ब्रेस्ट इन टेस्टिज आउट

काठमाडौं/पहिचान – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा बजारमा आउने भएको छ । घोष्ट राईटिङ नेपालले अर्को हप्ता भूमिकाको आत्मकता पुस्तक बजारमा ल्याउन लागेको हो । भूमिकाको पुस्तकको केहि अंश :

जैविक र मनोवैज्ञानिक पक्ष : केटाकेटीले दुई–तीन वर्षकै उमेरमा आफ्नो लैंगिक चेतना थाहा पाउँछन् । त्यसैअनुसार व्यवहार देखाउन थाल्छन् । तेस्रोलिंगीले पनि सोही उमेरमा आफ्नो लैंगिक प्रस्तुति देखाउन थालिसकेका हुन्छन् । तेस्रोलिंगीका हकमा केटा भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटीको लैंगिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रोलिंगी महिला भनिन्छ । केटी भएर जन्मिएका बच्चा हुर्किंदै गर्दा केटाको लैंगिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रोलिंग पुरुष भनिन्छ ।

तेस्रोलिंगी महिला अर्थात् मजस्ता व्यक्ति जन्मजात लिएर आएको यौनाङ्गप्रति वितृष्णा मान्छन् । दिमाग र मनले महिला हुँ भनिरहेको हुन्छ । आफूलाई त्यही रुपमा प्रस्तुत गर्न झकझक्याउँछ । तेस्रोलिंगी महिला सानैदेखि बसेर अनि पुरुष उभिएर पिसाब गर्ने कोसिस गर्छन् ।

लैंगिक चेतना उनीहरुले रुचाउने पहिरनबाट पनि थाहा हुन्छ । तेस्रोलिंगी महिला प्याजी, नीलो, रातो, हरियोजस्ता चहकिला कपडा रोज्छन् । उनीहरु स्कर्ट, कुर्ता–सलवार, साडी लगाउन र मेकअप गर्न रुचाउँछन् । खेलकुदका आधारमा पनि लैंगिक पहिचान खुल्छ । जस्तो– तेस्रोलिंगी पुरुषले फुटबल, साइकल, बन्दुकजस्ता खेलौना रुचाउँछन् भने महिलाले भाँडाकुटी र गुडिया ।

जब समाजले जन्मअनुसारको लैंगिक व्यवहार अपेक्षा गर्न थाल्छ तब तेस्रोलिंगी केटाकेटी मानसिक तनाबमा पर्छन् । आफ्ना बारे थाहा नपाउँदा उनीहरु बिरक्तिरहेका हुन्छन् । कतिपय त डिपे्रसनमै पर्छन् । झट्ट देखिने शारीरिक पहिचानअनुसारका कपडा दिए तत्काल नकारात्मक प्रतिक्रिया जनाउँछन् । शारीरिक पहिचानअनुसार दिइएको नामले बोलाउँदा पनि रिसाउने गर्छन् ।

बजारमा अहिले तेस्रोलिंगीका विषयमा लेखिएका पुस्तक नगण्य छन् । भिडियो, अडियो र फिल्म बन्न सुरुभएको छ । मानसिक तनाबमा बसेका तेस्रोलिंगीले त ती सामग्री झनै अध्ययन गर्नुपर्छ । लघुताभासमा बस्न हुँदैन । दुनियाँमा लाखौ तेस्रोलिंगी छन् । उनीहरुले साधारण मानिससरह जीवन चलाइरहेका छन् । प्रगति गरेका छन्, नाम कमाएका छन् । उनीहरुबाट प्रेरणा लिनुपर्छ ।

आफ्नो सन्तान तेस्रोलिंगी पहिचानको हो/होइन भनेर छुट्ट्याउने केही तरिका पनि छन् । बिदाको एक साताजति उसलाई जुन लैंगिक पहिचान, आवरण वा पोसाकमा रहन चाहन्छ, दिनुस् । उसैले रोजेको नामले बोलाइदिनुस् । ऊ तेस्रोलिंगी हो भने त्यसो गर्दा उसमा खुसी सञ्चार हुन्छ । फरक लैंगिक व्यवहार देखाए जिस्क्याउने, हेप्ने गर्नुहुँदैन । त्यसले उसमा नकारात्मक असर पार्छ ।

एकपटक उसलाई यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायबारे बुझेको परामर्शदातासमक्ष पनि लैजानुस् । सानैमा केटाकेटीको मनोभावना बुझ्न सकिएन र फरक व्यवहार गर्दै गए नकारात्मक नतिजा आउन सक्छ । परामर्शदाताले उचित परामर्श दिनेछन् जुन अभिभावकका लागि पनि आवश्यक हुन्छ ।

केटाकेटीको धेरै समय बित्ने र सामाजिकीकरण हुने थलो विद्यालय हो । त्यहाँ शिक्षक र साथीहरुको व्यवहारले पनि तेस्रोलिंगी केटाकेटीमा मानसिक आघात पुग्न सक्छ । त्यसैले अभिभावकले परामर्शताको सुझावपछि शिक्षकहरुसित पनि कुरा गर्नुपर्छ । आफ्नो सन्तानलाई अरुसरह नै व्यवहार गर्न आग्रह गर्नुपर्छ । त्यसो हुँदा ‘डिपे्रसन’ मा जाने सम्भावना कम हुन्छ ।

