गरिखान देऊ !

काठमाडौं (पहिचान) जेठ १४  – स्वर सानो थियो । बोल्यो भने ‘कस्तो केटीको जस्तो स्वर है’ भन्दै कोही काने खुसी गर्थे, कोही हाकाहाकी भन्थे । एञ्जललाई बोल्नै मन लाग्दैन थियो । उनी सकेसम्म बोल्दिन थिइन् । आमाको सल ओड्न मन लाग्थ्यो । उमेर बढ्दै जाँदै थियो । छोरो भएर जन्मिएकी उनको स्वाभाव महिलाको थियो । केटा नै मन पथ्र्यो । तर उनी भन्दिन थिइन् । “केटा भए पनि मेरो स्वाभाव र आत्मा महिलाकै थियो । तर पनि मैले दबाएर राँखे । स्कुलमा ‘कस्तो केटी जस्तो’ भन्थे । घरमा बुवा आमाको सपोर्ट थिएन । उनी समाजतिर आफूलाई ढाल्ने कोशिष गर्थिन् । आफूलाई लुकाउँथिन् ।

बुवा र आमा छुट्टीए । उनी आमासँग बस्न थालिन् । आर्थिक अवस्था कमजोर थियो । आमालाई केही सहयोग गर्नु पर्ने नैतिक दबाब महसुस गरेकी उनी काम खोज्न विभिन्न ठाउँमा पुग्थिन् । दुईचार दिन काम पनि लगाउँथे तर ‘केटा भएर पनि कस्तो केटी जस्तो’ भन्दै निकालीदिन्थे । केलेजमा पनि उस्तै अवस्था थियो । साथीहरु बुझ्दैन थिए । शिक्षकहरुकै हेर्ने दृष्टिकोण फरक थियो । कलेज छोडिन् । समाजको ब्यबाहारबाट उनको मन टुटिसकेको थियो ।

म को हुँ भन्ने उनी आँफैलाई द्वविधा थियो । सोसल साइटमा उनले आँफू जस्तै साथीहरु भेटिन् । नील हिरा समाज आइपुगिन् । थाहा पाइन्, म तेस्रोलिंगी महिला रहेछु । उनले घरमा भनिन् । आमाले बल्लतल्ल बुझे पनि बुवाले स्वीकार्न सकेनन् । मेरो नाक काट्सि भने । मेरो अंश चाहिन्छ भने छोरो भएर नै बाँच होइन भने पाउँदिनस् भने । तिमी यसरी हिँड्ने हो भने मेरा लागि तिमी छैनौं भने ।

उनी घर बाहिर छोरीको गेटअपमा निष्किन्छन् । तर घर जाँदा छोराकै गेटअपमा जान्छिन् । समाजको भयले उनले छोरीलाई छोराकै गेटअपमा आउ भनिछन् । आमाले ‘छोरीकै गेटअपमा आउ छोरी’ भन्ने दिन आउने प्रतिक्षामा छिन् एञ्जल ।

एञ्जलले सन् २०१८ को मिस पिंक उपाधी जितिन् । सञ्चारमाध्यम फेस गरिन् । धेरैले समान् हुन् त भन्छन् तर पनि प्रश्न केही फरक हुन्छन् । कति वटा लिंग हुन्छन्, यौन सम्बन्ध कसरी राख्नुहुन्छ, तेस्रोलिंगीका छोराछोरी जन्मिन्छन् कि हैन, जन्मिए भने तेस्रोलिंगी नै जन्मिन्छन् रे हो ? जस्ता पत्रकारका प्रश्नले उनको मन दुख्छ ।

मानवभन्दा पनि एलियन जस्तो ब्यबाहार गरिएकोमा उनलाई अचम्म लाग्छ । उनी मन दरो पार्छिन् र भन्छिन्, “मलाई नेपालमा मात्रै होइन यो विश्वमै हामीजस्ता लैगिक अल्पसंख्यकका लागि ठाउँ बनाउन चहान्छु ।”

“हामी समलिंगी तेस्रोलिंगी मात्रै होइन त्यस्तो स्वचन्त्र देश होस्, जहाँ सबै स्वतन्त्र भएर बाँच्न सकुन् । यसका लागी हामी लड्नुपर्छ ।”

उनी आफ्नो छोडिएको पढाईलाई निरन्तरता दिन चाहान्छिन् । कानुन पढेर वकिल हुन चाहान्छिन् । कानुन बनेपछि पुरुषसँग विवाह गर्न चाहान्छिन् । भन्छिन्, “विवाह दुई आत्माको चोखो मिलन हो । महिला र पुरुषमात्रै बीच विवाह मात्रै हुनुपर्छ भन्ने छैन । मन मिल्यो भने जोसँग पनि विवाह हुन सक्छ ।”

राज्यका हरेक निकायमा समलिंगी तेस्रोलिंगीको समान पहुँच हुनपर्ने धारण छ उनको । सकारात्मक विभेदको नीति समलिंगी तेस्रोलिंगीमा पनि लागुहुनु पर्ने बताउँछिन् एञ्जल । संविधानले समलिंगी तेस्रोलिंगीको अधिकार सुरक्षित गरे पनि समाजले स्वीकार नगरेकोमा उनी समाजप्रति गुनासो गर्छिन् ।

गरिखान दिने वातावरण समाजले बनाइदिनुपर्नेमा जोड दिँदै भन्छिन्, “हामीले पनि गरिखान पाउनुपर्छ । समाजले नस्वीकारेका कारण कति तेस्रोलिंगी यौन पेशा गर्न बाध्य छन् । आफ्नो ज्यान पाल्नकै लागि यो पेशा गर्न बाध्य भएकाहरुलाई यसबाट बाहिर ल्याउन पनि समलिंगी तेस्रोलिंगीलाई काम गरिखाने वातावरण बन्नुपर्छ ।”