दिन दिनै मर्नु भन्दा ….

शान्ति दनुवार/पहिचान – मेरो नाम शान्ति दनुवार उमेर २० बर्ष । म तेस्रोलिंगी पुरुष (ट्रान्समेन) हुँ । मेरो घर काभ्रेपलाञ्चोक जिल्लामा छ । मेरो जन्म छोरीको रुपमा भयो तर मेरो आत्मा छोराको छ ।

मैलै सबै आफूलाई केटा नै ठाने र मेरा सब क्रियाकलाप एउटा केटा कै थियो । सानो उमेरमा त त्यति अप्ठयारो भएन । जब शारीरिक बिकास हुँदै गयो, तब मलाई धेरै अप्ठयारा समय आइपरे ।

मलाई केटी आकर्षित हुन थाल्यो । पछि १५ १६ बर्षको उमेरमा मलाई आफू को हुँ ? भन्ने थाहा भयो । म जस्तै अरु नि धेरै हुदाँ रैछन भन्ने थाहा भयो । मैले यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआइ)को बारेमा खोजी गर्न थाले । सबै कुरा राम्रोसँग बुझे ।

म १७ १८ को उमेरमा आइपुग्दासम्म त मलाई आफ्नो शरिर जेल नै हो जस्तो लाग्न थाल्यो । आत्मबिश्वास थिएन, अरुसँग बोल्न पनि अप्ठयारो हुन्थ्यो । मान्छेहरु भन्थे, यो के हो छोरा हो कि छोरी भनेर हाँसोमा उडाउँथे ।

म आत्माले केटा तर केटीको शरिरमा । केटी भएर बाँच्दा मलाई मर्नु बराबर हुन थाल्यो । अनि मैले सोचेकी यसरी दिन दिनै मर्नुभन्दा त कि मर्छु, कि म जो हुँ त्यही भएर बाच्छु भनेर सोचे । त्यसैले मैले लिंग परिवर्तन गर्ने निर्णय गरे ।

मैले परिवारलाई नि भने । दिदीहरुले बुझ्नु भयो तर बुबाले बुझ्नु भएन । तर मैले पहिलो हर्मोन लिएको आज दुई महिना भयो । म यो हर्मोनले मेरो शरिरमा भएको परिवर्तनबाट धेरै खुशी छु । मेरो स्वर गहिरो भएको छ । मेरो जुंगा दारी आउँदैछ । तर परिवारबाट पुरा सहयोग पाएको छैन ।

मेरो मुख्य समस्या भनेको पैसाको छ । किनकी कि पैसा बिना केही सम्भव छैन । के म जस्ता व्यक्तिलाई सहयोग गर्ने कुनै संस्था छ ?

(उनले आफ्नो बास्तविक भोगाई पहिचानको फेसबुक म्यासेजमा पठाएकी हुन् । उनले आफ्नो बास्तविक नाम र तस्विर राख्दा परिवारमा अफ्ठायारो हुने भएकाले उनको बास्तविक नाम र तस्बिर राख्न असमर्थ छौ । )