मानिस किन जैविक रुपमा एउटा र लैंगिकताका आधारमा अर्को व्यक्ति बन्छ ? किन तेस्रोलिंगी पहिचानमा बस्न चाहन्छ ? यसको अहिलेसम्म यथेष्ट र प्रामाणिक तथ्य आइसकेको छैन । जीवशास्त्रीहरुका अनुसार ‘एक्सएक्स क्रोमोजोम’ले मानिसलाई महिला र ‘एक्सवाई क्रोमोजोम’ले पुरुष विशेषतायुक्त बनाउँछ । तर, कतिपयमा ‘एक्सएक्सवाई’, ‘एक्सवाइवाई’ तथा अन्य विविधतायुक्त क्रोमोजोमको पनि विकास हुने गर्छ । यही सम्मिश्रणले पनि मानिसलाई फरकफरक लैंगिक व्यवहारको बनाउने अनुमान गरिन्छ । भिन्न खालको क्रोमोजोमले व्यक्तिहरुमा टेस्टस्टेरोन, यौनाङ्ग, स्तन आदिको महसुस गराउन अवरोध सिर्जना गर्छ । मेडिकल भाषामा तेस्रोलिंगी व्यवहार आउनुमा शरीरमा हर्मोनको समान वितरण नहुनु नै हो । यो कुनै मानसिक या शारीरिक रोगचाहि होइन ।

अर्को अध्ययनअनुसार मस्तिष्कको संरचनाले पनि फरक लैंगिक आचरण देखाउने गर्छ । प्रायः तेस्रोलिंगी आफू सानै हुँदादेखि यस्तो सोचाइ र व्यवहार देखिएको महसुस गर्छन् । उनीहरु जन्मजात फरक लैंगिक व्यवहार लिएर आएको बताउँछन् । हामीलाई लाग्छ, हरेक मानिसले आफ्नो लैंगिक व्यवहार कस्तो महसुस गर्ने, देखाउने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रता हो । यौनिकता र लैंगिकता फरक कुरा हुन् ।
कतिपय मानिस तेस्रोलिंगीलाई मानसिक रोगको उपज पनि ठान्छन् । तर, होइन । त्यसो हुँदो हो त मानसिक रोगको उपचार गरे सबै ठीक भइहाल्थ्यो नि !

अन्य मानिस र तेस्रोलिंगीको व्यवहार फरक हुन्छ । फरक लैंगिक व्यवहारले केही तेस्रोलिंगीलाई संवेगात्मक तनाब दिएको हुन्छ । त्यसैले हामीमा जस्तो लैंगिक विशेषता भएको महसुस हुन्छ, सोही आधारमा पहिरन, शृङ्गार, रहनसहन र बानीव्यवहार देखाउँछौ । जन्मिँदा छोरा तर व्यवहारमा छोरी देखिने तेस्रोलिंगीले महिलाकै र जन्मिँदा छोरी तर व्यवहारमा छोरा देखिनेले पुरुष आचरण देखाउँछन् ।

मलाई नै हेर्नुस्, छोरा भएर जन्मिएँ । यौनाङ्ग छोराकै छ तर लैंगिक चेतना आएपछि आफूलाई महिला महसुस गर्न थाले“ । सलवार, कुर्ता, सारी, चोलोमा सजिएर हिड्न थाले । लिपिस्टिक, क्रिम, पाउडर लगाउने, दाह्री–जुँगा आउन नदिने हरेक प्रयास गर्न थाले । महिलाको जस्तो स्तन बनाउन हर्मोन खाएँ तर नआएपछि थाइल्यान्ड पुगेर प्रत्यारोपण गराएँ । काठमाडौंकै एक निजी अस्पतालमा सर्जरी गरेर यौनाङ्गको केही भाग निकालिदिएँ । यसरी म हरसम्भव महिला बन्न उद्यत छु । मेरो जस्तो मानसिकता र व्यवहार अन्य महिला तेस्रोलिंगीमा पनि हुन्छ ।

हाम्रो समाज सृष्टिमा महिला र पुरुष मात्र छन् भन्ने धारणा राख्छ । त्यसैले जैविक रुपमा एउटा तर व्यवहारमा विपरीत लैंगिक व्यवहार देखाउने मानिस पारिवारिक र सामाजिक विभेदको सिकार बन्छन् । तेस्रोलिंगी भएकै आधारमा घरपरिवारबाट बहिष्कारमा पर्छन् । विद्यालयमा साथी र शिक्षकले गिज्याउँछन् । उनीहरु चैनले पढ्न पाउँदैनन् । कोर्स पूरा नगरी विद्यालय, कलेज छाड्न बाध्य हुन्छन् । छिमेक, गाउँ, टोलमा उनीहरुलाई जिस्क्याउने, हेयभावले हेर्ने गरिन्छ । उनीहरु आत्मसम्मानपूर्वक जिउन सक्ने ठाउँको खोजीमा भौतारिन्छन् । यही वातावरण नपाउँदा धेरै तेस्रोलिंगीलाई मानसिक तनाब र डिपे्रसनले सताउँछ । उनीहरुको व्यक्तिगत चाहना नै रहेको यस्तो फरक लैंगिक व्यवहार परिवर्तन गर्न कुनै हालतमा सम्भव छैन । तर, परिवार र समाजले नबुझिदिदा धेरै जना सहाराविहीन भएर सडकमा आइपुगेका छन् ।
विक्षिप्त अवस्थामा रहने तेस्रोलिंगीहरुलाई परामर्शदाताको सर्वाधिक खाँचो हुन्छ ।

