के ‘स्त्री-राज्य’ पुनस्थापना सम्भव छ नेपालमा ?


सुनिलबाबु पन्त /पहिचान  – ‘एमाजोन’ ग्रिक शब्द हो जस्को अर्थ ‘स्तन नभएको’ भन्ने हुन्छ। ग्रिक ‘माइथोलोजि’मा महिला लडाकुहरुको उल्लेख पाइन्छ जस्ले आफ्नो एक स्तन काट्ने गर्दथे ता कि धनु-वांड चलाउन र तरवार चलाउन सजिलो होस् भनेर। एमाजोनीहरु ‘आर्टेमिस’ नाम गरेकि देवीको पुजा गर्दथे जस्लाई ‘सिकार’कि-देवि भनेर चिनिन्छ (यीनै देवीलाई रोमनहरुले ‘डिना’ भन्दछन्)। यी ‘एमाजोनीहरु’ संधै महिला-संगति मात्र रुचाउंथे र पुरुषको सानिध्यता बिल्कुलै मन पराउंदैन थे (वाहेक वच्चा चाहिएको वेलामा मात्र)। वालकहरु अरु जनजातिहरुलाई गोद-दान दिन्थे र वालिकाहरुलाई मात्र हुर्काउंथे, ‘एमाजोन’को भावी पुश्ताको रुपमा। यस्ता ‘एमाजोनी’ महिलाहरु सायद समलिङ्गि महिला थिए कि भनेर हिजो-आज वाद-विवाद हुने गर्दछ, जो महिला-महिलामा यौनिक तथा भावनात्मक सम्बन्ध राख्दथे।

हिन्दु धर्म शास्त्रमा ‘स्त्री-राज्य’ (वा महिलाको देश) भनेर उल्लेख गरिएको पाइन्छ। ‘जैमिनि भारतम’ द्वारा रचित भारतको ‘कन्नडा’ भाषामा लेखिएको माहाभारतमा, अश्वमेध पर्वमा, पाण्डबहरुले छाडेको अश्वमेध यज्ञको घोडाको रक्षाको जिम्मा लिएका अर्जुनको भेट ‘स्त्री-राज्य’ की माहारानी ‘प्रमिला’संग हुन्छ जो अर्जुनलाई विवाह गर्न चाहन्थिन र अर्जुनलाई आफैसंग राख्न चाहन्थिन। अर्जुनले पहिला त मान्दैनन्, तर प्रमिला र उनका महिलाहरुले अश्वमेध यज्ञको घोडा नियन्त्रणमा लिन्छन् र छाड्न मान्दैनन्। तव अर्जुनले हार मान्छन् र विवाह गर्न तयार हुन्छन् प्रमिलासंग, तर यी शर्तहरुमा कि ‘प्रमिलासगै जिवनभर वस्न वाध्य हुने छैनन् अर्जुन, बांकि जङ्गल पार गर्न प्रमिलाले अर्जुनको साथ-सुरक्षा दिनु पर्ने र घोडा हश्तिनापुर पुगे पछि मात्र प्रमिला घर फर्किने छिन्’ भनेर। प्रमिलाले शर्त स्विकार गर्छिन् र अर्जुनलाई (अर्जनसंग होइन, यस्को अर्थ निकै महत्नपूर्ण छ) विवाह गर्छिन।

नाथ परम्पराका गुरुहरु मत्सेन्द्रनाथ र गोरखनाथको कथाहरुमा ‘स्त्री-राज्य’ को पुन उल्लेख पाइन्छ। एक राजकुमारीले एक पटक एउटा गन्दर्भलाई आकास मार्ग वाट (उडेर) कतै जांदै गरेको देख्छिन्। ऊनी त्यो गन्दर्भ माथि जोरले हांस्न थाल्छिन्, तव गन्दर्भले श्राप दिन्छन् कि ‘तिमी र तिम्रासाथिहरु टाढाको ‘कदली वन’ (केरा-घारि जंगल?) मा वस्ने छौ र कुनै पनि पुरुष तिमीहरु भएको ठांउमा आएमा उस्को तुरुन्त मृत्यू हुने छ’। श्राप लागे पछि केरा-घारी जंगलमा ती महिलाहरु पुरुषको प्रेमसंबन्धवाट वन्चित भएर बस्न बाध्य हुन्छन्। लामो समय पश्चात एकपटक ती महिलाहरुले कुनै पुरुषले गुनगुनाएको आवाज सुन्छन्, उस्को आवाजमा शक्ति यति हुन्छ कि महिलाहरु आवाज द्वारानै गर्भाधारण गर्छन्। महिलाहरु गर्भवती त हुन्छन् तर उनीहरुले हनुमानको प्रार्थना गर्छन् र एउटा पुरुष पठाइदिन भन्छन्। यस्तो पुरुष हुनु पर्यो कि जस्ले गन्धर्भले दिएको श्राप थेग्न सकोस्; ती हुन् गुरु मत्सेन्द्रनाथ।

