प्राज्ञ भएर पनि समाजलाई निर्देशित गर्दैन भने त्यो प्राज्ञ हैन : रामेश्वर उपाध्याय


काठमडौं (पहिचान) असार २८ – प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले समाजले गरेका नकारात्मक कुरालाई ठिक बेठिक नभनी स्वीकार गर्नेलाई प्राज्ञ भन्न नमिल्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष उपाध्यायले समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नेसँगै विभेदमा कोही उत्रन्छ भने उ प्राज्ञ नठहर्ने बताए । ’प्राज्ञ भनेकै समाजलाई समेत सहि कुराको पछि लगाउने हाइट र क्षमता प्राप्त गरेको व्यक्ति हो उसले समाजले के भन्छ भन्दा पनि ठिक बेठिकका आधारमा कुनैपनि कुरा ग्रहण गर्नुपर्छ,’ अध्यक्ष उपाध्यायले भने, ’समाजले घृणा गर्छ त्यसकारण म पनि समलिंगी तेस्रोलिंगीलाई घृणा गर्छु भन्छ भने त्यसलाई प्राज्ञ भन्न मिल्दैन ।’ उनले समलंगी तेस्रोलिंगी हुनु प्राकृतिक परिणति भन्दै त्यसका आधारमा घृणा गर्नु मानवीयता नहुने बताए ।
उपाध्यायले समिलंगी तेस्रोलिंगीलाई विगतमा भन्दा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र समानताका अभ्यासहरु पनि हुन थालेको भन्दै विस्तारै पुरै समानता कायम हुने बताए ।
’विश्वविद्यालयहरुमा समाजशास्त्र, मानवशास्त्र, जेण्डर स्टडी लगायतका विषय पढाइ हुन्छन, झन जेण्डर स्टडी त यही अध्ययनका लागि नै आएको हो,’ उपाध्यायले भने, ’यस्ता फ्याकल्टिजहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सामाजिक समस्या संबोधनका लागि योगदान गर्नुपर्छ, गरिरहेका पनि छन् ।’ उनले प्राज्ञिक क्षेत्र भनेको सामाजिक समस्यामा मार्गदर्शकको भूमिका निर्वाह गर्ने समुह भएकाले उनीहरुको अगुवाईमा गरिने काम समाजका लागि पनि स्वीकार्य हुने बताए ।
’समाजमा भएका सबैलाई आफ्ना भूमिका स्वतन्त्रपूर्वक निर्वाह गर्ने वातावरण बनाउन सके समाजको सर्वाङ्गिण विकास पनि संभव छ’ उपाध्यायले भने ।

यसमा तपाइको मत

शिक्षाबाट अन्य समाचार