तेस्रोलिंगी स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाहरुले सुझाएअनुसार यसरी परामर्श गर्न सकिन्छ :

– दक्ष परामर्शदाताद्वारा परामर्श दिलाउने ।

– तेस्रोलिंगीका रुपमा जीवन व्यतीत गरिरहेकाहरुसित भेटाउने र अन्तरक्रिया गराउने ।

– हर्मोन थेरापिस्ट र तेस्रोलिंगी समुदायबीच अन्तरक्रिया गराउने ।

– आफूलाई कस्तो लैंगिक विशेषता देखाउन मन लाग्छ सोहीअनुसार हर्मोन सेवन गर्ने ।

– आत्मविश्वास र आर्थिक व्यवस्थापन गर्न सके अनुहारको कस्मेटिक सर्जरी गर्ने । स्तन, यौनाङ्गहरुको सर्जरी गर्ने, आवश्यकताअनुसार ट्रान्सप्लान्ट गर्ने ।

सबैले परामर्शदाताको सहयोग लिनैपर्छ भन्ने छैन । आत्मविश्वास भए परामर्शदाताको आवश्यकता पर्दैन । आफ्नो रुचिअनुसार लैंगिक पहिचान देखाउने चाहना भने धेरैमा हुन सक्छ । यस्तोमा हर्मोन सेवन उचित हुन सक्छ । महिला तेस्रोलिंगीले ‘एस्ट्रोजन’ सेवन गर्न सक्छन् । यसले शारीरिक रुपमा महिलापना बढाउँछ । पुरुष तेस्रोलिंगीले ‘टेस्टोस्टेरोन’ हर्मोन सेवन गरेर शारीरिक रुपमा आफूलाई पुरुष देखाउन सक्छन् । हर्मोनको जथाभाबी सेवन भने ठीक होइन । विशेषज्ञको परामर्श र निगरानीमा गर्नुपर्छ । चिकित्सकले आफूले दिएको हर्मोनले ल्याएको प्रभाव र ‘साइड इफेक्ट’बारे नियमित मूल्याङ्कन गर्छन् । कतिपयलाई हर्मोन सेवनले विपरीत र शारीरिक रुपमा निकै हानिकारक प्रभाव ल्याउँछ । त्यसैले चिकित्सकको परामर्श र निगरानीबिना सेवन गर्नु उचित हुँदैन ।
œ
मैले पनि महिलापन बढाउन वर्षौंदेखि ‘एस्ट्रोजन’ हर्मोन सेवन गरिरहेकी छु । यसले मेरो दाह्री–जुँगा आउन रोकेको छ । छाला मुलायम बनाएको छ । कपाल पनि सर्लक्क परेको छ । हर्मोन सेवनपछि पनि स्तन भने सोचेजसरी वृद्धि भएन । त्यसैले बैंककमा गएर जडान गरे ।
स्तन राख्दाको पनि लामो कहानी छ ।

हाम्रो समुदायका धेरै साथीलाई जन्मिँदा पाएका यौनाङ्ग बोझिला लाग्छन् । केटाको अङ्ग छ, भावना केटीको । केटीको अङ्ग छ, भावना केटाको । ममा पनि यो भावना आइरह्यो । हरेक क्षण ‘हे भगवान्, भोलि उठ्दा मेरा सबै पुरुष अङ्ग गायब भइदिऊन्, नारी–अङ्गले शरीर सजिएको होस्’ भन्दै पुकारिरहन्थे । बिहान–बेलुका पूजा गर्थें । मन्दिर जान्थे“ । व्रत बस्थे । तर अहँ, भगवानले मेरो पुकार कहिल्यै सुनेनन् ।

भगवान्ले नसुनेर के भयो त ? वैज्ञानिकहरुले हाम्रा लागि धेरै अनुसन्धान गरिदिएका रहेछन् । आत्मबल चाहियो, पैसा पनि हुनुप¥यो, सबथोक सम्भव रहेछ दुनियाँमा । मेरा धेरै साथी हर्मोन सेवन गर्छन् । आफ्नो इच्छाअनुसार महिला वा पुरुषको शारीरिक आकृति र हाउभाउ बनाउने प्रयास गरिरहेका छन् । महिला–शरीर भएका धेरै तेस्रोलिंगीले पुरmषको जस्तो दाह्रीजुँगा उमारेका छन् । पुरmषकै जस्तो कडा छाला र मोटो स्वर बनाएका छन् ।

यता, पुरुष–शरीर भएका मजस्ता धेरैले बोझ लागेको दाह्रीजुँगा नियन्त्रण गरेका छन् । महिलाको जस्तो कोमल छाला बनाएका छन् । कतिले आफ्नो पुरुष–छातीलाई महिलाकै जस्तो बनाएका छन् । मेरो दाह्रीजुँगा सानैदेखि खासै थिएन । छाला नरम बन्यो तर हर्मोन खाँदा पनि स्तन अरुको जसरी वृद्धि भएन । त्यही भएर फोमवाला ब्रा लगाएर हिड्थे ।

