किन नागरिकतामा नाम परिवर्तन गर्न नहुने ?

काठमाडौं/पहिचान – काभ्रेको तिमाल गाँउपालिकामा जन्मिएकी १९ बर्षीया एन्जल लामा मिस पिंक २०१८ नेपाल बन्न सफल एक तेस्रोलिंगी हुन् । सानै उमेर देखि विभिन्न सामाजिक ,पारिवारीक चुनौतीको सामना गर्दै मिस पिंकको ताज पहिरन सफल उनी पत्रकार र समाजसेवी पनि हुन् । बहुप्रतिभाशाली उनी बौद्धिक रुपमा पनि उतिकै अब्बल छिन् । थाईल्यान्डमा हुन गईरहेको प्रतियोगीतामा एन्जलले नेपालको प्रतिनिधित्व गर्दैछिन । एन्जलसँग ईहिमालयनका लागि सुदिक्क्षा खड्का र स्वीकृति बस्नेतले गरेको कुराकानी :

सर्वप्रथम यहाँलाई मिस पिंक २०१८ को विजेता हुनु भएकोमा बधाई छ ।
धन्यवाद :

तपाईको उमेर धेरै भएको छैन तर कसरी यति टयालेन्ट हुनुभयो, जसको कारण ले आज मिस पिंक हुन सफल हुनुभयको छ ?

उमेर र ट्यालेन्ट बिच कुै सम्बन्ध नै हुदैन भने म आफुलाई टयालेन्ट छु पनि भन्दिन, सानै देखि मैले जानेको कुराहरु तपाईहरु सामु प्रर्दशन गरेको हु, तपाईहरुले सोचे जस्तै ट्यालेन्ट छु कि थाहा छैन ।

मिस पिंक भए पश्चात व्यस्तता बढेको होला, हिजो आज के मा व्यस्त हुनुहुन्छ ?

व्यस्तता त मेरो जीवनमा पहिले देखि नै थियो तर यो मिस पिंकको क्राउनले अझै व्यस्तता बढाएको छ । मैले कतिपय यौनिक तथा लैंगिक अल्संख्यक लुकेर बसेकाहरुलाई खुलाउनुको साथसाथै हाम्रो लागि संविधानमा लेखेको अधिकारलाई सुनिश्चित गराउन, तेस्रोलिंगी महिलाले पनि म बाट हौसला मिलोस् भनेर त्यसमै लागिरहेको छु ।

सुनिन्छ तपाई विदेशमा हुने प्रतियोगिमा पनि भाग लिन पाउनु हुने छ, के छ योजना ?

यो कुरामा म एकदमै संलग्न छु र त्यसको लागि म काम गरिरहेको छु, आफ्नो देश नेपाललाई अन्तराष्ट्रिय स्तरमा गएर चिनाउन पाउँदा म आफुलाई भाग्यमानी र गर्व महसुस गर्छु, यसमा आफै थुप्रै काम गर्न बाकी छ ।

यहाँ सम्म पुग्न कत्तिको संघर्ष गर्नु भएको छ ?

म एउटा तेस्रोलिंगी महिला भएको कारणले संर्घष त धेरै अगाडि देखि थियो, मलाई परिवार र समाजबाट कुनै पनि सहयोग र समर्थन थिएन । सानै देखि म परिवार, समाज र धेरै व्यक्तिहरु सँग लड्दै आएर अहिले यो क्राउन जित्न पाँए र यो नै मेरो लडाईको जीत सम्झिन्छु ।

यहाँको समुदायलाई अपहेलनाको नजरले हेर्ने गरिन्छ, के यो जायज हो ?

अवश्य यो नजायज नै हो, हामी पनि समाजको एउटा अंग हो हामीले पनि समान हक र व्यवहार पाउनुपर्छ भन्न चाहन्छु ।

मिस पिंकको हैसियतले तपाईले आफ्नो समुदायको लागि के गर्ने योजना बनाउनु भएको छ ?

म मिस पिंक नहुँदै खेरी मैले सोचिसकेको थिए म एउटा सफल वकिल भएर लैंगिक, अल्पसंख्यक तथा अपाङग र पिछडिएका वर्गहरु उनीहरुको हक अधिकारको लागि लड्दै यो देशलाई शान्तीपूर्वक ठाउँ बनाउन चाहान्छु र यौनिक तथा लैंगिक अल्पसंख्यक सबैलाई समेट्न चाहन्छु ।

तपाईको परिवारले कतिको समर्थन गरेका छन् ?

