसंँग बस्दाखेरी बिस्तारै बिस्तारै यो कुरा अगाडि बढन गयो ।
यस्तो पनि हुदोरहेछ भन्ने त्यहाँ पछि थाहा पाउनुभयो ?
यस्तो पनि हुदोरहेछ भन्ने त मलाई पहिलादेखि नै थाहा थियो थाहा नभएको त होइन । तर म यो बाटोमा हिडन सक्छु कि सक्दिन भन्नेमा मलाई अलिकति गाह्रो नै थियो । अनि अर्को कुरा पुरुषसँग बस्नुपर्छ समाजमा भन्ने थियो तर म चाहि सोच्थे उनीहरुसँग बसेर काम गर्दा गर्दै त्यति साहस चाँहि आयो कि म यतातिर लाग्न सक्छु र आफनो पहिचान खुलाउन सक्छु जस्तो लाग्यो ।
तपाइलाई केहि सम्झना छ कति बर्षको उमेरमा पुरुषप्रति आकर्षण नभएर महिला प्रति नै आकर्षण भयो ?
१३ बर्षको उमेरमा ।
सुदुरपश्चिम क्षेत्रबाट तपाइको बसाइ काठमाडौ कि सुदुरपश्चिममा थियो सानोमा ?
सानोमा सुदुरपश्चिम नै थियो । त्यसपछि म कलेज पढन काठमाडौ आएको हो ।
विद्यालय लेभलको पढाइ सकेपछि तपाइ उच्च शिक्षा अध्यनका लागि काठमाडौ आउनुभएको हो ?
हजुर ।
सुदुरपश्चिम हुदैदेखि तपाइको आकर्षण महिलाप्रति नै थियो होइन ?
सानो छदाखेरीको हुने आकर्षण चाहि त्यो केटाकेटीको आकर्षण भन्दा पनि सेक्सुअल रुपमा नलिऔ आकर्षण भन्नाले कुनै पनि व्यक्तिलाई बुझन सकिन्छ कुनै पनि व्यक्ति आफु इमोशनल झुकाब भएको हुनसक्छ तर त्यो आकर्षण हो भन्ने मलाई ज्ञान चाहि थिएन ।
अनि आफुले कसरी ज्ञान लिनु भयो त ?
आफुले ज्ञान लिने भन्दा पनि एउटा उमेर आइसकेपछि प्रश्न गर्न सकिन्छ आफुलाई हल्का पुरुषतिर पनि आकर्षण नभएको होइन तर त्यो आकर्षण कहिले पनि सर्टेन लेभलभन्दा माथी जान सकेन । त्यो भएर मैले आफुलाई प्रश्न गर्न थाले मेरो आकर्षण किन जहिले पनि यतातिर झुक्दोरहेछ भनेर बिस्तारै बिस्तारै प्रश्न गर्दै गए । समलिंगीप्रति त मेरो एक्सपोजर पहिला देखि नै थियो तर म पहिला नै समलिंगी हु भन्ने प्रष्ट नभएसम्म त आफुलाई प्रश्न मात्रै गर्न सकिन्छ । प्रश्न गर्ने त्यहि प्रक्रियामा बिस्तारै बिस्तारै त्यो स्टेप लिनु जरुरी हुदोरहेछ । हो कि होइन भनेर त्यो स्टेप लिइसकेपछि त्यसपछि फर्कने कुरै भएन ।
जस्तो भन्छन नि महिलामा पुरुषको स्वभाव पनि हुन्छ पुरुषमा महिलाको स्वभाव पनि हुन्छ यो सत्य हो ?
