“जबरजस्ती बैवाहिक सम्बन्धबाट हर रात बलात्कृत हुनुपर्ने बाध्यता छ”


पिंकी गुरुङ/पहिचान – नील हिरा समाजले विगत १७ बर्षदेखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ । आफ्नो समुदायको अधिकार प्राप्तिको लागि कानुनी लडाँइ मार्फत संबैधानिक अधिकार प्राप्त भइसक्यो, यद्यपी सोचेजस्तो कार्यान्वयन हुन सकिरहेको छैन ।

त्यसैले यस मिस्टर गे हेन्डसम प्रतियोगिता एउटा हेन्डसम प्रतियोगिता मात्र होइन, समलिंगी पुरुषभित्र रहेका क्षमता प्रदर्शनका माध्यमबाट समाजभित्र रहेका असमानता, अन्याय, लाञ्छना प्रदर्शनका माध्यमबाट समाजभित्र रहेको समानुभुती, स्वतन्त्रता र मानवअधिकारको आवाजहरुलाई बुलन्दका साथ उठाउँदै न्यायका आधारमा अवसर र समानताका आधारमा अधिकार दिलाउनका लागि गरिएको एक वकालतमुखी कार्यक्रम हो ।

हाम्रो नेपाली समाज अझै पनि पितृसत्तात्मक शैली र विपरितलिंगीबादबाट ग्रसित छ । बहुसंख्यक समुदायमा रहेका विपरितलिंगी समाजले बनाएको सामाजिक संरचना र नीति नियमका परिधीहरु महिला र पुरुषमा मात्र सिमित छन् । हामी यौनिक तथा लैंगिक अल्पसंख्यकका पक्षमा कुनै पनि सामाजिक नियमहरु बनेका छैनन् । यसलाई नै हाम्रो समाजले प्राथमिकतामा राखेको छ र महत्व र मान्यता पनि प्रदान गरेको छ । यहि सामाजिक मान्यता र स्वीकार्यताको अभावले आजसम्म पनि समिलंगी समुदायहरु खुलेर समाजमा आउन सकेका छैनन ।

प्राचिनकालदेखि हिन्दूग्रन्थका कथाहरुमा र नेपालका पुराना मठमन्दिरका टुँडालहरुमा समलिंगी सम्बन्धका कथा र आकृतिहरुलाई सुन्दर शैलीमा अभिव्यक्त गरेपनि नेपाली समाजले यसको सकारात्मक पक्ष र स्वीकार्यतालाई अन्तस्करण गर्न सकेको छैन । महिला र पुरुषको परिधी भित्र मात्र रमाउने समाजले समलिंगी समुदायलाई सामाजिक रुपमा स्थापित गर्न नसक्दा थुप्रै समलिंगीहरु लुकेर बस्न बाध्य छन् । ९५ प्रतिशत भन्दा बढी समलिंगी विपरितलिंगीसँग विवाह गरि बस्दै आएका छन् ।

जुन मुलुकमा बैवाहिक बलात्कारको कानुनी प्रावधान छ, त्यही मुलुकमा हामी समलिंगी र तेस्रोलिंगी समुदायहरु पारिवारिक दबाब कानुनी अभावका कारण जबरजस्ती विपरितलिंगीसँगको बैवाहिक सम्बन्धबाट हर रात बलात्कृत हुनुपर्ने बाध्यता छ । लेखिएका अधिकारहरु प्राप्त गर्नका लागि पनि व्यक्ति विशेषको सोचाई मान्यता र प्राथमिकतामा निर्भर रहँदै आएको छ ।

हाम्रा स्वतन्त्रताका अधिकारहरु कहाँ गए ? किन हामीले सामाजिक मान्यता र अभावका कारण जीवनभर मरेर बाँच्नुपर्ने ? के हाम्रा इच्छा, चाहना, आकर्षण र प्रकृतिको कुनै मुल्य छैन ? किन नेपालको कानुन अष्ट्रेलिया, नर्वे, साउथ अफ्रिका र नेदरल्याण्ड जस्तो बन्न सक्दैन ? के हामीले आफ्नो पूर्ण अधिकारको लागि अर्काे जन्मको प्रतिक्षा गर्नुपर्ने हो ? यस्ता थुप्रै अविरल प्रश्नहरु मेरा मानसपटलमा आइरहन्छन ।

