फरक पहिचान बनाउँदै मनिल सिंह

नरेन्द्र रौले/पहिचान – एक महिनाअघिसम्म मनिल सिंहलाई चिन्नेहरू कमै थिए । उनी आफ्ना साथीभाइको सर्कलमा मात्र चिनिन्थे, तर यतिबेला उनलाई मिडियाले पछ्याउन थालेको छ । अहिले सिंहले मुलुक तथा मुलुकबाहिरका मिडियामा बिस्तारै स्थान पाउन थालेका छन् ।

चन्द्रनगर गाउँपालिका सर्लाहीका मनिल सिंहको परिचय एकाएक फेरिनुको कारण उनले पाएको सफलता नै हो । नेपालमा दोस्रो पटक ब्लू डायमन्ड सोसाइटीले आयोजना गरेको मिस्टर गे ह्यान्डसमको उपाधि जितेपछि एकाएक उनको खोजी हुन थालेको हो । पुस ११ गते आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले ५० हजार रुपैयाँसहितको यो उपाधि हात पारेका थिए ।

मनिलले पुरुष समलिंगीहरूबीचको उक्त प्रतिस्पर्धा जित्छु भन्ने सोचेका थिएनन्, तर जब प्रतियोगितास्थलको वातवरण देखे र आफूमा आत्मविश्वास भरिएको चाल पाए, त्यसपछि उनी उपाधि जित्नेमा ढुक्क भए । ‘म कुनै पनि प्रतिस्पर्धामा दोस्रो भएको छैन,’ हालैको एक मध्याह्न उनले भने, ‘मैले हार्न त जानेकै छैन ।’ ०६२ सालमा सर्लाहीको जनता माविबाट एसएलसी दिएका मनिल खासमा वकिल बन्न चाहन्थे । पहिलो डिभिजनमा एसएलसी उत्तीर्ण गरेका सिंह स्कुलका अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुन्थे ।

खेलकुद तथा सामाजिक गतिविधिमा बढी रुचि राख्ने मनिलले नारायण उच्च माविबाट प्लस टु तहको अध्ययन पूरा गरे । प्लस टु पढ्दा भने अतिरिक्त क्रियाकलापमा भाग लिन पाएनन् । एकैचोटि बीबीए पढ्न काठमाडौं आउँदा उनले त्यो रहर फेरि पूरा गरे । स्कुल पढ्दा उनी बाल अधिकार चेतना समूहका अध्यक्ष थिए र रेयुकाईमा समेत काम गर्थे । रेयुकाईमा उनको पद होजाइन थियो । उनको भूमिका अरूलाई उत्प्रेरणा दिनु हुन्थ्यो । अहिले पनि उनी गाउँको युवा क्लबका सचिव छन् । उनी अध्यात्ममा रुचि राख्छन् र मन्दिरसमेत जान्छन् ।

मनिल सम्झिन्छन्— १०–११ वर्षकै उमेरदेखि उनी केटाहरूप्रति नै आकर्षित हुन्थे । आफू केटा भएर पनि केटाहरूप्रति नै किन आकर्षित भएको होला ? भन्ने प्रश्नले उनको मनमा डेरा जमाउँथ्यो, तर त्यसको जवाफ उनीसँग थिएन । स्कुल तथा कलेज तहमा उनले कतिलाई मन पराए, तर भन्नै सकेनन् । फेरि उनलाई ‘नो’ भन्ने शब्ददेखि एकदमै एलर्जी छ । कसैलाई कुनै प्रस्ताव राख्दा अस्वीकार गर्‍यो भने त्यो जति नमज्जा अरू केही हुँदैन । उनलाई त्यति बेला मात्र आफ्नो कुरा व्यक्त गर्न मन लाग्छ, जब कतैबाट त्यो स्वीकार हुने पक्कापक्की हुन्छ ।

मनिल समलिंगी भएको कुरा परिवारमा अझै थाहा छैन । उनले हालै पाएको उपाधिका बारेमा पनि उनका परिवारका सदस्यहरूलाई जानकारी छैन । उक्त प्रतियोगितापछि मोबाइल हराएर परिवारसँगको सम्पर्क टुटेको छ । अब एकैपटक घर पुगेर परिवारमा जानकारी गराउने सोच उनले बनाएका छन् । उनका बुबा जयसिंह कृषक हुन्, जो स्थानीय स्तरमा कांग्रेसको राजनीति गर्छन् । आमा हेमनी गृहिणी हुन् । दुई जना दिदी विवाह गरेर गैसके । उनका एक जना दाइ सुशील पसल चलाएर बसेका छन् भने बहिनी बन्दना सर्लाहीमै स्नातक तह अध्ययनरत छिन् ।

