“हामी तेस्रोलिंगी हौं, हाम्रो पहिचान नै यही हो”


भुमिका श्रेष्ठ/पहिचान – नील हिरा समाज बिगत १७ वर्षदेखि समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुइलिंगीको हक अधिकार र स्वास्थ्यको लागि काम गर्दै आएको संस्था हो । अहिले नेपालले ठूलो फड्को मारेको जस्तो लागेको छ । समलिंगी तेस्रोलिंगी अधिकारको हिसावले यहाँसम्म आउनु ठूलो कुरा हो ।

समलिंगी तेस्रोलिंगीको हक अधिकारको लागि काम गर्ने संस्था नील हिरा समाजको अहिले ४० वटा जिल्लामा कार्यक्रमहरु चलिरहेका छन् । ५३ ओटा सहरमा विना स्वार्थ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकार स्वास्थ्य मानव अधिकार उल्लंघन र हाम्रो अधिकारलाई कसरी समाजमा स्थापित गर्ने भनेर अभियान अगाडी बढिरहेको छ ।
आज मलाई खुसी लागिरहेको किन भने पहिला पहिला हामी तेस्रोलिंगी समलिंगी भन्नेबित्तिकै छक्का हिजडा नपुंसक भन्ने र छिछि दुरदुर गर्ने हास्ने गिज्याउने गर्नुहुन्थ्यो । सुरुमा सार्वजनिक कार्यक्रममा जादा हामी बोल्दा मानिसहरु गलल हास्थे कमजोर भएको महसुस पनि हुन्थ्यो । त्यतिबेला मैले र मेरो समुदायले पहिचानको आधारमा पहिचान पाएको अवस्था थिएन । नागरिकता पासर्पोट पनि थिएन ।
स्कुल पढ्न पाउने अवस्था पनि थिएन ।

त्यतिबेला म सपना देख्थेँ कि नेपालमा हामी समलिंगी तेस्रोलिंगीहरुलाई कहिलेदेखि विभेदको अन्त्य हुन्छ ? कहिले कानुनी रुपमा हाम्रो हक अधिकार सुनिश्चित होला भन्ने सपना देख्थ्यौं । त्यो सपना आज पुरा होला जस्तो महसुस मलाई भएको छ किनकी आज लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकारको व्यवस्था गर्न बनेको प्रारम्भिक मस्यौदा विधेयकमा छलफल गर्दा म सबैलाई धन्यवाद दिन चाहान्छु हाम्रो नेपाल ल सोसाइटीलाई । विधेयकमा एकदमै राम्रोसँग प्रस्तुती गरिदिनु भएको छ ।
म यो मस्यौदा विधेयकमा छुटेका कुराहरु चाहन्छु । लैंगिक पहिचानको कुरा गर्नु पर्दा २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले आदेश दिएको थियो नेपाल सरकारलाई तेस्रोलिंगीलाई आफनो पहिचान सहित नागरिकता दिनु भनेर त्यतिखेर नेपाल सरकार मौन बस्यो जसका कारण पहिचान अनुसारको नागरिकता उपलब्ध हुन सकेन ।
लैंगिक पहिचानका आधारमा फरक भएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने भन्दा प्रमाणपत्रको कुरा आयो । यस्तो बेलामा हामीलाई अप्ठेरो पर्नसक्छ । हाम्रो एउटा ‘केश’ छ बुटवलमा आनिक रानाको । उहाँ आफनो पहिचान तेस्रोलिंगी भएको भन्दै जानुभयो नागरिकता लिन तर त्यहाँका प्रमुख जिल्ला अधिकारीले मेडिकल रिर्पोट ल्याउनु भन्नु भयो । हाम्रो मेडिकल रिर्पोट कहाँबाट ल्याउने ? काट्यो भने हाम्रो शरीरबाट पनि रगत आउँछ त्यो प्रमाणपत्र जुटाउनका लागि त्यसमा सच्याइयो भने राम्रो हुन्छ ।

हामी तेस्रोलिंगी हौं हाम्रो पहिचान नै यही हो । हामीलाई कुनै प्रमाणपत्र नै चाहिदैन स्कुलबाट निकालिदिन्छन् । घरबाट निकालिदिन्छ शारिरीक यातना भोग्दा भोग्दै मानसिक यातना भोग्दै हामीलाई यसरी हिँड्ने रहर हुँदैन । को मान्छे आउँछ तेस्रोलिंगी बनेर नक्कली नागरिकता लिनलाई ? यो प्रमाणपत्र दिने कुरा विधेयकबाट सच्याइयो भने राम्रो हुन्छ । हामीलाई प्रमाणपत्र चाहिदैन हाम्रो पहिचान नै हामी हौं । कोही झुट बोलेर महिला पुरुष तेस्रोलिंगी बनेर नागरिकता लिन आउन सक्तैन ।
हाम्रो वास्तविक पहिचान यहि हो हामीलाई कुनै प्रमाणपत्र चाहिँदैन । मस्यौदाको ६ नम्बरमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई परिचयपत्र प्रदान गर्न सक्ने भनिएको छ यसमा सच्याउनु पर्छ । बुँदा नम्वर ९ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार भनेको छ । यसमा नागरिकता प्रमाणपत्र राहदानीको कुरा मतदाता प्रमाणपत्रको कुरा आयो तोकिए बमोजिम अन्य कागजातहरु शैक्षिक कागजातहरु छुटेको जस्तो लाग्छ । कति तेस्रोलिंगी साथीहरुको राम्रो खालको सर्टिफिकेट छ, पढनुभएको छ ।

