‘पुरुष नामको पहिचान बोकेर हिडिरहे’


रुवी लामा/पहिचान -सबै सपनाहरु देखेर के भो,

तक्दिरमा छैन भने पानामा लेखेर मात्र के भो,

खानीकुरा मागी राखेछ पेटले

दाँत निच्चाई हात सेकेर मात्र के भो ??????

सबै कुराहरु हामीले देखेको सोचेको अनि भोगेको भन्दा फरक हुनसक्छ तर जुन वास्तविकता हो त्यसलाई नर्कान भने सकिदैन । उपलब्धी आ—आफ्नै ठाँउमा छ तर पनि विश्व मान चित्र भित्र नक्साङकन भएको देश नेपाल त्यसमा पनि इतिहास रचेको मकवानपुर जिल्लाको गढी गाविस । त्यही गाविसको डाडागाउँमा जन्मिएको म रुवी लामा ।  अहिलेको पहिचान भित्रकै पहिचानमा समेटिन सफल भएको छु । साधारण मध्यम परिवारमा जन्मीएको म सामान्य बालबालिका झैं हुर्के । बाल्यकालदेखि नै केटी झैं ठान्ने र केटीहरुसँगै घुलमिल भएर खेल्न रुचाउथें । घरको कामकाजमा खुबै चासो राखेर आमालाई सघाउने भएकोले माया गरेर सबैले मलाइ कान्छी भन्थे ।

समय बित्दै गयो कक्षा ८ सम्म केटीहरुकै बेन्चमा बस्थे । यसरी बस्दा केही साथीहरुले जिस्काउथे । तर म चासो नै दिन्न थिए । तर जब म कक्षा ९ मा पुगे । कक्षाको पहिलो दिनमा नै एक शिक्षकले कस्तो केटा भएर पनि केटीहरुको बेन्चमा गएर बस्ने भन्दै त्यही शब्द प्रयोग गरे जुन शब्दले अहिलेसम्म पनि हट गराइरहेको छ । म साथीहरुकोबीचमा हासोको पात्र मात्र बनिन, मेरो पढाइलाई नै ठुलो धक्का पुग्यो ।

मेरो धेरै समयको अनुपस्थितिपछि एक जना सर घरमै आएर विद्यालय नजानुको कारण सोध्नु भयो । मलाइ सारै रुन मन लाग्यो र रुदै आफुलाई कक्षा शिक्षकले नै प्रयोग गरेको अपशब्दले गर्दा विद्यालय जान मन नलागेको बताए । तर सरले धेरै सम्झउनु भयो । अन्नत सरले नै म विद्यालय जाने वातावरण तय गरिदिनु भयो । त्यसपछि भने मैले निरन्तर पढाइलाई अगाडी बढाए र अहिले +२ सकेर बसेको छु ।

मेरो बाबा ममीको एक्लो सन्तान, त्यसमा पनि जैविक पहिचान भन्दा केही फरक अनुभूती आफुमा पाउदा म आफु किन यस्तो भए होला, किन अरु केटाहरु जस्तो हुन सकिन भन्ने धेरै खुल्दुली लागिरहन्थ्यो । गाउँले परिवेशमा हुर्किएको म महिला र पुरुष दुई पहिचानका मान्छेहरु मात्र यो समाजमा हुन्छ भन्ने थाहा थियो । आफुमा केटीको जस्तो फिलिङ् आए पनि समाजले तोकिदिएको पुरुष नामको पहिचान बोकेर हिडिरहे । आज भन्दा ६ महिना अघितिरको कुरा हो । घरको काम गर्दै रेडियो सुनिरहेको थिए । मकवानपुर एफएमबाट पहिचान भन्ने कार्यक्रम दिदै रहेछ ।

यौनिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुको अधिकारको विषयमा केही कुराहरु त सुने तर, त्यो दिनको कार्यक्रमले मलाइ कुनै प्रभाव नै पारेन किनकी मैले राम्रोसँग बुझिन । कार्यक्रमको अन्तमा भोलि फेरी यही समयमा आउनेछौं भनेको सुनें । त्यसपछि भोलिपल्ट फेरी समय निकालेर सुने त्यसपछि सुन्दै गए । हरेक दिनको कार्यक्रममा समलिंगी तेस्रोलिंगीहरुलाई विभेद नगरौ भनेको सुन्दै गए । मेरो एक जना मिल्ने साथीलाई यो कार्यक्रमको विषयमा भने तर, उसले चासो दिएन । यो कार्यक्रमले मलाई धेरै जिज्ञासु बनायो र समाधानको बाटो पनि तय गरायो । मै आफुमा भएको अन्तरअनुभुतिहरु केलाउन थाले ।

केही हदसम्म भए पनि आफनो पहिचानको विषयमा जानकार भए । तर, परिवारमा एक्लो सन्तान, त्यसैले पनि आफ्ना अनुभुतीहरु परिवारलाई सुनाउन सकिन न त मेरा साथीहरुलाई नै । कार्यक्रम पहिचान सुनेर आफ्नो यौनिकता त थाहा पाए तर अगाडी आउन आत्मबल अझै झिनो नै थियो । किनकी गाउँमा म एक जना मात्र थिए । कार्यक्रम पहिचानकै प्रतिफल हो म अहिले यौनिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुको अधिकारको आवाज उठाउन संगठित नील हिरा समाज मकवानपुरमा आबद्ध भइ आफ्नो अधिकारको लागि अगाडी बढिरहेको छु, र अब निरन्तर अगाडी बढिरहने छु । साथै आगामी दिनहरुमा यही समुदायको हक हित र अधिकारको लागि समर्पित हुने छु । यसलाई नै मैले मेरो जिन्दगीको सबैभन्दा ठुलो सफलता ठानेको छु ।

अन्तमा रेडियो कार्यक्रम पहिचानलाई विशेष धन्यवाद दिन चाहन्छु । किनकि यौनिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरुको विषयमा यसरी कार्यक्रम सञ्चालन गरेर सबैमा जानकारी दिएको छ । जो लुकेर बसेका समलिंगी तेस्रोलिंगीहरु छन्, उनीहरुलाई अगाडी आउने प्रेरणा प्रदान गरेको छ । यदि कार्यक्रम पहिचान नसुनेको भए अथवा रेडियोमा यो कार्यक्रमले स्थान नपाएको भए म र मजस्ता धेरै साथीहरु गुम्सिएर पिल्सिएर बस्न बाध्य हुनुपर्ने थियो । आज मैले आफुलाई भाग्यमानी पनि ठानेको छु, किनकि कार्यक्रम पहिचान मार्फत एक नयाँ जीवन पाएको छु ।

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार