लिंग परिवर्तन गरेर खुसी छु


काठमाडौं /पहिचान – सन्ध्या लामा पेशाले जागिरे हुन् । अधिकारका लागि कार्यरत संस्थामा कार्यरत उनको पहिचान तेस्रोलिंगी महिला हो । जन्मिँदा पुरुष भए पनि हुर्किने/बढ्ने क्रममा महिलाको स्वभाव विकास हुँदै गयो । पछि उनले आफूलाई लुकाएर राख्न सकिनन् । र, अन्ततः उनले ‘क्रस डेसिङ’ गर्न थालिन् । उनलाई झट्ट हेर्दा तेस्रोलिंगी भनेर कसैले चिन्दैन । स्वर मोटो भएकाले केहीले भने अनुमान गर्छन् । तर, स्वर सुनेपछि पनि धेरैले उनलाई चिन्दैनन् । स्वभावअनुसार उनलाई आफ्नो शारीरिक अङ्ग पनि प्रत्यारोपण गर्ने रहर सानैदेखि थियो । तर, आर्थिक अभावमा त्यो पूरा हुन सकेको थिएन । सपना साकार बनाउन उनले बिस्तारै पैसा जम्मा गर्दै गइन् र । थैली मोटो भएपछि उनी बैंकक गइन् र लिंङ्ग परिवर्तन गरेर सपना पूरा गरिन् । उनै सन्ध्या लामासँग नरेश फुयाँलले गरेको कुराकानी

तपाईंले कहिले र कहाँ पुरुष यौनाङ्ग हटाएर महिला यौनाङ्ग ट्रान्सप्लान्ट गर्नुभयो ?
बैंककमा गरेको हो, तीन महिना भयो ।

स्वास्थ्य अवस्था कस्तो छ अहिले ?
ठिकै छ भन्नुपर्‍यो ।

कत्तिको गाह्रो हुँदो रहेछ ?
अप्रेशन गर्नुपर्ने भएकाले गाह्रो नै भएको थियो ।

कति समय बेहोश बनाउँदारहेछन् ?
मलाई ३ बजे बेहोश बनाएका थिए । होश खुल्दा राति ९ बजेको थियो ।

साथमा को थियो तपाईंको जिम्मेवारी लिने ?
म एक्लै गएको थिएँ, कोही थिएन मेरो आफन्त । थाइल्यान्डमा चिनेका साथी थिए दुई जना– कम्बोडियन र इटालियन । उनीहरू नै मेरो संरक्षकका रूपमा बसेका थिए । मैले मेरो कोही छैन भन्दा डक्टरले अप्रेसन नै हुँदैन भनेपछि उनीहरूलाई संरक्षकको रूपमा राखेकी थिएँ ।

अप्रेसन गरिसकेपछिको अवस्था कस्तो थियो ?
म उठ्नै सकिनँ । दुई दिनसम्म हस्पिटलको बेडमै बस्नुपर्‍यो ।

डक्टरको प्रत्यक्ष सम्पर्कमा कति दिन बस्नुभयो ?
अप्रेशनपछि १५ दिन बैंकक बसें ।

स्वास्थ्यको हेरचाह कसरी गर्नुपर्ने रहेछ ?
घाउ पाक्ने कुरा खानु हुँदैन । दौडिने र धेरै हिँड्ने गर्नु हुँदैन । स्कुटर र बाइक चलाउनु हुँदैन रहेछ । सरसफाइ नियमित गर्नुपर्छ ।

तपाईं अब सम्पूर्ण रूपमा पुरुषबाट महिला हुनुभएको हो ?
हो । स्वभाव त मसँग पहिले नै महिलाको थियो । अब शारीरिक अङ्ग पनि महिलाको भयो ।

कस्तो अनुभूति हुँदोरहेछ ?
पहिले कताकता म पुरुष पनि हैन, महिला पनि हैन भन्ने लाग्थ्यो । अहिले भने त्यो आशंका हटेको छ ।

लिंग परिवर्तनपछि सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । यो मेरो सुरुदेखिकै इच्छा पनि हो । तर, आर्थिक अभावले चाहेको बेला अप्रेसन गर्न सकेकी थिइनँ । त्यो रहर अहिले पूरा भएकोमा खुसी छुृ ।

कति खर्च लाग्दो रहेछ ?
१० लाख रुपैयाँ जति लाग्यो ।

कत्तिको कमजोर महसुस हुँदो रहेछ ?
गह्रुँगा काम गर्नु हुँदैन । अरु त खासै केही हुँदैन ।

रहर त पूरा भयो । अब कसरी बाँच्ने इच्छा छ ?
अरु जसरी बाँचिरहेका छन्, त्यसैगरी नै जिउने हो ।

तपाईं अरुभन्दा फरक हुनुहुन्छ नि, हैन र ?
मलाई त त्यस्तो लाग्दैन । म पनि अरुजस्तै हुँ ।

विवाह गरेर बुहारी बन्ने रहर छ अब ?
बुहारी भन्नाले घरमै बसेर काम गर्ने खालको रहर छैन । विवाह गरेर घरजम गर्ने मन त सबैलाई हुन्छ नि ।

