म किन अरु भन्दा फरक छु ?

रुपन्देही (पहिचान) असोज ४ – स्याङजा जिल्ला आधिखोला गाउँपालिका वडा नं १ मा बाबा नर बहादुर सुनार र आमा पुर्ण कुमारी सुनारको कोखबाट जन्मिएको तेस्रो सन्तान तेस्रोलिंगी पुरुष म बिनोद वि.सी. । मेरो जन्म २०४६ साल जेठ २२ गते भएको हो ।

जुन बेला म एउटा सामान्य परिवारमा बालिकाको रुपमा जन्मिए । २०४७ साल देखी २०५१ सालसम्म मेरो आमाको काखमा खेलेर खाएर बित्यो । त्यस पछी म स्कूल जान थाले ।

म गाउको श्री जनहित निम्न माध्यामिक स्कूलमा नर्सरी अर्थात सिसु कक्षामा भर्ना भए र स्कूल जान थाले । म स्कूल पढ्ने समयमा मेरो गाउँमा छोरी पढाउने बाबा आमा कमै मात्र हुनुहुन्थ्यो । मलाई पनि मेरो बाबाले स्कूल नपढाउने भन्नुहुन्थ्यो तर मेरो मामा घरमा सबै शिक्षित भएको हँुदा आमाको र मामाको सहारामा मलाई स्कूल जान सहज भयो ।

म दाई, दिदी र गाउँका अरु व्यक्तिका छोराछोरी भन्दा अलि फरक थिए । म स्कूल जाँदा जहिले सर्ट पाईन्ट लगाएर जान्थे । शिक्षकहरुले फरक लागाएर आउ भन्नुहुन्थ्यो, तर म शिक्षकहरुका कुरालाई वास्ता नगरी पाईन्ट नै लगाउथे ।

१ देखी ४ कक्षा सम्म त म शिक्षकहरुले फरक लगाएर आउ भन्दा पनि नटेरेर जसो तसो पढे किनकि मलाई मेरो पहिचानको अध्ययन गर्नु थियो । स्कूलमा पनि म केटी साथी संग भन्दा केटा साथीसंग धेरै नजिक हुन्थे । साथिहरुले पनि मलाई अरु भन्दा फरक स्वभावको भएर होला धेरै जिस्काउथे ।

म श्री जनहित निम्न माध्यामिक स्कूलमा ४ कक्षा पास गरेपछि ५ कक्षा पढ्नको लागी श्री त्रि — शहिद मा.वि. मा भर्ना भए । त्रि — शहिद मा.वि. ३ घण्टा हिडेर जानुपथ्र्याे । त्रि — शहिद मा.विमा मलाई अलि गारो भयो । किनकि नयाँ स्कूल, नयाँ साथी र मेरो फरक स्वभाव भएको कारणले ।

त्रि — शहिद मा.विमा पनि फेरी फरक लागाएर आउ केटी साथीहरुसंग बस केटा साथीको बेन्चमा नबस तिमि केटी मान्छे हौ, पाईन्ट नलागाउ भन्न थाल्नुभयो शिक्षकले । तर मलाई फरक लागाउने मनै थिएन । किनकी मेरो बाबा आमाले पनि मालाई फरक लगाउन कहिलै दबाव दिनुभएन । मेरो ईच्छा विपरीत मेरो बाबा आमाले कुनै निर्णय नै गर्नुभएन ।

मलाई शिक्षक शिक्षिकाले दिनकै फरक लागाएर आउ भन्ने दवाब दिन थाल्नुभयो । अझ अब केटी मान्छे जस्तो बनेर स्कूल नगए स्कूलबाट निकाल्ने निर्णय सम्मा सुनाउनुभयो शिक्षकले मालाई । शिक्षकको दिनकै दवाबका कारण मलाई पढाईमा ध्यान जान पनि छोड्यो र एक दिन निर्णय गरे, जब शिक्षा हाँसील गर्ने ठाउँमा दिनकै दवाब दिन्छन् र मेरो ईच्छा विपरीतको पहिरन गर्नुपर्छ भने स्कूल नै छोड्न बेस सोचे र स्कूल छोडेर घरमै बस्न थाले ।

स्कूल छोडे पछिको अबस्था

स्कूल छोडे पछि म घरमा बस्न थाले र बाबा भारतमा भारतीय सेनामा कार्यरत दाई दिदी स्कूल जाने हुदा म आमालाई घरमा खेति पातिको काममा सघाउन थाले । मामा र आमाको मलाई पढाउने रहर म आफैले मारिदिएको हँुदा कहिले काँही सारै दुख लाग्थ्यो । कहिले काहि त आफुले आफैलाई बुझ्न गारो हुन्थ्यो । मलाई दाई र दिदी भन्दा फरक भएको हुनाले ।

