तीन दिन हाउस फुल “जिउँदो आकाश” लाई तेस्रोलिंगीको आर्शिवाद (भिडियो)

काठमाडौं (पहिचान) जेठ २ – पूर्व ईलाममा सैनिकमा भर्तिको आवेदन खुलेको छ । आवेदन फारम लिने महिला र पुरुषको लामो लाईन छ । गौरव उर्फ गरिमालाई पनि आवेदन फारम लिनु छ । तर उ दोधारमा छ । “पुरुषको लाईनमा उभिउँ मनले मान्दैन, महिलाको लाईनमा उभिउँ तनले मान्दैन, बिचमा उभिउ स्वयंसेवकले मान्दैन ।” गौरव उर्फ गरिमाले यसो भनिरहँदा सर्वनाम थिएटरको हलमा मौनता र हाँसो एकैपटक छाएको थियो ।

यो संवाद हो नाटक “जिउँदो आकाश”को । अनिल सुब्बाको एकल अभिनय रहेको यो नाटक २०७४ साउन देखि निरन्तर मञ्चन भईरहेको छ । नेपालमा मात्रै होइन भारतको नयाँ दिल्ली र गुवाहिटिमा पनि मञ्चन भईसकेको छ ।

पहिलोपटक २०७४ को साउन १४ गते सर्वनाम नाटकघरमा “जिउँदो आकाश” मञ्चन हुँदा “नील हिरा समाज”बाट नाटक हेर्न आएका तेस्रोलिगींहरु भक्कानो छाडेर रोईरहे । नाटकको पहिलो दिन सम्झिदै अनिल भन्छन् “म नाटक सकेर अफ स्टेज गएको थिए, पछि मञ्चमा मलाई बोलाउँदा त नील हिरा समाजबाट आएका दिदिहरु रोइरहनु भएको थियो ।” एकछिनको मौनता पछि अनिलले फेरी सुरु गरे “जब उहाँहरु (तेस्रोलिंगी) रोएको देखे त्यसपछि म आफैले पनि आँशु रोक्न सकिन् ।”

मल्टीपल चरित्रमा देखा पर्ने अनिलले यो नाटकमा गौरव र गरिमाको पहिचानको कारुणीक यात्रा तय गरेका छन् । तेस्रोलिंगीको भुमिकामा फिट हुनैको लागि अनिलले ठमेलका गल्लिमा रात बिताएको अनुभव पनि सुनाए ।

महिला र पुरुषको परिचय मात्र स्विकार गर्ने सामाजिक व्यवस्थामा समाहित भएको अनिलका लागि तेस्रोलिंगीको भुमिका निर्वाह गर्नु चुनौति नै थियो । ठमेलको गल्लिमा तेस्रोलिंगीलाई भेटन गएका अनिललाई तेस्रोलिंगीले कामको समयमा डिस्र्टब नगर्न भन्दै फर्काए ।

गौशालामा तेस्रोलिंगी भेट्न पुगेका अनिललाई त्यहाँका पसलेले समाज विगारेको भन्दै प्रहरीको सहयोगमा गौशालामा तेस्रोलिंगीलाई प्रवेश निषेध गरिएको सुनाए । “यस्तै यस्तै अनुभवले मलाई तेस्रोलिंगीको समवेदनासँग गहिरोसँग परिचित गरायो ।” अनिल भन्छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा तीनसम्म हाउस फुल मञ्चन भएको नाटकमा तेस्रोलिंगीले मात्रै आशु खासालेनन, दर्शकहरु मध्येका केहीका आँखामा आँशु नै आए । नील हिरा समाजले नै सर्वनाम नाटकघरमा जिउँदो आकाश नाटक मञ्चन गर्न लगाएको थियो । यस अघि पनि तीन पटक सर्वनाममै यो नाटक मञ्चन भईसकेको छ । नाटक समाप्ती पश्चात अनिललाई भेटेर मैले भनेको थिए “थाकेको छौ होला एकछिन आराम गर, हामी कुरा गर्नुपर्छ ।”

मैले यति नभन्दै अनिलले दिएको जवाफ थियो “थाकेको भए पो आराम गर्नु ।”

११ महिनादेखि निरन्तर एउटै नाटक गरिरहेका अनिल अझै पनि थाकेका छैनन् । अनिल मात्रै होइन यो नाटक उत्पादन टोलीका कुनै पनि सदस्य थाकेका छैनन् ।

२०७२ मा चन्द्रप्रसाद पाण्डेलाई यो नाटक तयार पार्नै ७ महिना लाग्यो । त्यसपछि २०७३ मा हाल निर्देशक रहेका रोशन मेहताले दोलखामा पहिलो पटक आफै निर्देशक र आफै अभिनय गरेर मञ्चन गरे । तर उनलाई आफ्नै अभिनय चित्त बुझ्दो नलागेपछि उनले अनिललाई रोजे ।

