दलितले भोगेको अछुतो सहर

काठमाडौं/पहिचान –

“अनि नानीको जात चाहिँ के प¥यो ?”– घरबेटी सोध्छन् ।

“दमाई”– निर्धक्कसाथ दिएँ मेरो जवाफ ।

“ए नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बुढा बाआमा हुनुहुन्छ । उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ । हामीलाई त केही थिएन जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त दुखाउनु भएन । त्यसैले घरमा दलितलाई आजसम्म भाडामा राखिएकोे छैन, नानी नराम्रो नमान्नुहोला ।”

निक्कै सभ्य भाषामा उनले दिएको व्याख्यात्मक प्रतिक्रियाले मेरो मथिङ्गल हल्लायो । सोचमग्न भएँ, यिनले मेरो जातीय पहिचानलाई सम्मान गरे कि विभेद गरे ?

सात वर्ष अगाडि मास्टर्स डिग्री पढ्ने लहडमा काठमाडौँ छिर्ने बित्तिकैको घटना हो यो । ‘राम्रो करियर’को सपना बोकेर रहरले नै सहर छिरेकी थिएँ । पहिलो गाँसमा ढुंगा हालिदिए ती घरबेटीले । सहरमा मेरो जातीय पहिचानले स्वीकार्यता पाउँछ भन्ने मेरो विश्वासले त्यही दिन धोखा खायो । अनि थप कोठा खोज्ने हिम्मत गरिनँ । बरु, उल्टै जात ढाँटेर ‘क्षेत्री’ भनी नयाँ ठिमीमा बसेका मेरा दाइ–भाउजूसँग बस्न थालेँ ।

हिजोको भोगाइको सहरी परिदृश्य आज पनि उस्तै छ । विभेद र अपमानको विकार उही वृत्तमा घुमिरहेको देखेकी छु, भोगेकी पनि छु । धेरै सहरिया घरबेटी आफ्नो विभेदकारी सोचलाई ‘हिडन’ गराउने प्रयासरत छन् र शिक्षितपन तथा सहरीपनले लेपिएको व्यक्तित्वलाई ‘शो अप’ गरिरहेछन् आज पनि । विभेद नगरेझैँ गरी विभेदमा पारिराख्नु सहरी जातीय विभेदको विशेषता हो । सहरमा जातीय विभेदको स्वरूप ‘आइसवर्ग’को संरचनामा छ, हेर्दा विभेद नदेखिने तर अन्तरमा ठूलै पहाड लुकाएर राख्ने ! सहरले पाखण्ड र जटिलता बाँचेको सहजै महसुस गर्न सकिन्छ । आइसबर्गले सहरको शिष्टता र सभ्यताको यात्रामा कस्तो दुर्घटना निम्त्याउँदै आएको छ, त्यसले कति क्षति गर्दै आएको छ, अनुमान गर्न कठिन छ । सहरलाई सुसंस्कृत नगरको अस्तित्व कायम गर्न यस्तो प्रवृत्तिको अन्त हुनुपर्दैन र ?

झुटको बलमा आत्मसम्मानको खोजी
‘नेपाली’ थरका एक वकिल ‘केसी’ पहिचानसहित काठमाडौँमा बस्न थाले । राजधानीमै बस्नुपर्ने बाध्यताले बोलिएको झुट यत्तिमै सकिएन । झुट पर्दाफास हुने डरले छोरीको स्कुल भर्ना समेत केसी थरबाटै गर्नुप¥योे । झुटले वैधता र व्यापकता पायो । छोरीको शैक्षिक प्रमाणपत्र समेत यसै थरबाट आयो । बुझ्ने भएपछि छोरीलाई पनि वास्तविक थरका कारण स्कुलमा विभेद हुने डरले गाँज्न थाल्यो । त्यसैले केसी थरमा छोरीको पनि स्वीकारोक्ति र चाहना मिसियोे । सानो देखिने समस्या र त्यसको झुटो समाधानसँगै बाँचिरहे उनी र उनको परिवार ।