आफैले आफैलाई प्रश्न गर्थे म किन अरु भन्दा फरक भए भनेर । तर मसंग पनि कुनै उत्तर थिएन । कहिले काहि त अरु भन्दा फरक भएकै कारण मर्न मन लाग्थो मलाई । तर सोचे म मर्न हुदैन किनकि मलाई मेरो पहिचान खोज्नु थियो अनि अरु भन्दा फरक हुनुको कारण पनि ।
एक दिन म यस्तै यस्तै कुरा सोचेर एकान्तमा रुदै थिए म रोएको मेरो आमाले देख्नुभएछ । म रोएको देखेर अमाले मलाई सोध्नुभयो किन रोएको ? कसले के भन्यो ? म रुदै केही बोलिन तर आमाले मेरो आशुसंग प्रश्न माथि प्रश्न गनुभयो ।

मैले आमा मलाई किन यस्तो जन्माउनु भयो ? म किन अरु भन्दा फरक छु ? त्यही कुराले रोएको भने । मेरो कुरा सुनेपछि आमाले मलाई सम्झाउनुभयो र भन्नुभयो तलाई जन्म दिएर हामी खुशी छौ त जस्तो सन्तान जन्माउन पाउनु त भाग्य हो । तर आमालाई के थाहा भोलिका दिनमा कस्तो हुछु भनेर ।

२०६० सालमा मेरो दाईको बिहे भयो । दाईले बिहे गरेपछि मेरो घरमा करिब ५÷६ महिना त राम्रो भयो त्यस पछि मेरै कारण द्धन्द्ध सुरु भयो । मेरो आमाले दाई भाउजुको निकै बचन सहनु पथ्र्यो । दिनकै दाई भाउजुको वचन सहन नसकेर दिदीले पनि भागी बिहे गरिन ।

तर म त फरक स्वभाबको व्यक्ति बिहे गर्ने मन थिएन । मैले बिहे नगरे पछि त झन भाउजुले कहिले हिजडा छक्का नपुंसक नाम दिन थाल्नुभयो । अब यसले बिहे नगरेपछि मेरो अंश घटाउने भई जस्ता बचन लागाउन थाल्नुभयो । भाउजुको यस्तो बचन सनेर आमा दिनकै रुनुहुन्थ्यो । आमाको रुवाई संगै मेरो मनमा अनेकौ कुरा खेल्न थाल्यो । एक दिन निर्णय गरे म यो घरमा बसेर आमाको आखा रसाउछ र भाउजुको अंश घट्छ भने म यो घरमा बस्नु ठिक छैन भने र घर छोडेर भागेर पोखरा गए ।

घर छोडे पछि

घर छोडेर पोखरा गए पछि मलाई बाँच्न धेरै गारो भयो । पोखरा मेरो लागी एकदम नयाँ ठाउँ थियो । केहि काम गरौँ भने पढेको पनि छैन, केहि सिप सिकेको पनि छैन, बसेर खाउ साथमा पैसा पनि थिएन उफ ।

कहिले सडक पेटीको बास भयो त कहिले नदीको किनाराको । कहिले फालेको पाउरोटीले छाक गुजारे भने कहिले भोकै बसे । कति रोएर हिडे त कति बेहोसीमै बसे ।

एक दिन भौतारीदा भौतारीदैे जिन्दगीसंग हार खाएर सेती नदिमा हाम फालेर आत्मा हत्या गर्न खोजेको थिए, एक जना अपरिचित व्यक्तिले बचाए । सायद मलाई भनवानले मेरो पहिचान चिनाउनको लागी बचाउने व्यक्ति पठाएका होलान् ।

मलाई बचाउने व्यक्तिले धेरै गाली गरे अनि मेरो बारेमा सोधे मैले मेरो बारेमा सबै बताएँ । मेरो बारेमा सबै कुरा थाहा पाए पछि हामी बिस्तारै परिचित हुन थाल्यौ । ति व्यक्तिको नाम राजु श्रेष्ठ रहेछ ।

हामी सेती नदी किनाराबाट राजु दाईको डेरामा गयौ । राजु दाईले घरमा रङ लगाउने काम गर्नुहुदो रहेछ । उहाले मलाई पनि रङ लगाउने काम सिक्नलाई आफु संगै लिएर हिड्न थाल्नु भयो । मैले पनि एक महिनाको अन्तरालमा रङ लगाउने काम राम्रो संग सिके र ज्याला मजदुरीमा काम गर्न थाले ।