थाइल्यान्डमा ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) देखि यौनाङ्ग परिवर्तनसम्मको सुविधा छ । स्तन जडानका लागि जाने सोचिरहेकी थिएँ । केही महिनापछि ट्रान्सजेन्डरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमको निम्तो आयो । बैङ्ककमै हुने रहेछ । नील हिरा समाजको प्रतिनिधित्व गर्दै म र एउटी साथी त्यहाँ पुग्यौ ।

सन् २०११ को प्रसङ्ग हो ।

हामी दुवै यहीबाट पैसा जोहो गरेर गएका थियौ । खोज्दै–खोज्दै ब्रेस्ट इम्प्लान्ट गर्ने क्लिनिक पुग्यौ । सर्जरीका लागि नाम टिपायौ । हामीलाई भोलिपल्ट आउन भनियो ।

क्लिनिकमा थरीथरी पोस्टर टाँसिएका थिए । तिनमा ब्रेस्ट हालेपछि प्रसन्न तेस्रोलिंगीका तस्बिर अङ्कित थिए । म पनि त्यस्तै खुसी पाउने लोभले पुलकित भइरहेकी थिएँ । भोलि कहिले आउला र टमक्क बे्रस्ट हालौला भनेर हतारिइरहे । नाम टिपाएर आएको रात मलाई निद्र्रै लागेन ।
भोलिपल्ट डाक्टरले बोलाएको समयभन्दा अलि अगाडि नै पुगे । साथी पनि सँगै थिइन् ।

हाम्रो पालो आयो ।

सर्जरी कक्षभित्र पस्यौ । नर्सले गाउन लगाउन दिइन् । सुई लगाएर पेटदेखि माथि र घाँटीदेखि तलको भाग लट्ठ्याइदिइन् । पूर्ण बेहोस बनाइनन् । आँखा खुलै थियो । डाक्टरले धमाधम मेरो काखीमुनि चिर्न थाले, मेवा चिरेजसरी । खासै दुखेको त थिएन तर आँखा खुलै भएकाले डर भने लागिरहेथ्यो । हल्लिन खोज्थे, डाक्टर ‘स्लिप, स्लिप’ भन्थे ।

म डरले थर्कमान हुँदै भन्थे, ‘आई एम फिलिङ अफ्रेड ।’

बोल्दाबोल्दै एकैछिनमा बेहोसी बढ्यो । आँखा चिम्म गरेछु ।

सर्जरीका लागि करिब एक घण्टा लाग्यो । मेरा आँखा अलिअलि खुले, आंशिक चेतनामा आएँ ।

चिरिएको काखीमुनिबाट डाक्टरले धमाधम सिलिकन भर्दा रहेछन्, बोरामा बालुवा भरेजसरी । टाँका लगाएर काखीमुनिको भाग टमक्क टालेछन् ।

डाक्टर र नर्स दुवैले बोकेर मलाई अर्को बेडमा सारे । चिरेको ठाउँमा ब्यान्डेज लगाइदिए । जुस पिउन दिए ।

‘नाउ यू सी अ पर्फेक्ट लेडी’, डाक्टरले मुस्काउँदै भने ।

होस पूरा खुलेपछि ढाड असाध्यै दुखेको महसुस भयो । डाक्टरलाई भने । उनले पेनकिलर दिए, अलि सन्चो महसुस गरे ।

करिब चार घण्टापछि हामीलाई ‘आराम गर्न होटल गए हुन्छ’ भनियो ।

‘कम आफ्टर वान विक’, डाक्टरले बिदा गर्दै भने, ‘टेक केयर ।’

मलाई बेडबाट उठेर हिड्न साहै्र गाह्रो भयो । छाती ढुङ्गाजस्तो साह्रो भएको थियो । हिड्दा अगाडि ब्याग बोकेजस्तो भारी भयो । निकै अप्ठ्यारो र पीडा झेल्दै होटल पुग्यौ । दुखाइका कारण दुवैलाई केही रुचेन । जुसका भरमा रात कटायौ ।

बाहिर कतै हिड्न सकिएको होइन । सास फेर्नै गाह्रो भयो । कहिल्यै नबोकेको भारी बोकेर होला, साताभरि नै होटल रुममा बितायौ ।
डाक्टरले बोलाएका दिन फेरि पुग्यौ ।

नर्सले बेडमा उत्तानो पर्न लगाइन् । दुवैको ब्यान्डेज खोलिदिइन् । स्तन झर्ने हो कि, डल्लो पो पर्ने हो कि ? यही सोचेर हलचल नगरी सुतिरहे ।

डाक्टर आइपुगे । साथीको स्तन छामछुम पारे ।

‘पर्फेक्ट,’ उनले उज्यालो अनुहार बनाए ।

अनि मेरो स्तन छामे । तर, निधार खुम्च्याए ।

लौ फसाद, फेरि के आइलाग्यो ! म तर्सिएँ ।

सिलिकन भरेको मिलेनछ क्यारे ! डाक्टरले फेरि मोटोमोटो सुई स्तनवरिपरि लगाइदिए । त्यसपछि ‘ठीक छ’ भन्दै पठाइदिए ।