नाटक प्रस्तुत गर्ने टोलीले यो विषयलाई ठूलो सामाजिक मुद्धाको रुपमा सोचेको थिएन । तर जब नाटक मञ्चन भयो त्यसपछिको प्रतिक्रियाले उनीहरुलाई ज्ञात भयो आफुले उठाएको विषय त ठूलै सामाजिक मुद्धा रहेछ । त्यसपछि नाटक समुह झन गम्भिरर भएर नाटक प्रस्तुतिमा लाग्यो ।
रोशन भन्छन “अहिले पनि मान्छेहरु कति एउटै नाटक गरिरहेको भन्छन, तर हामीले रहरले गरेका होइनौ दर्शकहरुको माग र चाप धान्न नसकेर गरेका हौ ।”

उनी हौसिदैँ भन्छन “काठमाडौँ मात्रै होइन काठमाडौँ बाहिरका दर्शकले पनि यो नाटकको माग गरिरहेका छन् ।” काठमाडौँ बाहिर पोखरामा मञ्चन भईसकेको यो नाटक अब विराटनगर, दमक र धनगडीमा मञ्चन गर्ने तयारी भईरहेको छ ।

करिब एक वर्ष देखि एउटै नाटक मञ्चन गरिरहँदा रोशन, अनिल र चन्द्रप्रसादका अरु नाटक परियोजना रोकिएका छन् । तर उनीहरुलाई अरु परियोजना रोकिएकोमा दुःख र गुनासो भने छैन् । “यो नाटकबाट पाएको दर्शकको माया र प्रतिक्रियाले हामीलाई झन जिम्मेवार बनाएको छ ।” रोशन भन्छन् । “अब गर्ने नयाँ नाटकको लागि हामी झन उत्तरदायी बनेका छौ ।” रोशनको कुरामा चन्द्रप्रसादले थपे ।

नाटकलाई मनोरञ्जन मात्रै ठानिरहेका धेरै नाट्यकर्मी र दर्शकलाई यो नाटकले रंगमञ्चको सामाजिक उत्तरदायीत्वको पाठ पनि सिकाएको धेरै रंगकर्मीले बताए ।

विश्वभर परिचय र पहिचानको खोजी चलिरहेको छ । सामाजिक, आर्थिक, जातिय र सांस्कृतिक पहिचानको खोजी चलिरहेको यो युगमा लैंगिक परिचयको खोजी पनि चलिरहेकै छ । वर्षौ देखि परिचय र पहिचानको खोजीमा रहेका समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीलाई नेपालको संविधानले केही राहत दिलाएको भए पनि समाजले अझै उनीहरुको स्वतन्त्र अस्तित्व स्विकार गरिसकेको छैन् । परिचय र पहिचानको बहस जारि छ ।

त्यसैले होला नाटक हेर्न गएका शिक्षामन्त्री गिरि राज मणी पोखरेलले आफू मन्त्री पदमा छु भन्ने नै विर्सिए । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले त संसदमा आफ्नो बोलीको सुनुवाई नहुँदा समलिंगी विवाहको कानुन बन्न नसकेको सुनाए ।

नाटकमा गौरव उर्फ गरिमाको भुमिकामा देखा पर्ने अनिललाई आजभोली मेकअप नगरिएको आफ्नै अनुहार देख्दा खल्लो लाग्छ । मेकअप सहितको आफ्नो अनुहार उनलाई सुन्दर लाग्न थालेको छ । अभिनयको क्रममा महिलाले लगाउने भित्रि पहिरन ब्रा नलगाई बस्दा उनलाई शरिरमा के नमिलेको के नमिलेको जस्तो लाग्छ् । अनिलको अभिनयप्रतिको लगाव र अभिनयको गहिरो लिप्साको पराकाष्ठा हो यो । यो पराकाष्ठा यतिमै सकिदैन् । ११ महिनादेखि निरन्तर गरिमा र गौरवको दोहोरो आख्यानिक चरित्रको प्रेममा परेका अनिलका सपनामा व्वाईफ्रेन्ड देखा पर्छन् । उनलाई पुरुषसँगै निदाउन पनि डर लाग्छ । कुनै पुरुषले उनको शरिर छुँदा पनि काउकुति लाग्न थालेको छ ।

“म को हुँ ? यो हात हुँ कि म ? यो खुट्टा हुँ कि म ? यो टाउको हुँ कि म ? यी सबै अंग एक एक गरि छुट्याउने हो भने त म नै कहाँ रहन्छु र ? आखिर को हुँ म ? न म यो शरिर हुँ ? न यो मन हुँ ? त्यसो भए कहाँ छ मेरो स्थान……..”