तपाईलाई थाहा नै छ समाजमा अहिले पनि अन्धविश्वास छ । परम्परागत सोचका मान्छेहरु छन् । आमाले मलाई जहिले पनि सहयोग गर्नुहुन्छ तर बुबाबाट भने अहिले सम्म पनि सहयोग र सपोट पाएकी छैन । हरेक मान्छे को सोचाई एउटै हुदैँन, सबैको सोच एउटै हुने हो भने सायद यो संसार कता पुगीसक्थ्यो होला ।

सुनिन्छ तपाई आजकाल ब्लू डाईमन्ड सोसाईटीमा पनि कार्यरत हुनुहुन्छ, त्यहाँ के गर्नु हुन्छ तपाई ?

हाल म नील हिरा समाज (ब्लू डाईमन्ड सोसाईटी) मा सामाजिक कार्यहरुमा लागेको छु , त्यहाँ समलिंगी, तेस्रोलिंगीका बच्चाहरु र सडक बालबालिकाहरुलाई घर , खाना , शिक्षा दिएर सेभ द चिल्ड्रेनमा फोकस भएर काम गर्दैछु ।

तपाईको समुदायका व्यक्तिहरु के गरी आफ्नो जीविका निर्वाह गरेका हुन्छन् ?

हाम्रो समुदायको कुरा गर्नु पर्दा हरेक व्यक्ति हरेक ठाँउमा हुनुहुन्छ कोही सबैको अगाडी नै देखिनु हुन्छ भने कोही आफ्नो पहिचान लुकाएर बस्नु भएको छ । ग्ल्यामर क्षेत्र देखि लिएर मेकअप अर्टिस् , डान्सर , नायक नायिका सबै खाले क्षेत्रमा काम गर्नुहुन्छ । हामी समग्रमा सबै क्षेत्रमा छौँ , भन्न चाहान्छु ।

संविधानले तपाईहरुको समुदाय बारे केके राम्रा व्यवस्थाहरु बनाएका छन् ? यसबारे तपाईलाई केही थाहा छ ?

संविधानको कुरा गर्नु पर्दा नेपाल पहिलो देश हो जहाँ संविधानले तेस्रोलिंगीहरुको लागि पनि हक अधिकार लेखिएको छ । यो हाम्रो धारा १२ , १८ र ४२ मा छ । कतिपय अधिकारको कुरा गर्नु पर्दा नागरिकतामा हामीलाई अन्य भनेर दिने गरिएको छ र अन्य भनिए पनि हाम्रो नाममा चाही परिवर्तन आएको छैन , जस्तै मेरो नागरिकतामा मेरो जन्म नाम सविन लामा नै छ एन्जल छैन । त्यसकारण म हाम्रो सरकारलाई नागरिकता त दिनु भयो तर नाम परिवर्तन गर्न चाही किन नहुने ? त्यसै गरी धारा १८ मा समानताको हक भनेर त लेखिएको छ यो अनुार हामीले सरकारी कोटाहरुमा भाग लिन किन नपाउने ? हामीले विवाह गर्न किन नपाउने ?  भनेर म हाम्रो सरकारलाई प्रश्न गर्न चाहान्छु ।

सुनिन्छ तपाई यो भन्दा पहिला पत्रकार हुनुहुन्थ्यो , यसरी मिडियामा काम गर्दा तपाईको जीवनमा कस्तो सहयोग पुग्यो ?

मिडियामा काम गरेर मलाई एक्दमै ठुलो सहयोग पुगेको छ । हाम्रो ईहिमालयनको राम एकवाल चौधरी सरलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छु । उहाँले म एउटा तेस्रोलिंगी भए पनि एउटा पत्रकार भएर आफ्नो कम्पनीमा राखिदिनु भयो । समाजलाई परिवर्तन गरेर देखाईदिनु भयो । यसले गर्दा मैले मेरो अन्य साथीहरुलाई पनि भन्न पाए । म पत्रकार हो र हामीलाई पनि सबै क्षेत्रमा काम छ भनेर भन्न पाए । धेरै मान्छेहरुसंग भेट्ने अवसर पाए र अन्र्तवार्ताहरु पनि लिए ।

गत निर्वाचनमा तपाईको समुदायका केही व्यक्तिहरु पनि चुनाव लडेका थिए , यो सकारात्मक कुरा हो , यसबारे के छ तपाईको विचार ?