यो कुरा अहिले साइन्टिफिक नै डिवेट भएको कुरा हो । गर्भमै हुँदाखेरी बडीको जुन क्षमता हुन्छ त्यसले नै के हुने भन्ने निर्धारण गर्छ । अझै पनि म यहि नै हो चाहि भन्न सक्दिन किनभने यसमा अरु कुराहरु पनि आउछन यसलाई मैले प्राकृतिक भन्ने सोच्छु सबै मान्छे एउटा प्रकारले जन्मन्छ उनीहरुको एउटा स्वभाव हुन्छ । त्यसै स्वभावलाई आफुले अंगाल्न सक्यो भने अगाडि आफुप्रति कम्फरटेबल हुदै जाने हो अगाडी अंगाल्न सकेन भने त्यो एउटा गुम्सिएर बस्ने बाटो मात्रै हो जस्तो लाग्छ ।
तपाइले विवाह गर्न क्यालिफोरनिया नै चाही किन पुग्नुपर्यो ?
मैले विवाह गर्नको लागि क्यालिफोरनिया गएको होइन यसरी नलिऔ । मेरो पहिला देखि आकर्षण थियो । आकर्षण हुनेबितिकै पाटनर नै हुन्छ भन्ने पनि त छैन नि । पाटनर पाउन पनि जसरी स्टेट कपलहरुले आफु स्टेट हुनेबितिकै पाटनर हुन्छ भन्ने छैन किन भने पाटनर त खोज्ने हो मन मिल्नुपर्यो स्वभाव मिल्नुपर्यो संगै बस्ने रुचि हुनुपर्यो । त्यो सबै हुनलाई त मान्छे पनि चाहियो नि । म विवाह गर्नको लागि अमेरीका गएको होइन अमेरीका गएर मात्रै मैले विवाह गर्न सकेको होइन तर अमेरीका गएको प्रकृयामा कसैलाई भेटे । उहाँप्रति मेरो रुचि जाग्यो उहाँलाई मप्रति रुचि जाग्यो अनि संगै बस्ने निर्णय भएको हो । तर त्यस्तै कोही मान्छे मैले नेपालमै बस्दाखेरी भेटेको भए पाटनर चाहि हुन्थ्यो तर विवाह गर्नचाहि सकिदैनथ्यो । त्यो फरक हो अमेरीका बसेको हुनाले विवाह गर्न सजिलो भएको हो मलाई ।
नेपालमा पनि त विवाह गर्न खोज्नु भएको थियो होला ?
पार्टनर खोजेको त भन्दिन । पाटनर भन्ने बितिकै ठुलो कुरा हो । डेट जानेबितिकै पाटनर हुदैन त्यो चाहि लामो प्रकृया हो पाटनर बन्नु भनेको ठुलो कुरा हो । मैले पाटनर हुन सक्छ कि भनेर त्यो बाटोतिर लागेको हो । नेपालमा मेरो पाटनर नै चाहि थिएन ।
तपाइ आफु जस्तै साथी हो भनेर चिन्न सक्नुहुन्छ ?
सकिदैन । नभनेसम्म चिन्न सकिदैन र यो कुरा कसैले खुल्ला रुपमा भन्दा पनि भन्दैन । हाम्रो समाजमा गाहै्र छ भनौ यो कुरा ।
तपाइले क्यालिफोरनियामा चाहि के पाउनुभयो ?
मैले बिवाह गरेको क्यालिफोरनियामा म अरगनको कोरभालिस्ट भन्ने ठाउँमा बस्थे । युएसकै सबै भन्दा फ्रेण्ड्लि सिटिको रुपमा गनिन्छ त्यो । त्यहा मेरो पाटनरले नै अर्गनाइज पनि गर्नुहुन्थ्यो । त्यहा गे पाटीहरु हुन्थ्यो हरेक महिनाको दुई पटक ठुलो डान्स पार्टी गरिन्थ्यो । म पढेको विद्यालय पनि एलजीबीटीआई फ्रेण्ड्लि विद्यालयमा गनिन्छ । कसैले यस्तो कुरा लुकाउने डराउने थिएन । त्यो हिसाबले यहाँबाट युएस गएपछि त्यो सहजता सोसाइटिको एक्सेप्टेन्स धेरै भएको हुनाले सजिलो भएको हो धेरै फरक पनि छ ।
यहाँ र उहाँको अनुभव चाही कस्तो रह्यो ?