भविष्यमा आउने समस्यालाई त्यत्ति ध्यानै नदिई बोलिएको सानो झुटले कति भयानक स्वरूप लिन सक्छ, उनको जीवनमा देख्न सकिन्छ । सानो झुटको ‘जिन्न’ बोटलबाट त्यतिबेला निस्कियो, जतिबेला उनकी छोरीको नागरिकता बनाउनुपर्ने भयो । जिल्ला प्रशासन कार्यालयको प्रमुख (सिडिओ)ले बाबुको नागरिकताको थर र छोरीको जन्मदर्ताको थर अलग अलग भएकाले नागरिकता दिन नमिल्ने बतायो । नागरिकता बनाउन धेरै नै अप्ठेरो भएपछि उनले दलित आयोगको दलित जातीय अनुसूचीमा पर्ने थरको संक्षिप्त रूपको तिन्काको सहारा लिए । त्यही सूची देखाएर केसी लेख्न सकिने कारण बताउँदै उनले सिडिओलाई सहमत गराए । पेसाले वकिल भएकाले उनको तार्किक कुराले सिडिओ सहमत भए, तर के उनको आफ्नै मन सहमत हुन सक्यो त ?

उनको तत्कालको समस्या त ट¥यो, तर समस्या पूरै टरेको छैन । थाहा छैन, आत्मसम्मानको खोजीका लागि उनले बोलेको झुटले उनको परिवारलाई कति समयसम्म पछ्याउने हो !

दलित जातीय पहिचान भएका विद्यार्थीदेखी शिक्षकसम्म, पत्रकारदेखि सभासद्सम्म र वकिलदेखि उच्च पदस्थ कर्मचारीसम्मले आवासको आधारभुत आवश्यकता पूर्तिका लागि सहरमा जात ढाँटेर बसेका छन् ।

आत्मसम्मानसहितको सुरक्षित जीवनयापन हरेक व्यक्तिको चाहना हो, अधिकार पनि । तर कुनै वर्णले सहरमा आत्मसम्मान पाउन पनि झुटको सहारा लिनुपरेको कुरा आफैँमा गम्भीर मुद्दा हो । आवासीय सुरक्षाका लागि बोलिएको झुटले उनीहरूका मानसिकतालाई कति असुरक्षित बनाएको होला ? यस्तो असुरक्षाको चिन्ता र निरन्तर अभ्यासले कति पुस्तासम्मलाई गाँज्छ होला ?

दलित घरबेटी, गैरदलित डेरावाला
धेरै तलुवा फटाएपछि काठमाडौँमा पहिलो पटक जात खुलाएरै डेरा पाइयो । डेरामा बस्न लागिएको घरको एउटा तला बाहेक पूरै खाली थियो । बाँकी एक परिवार पनि म आएकै दिन डेरा छोडेर निस्कँदै थियो । म बस्ने कोठाभन्दा माथिल्लो तलाकी दिदी कोठा सर्दै थिइन् । काठमाडाैंमा सेवासुविधा भएको ठाउँ हत्तपत्त छाड्दैनन् डेरावालाहरू । त्यसैले उत्सुकता पोखिहालेँ उनीसँग– “के कारण कोठा सर्न लाग्नुभएको दिदी ?”

मेरो प्रश्नको उत्तरमा उनले ठूलै सामाजिक राज खोलिन्– “बैनी, यो घर दमाईले किनेको छ । अब ऊ बस्न आउँदैछ नि । त्यसैले सबै सरिसके, हामीलाई नि त्यति सहज लागेन । त्यही भएर सर्दैछौँ ।”

उनको कुरा सुनेर म तीनछक्क परेँ । बाहुन घरबेटीले दमाईलाई घर बेचेपछि तीन वटा तलामा बस्ने तीन वटै बाहुन परिवार सरेका रहेछन् ।

मलाई ती दमाई दाइको घरमा जातीय आत्मसम्मानसहित बस्न पाइएकोमा जत्ति हर्ष र खुसी थियो, ती दिदीलाई दमाई घरबेटी स्वीकार्न उत्ति नै पीडा र दुख्ख भएको रैछ । सहरमा दलितहरूले कोठा भाडामा नपाएको समस्या त भोगेकै थिएँ, तर दलित नै घरमालिक हुँदा भाडामा समेत बस्न नचाहने प्रवृत्ति पहिलो पटक देख्दैथिएँ ।

अहिले दलितको घरमा बाहुन पनि बस्छन्, तर तिनको आर्थिक हैसियत सामान्य छ । वर्गीय रूपले तल पारिएका गैरदलित र सामाजिक रूपले तल पारिएका दलित एक्कै ठाउँमा बसेको छन् । दुवै तल परेकै कारण मिलेर बसेका यस्ता उदाहरण पनि यही सहरभित्र छन् । आफूलाई जात र वर्गमा माथि ठान्ने ती दिदीलाई भने यस्तो बसाइ स्वीकार्य भएन । हेक्का रहोस्, ती दिदी पेसाले शिक्षिका थिइन् । बाहुन शिक्षिकाले परिवार र स्कुलमा के पढाउँछिन् होला ?

