यौनिक तथा लैंगिक अल्पसंख्यकले सहजै अंश पाउलान ?

काठमाडौं (पहिचान) साउन २२ – जन्म दिने आमा अंशियार भएमा यौनिक तथा लैंगिक अल्पसंख्यकले अंश लिन झण्झट व्यहोर्नु नपर्ने भएको छ । मुलुकी देवानी संहिताले अंशबण्डा गर्दाको समयमा महिला अंशियार गर्भवती भएमा र ति महिलाले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानेर अंश भाग छुट्ट्याएर मात्र अंशबण्डा गर्नु पर्ने व्यवस्था गरेको छ ।

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी संहितामा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । यो नयाँ व्यवस्थाले पहिलो पटक संबैधानिक अधिकार पाएका यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) ले अंश लिन झण्झट व्यहोर्नु नपर्ने देखिएको हो ।

यो समुदायले  महिला पुरुषको भन्दा फरक पहिचान भएकै कारण घरदेखिनै बहिष्करणमा पर्दै आएको गुनासो गर्दै आएका छन् । अंश पाउनु त परको कुरा, समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगीले घरमा बुबा आमाको हेरचाह गरेर बस्छु भन्दा समेत लखेटिएको दुखेसो पोख्दै आएका छन् । यो नयाँ व्यवस्थाले जन्मजात स्पष्ट पहिचान हुने अन्तरलिंगी बच्चालाई भने केही राहत पुग्ने देखिन्छ ।

यो व्यवस्थाले लिंगको आधारमा अंश नपाउने भन्ने नहुने कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका प्रवक्ता रमेश ढकालले बताए । आमाको गर्भमा छोरा, छोरी वा यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) मध्ये एक हुने भएकाले त्यो शिशुले जुन सुकै लिंग भएर जन्मे पनि अंश पाउने व्यवस्था देवानी संहितामा रहेको ढकालले बताए । ‘छोरा, छोरी मात्रै नभएर अन्तरलिंगी, तेस्रोलिंगी सहितका फरक पहिचान भएका शिशुले अंश लिन पाउँछन्’ ढकालले भने ।

देवानी संहितामा रहेको अंशबण्डा सम्बन्धी व्यवस्था

२०५. अंशियार मानिने : सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।

२०६. अंशको समान हकदार हुने : (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् ।

(२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउनेछन् ।