खासै फरक त भएन किन भने यहाँ पनि मलाई लुकेरै बस्नुपर्ने चाहि थिएन । मेरो साथीहरु भाइ बहिनीलाई थाहा थियो । त्यस्तो धेरै लुकाएर राखेको पनि थिएन । यहाँ त स्टेट कपललाई पनि लुकेरै बस्नुपर्छ । त्यस्तो धेरै फरक चाहि थिएन । मेरो लागि तर अपरच्युनिटिहरु कम थिए । खुल्ला रुपमा कसैलाई गएर भन्नै गाह्रो हुन्थ्यो । उता भन्न गाह्रो हुदैन तर त्यस्तो म यहि बिषयमा लागि परेको मान्छे होइन । लागि परेको भए म फरक देख्थे होला । मेरो लागि त्यो पर्सनल कुरा हो, मेरो लागि पर्सनल कुरा बाहिर निकाल्न रुचाउदा पनि रुचाउदिन नेपाल आएर पर्सनल कुरालाई यति धेरै किन गरीरहेको छु भने नेपालमा राजनीतिक अबस्था राम्रो छैन । यो मेरो व्यक्तिगत अधिकार हो । समाज पनि बिस्तारै बिस्तारै परिवर्तन हुदै जान्छ । कसै न कसैले त सुरु गर्नुपर्यो अनि अरुले कति धेरै सुरु गरिसके मैले त अलिकति मात्रै अघि बढाउने त हो । मैले एकदमै दुखै गर्नुपर्ने छैन । त्यहि हिसाबले अल्लि बढि खुल्ला हुन आएको हो । म अहिले नर्मल कुरामा त्यति धेरै ओपन हुने मान्छे पनि होइन ।
तपाइ बिस्तारै ओपन हुँदै हुनुहुन्छ, महिला महिलाबीच सम्बन्ध कसरी अघि बढ्छ?
म महिला पुरुषबीचको माया र समलिंगीबीचको मायामा कुनै फरक हुन्छ भन्ने मान्दिन । किनभने माया भनेको माया हो । जसलाई पनि गर्न सकिन्छ । मुख्य कुरा दुई जनाको चाहना हो । इच्छा गर्यो र एक अर्कालाई स्वीकार्यो भने माया आफै बढ्छ । मुस्लिम समाजमा सेक्सुअल टर्ममा धेरै कौतुहलता देखिन्छ, किनभने समलिंगी जोडीबाट बच्चा हुन सक्दैन । त्यो हाम्रो समाजको लागि ठुलो कुरो हो । तर त्यस बाहेक अरु कुनै कुरामा मायामा कुनै पनि भिन्नता हुन्छ जस्तो लाग्दैन ।
तपाइको पाटनर हुनुहुन्छ उहासंगको कति लामो सम्बन्ध पछि विवाह बन्धनमा बाधिनुभयो ?
अहिले हामी संगै भएको तीन बर्ष भयो । दुई बर्ष पछि हामीले विवाह गरेका थियौ ।
त्यस अवधमिा तपाइहरुबीच समान आकर्षण भयो ?
उहाँको बारेमा त मलाई पहिलादेखि नै थाहा थियो । हामी संगै पढेको होइन मैले उहालाई भेटेको हो । भेटेर कुरा गर्दाखेरी त्यो लुकाउने कुरा पनि होइन उहाँलाई पनि मेरो बारेमा थाहा थियो मलाई पनि उहाको बारेमा थाहा थियो । त्यहिबाट हाम्रो रिलेशन अगाडी बढयो ।
तपाइलाई मन पराउने त धेरै थिए होला तपाइले उहालाई नै रोज्नुको पनि त कारण होला?