पहिचान चेन्ज भएर आइसक्दा पनि यसमा शैक्षिक कागजातले पनि ठूलो भूमिका खेल्ने भएकाले यसमा शैक्षिक कागजातहरु थप्नको लागि म अनुरोध गर्दछु । अर्को कुरा यो विवाहको हकमा के छ भने राज्यबाट त हामीलाई नागरिकता प्रदान त भयो जस्तै कानुनी रुपमा ऐन बनेर आउदा विवाह गर्न पाउने हाम्रो अधिकार छ कि छैन ? हाम्रो हुन्छ कि हुँदैन त सधैभरी समलिंगी तेस्रोलिंगी एक्लै जिन्दगी बिताउने भन्ने पनि त हुँदैन । त्यसमा उमेर पुगेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरु स्वतन्त्रपूर्वक बस्न पाउनेछन् भन्ने कुरा उल्लेख गर्दै उमेर पुगेका दुइ व्यक्ति भनेर भनियो भने राम्रो हुन्छ । किनभने हामी आफ्नो समुदाय समुदाय बीचको सम्बन्धलाई त स्वतन्त्र रुपमा स्वीकार्छौ भने हामी त मन्जुर नै हुन्छौ । शब्द भाषाहरु मिलाएर आयो भने एकदमै राम्रो हुन्छ ।
अर्को कुरा यो बोर्ड गठन गर्ने भन्ने कुरा छ । बोड त गठन गर्ने तर समलिंगी तेस्रोलिंगी सहभागि हुने कि नहुने ? हामीलाई कसले चिन्ने हाम्रो समुदायलाई हामी चिन्छौं नि मान्छेहरुले बाटोमा हिँड्दा अबुझहरुले विभेद गर्नुहुन्छ । हामी एक दुइ जना बोर्डमा रहयौ भने सबैसँग मिलेर हामीले काम गर्न सक्छौ । घरेलु हिंसाको कुरा जस्तै बुँदा नम्वर ३२ मा र बुँदा नम्वर ४ मा घरेलु हिंसा आएको राम्रो छ । कतिपय समलिंगी तेस्रोलिंगी बलात्कार पनि हुन्छन् । जस्तो म बलात्कार हुन सक्छु प्रशासनले यस्तो केश लिदैन ।

म बलात्कार भए भने चाहिँ मैले कसरी न्याय पाउने ? अनि कसरी यसमा तीन महिना जेल कैद र पचास हजार जरिवाना भनिएको छ । जरीवाना अलि कम भयो जस्तो लाग्छ । अर्को कुरा अहिले मुस्लिम आयोग छ दलित आयोग छ । बिभिन्न आयोगहरु छन् हाम्रो मात्रै आयोग छैन । समावेशी आयोगमा हाम्रो एक जना मात्रै भए पनि प्रतिनिधिलाई सहभागी गराउने हो कि । संविधानको धारा १२ मा लैगिंक पहिचान सहितको नागरिकता प्रदान धारा १८ मा विभेद गर्न पाइने छैन भन्ने कुराहरु आएको छ ।

धारा ४२ मा सामाजिक न्यायको कुरा गर्दा हाम्रो काम गर्न पाउने अधिकार छ कि छैन ? स्वास्थ्य रोजगारीमा हाम्रो पहुँच हुनु पर्ने हो । नील हिरा समाजमा मात्रै तेस्रोलिंगीहरु भर परेर बस्नु भएको छ । कुनै पनि सरकारी अफिसमा हाकिमदेखि तल्लो लेभलसम्म कोही तेस्रोलिंगी छ भन्ने सुन्नुभएको छ ? छैन होला । हामी यो रोजगारीको अबसरबाट पनि बञ्चित छौं ।
शिक्षाको कुराबाट पनि हामी बञ्चित छौं । पहिला पहिला त मानसिक रोगी भनेर मेण्टल हस्पिटल पनि पठाउने गर्नु हुन्थ्यो । त्यस्तो खालको कुरामा हाम्रो पहुँच भयो भने राम्रो हुन्छ । संविधानमै व्यबस्था गरिसकेको अबस्थामा नियम कानुनमा आउँदाखेरी यहाहरुको ठूलो भूमिका हुनुपर्छ । किनकी हामी भनेको सदियौदेखि दुःख पाएको छौं । अहिले हामी देखिएका छौं । पौराणिक कालदेखि पनि थियो जस्तै राजा राम बनवास जाँदा त्यहाँ सबै प्रजाहरु पछि पछि जानुभयो ।

समुन्द्रको किनारमा पुगेपछि रामले सबै नरनारी फर्केर जाउ म १४ बर्ष पछि आउछु भन्नुभयो । तर १४ वर्षपछि फर्केर आउँदा केही व्यक्तिहरु उहाँले त्यही देख्नुभयो र उहाँले सोध्नुभयो, किन बस्नु भएको ? उनीहरुले रामलाई तपाइँले नरलाई सम्बोधन गर्नुभयो नारीलाई सम्बोधन गर्नुभयो तर हामीलाई सम्बोधन गर्नुभएन । त्यसकारण १४ वर्षदेखि हामी तपाइको प्रतिक्षामा छौं भनेर जवाफ दिएका थिए । यो हाम्रो आवाज त हामी अगाडि बढाउँछौ । मुख्य भूमिका भनेको कानुन विदहरुको, सांसदहरुको राजनीतिक दलहरुको हुन्छ । यो अधिकारलाई कुण्ठित होइन कि सहयोग गरेर अगाडी बढाइदिन हुन अनुरोध गर्दछु ।
(श्रेष्ठको यो विचार लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकारबारे व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामा भएको छलफलमा व्यक्त धारणा हो । )

यसमा तपाइको मत

विचारबाट अन्य समाचार