सहरमा पढाइन्छ साना ठूला जातको पाठ
आफ्नै सन्तानले जातकै कारण तपाईंलाई घृणा गर्दा कस्तो लाग्छ ?

दलित अधिकारकर्मी विन्दु परियार र छोरीबीच ‘लभ एण्ड हेट’को सम्बन्ध समेत भयो, जन्मसँग जोडिएको थरकै कारण । छोरीले ९–१० वर्षकी हुँदा विद्यालयमा साथीसँगको अन्तरकृयाबाट ‘हिडन करिकुलम’बाट नयाँ पाठ सिकिन् । हो, आफ्नै आमाको ‘परियार’ थरलाई घृणा गर्न सिकिन् ।

बाबुको थर थापामगर र आमाको परियार भएपनि स्कुलमा छोरीको थर थापा राखिएको थियो । एकदिन दिदीको छोरीसँग खेल्ने क्रममा वादविवाद हुँदा उनकी छोरीले भनिन्, “मेरो शरीरमा बग्ने ९५ प्रतिशत रगत बाबाको हो, ५ प्रतिशतमात्रै परियारको । त्यति ५ प्रतिशत रगत त म आफ्नो नशा काटेर पनि बगाइदिन्छु र शतप्रतिशत रगत थापाको बनाउँछु !” यो कुरा विन्दु ‘अन्तर्जातीय विवाहको बकपत्र’मा लेखेकी छन् ।

सम्झाउन खोज्दा छोरीको उग्र रूप देखेर आजित भएपछि उनी प्रिन्सिपललाई यस्ता सिकाइबारे गुनासो गर्न पुगिन् । प्रिन्सिपलको काउन्सिलिङसँगै आमाको सामाजिक कार्यको चर्चा बढ्न थालेपछि विस्तारै छोरीमा परिवर्तन आएको उनको अनुभूति छ ।

धेरैजसो दलित अधिकारकर्मीका सहरमा पढ्ने छोराछोरी बाबुआमाको काममा गर्व गर्नुको साटो उल्टै आफ्ना साथीसामु अभिभावक चिनाउन समेत चाँहदैनन् । गाउँमा बच्चाहरूले जसरी दलित हुनुको अनुभव र अनुभूति सानैमा समाजबाट थाह पाउँछ, त्यो स्थिति सहरमा देखिँदैन । सहरमा व्यक्तिवादी जीवनशैलीले सामाजिक अन्तत्र्रिmयाको दायरालाई खुम्च्याएको छ । सामाजिक अन्तरकृया सहरमा विद्यालयबाटै सुरु हुन्छ । त्यहाँ दलितको परिभाषा पाठ्यपुस्तकमार्फत पढाइन्छ । सामाजिक अध्ययन पढाउने शिक्षकले दलितलाई छुत–अछुत र साना–ठूला जातको सन्दर्भमा सिकाउँछ । यही शिक्षण प्रक्रियाका कारण शिक्षकले जति नै “विभेद चाँहि गर्नहुन्न है” भनी सिकाए पनि बच्चाको मानसिकतामा विस्तारै विभेदको जरो गड्न जान्छ । बालबालिकाले विद्यालयको वातावरणबाट ‘हिडन करिकुलम’मार्फत् सिकेका छुत–अछुत र साना–ठूला जातका नकारात्मक ज्ञानको प्रभाव समाज पर्छ नै ।

परिवर्तनका संवाहक नै जिम्मेवारीबाट पन्छेपछि
पत्रकार महासंघका एक पूर्व केन्द्रीय सदस्यले फेसबुक स्ट्याटसमा लेखेका छन्– “साना जातलाई साना भनेर नहेप्नू भन्ने उपदेश छोरीबाट थाहा पाउनु मेरै लागि पनि गर्वको विषय हो ।”

जातीय विभेद नमान्ने पत्रकारमा ‘साना जातलाई हेप्नु हुँदैन’ भन्ने छोरीको सिकाइमा गर्व रहेछ । सहरको निजी विद्यालयमा पढ्ने ९–१० वर्षकी छोरीले ‘सानो जात’ वा ‘ठूलो जात’को पाठ सिकेकोमा पनि उनलाई गर्वलाई लागेको होला त ?