कलेजमा पढदाखेरी कसैलाई तीन चार जना केटाले मन पराए भनेदेखि त्यस मध्ये एक न रोज्ने हो । मैले एकजनालाई मात्रै किन रोजे भन्ने कुरा त्यो त अब समलैंगिकता र स्टेट हुनुमा कुनै फरक छैन । त्यो त आफनो इच्छा रोजाइ एक अर्काको स्वभाव मिल्दै गयो भने त्यो रिलेशन बढ्दै जाने हो ।
त्यहाँको सांस्कृतिक अबस्था चाहि कस्तो पाउनुभयो तपाइले ?
यो समुदायको बारेमा नेपालमा कौतुहलता छ । त्यहा पनि यहाँ जस्तो कम्युनिटिजहरु छन । जसलाई हामी कुनै पनि नन स्टेट मान्छेहरुलाई नेगेटिव दृष्टिकोणले हेर्ने गर्छन । त्यो अनुसार यहा र त्यहा त्यति भिन्नता छैन तर त्यहाको एक्सेप्टिङ कम्युनिटी अल्लि ठुलो छ । किनभने यो कुरा आइसक्यो १७, १८ वर्ष देखि मान्छेहरु अधिकारको लागि लडिरहेका छन त्यो भएर पब्लिक माझमा यो कुरा ओपन छ ।
नेपाली समाजमा कस्तो छ भने यो कुरा त्यति एक्सपोज नै हुन पाएको छैन । समाज यसप्रति नेगेटिभ दृष्टि भन्दा पनि इन्फरमेशन छैन । हिडिङ कम्युनिटि जहाँ पनि हुन्छ । एक्सेप्टिङ कमिनिटी पनि जहाँ पनि हुन्छ । त्यही अनुसार बस्ने ठाउँमा स्पेशल्ली क्रोभालेन्समा एकदमै एक्सेप्टिङ कमिनिटी छ ।
तपाई नेपाल आएको कति भयो ?
दुई महिना भन्दा अल्लि बढि भयो ।
तपाइले अध्यागमनमा भिषा प्रोसेस थाल्नुभएको कहिलेदेखि ?
त्यो प्रोसेस न्युज अाँएकै दिन बिहान गरेको हो । त्यसबारे मैले लयरहरुसँग कुराकानी गरेको अल्लि अगाडीदेखि नै हो ।
सल्लाह सुझाव कस्तो पाउनु भयो लयरहरुबाट ?
मैले दुई तीन जना लयरहरुसँग कुरा गरेको थिए, यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दाखेरी उहाँहरु सबै जनाले के भन्नुभएको थियो भने लिगल्ली त्यो हाम्रो अधिकार हो । हामीलाई त्यो भिसा एप्लिकेशन हाल्नबाट कसैले रोक्न सक्दैन । तर इम्प्लिमेन्टेशन अलिक फरक हुन सक्छ । त्यो कुरामा क्लियर गर्दै गर्नुस तर सर्वोच्च अदालतले फैसला गरिसकेको नीति हो । त्यो भएको हुनाले यो हाम्रो नैसर्गिक अधिकार हो । अगाडि बढनुस भन्ने नै सल्लाह दिनुभएको छ ।
सन २००७ मा सुनिल बाबु पन्त समेतले हालेको मुद्धामा सर्वोच्चले समलिंगी विवाहलाई मान्यता दिने नदिने बिषयमा निर्णयका लागि समिति गठन गर्न सरकारलाई निर्देशनात्मक आदेश गर्न समिति गठन गरेको थियो । त्यो समितिले पनि अहिले प्रतिवेदन बुझाइसकेको छ । तपाइलाई त्यो बारेमा पनि उहाहरुले केहि जानकारी गराउनुभयो ?