दुई दिनपछि हामी नेपाल फर्कियौ ।

ममा मनोवैज्ञानिक त्रास बढिरह्यो । डाक्टरले ६ महिनासम्म ब्रा, कसिलो लुगा नलगाउनू भनेका थिए । स्कुटी चढ्थे । झ्याप्प ब्रेक लगाउँदा ब्रेस्ट एकै पोका भएर भुइँमा खस्ने हो कि ? यताउता सरेर विरुप बन्ने पो हुँ कि ? भन्ने लागिरहन्थ्यो । महिनौ सुत्न सकिनँ । रातभर उत्तानो परेर जागाजस्तै रहन्थे । एक मन त पहिलाकै फोमवाला ब्रा नै ठीक भन्ने लाग्यो । तर के गर्नू, दुई लाख नेपाली रुपैयाँ खर्चेर यत्रो पीडा सहँदै ब्रेस्ट इम्प्लान्ट गरेकी थिएँ । फेरि निकाल्न गाह्रो थियो । नेपालमा त्यस बेला त्यस्तो सुविधा पनि त थिएन ।

छातीमा झन्डै दुई केजीको भारी थपिदा ‘एडजस्ट’ हुन गाह्रो परिरहेको थियो । अहिले भने ‘एडजस्ट’ भइसकेको छ । अरु केटीको जस्तो मेरो स्तन पनि टम्म मिलेको छ । फिटिङ सामान्य भइसक्यो । अब मलाई आफ्नो ब्रेस्ट भारी लाग्दैन । जडान गरिएको भए पनि मलाई सन्तुष्टि दिएको छ ।

अहिले त नेपालमै बे्रस्ट इम्प्लान्ट सुविधा भित्रिसकेको छ । स्तनको साइज घटाउन–बढाउन सकिन्छ । कस्मेटिक सर्जरी गरिने अस्पतालहरुमा आफूले चाहेको साइजमा ब्रेस्ट जडान गर्न सकिन्छ । तर, बैङ्ककमा भन्दा अलिक महँगो छ यहाँ । बैङ्ककमा नेपाली दुई लाख रुपैयाँ खर्च हुन्छ भने यहाँ करिब २ लाख ७५ हजार ।


ब्रेस्ट इम्प्लान्टपछि बल्ल केटीको जस्तो आकृति पाउन सके । यौनाङ्ग पनि परिवर्तन गर्न पाए हुन्थ्योजस्तो लाग्न थाल्यो । तर, नेपालमा यौनाङ्ग परिवर्तनको सेवा उपलब्ध थिएन । विदेश जाँदा पनि महँगो पर्ने भएकाले काठमाडौकै एक निजी अस्पतालमा यौनाङ्गको केही भाग हटाउने निर्णय गरे । तर, पूरै यौनाङ्ग हटाएर स्त्रीको जस्तो आकृति बनाउन गाह्रो रहेछ । त्यही भएर डाक्टरको परामर्शमा अर्किटोमी अर्थात् टेस्टिज मात्र फाल्ने निर्णय गरे ।

पुरुषहरुमा हुने फरक हर्मोनकै कारण स्वर धोद्रो हुन्छ । ज्यान ठूलो हुन्छ । नसा देखिन्छ । छाला कडा हुन्छ । यी सबैबाट मुक्ति पाउनकै लागि टेस्टिज हटाएकी हुँ । अहिले मेरो शरीरमा यस्तो हर्मोन विकास हुँदैन ।

टेस्टिज निकालेपछि शारीरिक रुपमा कमजोर महसुस गर्न थाले । त्यसैले आफूलाई बलियो र मजबुत बनाउन नियमित महिला हर्मोन खाइरहेकी छु ।

यो हर्मोनले व्यापक साइड इफेक्ट पनि ल्याउँछ । ग्यास्टिक, दम, थाइराइड, चायाँपोतो, डन्डीफोर, उच्च रक्तचापजस्ता समस्या निम्तिन सक्छन् । तैपनि हर्मोन सेवन हाम्रा लागि जरुरी छ । कतिपय तेस्रोलिंगी साथीहरु विभिन्न गर्भनिरोधक औषधिसमेत खाइरहन्छन् । यसको अनियन्त्रित र अव्यवस्थित प्रयोगबाट ब्रेस्ट क्यान्सरजस्तो जटिल समस्या आउन सक्छ । त्यसैले सजग हुनैपर्छ ।

हर्मोन साथसाथै लिभ ५२ पनि प्रयोग गर्नुपर्छ । यससँगै पानी प्रशस्त पिउनुपर्छ । अन्यथा धेरै नकारात्मक असर गर्न सक्छ । कतिपय साथी परिवार नियोजनका लागि प्रयोग हुने ‘निलोकन’ चक्की पनि प्रयोग गर्छन् । मैले हर्मोन मात्र प्रयोग गरिरहेकी छु ।

म नेवार परिवारभित्रकी तेस्रोलिंगी महिला हुँ । हाम्रो सबै कुरा प्राकृतिक नै हुन्छ । नारी–स्वभावअनुरुप मलाई शृङ्गार असाध्यै मन पर्छ ।



भारत, गुवाहटीका एक २१ वर्षे छात्रले आफू केटी भएको दाबी गरेर बम्बई उच्च न्यायालयमा मुद्दा हाले । उनी लिंग परिवर्तन गर्न चाहन्थे तर मातापिताले अवरोध गरेका रहेछन् । विधान बरुआ नामका ती युवक ‘स्वाती’ नामले चिनिन चाहन्थे । स्याफई अस्पतालमा उनको लिंग परिवर्तनका लागि तयारीसमेत भइरहेको रहेछ । तर, मातापिता गएर रोकिदिएछन् । मातापिताले उनको बैङ्क अकाउन्टसमेत रोक्का गराएछन् ।

