अहिले ऊ साँच्चै राम्री भएकी छ


सन्तोष पन्त/  पहिचान  – करिब २० वर्षपहिले ‘कोसेली’ नामक चलचित्रमा तेस्रो लिंगीको भूमिकामा अभिनय गरेको थिएँ । त्यो चलचित्रमा तेस्रो लिंगीको भूमिका निर्वाह गर्नका लागि निर्देशक तुलसी घिमिरेले कालिम्पोङबाट एक जना तेस्रो लिंगी व्यक्तिलाई लिएर आउनु भएको थियो । तर रियल लाइफमा तेस्रो लिंगी भएर बाँचिरहेको त्यो व्यक्तिले चलचित्रमा अभिनय गर्न सकेन ।

एक दिन निर्देशक तुलसी घिमिरे मेरो घरमा आउनु भयो र अप्ठ्यारो मान्दै भन्नुभयो, एउटा सल्लाह गर्नु छ तपाईंसँग । मेरो चलचित्रमा एउटा फरक खालको रोल छ । रोलचाहिँ छक्काको हो । तेस्रो लिंगीको रोल छ, यसका लागि मैले कालिम्पोङबाट एउटा तेस्रो लिंगी ल्याएको तर उसले अभिनयमा मेलो ल्याएन । साथीभाइहरुले सन्तोषजीले यो रोल गर्न सक्नुहुन्छ भनेर सिफारिस गरेर तपाईंसँग आएको । गर्दिनुस् न प्लिज ।

म सधैं फरक खालको अभिनय गर्न मन पराउने मान्छे । उहाँले भनेपछि मैले नाइँ भन्ने कुरै भएन । मैले तेस्रो लिंगीको जीवनशैलीबारे केही अध्ययन गरेँ, केही तुलसीजी आफैंले भन्नुभयो र मैले ‘कोशेली’ मा पहिलो पटक तेस्रो लिंगीको भूमिकामा अभिनय गरें । त्यही समय हो मैले पहिलोपटक तेस्रो लिंगीबारे जानकारी पाएको ।

त्यो सुटिङका क्रममा एउटा रमाइलो प्रसंग पनि छ । म तेस्रोलिंगी महिलाको भूमिकामा थिएँ । सुटिङ स्थलमा आएर मेकअप गर्थें । छोरी मान्छेको ड्रेसअप गर्थेँ । राम्री महिला हुन्थेँ । त्यो सुटिङ युनिटलाई खाना पकाएर खुवाउने बोल्न नसक्ने एउटा व्यक्ति थिए । उनलाई म जिस्काइदिन्थें । चिमोटी दिन्थें । ऊ मलाई देखेर खुब मस्किन्थ्यो । मैले माया गरेजस्तो लाग्थ्यो सायद उसलाई ।

मलाई मासु दिँदा फलमासु मात्रै दिन्थ्यो अरुलाई भने हड्डी–हड्डी । सुटिङ सकिएपछि म मिलिटरी ड्रेस लगाएर बाइक चढेर हिँडिहाल्थेँ, उसले कहिले पनि थाहा पाएन म केटो हुँ भनेर । मलाई कहिलेकाहीँ लाग्छ, त्यसले मलाई पछि धेरै खोज्यो होला । अन्याय नै गरें कि जस्तो पनि लाग्छ ।

० ० ०
म अभिभावक पनि हुँ । मलाई पछिल्लो समय यसबारे सिकाएको मेरी छोरी (केट्लिन) ले हो । यसबारे उनले मसँग कुरा गरिन् । जब उनले म तेस्रो लिंगी हुँ भन्ने थाहा पाउन थालिन्, त्यसपछि उसले आमासँग कुरा गर्न थोलेकी रहिछन् ।

एकदिन उनले मलाई यसबारे कुरा गरिन् । मैले ‘यु आर सो इन्टेलिजेन्ट ब्रेनी’ भनेर भनें । त्यो समय उनी अमेरिका गएर फर्किसकेकी थिइन् । १६ वर्षको उमेरमै उनी हब्बी भन्ने कार्यक्रमबाट छनोट भएर अमेरिका गएर फर्किसकेकी थिइन् । त्यहाँ जाँदा उनले यसबारे बुझेकी रहिछन् । उनले मसँग कुरा गरिन् लिंग परिवर्तनबारे ।

मैले पनि उनलाई भने, जाऊ तिमीलाई म अमेरिका पठाइदिन्छु । सुरुमा पढाइ पूरा गर अनि जे हुन, बन्न मन लाग्छ बन । तर उनले भनिन्, त्यो समय त मेरा लागि धेरै ढिलो भइसकेको हुनेछ । अहिले हर्मोन भर्खर परिवर्तनको क्रममा छ । त्यसैले अहिले म जे हुन चाहन्छु, त्यो सहजै हुनसक्छु तर पछि निकै गाह्रो हुनेछ । म अहिले नै राम्री केटी बन्न चाहन्छु । अहिले ऊ साँच्चै राम्री भएकी छ । ऊ मोडल पनि हो । अमेरिकामा उसले मोडलिङ पनि गरिरहेकी छ । म निकै खुसी छु ।

उसले इच्छा गरी, मैले उसको इच्छा बुझेँ । निकै आभारी छु मेरो छोरोप्रति । उसले बैंकक लगेर एक महिनासम्म बसेर राम्रो उपचार गराएर राम्री बहिनी बनाएर ल्यायो ।

० ० ०
मेरो यो आवाज त्यहाँ पुर्याउन खोजिरहेको छु, जसले यसलाई बुझ्दैन । म उनीहरुलाई समाती समाती भन्न चाहन्छु, अनि मात्रै समाज परिवर्तन हुन्छ । भित्र आत्मैदेखि भएर मात्रै महिला पुरुष र पुरुष महिला भएर हिँड्ने हो । यो भावना बुझ्नुपर्छ सबैले ।

माया गर्छु भनेर मात्रै हुँदैन, अण्डा र मासु खान दिएर मात्रै माया हुँदैन आफ्नो छोराछोरीको भावना बुझ्नुपर्छ । त्यही हो माया ।

मैले त्यो बेला मेरो छोरीको लागि किन पैसा खर्च गरेँ भनेँ मेरो छोरो भए पनि भोलि यसलाई अंश दिनैपर्छ । अहिले भएपनि दिनैपर्छ, पछि भए पनि दिनैपर्छ भनेर मैले अहिले नै दिएँ । परेका बेला र चाहिएका बेला दिएको अंशले मात्रै काम गर्छ, मरेपछि दिएको अंशले त के काम गर्छ र ? मैले समयमै उसको भावना बुझें र उनी सुन्दर छोरी हुन सकिन् । सबैले आफ्नो सन्तानको खुसीका लागि उनीहरुको भावना बुझ्नुपर्छ ।

प्रस्तुति : नरेश फुयाँल

साभार : बाह्रखरी

 

यसमा तपाइको मत

विचारबाट अन्य समाचार