तेस्रोलिंगीको आवाज : ‘जिउँदो आकाश’

काठमाडौं (पहिचान) फागुन २० – हाम्रो समाजले महिला र पुरुष बाहेकका फरक यौनिकता र लैंगिकता भएका समुदायलाई बुझ्न सकेको छैन । जसका कारण यी समुदायका मानिस विभिन्न जटिल सामाजिक संरचनामा बाच्न बाध्य छन् । देश विकासको मुल प्रवाह भन्दा बाहिर रहेका छन् । राज्यले उचित संरक्षण गर्न नसक्दा मानवअधिकारका आधारभुत पक्षहरु यो समुदायमा कमजोर देखिन्छ । समाजमा फरक पहिचान भएर हुर्किएका यी समुहले भोग्नु परेको समस्यालाई नाटक ‘जिउँदो आकाश’ ले यथार्थ चित्रण गरेको छ ।

 

पुरुष लिंगमा जन्मिएका गौरवमा हुर्किदै जाँदा अन्य शारिरीक बनावट, इच्छा र व्यवहारहरु महिलाको जस्तो हुन्छ । बाल्यकाल देखि नै श्रृंगार गर्न रुचाउने, पुरुष प्रति आकर्षित हुने गर्छन् । किशोरावस्था सुरु भएपछि उनको लैंगिक पहिचान महिला र पुरुष भन्दा फरक अवस्थामा विकास हुँदै जान्छ जसका कारण उनी साथीहरुको भिडमा एक्लै हुन्छन् । परिवारले कुलको इज्जत नै फाल्ने भयो भन्दै मानसिक तनाव दिने गर्छन् । विद्यालयमा शिक्षकले नपुंसक भन्दै गाली गर्ने, कुट्ने र कडा सजायहरु दिन्छन, जसका कारण उनले औपचारिक पढाई विचमै छोड्छन् । गाउँ, समाज, परिवार, साथीभाई सबैको अगाडी नपुंसक भनेर हाँसोको पात्र बन्छन् र आत्महत्याको समेत प्रयास गर्छन ।

यो समस्या समग्रमा तेस्रोलिंगी समुदायले भोग्दै आएका छन्, जसलाई नाटक ‘जिउँदो आकाशमा’ यथार्थ रुपमा प्रस्तुत गरिएको छ । नाटककार चन्द्रप्रसाद पाण्डेले तेस्रोलिंगीको सामाजिक अवस्थालाई नाटकका माध्यमबाट रंगमञ्चमा प्रस्तुत गरेका छन् । समाजले यौनिक अल्पसंख्यक समुदाय प्रति गर्ने नकारात्मक व्यवहारलाई नाटकमा जस्ताको त्यस्तै उतारिएको छ । सामाजिक अस्वीकारोक्तिका कारण जन्मिएको पीडालाई नाटकमा मुल विषय बनाइएको छ ।

‘पुरुषको लाइनमा बसुँ मनले मान्दैन, महिलाको लाइनमा बसुँ तनले मान्दैन, विचमा बसुँ स्वयंसेवकले मान्दैन’ गौरव सेनामा भर्ती हुन जाँदा वोलेको यो संवादले तेस्रोलिंगीहरुको मानसिक, शारीरिक समस्या र पीडालाई एकै साथ प्रस्तुत गर्दछ । सेनामा भर्ती हुनका लागि इलाम पुगेका गौरवलाई सेनाका कमान्डरले फरक हाउभाउ र शैलीकै कारण शारीरिक शोषण गर्छन । सैन्य कोर्समा सक्षम भएपनि नपुसंक भएको आरोपमा उनको सैनिक बन्ने इच्छा पनि समाप्त गरिदिन्छन् ।

‘विदेश जाउँ महिला र पुरुष, सरकारी जागिरका लागि पनि महिला र पुरुष । जुन क्षेत्रमा पनि महिला र पुरुष मात्रै लेखिएको हुन्छ । तेस्रोलिंगीको अस्तित्व समाजले किन स्वीकार्न सक्दैन ?’ यस्तै यस्तै सोच्दै फर्किदा उनले वसमा आफुजस्तै तेस्रोलिंगी सीमालाई भेट्छन । मञ्चमा कलाकार अनिल सुब्बाले गौरव पात्रको रुपमा तेस्रोलिंगीको मनोवैज्ञानिक पक्षलाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् । नाटक नाटक जस्तो लाग्दैन, कसैले आफ्नो वास्तविकता बताइरहेको जस्तो लाग्छ । सम्पुर्ण तेस्रोलिंगीको आवाजलाई रंगमन्चमा यथार्थ रुपमा उठाइएको छ ।

सीमासँग भेट भएपछि गरिमाको नाममा महिलाको परिचय बनाउँदै दंग परेका गौरवको पारिवारिक दवावले एउटी महिलासँग विवाह हुन्छ । परिवारलाई समाजको लाञ्छना र तिरस्कारबाट जोगाउन पनि आफ्नो चाहना दवाएर गौरवले विवाह गर्छन । विवाह पछि झन जटिल समस्यामा पर्छन गौरव । श्रीमतीको चाहना पुरा गर्न असफल हुन्छन् । जैविक रुपमा पुरुष भएपनि गौरव भावनात्मक रुपमा महिला हुन्छन् जसका कारण उनको यौन आकर्षण पुरुष प्रति हुन्छ । वाल्यकाल रमाएरै विताए पनि उनका जीवनका प्राय जसो क्षणहरु घृणा, तिरस्कार, लाञ्छना र हिंसाबाटै ग्रसित हुन्छ ।

प्रेम असफल, शैक्षिक अध्ययनमा विचमै पुर्ण विराम, सैन्य सेवा प्रवेश गर्न खोज्दा दुव्र्यवहार, विवाह असफल । एउटा सामान्य मानिसको जिन्दगीमा असफलता नै असफलता । जसले मानसिक रुपमा उसलाई विक्षिप्त बनाउँछ । बाँच्ने आधार कहीँकतै भेटिदैन । यी सबै घृणा र पीडाको पछाडी समाजको नकारात्मक व्यवहार रहेको नाटकमा उत्कृष्ट रुपमा समावेश गरिएको छ । समाजले नै पर्खाल लगाएको छ तेस्रोलिंगीको जीवनलाई । नाटक हेर्दा पीडा आफैले भोगेको जस्तो महसुस हुन्छ, गौरवको रोदनले आँखा भरि आँसु भरिन्छन् । समाजमा महिला र पुरुष बाहेकका अन्य लैंगिक पहिचान भएका मानिस पनि छन् भनेर स्वीकार्न अझै सकेको छैन ।

नाटकको प्राविधिक पक्ष राम्रो छ । डाँफे थिएटरको प्रस्तुती यो नाटकमा आर के मेहेताको निर्देशन अव्वल देखिन्छ । सर्वनाम थिएटरमा नाटक जिउँदो आकाश यही फागुन २० गतेसम्म मन्चन हुनेछ । सर्वनाम थिएटरका अनुसार तेस्रोलिंगीको विषयमाथि तयार पारी यो नाटक दोस्रो पटक मञ्चन भएको हो । यही बर्षको साउनमा सर्वनाम थिएटरमा यो नाटक मञ्चन भएको थियो । ‘जिउँदो आकाश’ २०७३ जेठ २९ गते नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको नाट्य महोत्सवमा दोलखाको चरीकोटमा मञ्चन भएको थियो ।