लघु कथा : पहिलो भेट


सुनिल बाबु पन्त/पहिचान – सशंक एता-उति हेरेर वसेका छन्, कहिले ढकमक्क फूलेका फूलहरुलाई हेरेर सोच्छन्: के म पनि यी फूलहरुजस्तै सुन्दर छु त? देब्रे कांधमा भिरेर काखि मुनि च्यापेको कलेज-जाने झोलावाट सानो ऐना झिकेर हेर्छन्, आफ्ना सुन्दर आंखाहरु देखेर निकै दंग पर्छन् र दाहिने हातले आंखिभौं मिलाउछन्। अनि अनुहारका गाला, ओठ, नाक हेर्दा झनै सुन्दरलाग्छ आफूलाई, गर्व गर्छन् आफूमाथि। चिउंडोमा भरखर उम्रन लागेको एक दुइवटा दारिका रौं देखेर पछि भने सशंकको मुस्कान खोसिन्छ। वरिपरि चारैतिर हेर्छन्, कसैले आफूलाई नहेरेको पाएपछि विस्तारै झोलावाट चिम्टि झिकेर रौं उखेल्न थाल्छन्। दुइटा रौंमात्र के उखेल्न भ्याएका थिए संजिव हतार-हतार आफूतिर आंउदै गरेको देख्छन्। झट-पट ऐना र चिम्टि झोलामा लुकाउंछन्। संजिव आर-आर क्याम्पसमा भर्ना त भएका छन्, घरवाट रोज क्यामपस जान्छु भनेर हिड्छन तर किन हो किन क्यामपस जान भने पट्कै मन लाग्दैन। सशंकको हालत पनि उस्तै छ घरमा रोज कलेज गंए भन्ने तर जाने अन्तै…

यो कलेज-बङ्किङ्ग र सशंक-संजिवको भेट-घाटको सिलसिला वितेको २ वर्षजति देखि सुरु भएको हो, रत्नपार्क जाने वानिले कलेज जाने वानि नै टुट्यो। रत्न पार्कमा नै सशंक र संजिवको भेट भएको हो। सुरु-सुरुमा चिनजान त थिएन तर हरेक दिन जस्तो संजिवलाई पनि रत्नपार्कमा देख्न थाले पछि सशंकको मनमा लाग्यो: यो पनि हरेक दिन जस्तो रत्न पार्क आउंछ, म जस्तै एक्लै कहिले यता कहिले उता गरिरेहको हुन्छ, सायद यस्को खोजि पनि मेरो जस्तै हुनु पर्छ, कुरा गर्छु र साथि भयो भने मलाई पनि सजिलो हुन्छ।

यस्तै सोचेर सशंकले संजिव बसेको बेन्चको अर्को छेउमा बसेर साहस गर्दै सुनाउछन्: कति राम्रा फूलहरु फूलेका है रत्नपार्कमा, अलिकता सफा राख्ने हो भने त कति सुन्दर हुन्थ्यो होला यो वगैचा पनि, तिमीलाई फूलहरु मन पर्छ?

संजिवको ध्यान सायद अन्तै कतै थियो क्यार, डिस्टर्भ भए जस्तो महसुस गरी अलिक ठाडो जवाफ दिए: फूल फूले पछि राम्रै त देखिन्छ नि, कस्लाई पो मन नपर्ला र?

यत्तिकैमा संजिव उठेर पार्कको अर्को दक्षिण कुना सम्म मच्किदै-मस्किकै जान्छन्, उसको चाल ढाल देखेर सशंकलाई लाग्छ यो पनि मजस्तै रैछ। संजिव अलिक निरास भएर आउछन् र पहिलेकै ठांउमा आएर बस्छन्।

संजिव:यंहि आएर बस्थ्यो होला, तिमि आएर बसेर उ अन्तै लाग्यो, जांदा जांदै अलिकता ढिला भयो, पट्याउनै भ्याइएन। खैर ठिकै छ, अर्को पटक देखि अलिकति हेर विचार हरेर मात्र मेरो नजिक आएर बस है तिमि, डिस्टर्व हुन्छ क्या नत्र।

सशंक: तिमी पनि म जस्तै हो?

संजिव: तिमिजस्तो नभए रोज रत्नपार्क किन आऊथे त?

सशकलाई संजिवको यो खुला मन निकै मन पर्यो र लाग्यो यो व्यक्ति साथि बनाउन लायक छ। सशंकले सोधे: तिम्रो नाम के हो?…..त्यसपछि परिचयको लामो सृङ्खला सुरु हुन्छ, आधि घण्टामा नै दुवैमा आत्मियता बढ्छ, नवडोस् पनि किन? आखिर दुवैका चाहना एउटै, समस्या उहि, खोज उहि र डर पनि उस्तै। दुबै रत्नपार्कमा दिंउसो भेट हुने, रमाइला कुरा गर्ने, दु:ख-सुख साटा-साट गर्ने र एक-अर्काको खोजिमा एक आर्कालाई सघाउने गर्दै गरेको करिव २ वर्ष भई सकेको छ।

झोला मा ऐना र चिम्टि राखि सके पछि सशंक पनि वसेको ठाऊंबाट उठ्छन् र संजिवलाई आऊंदा आऊंदै विचैमा भेटेर दुवै ऊत्तर कुनाको वेन्चमा गएर बस्छन्। पारिलो घाम लागेको छ, नाङ्लो व्यापारिहरु भरखर-भरखर मात्र पसल थाप्न थालेका छन्, वदाम वेच्नेहरु पनि भरखर छिरेका छन्। संशक: ए दाई एक माना वदाम दिनु न?