बरुआले रिटमा शरीर पुरmषको भए पनि आफू महिला भएको र भारतीय वायुसेनाका फ्लाइट लेफ्टिनेन्टसँग विवाह गर्ने पक्षमा रहेको उल्लेख गरेका थिए । यसमा परिवारको अवरोधले आफ्नो मूलभूत अधिकार हनन भएको उनको दाबी थियो ।

अन्ततः न्यायालयले बरुआलाई लिंग परिवर्तनको अनुमति दियो । त्यस मामिलामा उनी स्वतन्त्र भएको फैसला सुनायो । न्यायाधीश एसजे वाजिफदार र एआर जोशीको इजलासले भन्यो, ‘बरुआ वयष्क छन् र उनी आफ्ना बारे आफै निर्णय लिन सक्छन् । यस्तो कुनै कानुन छैन, जसले लिंग परिवर्तनका लागि हुने अपरेसन रोक्न सकोस् । आवश्यक परे बरुआलाई प्रहरी–सुरक्षा पनि दिइनेछ ।’

यो घटना हालैको हो । विश्वमै अब लिंग परिवर्तन सामान्य भइसकेको छ । लैंगिक अल्पसङ्ख्यकहरु आफूले चाहेजस्तो लिंग परिवर्तन गरी सुखद जीवन बिताउन सक्षम छन् ।

आयरल्यान्डकी जेमी ओहरलिही जन्मिँदा छोरा थिइन् । उनको व्यवहार बदलिँदै गयो । उनी स्त्री स्वभावकी भइन् । अन्ततः ल्गिं परिवर्तन गरेर स्त्री भइन् । तर, धेरै प्रयास गर्दा पनि प्रेमी बनाउन सकिरहेकी थिइनन् । आखिरमा आफूजस्तै लिंग परिवर्तन गराएका एक साथी भेटिन् । ह्यारी म्याथुस नामका ती युवकसँग उनको प्रेम बस्यो । ह्यारी पहिला युवती थिए । लिंग प्रत्यारोपणबाट केटा भएका रहेछन् । ह्यारीले मिडियासँग भनेका थिए, ‘हामी दुवैले एउटै पीडा, प्रक्रिया र अवस्था भोगेकाले हाम्रो कुरा मिल्छ । यही कारण हाम्रो प्रेमसम्बन्ध प्रगाढ छ ।’

बेल्जियमको एउटा घटना पनि कम्ती रोचक छैन । जेन नामक व्यक्तिले बिहेको १९ वर्षपछि मात्र पत्नी तेस्रोलिंगी भएको थाहा पाए । उनले सन् १९९३ मा इन्डोनेसियाकी मोनिकासँग बिहे गरेका थिए । मोनिकामा आममहिलामा हुने सम्पूर्ण गुण थिए । कुनै सुन्दरीभन्दा कम थिइनन् ।शारीरिक सम्पर्क गर्दा पनि श्रीमतीमाथि कुनै शङ्का नभएको जेनले बताएका छन् ।

एक दिन जेनले मोनिकाको कम्प्युटरमा केही पुरुषले पठाएका ‘सेक्सी म्यासेज’ फेला पारे । पतिपत्नीबीच झगडा सुरm भयो । विवाद प्रहरीसम्म पुग्यो । मोनिकालाई पनि चिन्दै आएका जेनका साथीहरुले बताएपछि मात्र उनले थाहा पाए– श्रीमती जन्मिँदा पुरmष रहिछन्, लिंग परिवर्तन गराएकी रहिछन् ।

लिङ्ग परिवर्तनको कस्तो शक्ति ? १९ वर्षसम्म पनि पतिले पत्तै पाएनन् !

नेपालमा पनि अभिनेता सन्तोष पन्तका छोरा लिंग परिवर्तनपछि ‘क्याटलिन पन्त’ बनेका छन् । झापाकी नुमा सुब्बाले पनि लिंग परिवर्तन गराएकी छिन् । बैङ्ककको प्रतुनाम पोलिक्लिनिकमा शल्यक्रियामार्फत आफ्नो जन्मजात लिंग हटाइन् । लिंग परिवर्तनअघि उनले स्तनको शल्यक्रिया गराइसकेकी थिइन् ।

नेपालगन्जका लालबहादुर कुँवर लिंग परिवर्तन गरेर ‘रानी कुँवर’ बने । दुई छोराका बाबु उनले आफू जन्मजात तेस्रोलिंगी भए पनि परिवारले जबर्जस्ती विवाह गरिदिएकोमा दुखेसो पोखेका थिए । झापाकी सोहनी धिमाल लिंग परिवर्तनपछि पुरुषबाट महिला बनिन् । नेपालमै हालसम्म २०–२५ जनाले लिंग परिवर्तन गराइसकेका छन् । अरु पनि हुन सक्छन् तर कतिपय समाजमा खुलेर देखिन चाहँदैनन् ।

