आकाश पुरुषबाट यसरी भइन् महिला


काठमाडौं । आकांक्षालाई नर्सले बेहोस बनाउन सुई लगाउन थालिन् । कमिलाले चिलेजस्तो भयो । सुईको दुखाई भन्दा पनि उनको मनमा सन्त्रासको सुई भने निकै तिखो गरी गड्दै थियो । कौतूहल थियो । अब के हुन्छ भन्ने जिज्ञासाले मन हुँडलिएको थियो । मनमा अनेकथरि कुराहरु खेलिरहेका थिए ।

अबको ५ घण्टापछिको संसार उनले कल्पना  गर्न थालिन् । त्यही बेला उनले विराटनगरको घर सम्झिन् । आमा र बुवाको याद आयो । काठमाडौंमा रहेका साथी संगी आँखाभरी छरिए । निमेषभरमै यी सबै दृश्य र कल्पनाहरु एकपछि अर्को दिमागमा आइरहेका थिए ।

थोरै डर र धेरै आशाको स्वास लिइरहेका बेला आकांक्षा थाइल्याण्डको बैंककको प्राटुनम पोलीक्लिनिकको बेडमा थिइन् । न त्यहाँ उनका अभिभावक थिए न त मिल्ने साथी नै । उनी एक्लै थिइन् । त्यो बेला उनले परिवारको सहारा अभावको महसुस गरिन् । ‘तिमीलाई केही हुँदैन हामी छौं नि’ भन्ने स्वर सुन्न उनका कान लालायित भए । तर, उनलाई त्यसो भन्ने त्यहाँ कोही थिएन ।

मरुभूमिमा पानी खोज्ने
औंसीको रातमा छायाँ खोज्ने
म त पागल हुँ
यो स्वार्थी दुनियाँमा चोखो माया खोज्ने
म त पागल हुँ
श्रीखण्ड भनी रोपेको थिएँ
ऐंजेरु बनी पलायो
आखिरीमा मायाले पनि डढेलो बनी जलायो
अचानो बनी चोट खप्ने
खुकुरीको नै नाम जप्ने
त पागल हुँ……

घर छोडेर हिँडेकी उनले आमाको न्यानो काखको अपेक्षा गर्नु सायद उनको मनमा सत्यराज आचार्यको गीतले भने जस्तै पागलपन थियो । आमाको मायालु स्वर सुन्न खोज्ने उनका कान नै सायद दोषी थिए ।

यत्तिकैमा बेडमा रहेकी आकांक्षाका आँखा लठिठ्न थाले ।

० ० ०
५ घण्टापछि ब्युँझदा उनको स्वरुप फेरियो । रूप अर्कै भयो । आकांक्षाको सेक्स चेन्ज भइसकेको थियो । उनको शरीरमा पुरुषको यौनाङ्ग थिएन । महिलाको यौनाङ्ग प्रत्यारोपण भइसकेको थियो । उनी महिला भइसकेकी थिइन् । उनकै आकांक्षा थियो पुरुषबाट महिला हुने । तर पनि आफ्नो रूप देख्दा उनी आफैंलाई अचम्म लाग्यो । “त्यो समय म आफैंलाई अनौठो लाग्यो । मेरो पुनः जन्म भयो र नयाँ जिन्दगी सुरु भयो भन्ने महसुस गरिरहेको थिएँ,” अप्रेशनपछि ब्युँझिएको त्यो क्षण सम्झिँदै उनले भनिन्, “मलाई आफैंलाई पनि विश्वास गर्न कठिन भइरहेको थियो । म आकांक्षा नै हुँ भनेर मलाई आफैंलाई प्रश्न गर्न मन लागिरहेका थियो ।”

सत्य सत्य नै हुन्छ । उनको स्वरूप फेरिएको थियो । उनी महिला भइसकेकी थिइन् । तेस्रोलिंगी महिला आकांक्षाको शरीर पनि महिलाको स्वरुपमा बदलिएको थियो । एक महिना बैंककमा बसिन् ।

० ० ०
दुई वर्ष अगाडि अफिसको कामले उनी बैंकक पुगेकी थिइन् । त्यही बेला उनले सेक्स चेन्जबारे बुझिन् । ५ लाख रुपैयाँ भए सेक्स चेन्ज हुन्छ भन्ने थाहा पाइन् । ५ लाख त म पनि जोहो गर्न सक्छु भन्ने उनलाई लाग्यो । मन फुरुङ भयो । उनले त्यही दिन संकल्प गरिन्– म ५ लाख बन्दोबस्त गर्छु र एक दिन यहीँ आएर महिला बनेर नेपाल फर्किन्छु ।

उनी काठमाडौं फर्किइन् । आकांक्षा मात्रै काठमाडौं आइनन्, उनले सँगै बोकेर ल्याइन् सपना । सपना पूरा गर्न उनलाई पैसा चाहिएको थियो । उनले जोहो गर्न थालिन् पैसा । हरेक दिन उनले देख्ने सपना उनको हरेक दिनको संकल्प हुन्थ्यो । डेढ लाख पैसा जम्मा भयो । उनी ब्रेष्ट सर्जरी गर्न बैंकक पुगिन् । एक वर्ष अगाडि उनी ब्रेष्ट सर्जरी गरेर फेरि काठमाडौं नै फर्किन् । त्यो समय पनि उनको सपना बाँकी नै थियो । सपनाको संसारमा हराइरहेकी उनी आफ्नो संकल्पबाट विचलित भएकी थिइनन् ।

पैसाको जोहो गर्ने उनको दैनिकी फेरिएको थिएन । काम गर्न छोडेकी थिइनन् । बैंकको खाता आकांक्षा हरेक महिना चेक गर्थिन् ।