जीवनसाथी खोजिसक्नुभयो कि बाँकी छ ?
खोजेकी छु तर विवाह हुन्छ कि हुँदैन, हेरौं ।

किन ? ढुक्क हुनुहुन्न ?
अलिअलि शंका छ ।

शंका गर्नुपर्ने कारण ?
मैले बच्चा दिन सक्दिनँ, मसँग पाठेघर छैन । यही कारण भोलि उसले मलाई धोका दिएर अर्कै महिलासँग विवाह गर्ने हो कि भन्ने डर लाग्छ ।

बच्चाको रहर लाग्दैन ?
अहिले सेरोगट मदर पनि पाइन्छ । बच्चा एडप्ट गर्न पनि पाइन्छ । आफैंले नजन्माए पनि बच्चा राख्न सकिन्छ धर्मसन्तानको रूपमा ।

समलिंगी विवाहलाई राज्यले मान्यता दिएको छैन । तपाईंहरूले बच्चा एडप्ट गर्न पनि त पाउनुहुन्न नि !
महिला–पुरुषले पाउने, हामीले नपाउने कानुन विभेदकारी हो । यसलाई परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

तपाईंले यति धेरै खर्च गरेर अप्रेशन गर्नुको कारण पुरुषसँग विवाह गर्नु नै हो कि अरु नै छ ?
हैन । मेरो सानैदेखिको इच्छा हो । मेरो स्वभावअनुसार बन्छु भन्ने थियो । मलाई विवाह गरेर घरजम गरी बच्चा जन्माउँछु भन्ने थिएन । बुढेसकालमा कसले हेर्छ भनेर मात्रै बच्चाको परिकल्पना गर्ने हो नि !

तपाईं (तेस्रोलिंगी)हरूका यौनसाथीहरू धेरै हुन्छन् भन्ने आरोप लागिरहन्छ । हो ?
कसैका हुन्छन्, कसैका हुँदैनन् । यो महिला अथवा पुरुषको हकमा पनि लागू हुन्छ । सेक्सवर्कर तेस्रोलिंगी महिलाहरूका पक्कै पनि एकभन्दा धेरै पार्टनर हुन्छन् ।

अङ्ग प्रत्यारोपणपछि शारीरिक सम्पर्कमा पनि परिवर्तन हुने भयो हैन ?
हो । पहिला एनल र ओरल सेक्स हुन्थ्यो भने अब महिला र पुरुषजस्तै हो ।

परिवारले तपाईंलाई कसरी लिएको छ ? हेलाँहोचो गरेको छ कि छैन ?
छैन । सुरुमा केही अप्ठ्यारो थियो । अहिले परिवारले बुझिसकेको छ ।

अनि समाजले ?
समाजले पनि मेरो अगाडि त भन्दैन । पछाडि के भन्छ, थाहा छैन ।

सुरुमा तपाईं छोरा हुनुहुन्थ्यो, अहिले छोरी । परिवारले छोरी भनेर कहिलेदेखि बोलाउन थाल्यो ?
मैले जहिलेबाट क्रस ड्रेसिङ गर्न थालेँ, त्यही दिनदेखि । दाइ–दिदीहरूले पनि भन्छन् । सुरुमा एकजना दाइ किन यस्तो गरेको भनर रिसाउनुभयो । ममीले सम्झाएपछि बुझ्नुभयो ।

समाजका सदस्य, आफन्तले पनि छोरी नै भन्छन् ?
मलाई देख्दा त भन्छन् तर ममीलाई तपाईंको छोरीको कति ठूलो स्वर भनेर भन्छन् रे ! ममीले हाम्रो खानदानकै स्वर ठूलो छ भन्दिनुहुन्छ रे मेरो पहिचान थाहा नपाउनेलाई । तर, धेरैलाई थाहा छ । नातागोताले पनि मेरो पहिचानअनुसार नै बोलाउँछन् ।

सबै छोराछोरीको घरबार भैसक्यो तर तपाईंको भएको छैन । परिवारले के भन्छ ?
अहिले केही नभए पनि बुढेसकालमा अप्ठ्यारो हुनसक्छ, अहिले कमाएको पैसा पछिलाई जम्मा गरेर राख्नू, तिमीलाई साथ दिन्छु भन्नेहरूलाई पनि त्यति धेरै विश्वास नगर्नू भन्नुहुन्छ ।

आफूसँगैका साथी र दिदीहरूले घरजम गरेको र छोराछोरी खेलाएको देख्दा मनमा कस्तो भावना आउँछ ?
घरझगडा भएको देख्दा त के झमेला गरेको होला, एक्लै बस्दा पनि हुन्छ जस्तो लाग्छ । म जे छु ठीक छु भन्ने लाग्छ । अनि रहर र ईश्र्या फरक कुरा हुन् । केटाकेटीको अबोधपन देख्दा रहर लाग्छ तर मेरो चाँही हुँदैन भनेर त्यस्तो दुःख लाग्दैन । खुसी नै छु ।

राम्री हुनुहुन्छ, हिरोइन या मोडल हुने रहर छैन ?
छैन । जसरी पनि चलचित्र खेल्नुपर्छ भन्ने थियो भने म खेलिसक्थें । मैले भोजपुरी चलचित्रमा काम पनि गरिसकेकी छु । अफर आयो भने खेल्छु तर जसरी पनि खेल्नै पर्छ भन्ने मरो चाहना छैन ।

साभार : बाह्रखरी

यसमा तपाइको मत

समाजबाट अन्य समाचार