मत्सेन्द्रनाथ ‘स्त्री-राज्य’का दुई माहारानीहरु, कमला र मङ्गला, को जादुमा फस्छन्, कदली वन (केरा-घारि) क्षेत्रवाट बाहिर निस्कन सक्दैनन्। धरै वर्ष पछि उनका शिश्य, गोरखनाथ (जो गोरखा राज्यका पनि गुरु थिए र नेपालका धेरै भुभागमा पुगेर ध्यान गरी, मन्दिरको निर्माण पनि गरेका थिए भन्ने किंबदन्ति छ) लाई थाहा लाग्छ कि आफ्ना गुरु कांहा छन् भनेर। ऊनी महिलाको भेष धारण गरी ‘स्त्री-राज्य’ पुग्छन्। ऊनी पनि ध्यान साधनामा निकै उच्चस्तरका गुरु भएकाले गन्दर्भको श्रापले उनलाई पनि छुंदैन। गुरु गोरखनाथ डमरु वजाउंदै ‘स्त्री-राज्य’को गोरेटोहरुमा “मत्सेन्द्र ध्यान देऊ, गोरख आईपुग्यो” भन्दै हिड्छन्। मत्सेन्द्रनाथले सुन्छन् र उनको होस् खुल्छ; तुरुन्त ‘स्त्री-राज्य’को चङ्गुलवाट बाहिर भाग्छन् दुबै।

tharumuseum.org

यी स्त्री-राज्यका वारेमा धेरै वर्णन त पाइदैन, ठ्याक्कै कता पर्छ भनेर, तर अश्वमेध यज्ञका लागि पाण्डवहरु तराइसम्म आएको कुरा नकार्न सकिन्न। यी ‘स्त्री-राज्य’ मा वर्णन भए अनुसार महिलाहरुको शासन ब्यवस्था, मातृसत्ता र विवाहको परम्परालाई हेर्दा नेपालका थारु समुदायलाई सायद ‘स्त्री-राज्य’ भनिएको थियो कि ती हिन्दु धर्म शास्त्रहरुमा। थारु समुदायमा, हिजोआज हराउंदै गएता पनि, मातृसत्ता र विवाहमा महिलाको सकृय र निर्णायक भुमिका हुने कुरा अझ सम्म पनि देख्न पाइन्छ। वि. पि. कोइरालाको उपन्यास ‘सुम्निमा’मा कोशि टापु वरिपरि बसोबास गरेका किरांत र भिल्ल जातिका समुदायलाई ‘मतृसत्ता भएको’ समुदायको रुपमा परिचित गराइएको छ। के थाहा सायद मल्ल, शाक्य, ठकुरि, शाहा, रांंणा लगायत क्षेत्रि-ठकुरि-राजाहरुले जित्नु भन्दा पुर्व यी थारु, भिल्ल तथा किरांत समुदाय वा राज्यमा स्त्रीहरुले शासनको बागडोर सम्हालेका पो थिए कि? थारु समुदायको बैबाहिक परम्पारालाई नियाल्दा मातृसत्ताको प्रशस्तै प्रमाणहरु पाइन्छ। जस्तै: घुसपैठ विवाह (पुरुषलाई विवाह गर्न वाध्य पारिने विवाह), कज(अपहरण) विवाह, डोला (पैसा दिएर गरिने) विवाह, छुटकुटा (विधवा) विवाह, उद्दारी (प्रेम) विवाह, घञ्जिया (घर ज्वांई) राख्ने जस्ता परम्परालाई हेर्दा थारू समुदाय मातृसत्ताको दरो परम्परा थियो भनेर मान्न सकिन्छ।

तब के पितृसत्तामा चुर्लुम्म डुविसकेको र मातृसत्ताका परम्पराहरुलाई हेयको भावले हेर्ने आधुनिक नेपालले पुरानो ‘स्त्री-राज्य’ लाई स्विकार्ला? के ‘स्त्री-राज्य’को पुन स्थापना सम्भव छ नेपालमा? के थारू समुदाय, किरांत, भिल्ल लगायत (उहिलेका) मातृसत्तात्मक समुदायहरुले आफ्नो पुरानो परम्परा पुन-उत्थान गर्ने जमर्को गर्लान्? के नेपालको कानुन संबिधानले ‘स्त्री-राज्य’को पुनर्उत्तथनमा ध्यान देला?

तव आधुनिक ‘स्त्री-राज्य’को अवधारणा कस्तो होला, पितृसत्ताले कस्तो प्रतिकृया गर्ला? थप अध्ययन र वहसको टडकारो जरुरत छ ‘स्त्री-राज्या’ पुनस्थापनाका लागि नेपालमा।

यसमा तपाइको मत

विचारबाट अन्य समाचार