मनिललाई गणित विषय मन पर्दैन । त्यसैले त नेपाल कमर्स क्याम्पसमा बीबीएस तेस्रो वर्ष पुगेपछि बीचैमा उनले कलेज परिवर्तन गरे । तेस्रो वर्षमा गणितका हिसाब गर्नुपरेपछि उनी एकाएक ट्रिटन कलेज भर्ना भएका थिए । हाल उनी त्यहाँ ब्याचलर्स इन सोसल वर्क अध्ययनरत छन् । ट्रिटनमै पढ्दा उनले बास्केटबल, फुटबल तथा क्रिकेटका थुप्रै प्रतियोगितामा भाग लिए । उनको समूहले जहिल्यै पहिलो स्थान हात पाथ्र्यो ।

मनिललाई छोरी मन पर्छ । विवाहपछि आफ्नो छोरी नै जन्मिउन् भन्ने उनको चाहना छ, तर उनी आफैंले बच्चा जन्माउन सक्नेछैनन् । न त उनी यतिबेला जोसँगको प्रेममा छन्, उनले नै बच्चा जन्माउन सक्छन् । किनभने उनी प्रेममा बाँधिएका पिटर राई पनि पुरुष समलिंगी नै हुन् । आफैंले बच्चा जन्माउन नसके पनि सेरोगेसी मदर राखेर बच्चा जन्माउने उनको इच्छा छ, तर उनको इच्छा पूरा हुन्छ कि हँुदैन निश्चित छैन, किनभने नेपालमा सेरोगेसी मदर राख्न बन्देज छ । प्रक्रिया मिलाएर राख्न पाउनुपर्छ भन्ने मनिलको माग छ ।

ग्वार्कोका पिटर राइसँग हालै मात्र मनिलको प्रेमसम्बन्ध गाँसियो । गे ह्यान्ड्स प्रतियोगिताका सेकेन्ड रनर्सअप पिटरसँग उनको भेट भएको दुई वर्ष भयो । एकदमै नजिक भएको एक महिना भयो । दुवैले एक–अर्कालाई मन पराउँथे । यसपालि पोखरा गएका बेला सयौं मानिसका माझ आँट गरेर मनिन्द्रले भने— ‘वि आर इन् रिलेसनसिप ।’ त्यसपछि उनले पिटरलाई कसिलो अँगालो मारे । सिंहका लागि त्यो सबैभन्दा खुसीको क्षण थियो ।

मनिल ब्लू डायमण्ड सोसाइटीको काठमाडौं शाखामा आबद्ध भएको १० महिना भयो । उनी पुरुष समलिंगीहरूलाई सुरक्षित यौनसम्पर्कका बारेमा परामर्श दिन्छन्, साथै उनको क्षेत्रभित्र पर्ने कोटेश्वर, शंखमूल, एयरपोर्ट, नयाँ बानेश्वर आदि ठाउँमा फिल्डमै खटिएर पुरुष समलिंगीहरूलाई कन्डम तथा लुब्रिकेन्ट वितरण गर्ने काम गर्छन् । त्यस्तै उनले एचआईभी संक्रमित भएकाहरूलाई संस्थाका तर्फबाट आवश्यक सरसहयोग प्रदान गर्दै आएका छन् । मनिलको मातहतमा दुई जना कम्युनिटी मोबिलाइजर कार्यरत छन् ।

बिहान ९ देखि १ बजेसम्म कार्यालयमै रहने मनिल त्यसपछि साँझ ७ बजेसम्म फिल्डमा हुन्छन् । शान्तिनगरको एउटा होस्टलमा बस्दै आएका मनिलको मासिक खर्च १५ हजार रुपैयाँ छ । विभिन्न तालिम तथा अन्य प्रोजेक्टहरूको काम गरेर उनले अतिरिक्त कमाइसमेत गर्छन् ।

प्राय: एक्लो हँुदा मनिलको मनमा समाज र देशकै बारेमा कुरा खेल्छ । अझै पनि विकासले गति नलिँदा तथा समाजको चेतनाको स्तर अपेक्षित रूपमा वृद्धि नभएकोमा उनको मन दुख्छ । जन्म प्राकृतिक कुरा हो । मानिसहरू जुन लिंग लिएर जन्मिए पनि त्यसलाई समाजले स्वीकार गर्नुपर्ने उनको मान्यता छ । मनिल सरकारसँग यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि विशेष ऐन ल्याउन आग्रह गर्छन् ।

‘विवाह, नागरिकताजस्ता विषयमा बेग्लै कानुन हुनुपर्‍यो,’ उनले भने । यस्तै चित्त नबुझेका क्षेत्रमा सुधार गरौंला भनेरै उनी सक्रिय राजनीतिमा आउन चाहन्छन् । आफू उपयुक्त समय कुरिरहेको र चाँडै कुनै न कुनै पार्टीमा प्रवेश गर्ने उनले बताए ।

साभार : कान्तिपुर साप्ताहिक