मैले आर्टिकलहरु पढेको थिए खोजेर यसबारेमा । त्यो प्रतिवेदन अहिले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा गएर थन्किएको छ । त्यो भन्दा अगाडी बढ्न सकेको छैन । नेपालमा ‘ल’ इन्टयाक्ट् हुन टाइम लाग्छ । सबै भन्दा ठुलो त सुप्रिमकोटले त्यो आदेशलाई कार्यान्वयन गरिसक्नु पनि बाटो बनाइदिनु नै हो । ल इन्टयाक्ट गर्नलाई थन्केको भएता पनि केश लिएर हेरौ ।
कस्तो प्रतिक्रिया पाउनुभयो अध्यागमन विभागबाट ?
पर्सनल्ली हाम्रो केशको लागि राम्रै प्रतिक्रिया पाएको हो । अलिकति सजिलो के भयो भने हाम्रो इमिग्रेसन अफिसर ओपन माइन्डेट हुनुहुन्थ्यो । उहाँले हाम्रो केश हेरेर तिमीहरुको यो हुन सक्ने केश हो भनेर माथी लग्नुभयो । तर अहिलेसम्म समलिंगी भिसा कुनै पनि दम्पतिले नपाएको हुनाले केही अन्योल देखियो । दुबै ठाउँमा हामीले वाइफ वाइफ बनेर साइन गर्छौ भन्दा उहाले पर्दैन भन्नुभयो । एक जनाले चाहि हजबेण्डमा साइन गर्नैपर्छ भन्ने कुरा गर्नुभयो । हामी बुभ्mछौ पहिलो केश हो । उनीहरुलाई पनि गाह्रो छ । तर माथीसम्म लग्दाखेरी त्यस्तो नेगेटिभ प्रतिक्रिया आएन । हाम्रो रिलेशनसिप कति लामो हो ? कसरी बस्नुहुन्छ ? कहाँ बस्ने प्लान छ ? भोलि गएर बच्चा चाहियो भने के गर्नुहुन्छ ? त्यस्तै त्यस्तै प्रश्नहरु अलिअलि गर्नुभयो तर उहाँहरु एकदमै पोजेटिभ हुनुहुन्थ्यो हामीसँग ।
त्यस्ता प्रश्नको उत्तर के दिनुभयो त ?
त्यसको उत्तर त जे थियो त्यहि दियौ । हामी दुई जनालाई बच्चा चाहिएको छैन । संसारमा जनसंख्या एकदमै धेरै बढिसक्यो तर भोलि गएर कसैलाई चाहियो भने पनि त्यो हामी दुई जनाको कुरा हो । मिलेर नै त्यो कुरामा डिसाइट गर्छौ । अब नेपाल छोटो समयको लागि बस्नु नै थियो भने त फर्केर किन आउथे ? यत्रो गर्नुपर्ने कारण नै कुनै छैन । सकेसम्म हामी लङ टर्म बस्न सकौ, कानुनी रुपले भनेर नेपाल आएको । अलिकति इन्टेन्शन पनि छ हाम्रो नेपालै बस्नुपर्ने त्यहि कुराहरु गर्दाखेरी उहाँहरुले पोजेटिभ्लि नै लिनुभयो ।
तपाइ दुइजना सधै नेपालमा नै बसिरहनुहुन्छ ?
सधै चाहि भन्न अलिकति गाह्रो हुन्छ । किनभने मैले मेरो बारेमा मात्रै सोचेर पनि हुँदैन । उहाको पनि परिवार छ बाहिर । उहालाइ २० बर्ष पछि गएर आफनो परिवार नजिकै बस्न चाहना भयो भने त त्यो पनि सियर गर्नुपर्यो नि । सबै कुरामा मेरो मात्रै चाहिन्छ भन्ने कुरा पनि हुदैन । तर उहाले एक्दमै सर्पोट गर्नुभएको छ । मलाई नेपाल बस्ने इच्छा पनि छ । त्यहि भएर अहिले हामीले सधैभरी भन्ने हिसाबले सोचेका छैनौ तर लङटर्म सोचेका छौ ।
अझै तपाइहरुले भिषा हात पारिसक्नुभएको छैन, कहिलेसम्म पाउने आसमा हुनुुहुन्छ?