मैले ज्याला लिएर काम गर्न सक्ने भए पछि राजु दाईले छुट्टै डेरा खोजेर राखिदिनु भयो । बिस्तारै मैले एक्लै बस्ने बानी पारे र आफ्नो काममा निरन्तर लागी रहे । काम गर्ने दौरानमा एक दिन एक जना केटीसंग भेट भयो । उनी कपडा पसलमा काम गर्थिन, म भने रङ लगाउथे ।
उनी पोखाराको राजिव कपडा पसलमा काम गर्थिन म उनले काम गरेको पसल रहेको घरमा रङ लगाउदै थिए । बिस्तारै हामी एक आपसमा नजिक हुन थाल्यौ । मैले बिस्तारै उनलाई मन पराउन थाले तर मैले उनलाई मन पराउछु भन्ने कुरा थाहा थिएन होला । किनकी उनले मलाई केटी साथी सोचेकी थिईन् होला ।

तर म उनले सोचे भन्दा फरक स्वभाबको थिए । म समान लिंग प्रति आकर्षण हुन्थे र यौन चाहना पनि समान लिंग प्रती नै हुन्थ्यो । संगै बसेको केही समय पछि उनले मलाई मन पराएको कुरा भनिन् । उनको कुरा सुनेपछि म एक छिन मौन भए केहि सोच्नै सकिन । केहि बेर पछि मैले उनलाई भने तिमिले मलाई किन मन पराको ?

तिमिले राम्रो केटा पाउछौ नि । उनले भनिन्, म केटा मान्छे होईन हजुर जस्तो मान्छेलाई मन पराउछु त्यसैले म हजुर संग जीवन विताउन चाहन्छु । हुन त मैले पनि उनलाई मन पराउथे, तर एक त समाज अनि परिवारले हाम्रो मायालाई स्विकार्दैन त्यसमाथी उनी ब्रामणकी छोरी म दलित उफ ।

मलाई यस्तै कुराले पिरोलिरहेको थियो । यी सबै कुरा उनलाई सुनाए तर उनलाई न त जात भातले प्रभाव पारेन बस उनलाई म भए पुग्थ्यो । हुन त मलाई पनि उनी भए पुग्थ्यो तर समाजको डर पनि थियो, हाम्रो मायालाई बुझ्लाकी नाई भनेर ।

बिस्तारै हाम्रो प्रेमलाई सबैले थाहा पाउन थाले र हामीलाई जिस्काउन थाले केटी केटी बुढा बुढी भनेर । कतिले विभिन्न किसिमका नाम दिन थाले गाली बेईज्जत गरे । अरुको गाली बेईज्जती सहनु भन्दा हामी छुट्नपर्छ भनेर मैले के भन्न भ्याएको थिए उनले मलाई कसैको केहि सुन्नु छैन बस तपाइको साथ चाहिन्छ भनिन् र पोखरा छोड्ने निर्णय गरिन् । म पनि मन पराको मान्छेलाई मर्न दिनु भन्दा भाग्न बेस भनेर उनको निर्णयमा सहमत भए र हामी पोखराबाट भागेर भैरहवा आयौ ।

भैरहवा आए पछि

भैरहवा आए पछि हामी डेरा खोजेर बस्यौ । भैरहवा हाम्रो लागी निकै फरक र नयाँ ठाउँ थियो । हामी पहाडबाट पहिलो पटक तराई झरेको, भाषाको र रहन सहनको पनि समस्या भयो । बाहिर कतै काम गर्ने वाताबरण थिएन हामीलाई । हामी पोखरा छोडेर हिडेपछि मलाई उनको बाबा आमाले छोरीलाई अपररण गरेको र खोजि पाउ भनेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराईएको रहेछ ।

एक दिन भैरहवामा हामीलाई प्रहरीले भेटायो र जिल्ला प्रहरी कार्यालय भैरहवामा सोध पुछ गर्न भनि प्रहरीले लग्यो । प्रहरीले उनको आमा बाबालाई पनि भैरहवा बोलायो, उहाहरु आउनुभयो ।

