दुःखीको प्रेम पत्र : तिमी सपनाको संसार कोर्दै जाऊ, तिमीलाई शुभकामना


बबी तामाङ/पहिचान – बाँचेको छु तर छियाछिया भएको मुटुलाई टालटुल पार्दै, हाँसिरहेको छु तर मनको अन्तर कुनामा आफ्नो तीतो विगत र वर्तमानलाई लुकाउँदै ।

मेरो जीवनको अधुरो यात्रामा अतितका प्रेममय पलहरुको सम्झनामा आजसम्मका दिनहरु कटिरहेका छन् । पानी बिनाको माछासरी छटपटाउँदै विवशताको कथा व्यथाहरुसँग रम्दैछु । भुल थियो मेरो या सांसारिक यात्रामा रम्न खोज्नु गल्ती थियो । त्यो त मलाई पनि थाहा छैन । तर लाग्छ, रंगीन दुनियाको यात्रा गर्ने सपना देख्नु भुल भएछ । अनि तिमीसँगको परिचय गल्ती भएछ ।

तिमी देखि टाढा हुनु मेरो दुर्भाग्य रहेछ ।
हो प्रिय यही दुर्भाग्यलाई नै आफ्नो भाग्य सम्झी
जिन्दगीको
अप्ठ्यारो गोरेटोहरुमा पाइला चालिरहे छु ।।

अधुरो मेरो जीवनमा
अधुरो कथा कोर्दैछु
कसैको साथ नपाउँदा
अधुरो जीवन भोग्दैछु ।

० ० ०

आकाशमा उड्ने पञ्छीलाई के थाहा समुन्द्रको गहिराई कति हुन्छ भनेर
धोका दिने प्रेमीलाई के थाहा मायाको मोल कति हुन्छ भनेर ।
जिन्दगीको उकाली ओरालीमा तिम्रै नाम जपिरहेछु
मध्य रातको मिठो सपनामा केवल तिमीलाई नै देखिरहेछु ।

तिम्रो बारेमा लेख्न र अतीत खोल्न मन नलागे पनि तिमीलाई अथवा तिमीबाटै मेरो मन चोरिएपछि यो खाली कागजमा अतित उतारिरहेछु । मायाको गहिराई म तिमीलाई सम्झाउन खोजिरहेछु ।

लागेको छ, तिमीले मलाई आज सम्झिरहेका छौं । तर पनि मलाई थाहा छ मलाई तिम्रो कठोर मुटु पग्लिदैन । किनकी त्यो पथ्थर हो, मैले अनुभूत गरिसकेको छु । शिशिरमा पालुवा पलाउँदैन । बसन्त नै कुर्नु पर्छ । मैले भोगी सकेकी छु ।

० ० ०

लाग्थ्यो काठमाडौं सुन्दर छ, अनि काठमाडौ जस्तै तिमी पनि सुन्दर छौं । राजधानीमा काठमाडौं मात्रै थिएन, त्यहाँ तिमीसँगै तिमीलाई चाहाने यो मन पनि थियो ।

म तिमीलाई चाहन्थे, सपाना देखेको थिएँ । वर्तमान र भविश्यको कल्पना गरेको थिएँ । सुन्दर ती सुदुर दिनहरुमा रमाउन थालेको थिएँ ।
म तिम्रो प्रतिक्षामा दुई बसन्त बसें । तिम्रा लागि दुई बसन्त फगत लाग्न सक्लान् । तर बिछोडको एक पल पनि कति लामो र कष्टप्रद हुन्छ, त्यो सायद प्रेमका पुजारीहरुलाई मात्रै थाहा हुन्छ । सुन्दर शरीरको भोग र खोज गर्नेहरुलाई हैन ।

मलाई लागेको थियो र आशा पनि थियो, मुटुको छेउमा मलाई थोरै भए पनि स्थान दिने छौ भन्ने तर दिएनौ । ठिकै छ मैले तिम्रो मनमा स्थान नपाए पनि आज चित्त बुझाएकै छु, यो मन रुवाएर भए पनि बाँचिरहेकै छु ।

० ० ०

तिमी गयौ, वियोगमा मेरो मुटु चिरियो । खपें मैले मुटु चुँडिदाको पीडा । भोगे मैले सपना टुट्दाको पीडा । सहें मैले मेरो सपना अलपत्र छोडिदाको पीडा । आखिर पीडै त रहेछ जिन्दगी । आखिर दोबाटोमा छोडिनु त रहेछ जिन्दगी । छोड्यौं मलाई दोबाटोमा, म त्यहीँ अलपत्र परें ।

० ० ०

यो जन्ममा मैले मेरो मायाको सागर सजाउन नसके पनि सम्झना र कल्पना भने, सझाए । तिमीले मेरो ठूलो आशालाई तोडेर धोका दिने प्रयास गरिराख्यौ । अझै पनि उजाड मरुभुमिमा रम्न आइपुगें भने अतितका ती दिनहरुलाई नभुल ल ।

तिमीले तिम्रो कोमल त्यो सुन्दर शरीर दिन नसकेपनि तिम्रो दर्शन मात्रै दिएर भएपनि मेरो मनको आकाक्षाहरुलाई पुरा गरिदिनु ल ।

यी मेरा आँशुले तिम्रो सफलताको बाटो कहिल्यै पनि छेक्ने छैन । म बाचा गर्दैछु । मलाई धोका दिएर सयाद तिमीले ठिकै गर्यौ ।

मैले धोकाको महल बनाएँ, यसमै रम्न खोज्दैछु ।

तिमी सपनाको संसार कोर्दै जाऊ, तिमीलाई शुभकामना । तिम्रो हरेक पाइलाले सगरमाथाको शीर चुमोस । तिमी यो जन्ममा अर्कैको भयौ । मैले त बस तिमीलाई देखें मात्रै । एउटा सपना मात्रै सजाएँ । यो सपना नै सही । म यसमै चित्त बुझाउँछु ।

तिमीलाई यो जन्ममा पाउन सकिन । अब अर्को जन्ममा तिम्रै पखाईमा हुने छु । खुसी रहुनु, सुखी रहनु । मेरो सुभकामना ।

(बबी यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा कार्यरत छन्)

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार