विवाह भएको छ या छैन भनेर सोधिने प्रश्नले हैरान

काठमाडौं (पहिचान) असार २६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सदियौ देखि लाञ्क्षना र विभेदमा परेको समुदाय हो । कानुनी मान्यता प्राप्त भएपनि अधिकार उपभोगका लागि विभिन्न नीति र कानुनमा समुदायलाई समेट्ने गरि नीति नियम प्रतिविम्बित हुन नसक्नुले समाजिक मान्यता प्राप्त हुन सकेको छैन । जसका कारण परिवार, समाज र राज्यबाट विभिन्न किसिमका विभेद र हिंसा भोग्नु परिरहेको छ । यो समुदाय भित्र पनि तेस्रोलिंगी पुरुष, द्घिलिंगी र समलिंगी महिला जैविक लिंगकै आधारमा अझै धेरै उत्पिडनमा परेको समुह हो ।

जैविकताका आधारमा बालिका भएका कारण कमजोर मानिने र हेपिने गरेका छन् । यो क्रम घर देखि सुरु भएर समाज हुदै विभिन्न सेवा प्रदान गर्ने संस्थासम्म रहेको छ । पूरुष प्रधान समाजिक मुल्य मान्यताबाट यो समुदाय पनि अछुतो रहन सकेको छैन । यस्ता किसिमका लाञ्क्षना र विभेदका कारण यो समुह मनोसामाजिक समस्याबाट प्रभावित भएको देखिन्छ । साथै लागु औषध दुव्यसनीको शिकार भइरहेको पाईन्छ । यो संगसगै खुलेर आउन नसकेका कारण विभिन्न स्वास्थ्य समस्या आई पर्दा समेत स्वास्थ्य संस्था जान नचाहाने जमात ठुलो रहेको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार र स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले समेत दातृ संस्थाको अभावका कारण यो मुद्दालाई वृहत रुपमा अगाडि लान सकिरहेको छैन । विशेषत अत्यधिक मात्रामा रक्सी, चुरोट र गाजाको प्रयोग गर्ने भिड बढ्दो देखिएको छ, तर यसका लागि कुनै पनि राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाको ध्यानाकर्षन भएको देखिदैन । साना उमेरका तेस्रोलिंगी पुरुष, दुईलिंगी र समलिंगी महिलामा यो समस्या धेरै देखिन थालेको छ ।

तेस्रोलिंगी पुरुषमा हाल आएर पाठेघरको समस्या धेरै देखिन थालेको छ अधिकारकर्मी एलेन भण्डारी भने, “गएको बर्ष भन्दा अहिलेका दिनहरुमा तेस्रोलिंगी पुरुषहरुले बाईन्डरको प्रयोग गर्ने गरेको र कतिपयले रातमा समेत कसिलो बाइन्डर लगाएर नै सुत्ने गरेकाले स्तनमा समस्या देखिन थालेको छ ।” आफ्नो लैगिकताबारे अरुलाई थाहा होला भन्ने डरका कारण स्वास्थ्य सम्बन्धी समस्या हुदाँ समेत स्वास्थ्य संस्था जान चाहना नहुने गरेको उनले बताए । उनले भने, ‘कि व्यक्तिगत सरसफाई विषेशत महिनावारी हुदाँ समेत लाजका कारण ध्यान दिन नसक्नुले पनि पिसाब संक्रमण र अन्य संक्रमणहरु हुने गरेको छ ।’

यो समुहमा देखिएको स्वास्थ्य सम्बन्धी समस्या बढी हुनुको कारण स्वास्थ्यकर्मीहरुमा यो समुदाय सम्बन्धी पर्याप्त ज्ञानको अभाव पनि रहेको छ । अस्पतालहरुमा यो समुदायको लागि छुट्टै व्यवस्था हुन नसक्नु, स्वास्थ्यकर्मीहरु यो समुदाय प्रति जानकार र सहयोगी नहुनुले पनि यो समुहलाई स्वास्थ्य संस्था जानका लागि रोकिरहेको छ । स्वास्थ्यकर्मीहरुले जाँच गर्दा सोध्ने गरेको प्रश्न र केही स्वास्थ्य परिक्षणका कारणले समेत तेस्रोलिंगी पुरुष र समलिंगी महिला स्वास्थ्यकर्मीसम्म पुग्न नचाहने कुरा खुल्न आएको छ ।

यो संगसगै यो समुहमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी समेत नभएकाले स्वास्थ्य सम्बन्धी समस्याका लागि स्वास्थ्य संस्था जाने नगरेको पाईएको छ ।

तेस्रोलिंगी पुरुषमा जस्तै समलिंगी महिलामा पनि स्वास्थ्य समस्या उस्तै नै रहेको छ । यौन तथा प्रजनन स्वास्थ्य समस्या लिएर स्वास्थ्यकर्मीलाई जाँच गराउन जादाँ सोधिने पहिलो प्रश्न विवाह भएको छ या छैन भन्ने प्रश्नले उनीहरुलाई स्वास्थ्यकर्मीसंग भेट गर्न मन लाग्दैन ।

विवाह नभए पनि आफ्नो सम्बन्धकोबारे खुलेर भन्दा स्वास्थ्यकर्मीको व्यवहारमा देखिने परिवर्तनका कारण पनि जस्तो सुकै समस्या हुदाँ पनि डाक्टरकोमा नजाने जमात धेरै छ । पुरुष प्रधान समाज जहाँ महिलालाई दोस्रो दर्जाको व्यक्ति ठान्ने प्रवृत्तिका कारण समलिंगी महिला यस्ता समस्याको शिकार हुनु परिरहेको छ ।

त्यति मात्र नभएर यो समुहलाई सुरक्षित यौन व्यवहारका बारेमा समेत पर्याप्त जानकारी नहुदा पाठेघरको समस्या, प्रजनन अगंमा हुने क्यान्सर, विभिन्न संक्रमणको सिकार हुनु परिरहेको छ ।

(लेखिका नील हिरा समाजमा मानवअधिकारकर्मीको रुपमा कार्यरत छिन )