आश्वासन हामीले पाएका छैनौ । अहिलेसम्मको हामी दुबै जनाको अनुभव अनुसार पोजिटिभली नै गएको छ । हुन्छ होला जस्तो लाग्छ । हुँदै भएन भने पनि त्यसपछि केहि सोचौला । तर जति अगाडी बढन सकेको छ प्रोसेस, त्यो अनुसार हामी आशावादी छौ ।
भएन भने के हुन्छ?
भएन भने हामीलाई गाह्रो पर्छ ।
त्यसपछि के गर्ने भनेर सोच्नुभएको छ ?
हुँदै भएन भने त्यसपछि हामीले अरु निर्णय लिनुपर्छ जुन देशमा कानुनी रुपमा बस्न पाइन्छ त्यहि देशमा जानुपर्ला ।
जहाँ भए नि सँगैै जानुहुन्छ ?
जानुपर्यो नि । नत्र त विवाह किन गर्नु?
विवाह गर्नु अगाडिको जीवन र बिवाह गरिसकेपछिको जीवनमा के फरक हुनेरहेछ ?
साथी भएपछि धेरै कुराहरु सजिलो हुन्छ । जीवनमा शाहस चाहिन्छ । जे गर्नको लागि पनि हाम्रो समाजको जुन परिपाटी छ त्यो भन्दा अलिकति भिन्न कुनै पनि काम गर्नुपर्यो भने शाहस चाहिन्छ । साथी भएर मैले मेरो जीवनमा एकदमै धेरै शाहस पाएको छु ।
सुरक्षित अनुभव भइरहेको छ त्यसो भए?
अवस्य ।
घरपरिवार भन्दा पनि आफनो पार्टनरबाट बढी सुरक्षित भइरहनुभएको छ ?
अब घरपरिवारको सुरक्षा आफनो ठाउँमा छदैछ । परिवारमा मलाई समलिंगी हुने बितिकै दुतकारेको होइन । त्यस्तो नराम्रो रियाक्सन पाएको पनि छैन । मैले परिवारको पनि आफनो भिन्न तरिकाको सुरक्षा हुन्छ । पार्टनरको पनि भिन्न तरिकाको सुरक्षा हुन्छ यहि सेकुरीटी न हो । पार्टनर भनेको जीवन भरी संगै हिडने मान्छे हो त्यो हिसाबले त्यो सम्बन्ध कन्टिन्यु हुन्छ ।
विवाह गरेर बस्नुभएको छ । पछिको योजना बनाउनुभएको होला नि तपाइहरुले ?
अहिले नेपालमै केहि गर्ने प्लान हो, अहिलेसम्मको सोचमा हामी संगै बस्छौ । हामीले नेपाल आउनु भन्दा पहिले नेपाल आएर एउटा रिसर्च अर्गनाइजेशन खोल्ने प्लान थियो । मैले पीएचडी गर्दा के प्लान गरेको थिए भने पोटेन्सीयल निडहरु के के छ र त्यो निड अनुसार हामीले गर्नसक्ने के के छ भनेर एउटा कम्पनी खोलेर बस्ने भन्ने थियो । मेरो पाटनरले कृषि पढनु भएको हामी दुबै जनाले फुड सेक्युरेटी र लोकल डिभलपमेण्ट सम्बन्धित अर्गनाइजेशन खोलेर त्यसैलाई अगाडि बढाउने हाम्रो योजना हो ।
तर त्यो योजनामा कस्ता समुदाय समेटिन्छन भन्ने त्यस्तो कार्ययोजना बनाउनु भएको छैन ?
