छुवाछुत हाम्रो अङ्ग होइन, कुरीती हो

काठमाडौं (पहिचान) जेठ २ – आदिकाल देखि आजको २१ औँ सताब्दी सम्म पनि हाम्रो समाजमा छुवाछुतको भावना विद्यमान रहि आएको छ । प्राचीन कालमा अज्ञनता र चेतनाको कमीको आडमा यस्ता घीन लाग्दो कुरीति लुकि आएको थियो भने आजको पुर्ण साक्षर र चेतनशील समयमा झन उजागर हुदै आएको छ । छुवाछुत हाम्रो देशमा मात्रै सिमीत नभईपुरै विश्वमा नै फैलिएको एक गम्भीर विमारी हो । कतै जातियताको भरमा, कतै छालाको रंगको आधारमा भने कतै लैंगिकताको आधारमा छुवाछुतको भावना छ । हाम्रो पुर्वेली सभ्यतामा भने जातियता र लैंगिकताको आधारमा मात्रै छुवाछुतको भावना चलिआएको छ ।

कुरा गरौँ हाम्रो समाजको, माथि उल्लेख भए अनुसार जातियतामा ठुलो र सानो जात जस्तै बाहुन, क्षेत्रीहरुले दमाई सार्किहरुलाई हेला गर्ने र लैंगिकताको आधारमा सामान्य महिला र पुरुषहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई हेला गर्ने चलन चली आएको छ र यस सबको पछाडिको कथित कारण धर्म बन्न पुगेको छ । समान्यतःहाम्रो समाजमा धर्ममा नै ठूलो र सानो जात छुट्याएको र महिला पुरुष बाहेक समलिंगी, तेस्रोलिंगी अप्राकृतिक वा पापि भनेर उल्लेख गरिएको भनिदै आइएको छ । तर वास्तवमा हाम्रो धर्मका चालक कथित बा्रहमणहरुले हाम्रो मानसपटलमा यस्ता कुरालाई घोकाइ दिएको अवस्था छ र जसको कारण हाम्रो समाजमा यस्ता घिन लाग्दो कुरितीहरु फैलि आएको छ । जसले समय समयमा विभिन्न जघन्य अपराध युक्त घटना घटाई आएकोे छ । वास्तवमा गल्ती हामी आम नागरिक कै नै हो भन्ने हो भने, किनभने हामीमा स्वअध्ययन को बानी नै छैन ।

हाम्रो धर्मको मुलाधार ४ वेदलाई मानिएको छ । जस मध्ये ऋगवेदमा जातियताको विभाजनकोबारे स्पष्ट उल्लेख गरिएको छ । खासमा हाम्रा शास्त्रहरुले कर्मानुसार जात छुट्याको छ न कि जन्मको आधारमा । यसको पुष्टि ऋगवेदको पुरुषशुक्तको “बा्रह्मणो अस्यः मुखास्मित बाहो राज्येन कर्ता । ओरु तदस्य यद वैश्य पाद्भ्यं क्षुद्रौँ अजायत ।।” श्लोकले गरेको छ । यसको भावार्थ हाम्रो मष्तिस्क र मुख ब्राहमण हो किनभने यसले ज्ञान आर्जन गरि अरुलाई प्रवाह गर्न मदत गर्दछ, हाम्रो दुई हात क्षत्रिय हुन किनभने हाम्रा दुई हातले हाम्रो दुई हातले हाम्रो जिविकोपार्जन गर्नका निम्ति पराक्रम गर्दछ र हाम्रा दुई खुटालाई वैश्य भनिएको छ किनभने हाम्रा दुई खुटाको कर्म हाम्रो पुरै शरिरलाई सन्तुलनमा राखी गति दिनु हो । कुनै पनि धर्म ग्रन्थले मनुष्य ब्राहमण कुलमा जन्मेर बा्रहमण र क्षुद्र कुलमा जन्मेर क्षुद्र हुन्छ भनेर भनेको छैन । वेदशास्त्रले केवल मनुष्यको कर्मको आधारमा विभाजन गरेको छ । कहि पनि क्षुद्रले छोएको बा्रहमण र क्षत्रियले खानु हुदैन वा क्षुद्रले मन्दिरमा प्रवेश पाउँदैन भनेर उल्लेख गरेको छैन । यो केवल हाम्रा समाजको कथित ब्राहमणहरुको मनगढन्त कथा र विश्लेष्ण हो ।

यस सन्र्दभमा एक उदाहरण दिन चाहन्छु, यदि हाम्रो खुटामा काँडा बिझ्छ भने हामीले हाम्रा दुई हातको साहयताले त्यसलाई निकाल्दछौँ र भएको घाउँलाई निको पार्न मुखमा औषधी खाने गर्दछौ अनी मात्र त्यो घाउँ ठिक हुने गर्दछ । यस उदाहरणको अर्थ, यदि कुनै क्षुद्रलाई (खुटामा) केहि समस्या आई पर्दा हाम्रा दुई हात (क्षत्रिय) ले पराक्रम गर्नुपर्दछ र मुख (ब्राहमण) ले त्यसको निस्कर्ष निकाली हाम्रो पेट (वैश्य) लाई पठाई त्यस समस्याको निदान गर्नुपर्दछ । जसरी हाम्रो शरीरको हरेक एक अंगले समान्जस्य राख्दछ त्यरी नै यदि हामीले पनि एक अर्कामा समान्जस्य कायम गरी सदभाव सिर्जना गर्न सक्यौँ भने जातियताको विभेद त्यहि अन्त हुनेछ ।

परापुर्वकाल का घटनाहरुलाई पनि नियाल्ने हो भने, देव तुल्य मानिएका मयार्दा पुरुषोत्तम रामले माझीको साहयता लिएका थिए भने कृष्णले क्षुद्र महिलाको जुठो फल पनि खानु भएको प्रमाण श्रीरामचरित्रमानस र श्रीमद्भागवतगीतामा पाइन्छ । यस्ता विभिन्न घटनाहरुको उल्लेख हाम्रा शास्त्रहरुमा उल्लेख पाइन्छ । हामीले लाखौँ रुपैया खर्चेर राम कथा नवाह र भागवत सप्ताह त लगाउँछौ तर त्यसमा निर्देश गरिएको कुराहरु जीवनमा कहिल्यै आत्मसाथ गर्दनौँ जसको एक फलस्वरुप छुवाछुत र भेदभाव जस्ता जघन्य अपराधले हाम्रो समाजमा ठाउँ लिई रहेको पाइन्छ । तसर्थ छुवाछुत हाम्रो समाजको अगं होइन कुरिती हो । हामी सबैले मिलेर यस्ता कुरितीलाई हाम्रो समाजबाट हटाउनु पर्दछ । समाजका हरेक मनुष्य समान हुन, कोहि ब्राहमण कुलमा जन्मिएर दिन रात अपराध गर्दछ भने ऊ ठूलो जातको हुदैन त्यसकारण हरेक मानवको विच समानताको भावना उजागर गरी यस कुरितीको अन्तय गरी आफ्नो मौलिक धर्म र कर्तव्यको पालना गरौँ ।