अस्तित्व खोजीमा ‘जिउँदो आकाश’


मधु शाही/काठमाडौं (पहिचान) साउन १७ – ‘पहिले मलाई अँध्यारो मन पथ्र्यो। किनकि अँध्यारोमा सबै कुरा छोपिन्छ। म पनि’ नाटक ‘जिउँदो आकाश’ यसै संवाद बोल्दै दृश्यमा देखिन्छन्, सुरुवाल–जामा लगाएका ऊ वा उनी। न उनी छोरा हुन् न त छोरी नै। ‘म को हुँ?’ बारम्बार उनको यही सोधाइमा नाटकको मर्म निहीत छ। कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुक्रबार रंगकर्मी अनिल सुब्बाको अभिनयले धेरैका आँखा रसाए। तेस्रोलिंगीको कथा समेटिएको उक्त नाटकमा उनको एकल अभिनय रहेको छ। झन्डै एक घण्टा लामो नाटकभर अनिलले दर्शकलाई हँसाउने र रुवाउने दुवैमा आफूलाई अब्बल सावित गरेका छन्।

त्यसैले भूमिकाले पनि त्यसलाई हल्का ढंगले नै लिइन्। तेस्रोलिंगीको भूमिकामा रहेका अनिलको बढदो उमेरसँगै अभिनय र प्रस्तुतिमा द्वन्द्व बढ्दै जान्छ। सायद भूमिका पनि फ्ल्यासब्याकमा पुगिन् क्यारे, एकाएक रसाएका आँखालाई रुमालले पुछ्दै थिइन्। त्यो क्रम भने उनको नाटकको अन्त्यसम्म पनि रोकिएन। नाटक हेर्ने केवल भूमिका मात्रै रोइरहेकी थिइनन्, सबैलाई भावुक बनाएको थियो। मञ्चमा अनिल पनि उसै गरी भक्कानिएका थिए। नाटक सकिएपछि पनि अनिललाई चरित्रबाट बाहिर निस्कन निकै समय लाग्यो।

चन्द्रप्रसाद पाण्डेको लेखन रहेको नाटकलाई आरके मेहता रोशनले निर्देशन तथा परिकल्पना गरेका हुन् भने निर्माण सम्रान्त थापा र टंक टाइगर (संग्रौला) ले गरेका हुन्। तेस्रोलिंगी भएकै कारण परिवार, समाज, आफन्तको अपहेलना खेप्नुपरेको आफ्नै तीतो यथार्थलाई भूमिकाले नाटक हेरेपछि सुनाइन्। ‘नाटक हेरिरहँदा आफ्नै जीवनको फ्ल्यासब्याक याद आयो,’ उनले भनिन्, ‘अझै पनि उस्तै छ हाम्रो पीडा।’ नाटकमा अनिलले एक्लो अभिनयकै सहारामा तेस्रोलिंगीको पीडा महसुस गराउन सफल भएका छन्। प्रत्यक्ष संगीत संयोजन, प्रप्सले नाटकको मुडलाई अझै सहयोग गरेको छ। तेस्रोलिंगीले बाल्यकालदेखि नै समाजमा आफ्नो अस्तित्व खोजीका लागि भोग्नुपरेको समस्या र संघर्षलाई नाटकमा केन्द्रित गरिएको छ।

मनोरञ्जनका लागि केही कलात्मक घटना जोडिए पनि नाटक पूर्णत: रोदन र वेदनामा समेटिएको छ। एक द्वन्द्वले अर्को द्वन्द्वलाई क्रमश: गाँस्दै जाने क्रममा त्यसको क्लाइमेक्ससँगै नाटकले बिट मार्छ। क्लाइमेक्समा पुर्‍याई दर्शक भावुक बनाउनुमा अझै पनि तेस्रोलिंगीलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नरहेको भावार्थ बुझ्न सकिन्छ। त्यसैले पनि यस्ता विद्यमान सामाजिक विभेदलाई नकारेर तेस्रोलिंगीको स्वतन्त्र अस्तित्वको सकारात्मक सन्देश दिन नाटकले आवश्यक ठानेको छैन। नाटककार पाण्डेयले पीडामै तेस्रोलिंगीको यथार्थ देखाएका छन्। जुन तीतो सत्य पनि हो।

‘जिउँदो आकाश’ गतवर्ष पहिलो पटक दोलखाको चरिकोटमा मञ्चन भएको थियो। तेस्रोलिंगीले पनि आममान्छेजस्तै जन्म लिने हुन्। तर सामाजिक चेतनास्तर कमजोर भएका कारण उनीहरू अन्य सरह स्वतन्त्र भएर बाँच्न पाइरहेका छैनन्।

‘प्रकृतिले जे दिन्छ त्यही स्विकार्नुपर्छ,’ नाटककार पाण्डेयले भने, ‘तेस्रोलिंगी मान्छे हुन्, मान्छैकै व्यवहार गरौं।’ साउन २१ सम्म चल्ने नाटकबाट उठेको सबै रकम स्वेफ नेपालका अनाथ बालबालिकालाई सहयोगार्थ प्रदान गरिने बताइएको छ। डाँफे थिएटरको प्रस्तुति रहेको नाटकमा विनोद बञ्जारा, विश्व काफ्ले, टंक टाइगर (संग्रौला), सुशान्त चालिसेका संगीत संयोजन रहेको छ भने प्रकाश परिकल्पना मिलन नेपालीको रहेको छ।

साभार : कान्तिपुर

यसमा तपाइको मत

साहित्यबाट अन्य समाचार