घरका भेदि लंका ढाए भने जस्तै स्थिती छ, यौनिक तथा लैंगिक अल्पसंख्यकको

काठमाडौं/पहिचान – आज नामको लागि भए पनि एसियामा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार संविधानमा सुनिश्चित गराउने पहिलो देश हो । तथापी उल्लेखित अधिकारको १० प्रतिशत पनि आजसम्म कसैले प्रयोग गर्न पाएको छैन । यस पछाडी दुबै पक्ष यानी सरकार र सरोकार वाला निकायको दोष देखिन्छ । सरकारको दोष कार्यान्वयन गर्न नसक्नु हो भने यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो अधिकार र कर्तव्य प्रति सजग नहुनु हो ।

वर्तमान समयमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको एक तिहाई जनसंख्या आफ्नो जीवन साथी रोज्न वा खोज्न भनौ वा रोमान्सका लागि फेसबुक, ग्राइन्डर, हरनेट, ब्लुयुड जस्ता समाजिक संजालमै व्यस्त देखिन्छन । त्यो जमातमा को वास्तवमा समुदायको हो र को आफ्नो यौन प्यास मेटाउन आएको हो भन्ने पनि छुट्याउन सारै गारो भएको देखिन्छ । यो भाडभैलोमा कसले आफ्नो अधिकार मागोस र खोजोस ? अर्को तिर समाजमा चेतनाको कमीले आफ्नो पहिचान बारेमा अन्योलमा रहनेको संख्या पनि धेरै रहेको पाइन्छ । जसकारण समाजमा हामी झन झन अपहेलित हुदै गएका छौ । समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक शब्द आउँदा मान्छेले यौन पेशामा संलग्न भएको सोच मानस पटलमा आइहाल्छ ।

मेरो हेराईमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी समाजका नयाँ पिढीका लागि काम वासना शान्त गर्ने, झन्झट मुक्त र सजिलै उपलब्ध हुने माध्यम बनेको छ । यो समुदायका व्यक्तिसंग शारिरीक संसर्ग गर्दा न त बच्चा बस्ने डर न त बलात्कारको दोषि हुने डर । हुनत काम वासना प्रकृतिको एक अभिन्न अङ्ग हो यसलाई गलत भन्न सकिदैन तर कहिले काहि जीवन रक्षक औषधि नै गलत उपयोगले गर्दा मृत्यूको कारक पनि भइदिन्छ ।

समाजबाट हामी अलग त र्छाैँ नै हामी आफैमा पनि सजग छैनौँ जुन कि आफ्नो हक र अधिकार सुनिश्चित गराउन नितान्त आवश्यक रहेको छ । हामी कुनै अन्तरिक्षबाट वा अन्डाबाट निस्केका वा अवतरित भएका प्राणी हैनौँ । हामी पनि आफ्नो आमाको कोखबाटै निस्केर आएका हौ । हामी कुनै अलग प्रजातिका पनि हैनौँ । केवल हाम्रो यौनिकता फरक छ हाम्रो पहिचान फरक छ । समाजमा भएको नकारात्मक भावनाले गर्दा नै हामी समाजमा खुलेर आउन सकेका छैनौ ।

शिक्षित देखि अशिक्षित व्यक्ति सबैले हामीलाई हेय दृष्टिले हेर्दै आएका छन् र जसको मुख्य कारण हामी आफै हौँ । सय वटा साधुको झुण्डमा एउटा चोर निकाल्यो भने सबै साधु चोर कै रुपमा उदबोधित हुन थाल्छन् । त्यस प्रकार नै हाम्रो समुदायका केहि व्यक्तिहरुले गर्दा र हाम्रो होस न त हामीलाई के मतलब भन्ने भावनाले यत्रो कुरिती र विसंगतिको जन्म गराएको छ । समाजमा हामीले पनि अरु साधारण मनुष्यहरु जस्तै एक साधारण जीवन यापन गर्न पाउनु हाम्रो परम कर्तव्य हो । अरु महिला पुरुष जस्तै साधारण रुपमा जीवन यापन गर्न पाउनु हाम्रो अधिकार हो ।

समाजमा खुलेर आफ्नो चाहना अनुरुप जीवन निर्वाह गर्न पाउनु हाम्रो नैर्सिगिक हक हो । घरको भेदि लंका ढाए भने झै आफैमा भएको कमी कमजोरीले नै यो स्थिती सिर्जना भएको छ । यो सब केवल तब सम्भव हुन्छ जब हामीलाई हाम्रो जिम्मेवारीको बोध हुन्छ र जब हामीलाई हाम्रो समाजिक जिम्मेवारीको बोध हुन्छ । समुदायमा कुलतमा लागेकाहरुलाई रोजगारी अथवा कुनै किसिमको मजबुरीले यौन पेशामा संलग्न भएकाहरुलाई स्वरोजगार हुन मद्धत गर्नुपर्छ ।

यी सब कुराहरुले नै आज यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजमा खुलेर आउन सकेका छैनन् र अपहेलित भई बस्न बाध्य भएका छन् । यसलाई हातेमालो गरी समुल नष्ट पारी समाजमा समानता ल्याउनु नितान्त आवश्यक रहेको छ ।

(लेखक प्राचिन धर्म विज्ञान र आधुनिक धर्म विज्ञानमा बिद्यावारिधी गरेका व्यक्ति हुन् ।)