प्रहरीले हामीलाई सोध पुछ गर्यो हामीले हाम्रो बारेमा सबै भन्यौ । तर प्रहरीले हाम्रो एक शब्द सनेन र हामीलाई बल प्रयोग गरेर भए पनि छुटायो । सायद प्रहरीलाई पनि यस्तो सम्बन्धको बारेमा थाहा नभएर होला । हामी छुट्यौ उनी आफ्नो परिवारसंग पोखरा गईन म भैरहवामा नै बसे । किन कि मेरो पोखरा फर्किने ठाउ थिएन ।

घर पहिलै छोडेको थिए भने राजु दाईको पनि विश्वास तोडेर हिडेको थिए । उनी र म छुटिए पछि म यतिकै भौतारीदै थिए कामको खोजिमा । त्यही सिलसिलामा अचानक नील हिरा समाज रुपन्देहीकी कर्मचारी भरोशा समाज बुटवलकी पुर्व अध्यक्ष तेस्रोलिंगी महिला सन्तु पुनसंग भेट भयो ।

सन्तुसंग भेट भए पछि सन्तुले मलाई नील हिरा समाज र समलिंगी तेस्रालिंगीको बारेमा सुनाईन् र समलिंगी तेस्रालिंगीको बारेमा लेखिएको पुस्तक दिईन् । केही बेरको कुराकानी पछि हामी छुटियौ ।

म सन्तुले दिएको पुस्तक नियालेर पढ्न थाले किनकि मलाई मेरो बारेमा जान्ने रहर थियो । प्स्तक पढे पछि म नील हिरा समाजको कार्यालय आउने जाने र सन्तुलाई दिनहु जसो भेट्न थाले । नील हिरा समाजमा म जस्ता धेरै व्यक्तिहरु देखे । उनीहरु संग घुलमिल हुन थाले ।

म नील हिरा समाज आउने जाने गरेको केहि समय पछि अर्थात २०६४ सालमा नील हिरा समाज भैरहवामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको मानब अधिकारको विषयमा काम गर्ने मौका पाएँ । हुन त म पढे लेखेको थिईन न त मानब अधिकारको बारेमा बुझेको नै थिए । वस मेरो लागी यी सबै अफठ्यारा विषय थिए ।

तर मैले म जस्ता भौतारीएको अनि आफ्नो पहिचान थाहा नपाएर अल्मलिएकाहरुको बारेमा जानकारी दिन र म आफैले पनि धेरै सिक्नु पर्ने थियो । त्यसैले म नील हिरा समाज भैरहवामा मानब अधिकारकर्मीको रुपमा काम गर्न थाले । सुरुमा त मलाई निकै गारो भयो काम गर्न ।
बिस्तारै मैले सबैसंग धेरै कुरा सिके धेरै क्षमता विकासका तालिमहरु लिए । विभिन्न तालिमको माध्यमले म नील हिरा समाजको एउटा सफल मानब अधिकारकर्मी भएर काम गरे तर म र म जस्ता तेस्रालिंगी समुदायको बारेमा प्रहरी समक्ष अन्तरक्रिया गर्ने कहिलै आँट आएन किनकि म प्रहरीसंग डाराउथे । लगभग म नील हिरा समाजमा ८ बर्ष मानब अधिकारकर्मीको रुपमा काम गरे ।

२०७१ सालमा नील हिरा समाज केन्द्रिय कार्यलय काठमाडौंले विभिन्न एफ.एम संग मिलेर पहिचान कार्यक्रम संचालन गन थाल्यो । पहिचान कार्यक्रम सन्चालन गर्न समलिंगी तेस्रोलिंगी समुदायका सदस्यहरु सहकर्र्मी राख्ने निर्णय भयो । मलाई पनि पत्रकारिता गर्न र रेडियोमा बोल्ने रहर सानै देखी थियो तर हामी जस्तो पछि परेको समुदायलाई कुनै संचार माध्यमल स्थान कहा दिन्थे र ?

म पहिचान कार्यक्रमको रुपन्देही सहकर्मीको रुपमा काम गर्न थाले । कति त मलाई देखेर अचम्ममा पर्थे यो नपढेको मान्छेले के मिडियामा काम गर्न सक्ला भनेर । तर ममा साहस थियो, अनि यो समाजमा म जस्तो व्यक्तिले केही गरेर देखाउन पर्छ भन्ने साहस पनि थियो ।
म पहिचान सहकर्मीको रुपमा काम गर्दा गर्दै पत्रपत्रिकामा समलिंगी तेस्रोलिंगी समुदायका विषयमा केही समाचार पनि लेख्न थाले । मैले लेखेका समाचार कतिपय पत्रपत्रिकाले छापिदिन्थे भने पतिपयले वास्तै गर्दैनथे । बिस्तारै म सामुदायीक रेडियोमा प्रवेश गरे नील हिरा समाज अनि पहिचान कार्यक्रम मार्फत ।