कार्ययोजना बनाएको छैन । हाम्रो फोकस चाहि महिला वर्ग नै हो । मैले मास्टर्स र पीएच्डी दुबै रिसर्च मैले नेपालमा गरेको हो । रिसर्च गर्दागर्दै मैले के बिचार गरे भने आमा समुहहरु गाउँहरुमा अरु भन्दा अलिकति प्रोग्रेसिभ हुनुहुन्छ काम धेरै गर्नुहुन्छ तर उहाँहरुले त्यति धेरै मौका पाउनुभएको छैन । सरकार अथवा गैरसरकारी संस्थाहरुबाट त्यो भएको हुनाले हाम्रो टार्गेट गु्रप त्यो थियो, हेरौं काम गर्दै जाँदा अरु के गर्न सकिन्छ ।
तपाइको यो प्रक्रिया, समलिंगीको भिषाको प्रक्रिया देख्दा समलिंगी महिलाकै बारेमा गरौ जस्तो लागेको छैन ?
काम गर्दा गर्दै प्लानहरु परिवर्तन हुदै जान्छ । कुन कम्युनीटीलाई चिन्यो कुनलाई चिनेन भन्ने फरक पर्छ । मैले अहिलेसम्म बनाएको प्लान ६ बर्षको रिसर्चमा आधारित हो । रिसर्च गरेर टार्गेट गु्रप आइडिण्टिफाइ गर्न पनि टाइम लाग्छ । समलिंगी महिला अथवा पुरुष एलजीवीटीक्यु गु्रप नै भनौ, त्यो सँग रिलेटेड मैले अहिलेसम्म कहिले काम पनि गरेको छैन । मेरो अध्ययन त्यति धेरै पनि छैन त्यो भएको हुनाले म यसैमा काम गर्छु भनेर किटान गरेर भन्न सक्दिन ।
तपाइ आफै भोगी भइसकेपछि त तपाइलाई कुनै रिसर्च गरिरहनुपर्ला र ?
मेरो आफनो पर्सनल अनुभव आफनो ठाउँमा छ । त्यो मैले जुन अधिकार पाउन सके अरुलाई पनि होस भन्ने चाहान्छु, त्यसमा म लाग्छु होला तर अहिले नै मेरो यो प्लान हो भन्न सक्दिन । किन भने त्यो मेरो प्लान थिएन आउनु भन्दा अगाडी अहिले मैले आउनु भन्दा अगाडीको प्लानको कुरा मात्रै गरेको तपाइसँग ।
संबिधान पढ्दा जति खुशि हुनुहुन्थ्यो भिषा प्रक्रिया पछि त्यो कायम रह्यो ?
अलिकति मन खिन्न भयो । किन भने पाइसक्यो भन्ने आशा भइरहेको हुन्छ खुसि लागिरहेको हुन्छ । कानुन बन्न समय लाग्छ त्यो मलाई पहिलादेखि नै थाहा थियो । हामीहरुले हेर्दाखेरी नै यो लामो प्रक्रिया हुनसक्छ भनेर सोचिसकेका पनि थियौ । त्यति सजिलै होला जस्तो लागेको थिएन । तर भयो त्यतिबेला तर फेरी त्यसपछि फर्कियो त्यो । त्यो हिसाबले अलिकति खल्लो छ तर अझै पनि आशा चाहि मरेको छैन ।
त्यसको लागि केहि पहल गरिराख्नु भएको छ कि छैन ?
मन्त्रालयमा गइसकेपछि मन्त्रालयले निर्णय दिनुपर्यो मन्त्रालयले निर्णय नदिएसम्म त हामीले केहीगर्ने कुरा भएन । मन्त्रालयको निर्णय पर्खिरहेका छौ । कस्तो निर्णय दिन्छ त्यो अनुसारको अर्को कदमहरु चाल्न सकिन्छ । सपोज निर्णय लिदाखेरी पाउदैन नै भन्यो भने यो त हाम्रो नैसर्गिक अधिकार हो नेपालमा बस्ने । त्यो केश सुप्रिमकोटमा गएर अगाडि बढाउन सकिन्छ ।

यसमा तपाइको मत

फिचरबाट अन्य समाचार