एक वर्षमा आवश्यक पैसा जम्मा भयो । ब्रेष्ट सर्जरी भइसकेको थियो । बाँकी थियो सेक्स चेन्ज अथवा पुरुष यौनाङ्गको ठाउँमा महिला यौनाङ्ग प्रत्यारोपण गर्न । साढे तीन लाख रुपैयाँ लिएर उनी बैंकक पुगिन् । डाक्टरले उनको सेक्स चेन्ज गरिदिए ।

महिला भइन् । तर अझै पनि उनी बच्चा जन्माउनका लागि भने योग्य भने भएकी छैनन् । उनको शरीरमा पाठेघर छैन, त्यसैले उनी बच्चा जन्माउन भने सक्तिनन् ।

“अब मैले गर्न नसक्ने भनेको बच्चा जन्माउन नसक्ने मात्रै हो,” आकांक्षा खुलिन्, “कति महिलाको बच्चा हुँदैन । मैले पनि मलाई त्यस्तै सोचेकी छु ।”

विवाहबारे भने उनले म यसै गर्छु भनेर अहिलेसम्म बोल्ड डिसिजन लिन सकेकी छैनन् । “सायद मलाई बुझ्ने व्यक्ति भेटियो भने विवाह हुन्छ पनि होला । जो सन्तान नभए पनि केही फरक पर्दैन भन्ने र मलाई स्वीकार्न सक्ने व्यक्ति भयो भने विवाह हुन पनि सक्छ,” उनले भनिन्, “तर अहिले नै म यसै गर्छु भनेर सोचेकी छैन । म तेस्रोलिंगी महिला हुँ मैले हाम्रो अधिकारका लागि काम गर्नुपर्छ भन्ने मात्रै सोचिकी छु ।”

० ० ०
सात वर्षको थियो उमेर । आकाश घरको एक्लो सन्तान । थप सन्तान बाबुआमाले जन्माएनन् सायद छोरो जन्मिएकाले पनि होला । आकाश ७ वर्षका थिए । एक दिन उनका बुवाआमाले उनलाई भने, “तिमी यो केटीले गर्ने काम नगर त ।”
आकाश आमालाई भाँडा माझ्न, लुगा धुन आमालाई सघाउँथे । त्यही कुरा उनका बाबु आमालाई मन पर्दैन थियो । घरमा भन्दा पनि उनका आफ्ना आफन्तले उनलाई झनै हैरान लगाउँथे । केटीको जस्तो काम गरेको भन्दै कुरा काट्थे । कतिले यसो नगर भनेर मुखै फोरेर भन्थे । उनलाई अनौठो लाग्थ्यो ।

कक्षा १० मा पढ्दै थिए । फर्म भर्नुपर्ने थियो । त्यहाँ जेन्डरमा महिला र पुरुष मात्रै थियो । उनका साथीहरुले आकाशलाई भने, “तँ  मौवा (तेस्रोलिंगी) होस् । इण्डिया जा नाच्न ।” आकाशलाई त्यो बेलासम्म थाहै थिएन के हो तेस्रोलिंगी भन्ने ।

समयको चक्र घुम्दै गयो । उनले १२ कक्षा पढिसके । एक दिन इन्टरनेट चलाइरहेका थिए । एउटा लिंक भेटे । त्यहाँ समलिंगी तेस्रोलिंगीबारे लेखिएको थियो । उनले पढे । त्यो दिन उनले थाहा पाए म तेस्रोलिंगी रहेछु । त्यही लिंकमा रहेको नम्बरमा फोन गरेर उनी समाजको कार्यालय पुगे । त्यहाँ उनलाई काउन्सिलिङ गरियो । उनले निष्कर्ष निकाले म तेस्रोलिंगी रहेछु ।

आकाशलाई खुब डर लाग्यो त्यो क्षण । उनी त्यहाँ बस्नै सकेनन् । भागेर घर आए । तर उनको मन मान्दै मान्दैन थियो । छोरीको ड्रेसअप गर्न मन लाग्थ्यो । उनी विस्तारै समाजको कार्यालन जान थाले । त्यसमै भोलेन्टियर भएर दुई महिना काम गरे । १२ कक्षाको परीक्षा दिएर बसेकाले समय खाली थियो । उनी अफिसको कामले बाहिर जानु पर्यो भन्दै नाच्न जान्थे । त्यही बेला उनी आई ब्रो मिलाउने र कपाल पाल्न थाले । घरमा छोरो मान्छे भएर यो के गरेको भन्दै बुवाआमाले कराउँथे ।

उनी सुनेको नसुनै गर्थे । “उमेरमा अनेक रहर हुन्छ विस्तारै सबै आफैं मिल्दै जान्छ भन्नुहुन्थ्यो पछि सम्म पनि बुवाआमालाई म छोरो नै हुँ भन्ने थियो,” उनले भनिन्, “नाचेर ८ हजार रुपैयाँ उनको भागमा आएको थियो । त्यही पैसाले म काम गर्न र पढ्न भन्दै काठमाडौं आएँ ।”

० ० ०

काठमाडौं छिरेपछि उनी स्वतन्त्र भए । उनलाई रोक्ने र छेक्ने कोही भएन । क्रस ड्रेस गर्न थाले । नाम विराटनगरमा नील हिरा समाजमा नै जुराइदिइसकेका थिए, आकांक्षा । उनी आफू जस्तै साथीहरुलाई भेटिन् । र सुरु भयो उनको अर्को जिन्दगी अर्थात आकांक्षाको जीवन ।

साभार : बाह्रखरी

यसमा तपाइको मत

विचारबाट अन्य समाचार