नाटकको सुरुवातमै सुन्न पाईने यो मोनोलगले दर्शकलाई परिचयको गहिरो दर्शनमा डुब्न बाध्य तुल्याउँछ । परिचयको यो दर्शनलाई नाटकमा जीवनका कथाहरुमा सुस्त सुस्त बुनिएको छ । उनिएको छ । एक घण्टा १० मिनेट सम्म दर्शकहरु पहिचानको दर्शन, जीवनका संवेदना र रोमान्सका गल्लिहरुमा बेफिक्रि उडान भर्न सक्छन् । नाटकहलबाट बाहिरिदा दर्शक आफनै परिचय र पहिचानको जरा खोज्न बाध्य हुन्छन् ।

“अनिलले भोगेको जीवन कथा भन्दा धेरै गरिमाले भोगेको दुःखले मलाई धेर पिन्च गर्छ ।” अनिलले सुनाए । अभिनयको क्रममा मात्रै होइन अभिनयबाट बाहिर निस्कदा पनि अनिल आफुभित्रबाट गरिमालाई बाहिर निकाल्नै सक्दैनन् । “यो नाटकले दिएको जीवनको ठूलो पाठ भनेकै फरक जीवनलाई आफैभित्र समाहित गर्न सके । एउटा फरक जीवन स्विकार गर्न सके ।” अनिलले भोगेका सबै अनुभवको निचोड सुनाए ।

गत साता मात्रै ठमेलमा मैले एउटा परिचय सुनेको थिए “नाम त रोशन हो तर कहिलेकाही रोशनी पनि हुन्छु ।” यस्तो बहु परिचयको चेपमा आफ्नो स्थान र परिचय खोजीरहेका मानवको कथाको करुणा मात्रै होइन साहस र हिम्मत पनि जिउँदो आकाशमा देख्न पाईन्छ । संसार र जीवन विरोधाभाषको सुन्दर उपमा हो भन्छन तर कठिनाई त तब हुँदो हो जब तन र मनबिच नै विराधाभाष हुन्छ । शरिर र मन एक आपसमा बाझिदाँ मान्छेको जीवनमा के गुज्रिदो हो ?
जाति, समाज, धर्म, संस्कृति जस्ता परिचय मानव निर्मित परिचयको आवाजमा प्रकृतिले निर्माण गरेको लैंगिक परिचय ओझेलमा परेको छ । सबैभन्दा पहिले प्रकृतिको परिचयलाई स्विकार गर्न जिउँदो आकाशले आग्रह गर्छ । कृत्रिम परिचयको आवरणमा प्राकृतिक परिचय र अस्तित्वलाई नजरअन्दाज गर्दा धेरै जीवन विथोलिन्छन….।

तेस्रोलिंगीको परिचय र पहिचान तपाई हामीजस्ता समान्य मान्छेले त स्विकार गर्नै पर्छ र उनीहरुलाई पनि आफ्नै परिचय आत्मसाथ गर्ने र पहिचानमा गर्व गर्न सक्ने सामाजिक वातावरण निर्माण गर्ने पर्छ । जिउँदो आकाश हेर्न आएका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विद्यालयको पाठ्यक्रममै लैंगिक शिक्षा समावेश गर्ने समय भएको बताउँदै जानकारलाई सहयोग गर्न आग्रह पनि गरेका थिए ।

जब प्रकृति नै तपाईमाथि विरोधाभाषी भएर बज्रीन्छ तब त्यो विरोधाभाष स्विकार्नु बाहेक अर्को विकल्प रहँदैन् । हो अधिकारकर्मी संजय शर्मा, आनिक राना, पुष्पा लामा, ज्योती थापा, मनिला न्यौपाने, प्रकाश निरौला जस्ता लाखौ समलिंगी तेस्रोलिंगी अन्तरलिंगी र दुईलिंगी विरोधाभाष स्वीकार्नु बाहेक अर्को विकल्प देख्दैनन् । उनीहरु भन्छन्, नाटक हेर्दा भक्कानिएर रुन मात्रै आयो ।

“रहर त मेरो पनि आमा, दिदि बहिनीले जस्तै चुरा, पोते र लिपस्टिकमा सजिएर हिड्ने थियो, श्रीमानको हात समाउँदै बजार डुल्ने रहर थियो तर तनले दिदैन् ?” नाटकको अन्ततिरको मानोलग हो यो । यसले समलिंगी विवाहको कानुन बनाउनुको सट्टा अर्कै नाम दिएर समुदायका सदस्यलाई ओल्टाई पल्टाई गरिरहेको छनक दिन्छ । हिजो समलिंगी विवाह आज म्यारिज इक्वालिटी ? तन र मनको यो द्धन्द्धले पहिचानमाथि गर्ने प्रहारको सुन्दर दस्तावेज हो जिउँदो आकाश ।

सुन्दर दस्तावेज नै लागेर होला तेस्रोलिंगी आनिक रानाले आखाबाट आँसुका थोपा चुहिदा पनि सेभ द चिल्ड्रेन ग्लोवल फण्डका प्रतिनिधिलाई भनिन, यो नाटक यहाँ मात्रै होइन गाउँ गाउँ, वडा वडामा देखाउने हिम्मत गर्नुहोस । देखावटी र बनावटी त धेरैले गर्छन होला नि …

कसरी तयार भो त ?