वदाम खांदै रोजको गफको सिलसिला सुरु हुन्छ, कसरि घर पुगें हिजो सांझ, वाटोमा के के भयो? कोहि ‘रोचक’ भेट भयो कि भएन? घरमा पुगे पछि के के सोधे वा-आमा दाई-भाइ लगायतले, के के वहाना बनाई जवाफ दिएं आदि इत्यादि गर्दै २ घण्टा गफ गरेको पत्तै लागेन। यत्तकैमा संजिवको आंखा पार्क को मध्यमा पुग्छ जहां एउटा नौलो मान्छे ४-५ जनासंग केहि कुरा गरि रहेको हुन्छ, पाम्पलेट जस्तो देखाउंदै र झोलावाट झिकेर केहि वांडि रेहेको छ। कौतुहलाता जाग्छ: को होला यो नौलो मनिस, कहिलै नदेखेको?

सशंक: तेहि त कहिल्यै नदेखेको मान्छे को होला? के गरेको होला?

संजिव: जाम्त हेरुम, के रेहिछ?

संजिव र सशंक त्यो नौलो मानिस भए तिर जान्छन्, अलिक टाढैवाट निकै ध्यान दिएर हेर्छन् र सुन्छन्। तर तेहि चौतारामा वस्न भने गइ हाल्दैनन्।

करिव १५-२० मिनेट जति पछि ति अन्य ४-५ जना मान्छे त्यो नौलो मान्छेले दिएको चिज लिएर जान्छन्। नौलो मान्छेको नजर अव संजिव र सशंकमा पर्छ, हातको इशारा गरेर दुबैलाई नजिक आएर वस्न भन्छन्। सशंक र संजिव दुवै हिचकिचाऊछन्। फेरि पनि त्यो नौलो मान्छे ले बोलाउछ, डराइ-डराइ दुबै चौताराको छेउमा गएर वस्छन् । नौलो मान्छेले आफू स्वयमसेवक भएको र यच आई भि तथा यौन रोगको बारेमा जनचेतना फैलाउन रत्नपार्क आएको बताउंछन्। सशंकले कसरी यच आई भि तथा यौन रोग सर्छ भनेर प्रश्न गर्छन्। नौलो मान्छेले सबै खाले यौनिकता, तथा यौनसंबन्धको वारेमा खुलेर बताईदिन्छन्।

संजिव: केटा-केटा यौन संबन्धमा पनि यच आई भि तथा यौन रोग सर्छ र?

नौलो मान्छेले केटा-केटा यौन संबन्ध, यच आई भि तथा यौन रोगको जोखिम र यसवाट वच्ने उपाय बताइदिन्छन्। झोलावाट कण्डम, लुब्रिकेन्ट, ‘डिल्डो’ झिकेर यसको सहि प्रयोग कसरि गर्ने भनेर सिकाउछन्।

सशंक: हामीले कण्डम, लुब्रिकेन्ट कांहावाट पउने त हरेक दिन जस्तो?

नौलो मान्छेले आफू हरेक दिन जस्तो रत्नपार्क आएर कण्डम र लुब्रिकेन्ट वाड्ने अभियान थालेको र संजिब र सशंकलाई पनि यस अभियानमा साथ दिन आवह्वान गर्दै झोलावाट कण्डम र लुब्रिकेन्ट झिकेर दुबैलाइ दिन्छन् । चारै तिर हेरेर डराइ डराइ लिन्छन् र दुबैले आ-आफ्नो झोलामा लुकाइहाल्छन्। यत्तिकैमा तिन जना ब्यक्ति लचक-मचक गर्दै र चर्को स्वरमा गफ गर्दै रत्न पार्क भित्र छिर्छन्, उनिहरुको नजर पनि नौलो मान्छे, संजिव र सशंकमा पर्छ। उनिहरु आफू भएतिर आएको देखेर संजिव र सशंक दुबै नर्भस हुन थाल्छन्। सशंक: दाई इनिहरु आए, आज हामी जान्छौं, तपाई भोलि पनि आउनु हुन्छ?

नौलो मान्छेले: आऊंछु।

सशंक: तेसो भएभोलि भेटम्ला।

संजिव र सशंक आ-आफ्नो झोला वोकेर चौतारावाट लतमात्र झरेका के हुन्छन् तिन जना मध्ये एक जनाले भनि हाल्छन्: हेर त उमा, डल्लि यिनिहरु फेरि भग्न लागे हामिलई देखेर, ये ! तिमीहरुहरु पनि हामी जस्तै त हौ नि, मेटाहरु ! किन भागेका हामीलाई देखेर?

संजिव र सशंक छिटो-छिटो रत्नपार्कको गेट तिर लागे र गेटमा पुगेर फर्केर हेरे त्यो नौलो मान्छेलाई, ऊ ती तिनजानलाई यौनिकता, यच आई भि तथा यौन रोगको वरेमा कुरा गर्न थालिसकेको भान हुन्थ्यो। संजिव र सशंकको त्यो नौलो मान्छेसंगको पहिलो भेट यत्तिकै त सकियो आज, तर दुबैको मनमा अनेक प्रश्नहरु पनि उब्जायो आजको भेटले। रात भर दुवै सुत्नै सकेनन्, एता र उता कोल्टोफेर्दै सोच्दै रहे: आफ्नो वारेमा, यौनिकताको वारेमा, यच आई भि तथा यौन रोगको वरेमा, अधिकारको वारेमा, संगठनको बारेमा र भोलि फेरि भेट्दा नौलो मान्छेसंग सोध्ने थुप्रै प्रश्नहरुका बारेमा…….

डिस्क्लेमर: यस कथाका पात्रहरु बिल्कुलै काल्पनिक हुन्। सकैको जीवनी वा कुनै घटनासंग मिल्न गएमा त्यो संयोग मात्र हुने छ….

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार