एलजीबीटीआईको अधिकारमा संचारमाध्यम : संबैधानिक अधिकार प्राप्तिदेखि विवाहको अधिकारका लागि दवाव

काठमाडौं (पहिचान) साउन १५ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) को अधिकारका लागि आवाज उठाउँदै आएको रेडियो कार्यक्रम पहिचानको दोस्रो चरण सकिएको छ । दातृ निकाय नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाजले उत्पादन गरेको कार्यक्रमको दोस्रो चरणमा १ हजार ९५ अंक प्रशारण भएको छ ।

आम नागरिकलाई समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी भनेको के हो भन्नेबारे द्वविधा भैरहेका बेला नील हिरा समाज स्थापनाको १२ बर्षपछि सन् २०१२ (२०६९ साउन १७ गते ) पहिलो तीन बर्षका लागि कार्यक्रम पहिचान प्रशारण सुरु भएको थियो ।

कार्यक्रम पचिानका परिकल्पनाकार नील हिरा समाजका संस्थापक एवं पहिलो संबिधान सभाका सभासद सुनिलबाबु पन्त हुन् । उनको अग्रसरता र अगुवाइमा कार्यक्रमको सुरुवात भएको हो । कार्यक्रमले समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीका समस्या जस्ताको त्यस्तै राख्दै त्यसको समाधानका उपायबारे सरोकारवालालाई जानकारी दिने तथा कतिपय सन्दर्भमा झक्झक्याउने गर्दै आएको थियो ।

कार्यक्रम पहिचान प्रसारणकै कारण दुरदराजका गाउँगाउँबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति खुलेर आएका थिए भने यो समुदायबारे अनविज्ञले जानकारी समेत पाएका थिए । कार्यक्रम पहिचानमा अन्तवार्ता दिने क्रममा सांसदहहरुले यो समुदायको अधिकार संविधानमा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।

पूर्व सभासद् सुनिलबाबु पन्तको क्रियाशिलताका कारण संबिधानको प्रारम्भिक मस्यौदामा लेखिएको यो समुदायको अधिकारलाई नहटाउने दोस्रो संविधान सभाका सभासद्को प्रतिवद्धता अनुसार अहिले संविधानले नै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चत गरेको छ । संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबोधन गरिएको छ । संविधानले अधिकार सुनिश्चत गरे पनि कानुन बन्न भने बाँकी छ । कानुनमा आफ्नो अधिकार लेखाउन यो समुदायले अझ धेरै दवाव दिनु पर्ने खाँचो छ ।

नागरिकता, राहदानी प्राप्त गर्न थालेको यो समुदायले अहिले समलिंगी विवाहका लागि सरकारकारसँग कानुन निर्माण गर्न आग्रह गरिरहेको छ । यसबारे अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन अहिले महिला मन्त्रालयमा पुगेको छ । समितिको प्रतिवेदन सकारात्मक भए पनि सरकार भने समलिंगी विवाहप्रति सकारात्मक नरहेको बुझिएको छ ।

कार्यक्रम पहिचानका संयोजक माधव दुलालले कार्यक्रमले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तीको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “कार्यक्रम पहिचानको दोस्रो चरणको तीन बर्षे अवधी सकिएर समिक्षा चलिरहे पनि सञ्चार माध्यमले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआई) को अधिकार प्राप्तीको जारी अभियानमा सहयोगी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने लाग्छ उनले भने, सञ्चार माध्यमको काम समस्याको पहिचान गरिदिने हो, त्यसैले समस्यामा रहेको यो समुदायका मुद्दा सञ्चार माध्यममा निरन्तर आउने नै छन् ।”

उनले रेडियो कार्यक्रम पहिचानले एलजीबीटीआईलाई समाजमा चिनाउने देखि संविधानमा अधिकार लेखाउन महत्वपूर्ण भूमिका खेलेको दावी गरे । “रेडियो कार्यक्रम पहिचानको पहिलो तीन वर्ष हामीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई घर, परिवार, समाज र राज्यमा चिनाउन सफल भयौ भने पछिल्लो तीन बर्षमा संविधानमा अधिकार लेखाउन सक्यौं । संविधान अनुसार कानुन बनाउन, स्थानीय तहदेखि केन्द्र सरकारसम्मले बजेट बिनियोजन गराउनमा केन्द्रित गर्यो,” उनले भने, “यस अवधीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि भएका मानवअधिकार उल्लघंनका घटना कार्यक्रम पहिचानका बिषय बस्तु बने । तर, अझै पनि यो समुदाय माथि हुने विभेद, दुरव्यवहार अन्त्य भएको छैन । यो समुदायको अधिकार संविधानमा लेखिएपनि कानुन बनेको छैन । संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न यो समुदायलाई संचारमाध्यमको आबश्यकता रहिरहनेछ ।”

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तीको अभियानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एलजीबीटीआई समुदायले बताउँदै आएको छ । केही समय अगाडि पोखरामा आयोजित एक कार्यक्रममा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नील हिरा समाजको स्थापनाकाल देखि नै अधिकार प्राप्तीको अभियानमा सञ्चार माध्यमको ठूलो सहयोग र साथ रहेको बताएकी थिइन् । सञ्चार माध्यमकै कारण छोटो अवधीमा लुकेर बसेको समुदायलाई समाजमा खुलेर आउन र अधिकार प्राप्तीको अभियानमा छोटो अवधिमै लामो फड्को मार्न सम्भव भएको उनको भनाइ थियो ।

समाजकी अध्यक्ष पिंकी गुरुङ आफू पहिलोपटक टेलिभिजन कार्यक्रम संघर्षबाट खुलेको स्मरण गर्छिन् । सञ्चार माध्यम र राजनीतिक दलको साथ र सहयोग विना कुनै पनि अभियान सफल नहुने उनी बताउँछिन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि सञ्चारमाध्यमको उल्लेख्य भूमिका रहेको उनले बताउँदै आएकी छन् ।

कार्यक्रम पहिचान पहिलो चरणमा १३ वटा र दोस्रो चरणमा ६ वटा एफएफ रेडियो स्टेशनहरुबाट प्रशारण भएको थियो । पूर्व मेची देखि महाकालीसम्मका एफएमबाट कार्यक्रम पहिचान प्रशारण गर्ने प्रयास गरिएको थियो । कार्यक्रममा २ हजारभन्दा धेरै अथिती सहभागी हुँदा कार्यक्रम निर्माणमा पछिल्लो तीन वर्षमा माधव दुलाल, नरेश फुयाँल, रमेश वाग्ले, रुक्साना कपाली, अम्बिका दाहाल, इन्दिरा न्यौपाने, बिपना पनेरु, राज चौधरी, विनोद विसी सहभागी थिए ।