म हरेक रात आफ्नो समुदायको अधिकार प्राप्तिको सपना देखिरहेको हुन्छु । किनभने मेरा समुदायहरु अन्यायमा रोइरहेको देखेकी छुँ । पारिवारिक विवाह दवावका कारण थुप्रै समलिंगीहरु विदेशिएका छन् । जरजस्ती विपरितलिंगीसँगको विवाहपछि थुप्रै शारीरिक र मानसिक यातना भोगिरहनु परेको छ । सम्बन्ध र पैतृक सम्पत्तीको अधिकारबाट बेदखल हुनुपर्दा थुप्रै समुदायका साथीहरुले गरेका आत्महत्याका दृष्यहरु अझै पनि मेरा आँखा वरिपरि घुमिरहन्छन् ।

आफ्ना सुन्दर जीवन र अमुल्य इच्छाचाहना र प्राकृतिक आकर्षणलाई सामाजिक र कानुनी मान्यताको अभावसँगै दागवत्ती दिनुपर्ने बाध्यता छ । फलस्वरुप हाम्रो सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक जीवनमा प्रगति हुन सकेको छैन । समुदायको अवस्था फेरिन थुप्रै बाँकी छ । सदियौदेखि बहिष्कृत समाजले गरेको नकारात्मक असरले अझै हामीलाई माथि उठ्न दिएको छैन ।

यि सम्पूर्ण नकारात्मक कुराहरुलाई चिर्नका लागि समान बैवाहिक अधिकारका मुद्धालाई सशक्त ढंगबाट उठाउन आवश्यक देखिन्छ । समान बैवाहिक अधिकारले समाजभित्र विकृतीको जन्म होइन यसले हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जीवनलाई व्यवस्थित बनाउँछ । हाम्रा सामाजिक शारीरिक र मानसिक समस्याको निराकरण गर्ने एउटा उपाय हुन सक्दछ । सामाजिक असमानता र सामाजिक बहिष्करणको समाधान गर्ने बलियो विकल्प बन्न सक्छ भन्ने कुरा आम जनतामाझ बुझाउनु पर्ने आवश्यकता छ ।

हामी लुकेर बसे हाम्रो अधिकार पनि लुक्छ, हामी नखुले समाज कहिले खुल्छ ? यस्ता थुप्रै सन्देशहरु बोकेर नबुझेको समाजलाई बुझाउन, नखुलेका समुदायलाई खुलाउनका लागि १६ जना प्रतियोगी साथीहरु प्रतिष्पर्धाको मैदानमा उत्रेका छन् । जुन योद्धाहरुसँग विशाल छाती छ, अनि त्यो छातीभित्र समाज परिवर्तन गर्ने दृढ संकल्प र आत्मविश्वास छ, म त्यस महान योद्धाहरुलाई यसै मञ्चबाट उभिएर हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र भन्न चाहन्छु, आजको यस प्रतियोगितामा कसैको हार हुँनेछैन, जोकोहीले जिते पनि हामी सम्पूर्णको विजय हुनेछ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।

जहाँ दिन हुन्छ, त्यहाँ रात हुन्छ । जहाँ घाम हुन्छ त्यहाँ पानी हुन्छ । जहा जन्म हुन्छ, त्यहाँ मृत्यु पनि हुन्छ अनि जहाँ विपरितलिंगी हुन्छन, त्यहाँ समलिंगी पनि हुन्छन । जहाँ महिला र पुरुष हुन्छन् त्यहाँ तेस्रोलिंगी र अन्तरलिंगी पनि हुन्छन । यि सब संसारका नीति हुन र सृष्टिका रचना हुन, प्रकृतिका विविधता पनि । अनि हामी संसारको नियतीभन्दा अलग, सृष्टिको रचनाभन्दा फरक र प्रकृतिको विविधताभन्दा भिन्न कसरी हुन सक्छौ ? यही कुरालाई बुझिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु ।

(अध्यक्ष गुरुङले दोस्रो मिष्टर गे हेन्डसम प्रतियोगितामा व्यक्त धारणाको सार संक्षेप)

यसमा तपाइको मत

विचारबाट अन्य समाचार