सामाजिक संजालमा पुरुष महिला र महिला पुरुष बनेको देखेर तेस्रोलिंगी दंग

काठमाडौं (पहिचान) फागुन ९ – सामाजिक सञ्जाल फेसबुकमा अहिले महिलालाई पुरुष र पुरुषलाई महिला देखाउने फेस एपको निकै प्रयोग भैरहेको छ र त्यस्ता तस्विरहरु विचार सहित पोष्ट गरिएको छ । खास गरी पुरुषलाई महिला बनाउने एप प्रयोग गर्दा आफ्नो महिला रुप देखेर धेरै छोरा मान्छे दंग छन ।

के त्यस्तो एप प्रयोग गर्नेहरु मध्ये कसैलाई केटी नै बन्न मन लागेर त्यसो गरेका हुन वा फगत रमाईलो मात्रै ? प्रष्ट भन्न सकिन्नँ, तर धेरैका रमाईलो भएपनि कोही कोहीमा त्यस्तो आन्तरिक भावना पनि हुन सक्छ । जन्मदा पुरुष तर हुँर्कदै बढ्दै जाँदा महिला र जन्मदा महिला तर हुँर्कदै बढ्दै जाँदा पुरुष बन्नेहरु आफूलाई तेस्रोलिंगीको पहिचान दिएर अधिकार मागिरहेका छन् । उनीहरुले महिला बन्नलाई समाजिक संजालको फेस एप प्रयोग गर्नु परेको छैन ।

तर, सामाजिक संजालमा आफूलाई महिला बन्दा कस्तो देखिने रैछ भनेर पोष्टिनेहरु देखेर तेस्रोलिंगी पनि दंग परिरहेका छन् । “उनीहरु मध्ये केहीलाई साच्चै महिला बन्ने लागेको हुन सक्छ, समाजमा पुरुष महिला बन्दा अपहेलना तिरष्कार भोग्नु पर्ने डरले नबनेका हुन सक्छन, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जानकारहरु भन्छन्, तेस्रोलिंगी बन्न लजाउने, उनीहरुलाई घृणा गर्ने तर भित्र भित्र आफूलाई महिला स्वभावको देखाउन चाहनेका लागि फेसबुकको पुरुष महिला बन्ने र महिला पुरुष बन्ने एप कुण्ठा पोख्ने माध्यम बनेको छ ।”

समान लिंग प्रति (जस्तो महिला महिलासँगै र पुरुष पुरुषसँगै ) आकर्षित हुनेलाई समलिंगी भनिन्छ । विपरित लिंगी महिला पुरुषसँग र पुरुष महिलासँग आकर्षित हुनेलाई भनिन्छ । तर, जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउ भाउ हुने र जन्मँदा महिला हुर्कदै बढ्दै जादाँ पुरुष हाउ भाउ र स्वभाव हुनेलाई तेस्रोलिंगी भनिन्छ ।

“यस्तो व्यवहार गर्नेहरु सबैले आफूलाई तेस्रोलिंगी भन्न रुचाउँदैन् जानकारहरु भन्छन्, हाम्रो सामाजिक अवस्थाका कारण पनि उनीहरु पहिचान लुकाएर राख्छन् । अनेक थरीका एपको विकास गरेर फेसवुकमै आकर्षित गराउन थालेको फेसबुकले पुरुषबाट महिला र महिलाबाट पुरुष बन्ने एप ल्याएर मान्छेको मनोविज्ञान बुझ्न खोजेको हो भन्नेहरु पनि छन् ।”

केही पत्रकारले समेत पुरुषबाट महिला बन्ने एप प्रयोग गरेर स्टाटस नै लेखेका छन् । कोहीले स्टाटस विनै तस्विर अपलोड गरेका छन् । कोहीले नट फर फर्म फ्याक्ट भनेका छन भने कोहीले सानो हुँदा आमाले ठूल्छोरी भनेर बोलाउँदा रिस उठ्थ्यो, साँच्चै छोरी भएको भए त राम्री पो हुनै रैछु लेखेका छन् । कोहीले यो रुप पनि नराम्रो त लागेन भनेर तस्बिर सहित पोष्टिएका छन् ।

यो एप प्रयोग रमाईलो मात्रै होईन, पुुरुष भित्र महिलाको भावना र चाहना अनि महिला भित्र पुरुषको भावना र चाहना हुन्छ र त्यस्तो मान्छेहरु अहिले पनि तेस्रोलिंगी, समलिंगीका रुपमा बाँचिरहेका छन, भनेर बुझ्न सकियो भने उनीहरुलाई स्वीकार्न र उनीहरुलाई बुझ्न धेरै सजिलो हुन्छ, किनकी तेस्रोलिंगी समलिंगी फेसबुकको एप होईन, वास्तविकतामै त्यस्तै हुन र त्यसरी नै बाँचिरहेका छन ।

नयाँ एप प्रयोग गरेर पुरुष महिला र महिला पुरुष बनेको तस्विर पोष्ट गर्दा त विभिन्न खालका लाञ्छना लगाउने प्रतिक्रिया आउछन भने बास्तवमै तेस्रोलिंगी भएकाले कस्तो पीडा भोग्दै आएका होलान ?