यस बारे मेरो विचार एकदम सकारात्मक छ । म हाम्रो नेपाल सरकार तथा बाबुराम भट्टराई ज्यूलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु , उहाँले हाम्रो तेस्रोलिंगी समुदायको  पिंकी गुरुङलाई लिएर चुावमा लड्नुयो । यो हाम्रो विकासको लागि पहिलो चरण नै हो भन्नु पर्छ ।

प्रशासनबाट तपाईहरुलाई कतिको सहयोग पाउनु भएको छ ?

प्रशासनबाट भन्नु पर्दा उहाँहरुले हामी एलजीबीटीआईहरुलाई हक अधिकार लेखिदिनु भएको छ । हाम्रो मिस पिंकको कार्यक्रममा पनि उहाँहरु सहभागी हुनुहुन्थ्यो । हाम्रो एलजीबीटीआई कुराहरुमा प्राय जसो उहाँहरु सक्रिय नै हुनुुहुन्छ र सहयोगी नै हुनुुहुन्छ ।

तपाईको जीवनमा भन्नु पर्दा आईडियल व्यक्ति को हुनुहुन्छ ?

मेरो आमा नै मेरो जीवनको आईडियल व्यक्ति हुनुुहुन्छ । आमा शब्द नै एकदम प्यारो छ , आमाले नै संसार देखाउनु हुन्छ । समलिंगी तेस्रोलिंगी , महिला , पुरुष जे सुकै होस् आफ्नो आमा भन्दा ठुलो कोही पनि लाग्दैन ।

यदि भविष्यमा चलचित्रको अफर आयो भने खेल्नु हुन्छ तपाई ?

चलचित्रको अफर आयो भने पहिला म त्यसको कथा राम्रोसंग बुझ्छु । हाम्रो चलचित्र क्षेत्रमा हामी जस्तो तेस्रोलिंगीहरुलाई प्राय जसो नकारात्मक तरिकाले देखाउने गरिन्छ । कुनै सकारात्मक चरित्र छ र सबैले हामीले चलचित्रमा आउँदा सकारात्मक तरिकाले हेरिदिनुहुन्छ भने अवश्य खेल्ने छु ।

मन पर्ने चलचित्र र मन पर्ने कलाकार ?

मेरो अहिले सम्मको मन छाएको चलचित्र भनेको हिन्दी “ कुच कुच होता हे ” हो । यो एकदमै मन छुने चलचित्र छ र जति हेरे पनि हेर्न मन लाग्छ । त्यसै गरी कलाकारको कुरा गर्नु पर्दा हाम्रो नेपालको दयाह्याङ राई र प्रियंका कार्की एकदमै मन पर्छ ।

सामाजिक संजालमा कतिको अपडेट हुनुहुन्छ ?

सामाजिक संजालमा म एकदमै सक्रिय छु । कतिपय मिडियामा गएर पनि अन्र्तवार्ताहरु दिने गर्छु । साप्ताहिकमा पनि भर्खरै मेरो अन्र्तवार्ता भएको छ । फेसबुक , टुईटर , ईन्ट्राग्राम हरेक कुरामा सक्रिय नै छु ।

तपाई मिस पिंक २०१८ को हैसियतले तपाईको समुदायलाई के सन्देश दिनु हुन्छ ?

म सबैलाई के भन्न चाहान्छु भने कसैले पनि कसैमाथि भेदभाव नगरोस् । सबैलाई समानताको हक दिनुपर्छ । हामी सबै मानिस हौँ । तेस्रोलिंगीहरुलाई पनि समान हक दिनुहोस् । हामीलाई पनि तपाईकै एउटा अभिन्न अङ्ग हौँ । हामीलाई लाञ्छना नगर्नु माया गर्नुस् तपाईहरुकै मायाले हामी अगाडी बढ्छौँ यो देशलाई हामी पनि विकास गर्न सक्छौँ भन्न चाहन्छु ।