स्तन राखेपछि र अर्किटोमी निकालेर फालेपछि मेरो पनि केटापन हट्दै गएको छ । महिलाको जस्तो कोमल आभास बढ्दै गयो । हात, गोडा र अनुहार सबैतिर महिलाकै जस्तो नरम छाला भयो । अनि मैले पुरुष–लिंग हटाएर महिला–यौनाङ्ग प्रत्यारोपण गर्ने सोच पनि बनाएँ । तर, नेपालमा यो सम्भव रहेनछ । बैङ्ककमा गरे सस्तो र भरपर्दो हुन्छ भन्ने जानकारी पाएँ । त्यहाँ पनि ११ लाख रुपैयाँ त कम्तीमा लाग्ने रहेछ । मसित अहिले त्यति धेरै पैसा छैन । अब दुई विकल्प छन्– लिंग परिवर्तनका लागि पैसा नजुटुन्जेल पर्खेर बस्ने वा जेजस्तो अवस्थामा छु त्यसैमा बाँकी जीवन बिताउने ।

लिंग परिवर्तन असम्भव छैन, जटिल भने अवश्य छ । शल्यक्रियामा तेस्रोलिंगी महिलाको हकमा लिंग हटाई योनि प्रत्यारोपण गरिन्छ भने पुरुषको हकमा योनिको स्थानमा लिंग बनाइन्छ । लिंगलाई योनिमा परिणत गर्न जति सहज छ, लिंग राख्नचाहि अलि जटिल मानिन्छ । लिंग परिवर्तनपछि पनि उनीहरुले यौनसुख प्राप्त गर्न सक्छन् । अपरेसनका क्रममा अण्डाशय बाहिर निकालेर लिंगलाई योनि आकारमा बदलिन्छ । लिंगमा तीन किसिमका नसा हुँदा रहेछन् । पिसाब उत्पादन हुनेबाहेक बाँकी नसा काटिन्छ । लिंगलाई योनिको आकारमा बदलेर योनिद्वार बनाइन्छ । यो शल्यक्रिया आठ घण्टासम्म चल्छ । कतिपय पश्चिमी देशमा चिकित्सकको दुई वर्षको निगरानीपछि मात्र शल्यक्रिया गर्ने प्रावधान छ । एसियाली देशहरुमा भने यतिको समय लाग्दैन ।

जे होस्, लिंग परिवर्तन, अङ्ग प्रत्यारोपण र हर्मोन सेवन सबै प्रविधि खर्चिलो छ । जोकसैले बेहोर्न सक्दैन । त्यसमाथि घरपरिवार, समाज र रोजगारस्थलमा अनेकौ विभेद सामना गर्नुपर्ने तेस्रोलिंगीको आयस्रोत भरपर्दो हुँदैन । धेरैले त घरपरिवार छाडेर टाढा र अपरिचित ठाउँमा गुजारा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरु डिपे्रसन, खिन्नताजस्ता मानसिक समस्याले ग्रस्त रहन्छन् । कतिले सहन नसकेर आत्महत्याको बाटो पनि रोज्छन् । सर्वेक्षण गर्ने हो भने लिंग परिवर्तन चाहने तेस्रोलिंगी थुप्रै छन् ।

हुन त अहिले समाज निकै उदार हुँदै छ । तेस्रोलिंगीले आफ्नो पहिचानमा जिउन पाउने भएका छन् । नेपाल मात्र होइन, दर्जनौ मुलुकका कानुनमा तेस्रोलिंगीको पहिचान स्थापित छ । राज्यले सुविधा दिएको छ । नेपालमै पनि तेस्रोलिंगी भएकै आधारमा राजनीतिक दलमा प्रवेश पाएका छन् । नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त सभासद्समेत हुनुभयो । तेस्रोलिंगीले आफ्नै पहिचानमा नागरिकता पाइरहेछन् । त्यसैले हामीले लघुताभास गर्न हुँदैन । आफ्नो पहिचानबारे खुलेर बोल्नुपर्छ । लैंगिक आधारमा विभेद गर्न पाइँदैन । हामीले सम्मानजनक तबरले बाँच्ने दिन आइसकेको छ ।

अभिनेता पन्तकी छोरी क्याटलिनलाई नै हेरौ । लिंग परिवर्तनपछि मिडियामा निकै छाइन् । नेपाली समाजमा लिंग परिवर्तन गर्न पाइने निजी अधिकारको नजिर बनेकी छन् उनी ।

पश्चिमी मुलुकमा आर्थिक अवस्था सहज हुनेले निर्बाध लिंग परिवर्तन गराउन सक्छन् । हिन्दुस्तान र थाइल्यान्डमा पनि लिंग परिवर्तन र प्रत्यारोपण सुविधा छ ।

म पनि महिलाको पूर्ण यौनाङ्ग राख्ने कि नराख्ने, सोचिरहेकी छु । निर्णय लिइसकेकी छैन । ऐनाअगाडि उभिदा आफैलाई के–के नमिलेजस्तो अनुभव हुन्छ । यौनाङ्ग परिवर्तन गरे पनि तेस्रोलिंगी महिलाको पाठेघर हुँदैन । महिनाबारी हुँदैन, त्यसैले बच्चा पनि जन्माउन सकिदैन । अनि फेरि प्रकृतिले आफूलाई जुन रुपमा जन्म दियो त्यही स्वरुपको माया लाग्दो रहेछ । त्यसैले कतिपय तेस्रोलिंगी महिला–पुरmष आफू जुन रुपमा जन्मिइयो त्यसैमा रमाएर जीवन बिताइरहेका छन् ।