एक अन्तत्र्रिmयामा राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकले आफ्नो सानो बच्चाले ‘दलित भनेको के हो बाबा’ भनी सोध्दा विद्यालयमा टिचरसँग सोध भनी टारिदिएको कुरा बताएका छन् ।

समाज परिवर्तनका संवाहकहरू नै बच्चाहरूले के सिकिरहेका छन् भनी जान्नेबुझ्ने तथा गलत सिकाइलाई सच्याइदिने सामाजिक कत्र्तव्यबाट भागेका छन् । अधिकांश सहरिया आफ्ना बच्चाको भविष्य विद्यालयकै ठेक्कामा छाडी सचेत हस्तक्षेपबाट पन्छिदै बसेका छन् । विद्यालयहरू चाहिँ ‘सानो जात’ वा ‘ठूलो जात’को पाठ पढाउँदै जातव्यवस्था पुनःउत्पादन गर्ने सामाजिक उद्यममा व्यस्त छन् । त्यसैको शिकार हुँदैछन्, विन्दु परियार र अन्य दलितका बालबालिकासँगै परिवार र समाज ।

सहरको सम्भावित अनुहार
डा. भीमराव अम्बेडकरको शैलीमा समाजशास्त्री चैतन्य मिश्र भन्ने गर्छन्, छुवाछुत र ‘दलितपना’ हटाउन राजनीति र कानुन मात्रै यथेष्ट छैन । बरु अर्थतन्त्रको विस्तार र विविधिकरणसँगै व्यापक सहरीकरण पनि चाहिन्छ । गाउँलाई सहरसँग जोड्ने अर्थतन्त्र चाहिन्छ ।

हो, नेपालमा राजनीति र अर्थतन्त्रमा त अनेक क्रान्ति नै भइसक्यो, सहरी क्रान्ति त झनै तीव्र छ । तर किन सहरको सार र सहरियाको मनमस्तिष्क र आचरणमा क्रान्तिकारी फेरबदल देखिएको छैन होला ? हामीले देखेको सपनाको सुन्दर, सभ्य र शिष्ट सहर यस्तै हो र ?

कुनै शंका छैन, विकसित स्थान र परिकल्पना हो सहर, जहाँ प्रगतिका सम्भाव्यता प्रशस्त हुन्छन् । चाहने हो भने भएका थोरै सांस्कृतिक फोहोरमैलोलाई छिटै धोएर सुसंस्कृत समाज निर्माणको अभियान सहरबाटै सम्भव हुन्छ । तर आज पनि सहरमा समेत हामीले जातीय विभेदको फोहोरमैलो जानी–नजानी पालिरहेकै छौँ । देखिने वा नदेखिने भेदभाव गदै हाम्रा भविष्यहरूलाई समेत विभेद सिकाइरहेकै छौँ । यसरी हामीले सबैकोे सुनौलो भविष्य, सुन्दर सहर र सभ्य समाजलाई पनि साना–ठूला जातमा बाँड्दै त छैनौँ ? छुत–अछुतको विभेद मनभरि बोक्दै कसरी हामी सभ्य र सुसंस्कृत सहरिया बन्न सक्छौँ ?

एक जमानामा साँझ भएपछि ‘अछुत’हरूलाई सहर पस्न बन्देज थियो, किनभने ‘अछुत’ले ‘अशुद्ध’ र ‘अपवित्र’ तुल्याएको सहरलाई शुद्ध पार्ने घाम डुबिसकेको हुन्थ्यो रे । आजको जमानामा भूपू अछुतहरूलाई सहर पस्नमा कुनै कानुनी बाधा छैन, तर मानिसलाई जन्मजात अछुत बनाउनेहरूको दिलमा अझै घाम लागेको छैन ।
सहरको सन्ध्याकालीन मधुरोबीच कामना गर्दै छु : यो सहरमा साना नानीहरूले साना–ठूला वा उँचनीचको कुसंस्कृति होइन, मानवीयता सिकेको हेर्न चाहन्छु । अरुबाट सम्मान पाउन आत्मसम्मानलाई कुल्चेर बोलिने झुटको अँध्यारो संसारबाट निस्किएर सबै मानिसले स्वतन्त्रता, समता र सम्मानको खुला स्वास लिएको देख्न चाहन्छु ।

साभार : अन्नपूर्ण पोष्ट