कसकसलाई विवाह गर्न मन छ ?, हात उठाउनुस् !

कास्की (पहिचान) पुस २२ –  “घर फर्किदा आफ्नो मनको कुण्ठा पोखराको सेती नदीमा बगाएर जानुस् र ढुक्क भएर बाँच्नुस् । अब पनि लुकेर बस्नु हुँदैन,” शुक्रबार पोखरामा तेस्रोलिंगी महिला पिंकी गुरुङ सहभागीहरुलाई भन्दै थिइन्, “मनको कुण्ठा पालेर बसे घाटा आँफैलाई हुन्छ, त्यसको नकारात्मक प्रभाव तपाइँ आँफैले बेहोर्नुपर्छ ।”

सहभागीहरुले परपरर ताली बजाउँछन् । ताली बजाउनेमा पहिलो र दोस्रो गे हेन्डसम प्रतियोगिता क्रमश ः सन् २०१३ र २०१७ का सहभागी थिए । गुरुङले अगाडि भन्दै गइन्, “तेस्रोलिंगीलाई मात्रै समाजले चिन्छ, समलिंगीलाई चिन्दैन ।” तालीको फोहोरा फेरि बज्छ । सहभागीहरु उत्साहित हुन्छन् । गुरुङको चेहरा उज्यालो हुँदै जान्छ, भन्छिन्, “अब विवाहको अधिकार माग्नु छ, त्यसका लागि थप तपाइँ हामी संगठित हुनुछ । महिला मन्त्रालयमा गएर अड्किएको समलिंगी विवाहको प्रतिवेदन अनुसारको कानुन बनाउन दबाब दिनुपर्छ ।”

गुरुङ समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजकी अध्यक्ष हुन् । स्थापनाकाल सन् २००१ देखि समाजमा क्रियाशील रहँदै आएकी गुरुङ संसद्ले अब बनाउने कानुन समलिंगी तेस्रोलिंगी मैत्री बनाउन जोड दिन दबाब दिनुपर्ने बताउँछिन् ।
गुरुङ स्टेजबाट फ्लोरमा झरिन् । उक्लिए पहिलो गे हेन्डसम विश्वराज अधिकारी । उनले आफू जस्तै समलिंगी पुरुषहरुलाई आफ्नो समस्या बताए । समाजले आफूहरुलाई हेर्ने दृष्टिकोण सुनाए । सिंहदरबारमा रहेका नीति निर्माताहरुको समलिंगीप्रतिको धारणाबारे जानकारी दिए ।
संगठित हुँदाको उपलब्धी र भावी योजना सुनाए । पाइपलाइनमा रहेका अधिकारहरु सुनाए । र, उनी पनि विदा भए ।

स्टेज उक्लिने पालो आयो, अधिवक्ता सुजन पन्तको । उनले सुरुमै सहभागीलाई सोधे, तपाईहरु मध्ये ककसलाई विवाह गर्न मन छ ?
कोही बोलेन । फेरि उनले पहिलो प्रश्नै दोहोर्याए । फ्लोरको बीचबाट एउटा हात माथि उठ्छ । लाग्छ त्यो हात सेलिब्रिटीको हो । सबैले हेर्छन् । क्रमशः अरु हातहरु पनि उठछन् । हलका दुई तिहाई हात उठ्छन् ।

पन्तले अर्को प्रश्न फ्याँक्छन्, को सँग विवाह गर्न मन छ ?

अधिकांश एकै चोटी जवाफ दिन्छन्, केटासँग ।

अधिवक्ता पन्त बल्ल प्रवेश गर्छन्, नेपालको संविधानतर्फ । नयाँ संविधानले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि कुनकुन धारामा व्यवस्था गरेको छ, उनले जानकारी दिन्छन् । उनका अनुसार धारा १२, १८ र ४२ ले संबोधन गरेको छ ।

तर यो धारा अनुसार कानुन बन्नै बाँकी छ । “नेपालका राजनीतिक दलहरु यो मुद्धामा पक्ष विपक्षमा विभाजित छन्,” पन्तले भने, “अबको संसद्ले यसलाई कसरी लिन्छ ? त्यसलाई हेर्न बाँकी छ । आशा गरौं तपाईहरुले विवाह गर्ने कानुन संसदले बनाओस । यसका लागि तपाईंहरुले उहाँहरुलाई बुझाउनु पर्छ, दबाब दिनुपर्छ ।