हाम्रो यौन–अभ्यास

समलिंगी– तेस्रोलिंगीहरुबीच कसरी यौनसम्बन्ध हुन्छ ? धेरैलाई चासोको विषय हुन सक्छ । पुरुष र महिलाबीच मात्र शारीरिक संसर्ग हुने बुझाइ राख्नेहरुलाई पुरुष–पुरुष वा महिला–महिलाबीच पनि यौनसन्तुष्टि लिने प्रक्रिया चल्छ भन्ने सुन्दा नौलो लाग्नु स्वाभाविक पनि हो ।

म तेस्रोलिंगी–समलिंगी अधिकारको आन्दोलनमा होमिएकी मान्छे । हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ । किनकि हरेक मानिसलाई यौनशिक्षाको आवश्यकता छ ।

यौनसंसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौ । समलिंगी सम्बन्धका हकमा समान यौनाङ्ग भएका साथीहरुबीच सहवास गरिन्छ । त्यसक्रममा एक जनाले केटाको, अर्काले केटीको भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

परम्परागत यौनमा लिंग योनिमा प्रवेश गराउने र स्खलित हुने चलन छ । धेरैले सहवासका क्रममा यही अभ्यास गर्छन् । तर, हामी तेस्रोलिंगी र समलिंगीहरुको यौनसाथीसँग समान अङ्ग हुने भएकाले मुखमैथुन र गुदद्वार मैथुनकै बढी अभ्यास गर्छौं ।

समलिंगीका हकमा मुखमैथुन भन्नाले स्त्री–साथीले अर्की स्त्री–साथीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै यौनरस स्खलित गराउँछिन् । पुरुष–साथीले अर्को पुरुष–साथीको मुखमा आफ्नो लिंग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन् । मुख वा हातले खेलाएर वीर्य स्खलित गराउँछन् ।

तेस्रोलिंगी महिलाको हकमा धेरैजसोले गुदद्वारलाई स्त्री–यौनाङ्ग कल्पना गर्दै लिंग प्रवेश गराउँछन् । जसलाई ‘एनल सेक्स’ भनिन्छ । अहिले त कतिपय पुरुषहरु स्त्रीसित पनि एनल सेक्स गर्छन् ।

एनल सेक्समा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकि हाम्रो मलद्वारका तन्तु निकै संवेदनशील हुन्छन् । मलद्वारमा सेक्स गर्दा या केही चिज घुसाउँदा कोषिका फाट्ने जोखिम हुन्छ । त्यसले इन्फेक्सन भई भाइरस फैलन सक्छ । मलद्वारमा दिसा रोक्न सक्ने क्षमताका कोषिका हुन्छन् । इन्फेक्सन भए तिनले काम गर्न छाडेर दिसा लागिरहने समस्या आउन सक्छ । तिघ्राको कापको त्यो भागमा धेरै ब्याक्टेरिया (कीटाणु) हुन्छन् । एनल सेक्स गर्दा पार्टनरलाई पनि सङ्क्रमणको आशङ्का रहिरहन्छ । सलाइबा अर्थात् यौनरस र मलका स–साना अंशमा पनि हेपाटाइटिस ‘बी’का कीटाणु हुन सक्छन् । मलद्वार चाट्दा मलका कणमा रहेका हेपाटाइटिस ‘ए’ कीटाणु सङ्क्रमणको खतरा पनि हुन सक्छ । त्यसै गरी हर्पिस सिम्पल्याक्स भाइरसचाहि मलद्वारमा घाउ भएमा हुन सक्छ । असुरक्षित एनल सेक्सबाट सिफलिस, एचआइभी, एचपीबी, जेनाइटल वार्ट, गोनोरिया, क्लमाइडिया, हिमोफिल्स ड्रयुस्री, सल्मोनेला, सिगेला आदि सङ्क्रमणको जोखिम रहन्छ ।

यस्ता सङ्क्रमणबाट बच्न एनल सेक्सअघि मलद्वार सफा गर्नुपर्छ । लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ । एनल सेक्समा पनि कन्डोम प्रयोग गर्न जरmरी छ । रगत आए या पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ । हाम्रा साथीहरुमा सुरक्षित एनल सेक्सको चेतना बढ्दै गएकाले समस्या कम हुँदै गएका छन् । तैपनि जोसमा होस भने राख्नैपर्छ ।

अहिले बजारमा थरीथरी यौनखेलौना (सेक्स टोयज) पनि आएका छन् । धेरै मानिस यिनैबाट सन्तुष्टि लिन्छन् । कतिपयले एक्लै हुँदा त कतिले युगल, सामूहिक सहवासमा पनि सेक्स टोयज प्रयोग गर्छन् । हामी भावनात्मक स्पर्शमा रमाउँछौ । अरुलाई कस्तोकस्तो लाग्दो हो, हामीलाई यही सहवास पूर्ण र सन्तुष्टिदायक लाग्छ । हामी ध्यान र समर्पणभावले सहवासमा सहभागी हुन्छौ ।

घोष्ट राईटिङ नेपालले अर्को हप्ता बजारमा ल्याउन लागेको पुस्तकको केहि अंश