नील हिरा समाज र पहिचान मिडियाले समुदायिक रेडियो रुपन्देही एफ.एम.संग तलब नील हिरा समाजले दिने काम रुपन्देही एफ.एममा गर्ने सम्झौता गरे । त्यो सम्झौता संगै म रुपन्देही एफ एममा काम गर्न थाले । मैले रुपन्देही एफ.एम मा समलिंगी तेस्रोलिंगी सम्वन्धि रेडियो कार्यक्रम हाम्रो आवाज नामक कार्यक्रम प्रस्तुत गर्न थाले जुन कार्यक्रम म आफैले उतपादन गरे र संचालन गरे ।

यो कार्यक्रम संचालन गर्दा मैले विभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, मिडियाकर्मी, राजनीतिक दलसंग यो समुदायको हक अधिकारको कुरा गर्थे तर सुरक्षा निकायसंग कहिलै कुरा अर्थात अन्तरवार्ता गर्ने हिम्मत नै आएन । केहि वर्ष पहिले कदम नेपालले पहुच परियोजना अन्तरगत प्रहरी मेरो साथी भन्ने फुटबल क्लिनिक कार्यक्रम संचालन गर्यो बुटवलमा ।

प्रहरी मेरो साथी भन्ने फुटबल क्लीनीक कार्यक्रममा सहभागी भए पछि

त्यो कार्यक्रममा कदम नेपालकी अध्यक्ष ईन्दिरा आचार्यले नील हिरा समाजबाट १० जना समलिंगी तेस्रोलिंगीहरु सहभागी गराउनु भयो जस्मा म पनि सहभागी हुने मौका पाए । प्रहरी मेरो साथी कार्यक्रममा २० जना प्रहरीको सहभागीता थियो ।

हामी समलिंगी तेस्रोलिंगी सुरुमा त प्रहरी देख्नासाथ डरायौ । कार्यक्रममा प्रहरी संगै बस्नु पर्ने थियो । कतै प्रहरीले पिट्ने हो की डर थियो मनमा । ५ दिनको प्रहरी मेरो साथी कार्यक्रमले मलाई प्रहरीसंग केही नजिक हुने र प्रहरीको बारेमा नजिकबाट बुझ्ने मौका पाए । यो कार्यक्रमले प्रहरीसंग केहि नजिक त बनायो तर मेरो मनको डर पुर्ण रुपमा हराएन ।

प्रहरी मेरो साथी कार्यक्रम सकिए पछि पहुच परियोजना अन्तरगत नै कदम नेपालले नाट्यशा कार्यक्रमको आयोजना गर्यो । नाट्यशाला कार्यक्रममा पनि म सहभागी हुन पाए । ३ दिनको नाट्यशाला कार्यक्रम पनि प्रहरी संगै थियो ।

कार्यक्रमको अन्तिम दिन प्रहरी संग मिलेर सडक नाटक देखाउन पर्ने थियो । नाटकमा समाजमा घटेका घटनालाई प्रहरीसम्म कसरी लैजाने र नागरिकले प्रहरीलाई कसरी सहयोग गर्ने ? प्रहरीले समुदायलाई कसरी सहयोग गर्ने ? भन्ने विषयमा नाटक पनि गर्ने मौका पाए । त्यो नाटक पनि मेरो लागी धरै राम्रो भयो भने नाटकले मलाई प्रहरीसंग खुलेर आफ्नो समस्या भन्न सक्ने वाताबरण बनायो ।

यो नाट्यशालामा सहभागी भए पछि मेरो मनको डर हराउदै गयो र म प्रहरीसंग समलिंगी तेस्रोलिंगी समुदायको समस्या र अधिकारको बारेमा खुलेर कुरा गर्न सक्ने भए । यो कार्यक्रममा सहभागी प्रहरीहरुले पनि हामीलाई धेरै सकारात्मक तरिकाले हेर्न थाल्नु भयो । नाट्शाला कार्यक्रम सकिएको केही समय पछि प्रदेश र प्रतिनिधीसभा चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो । जस्मा मैले पनि आवेदन दिए ।

हिजोसम्म प्रहरी देखेर डाउने मेरो लागी म्यादी प्रहरीमा जानु निकै चुनौति थियो । म म्यादीमा लिखित मौखिक फिजिकल दौडको लागी गए । त्यो बेला मैले प्रहरीबाट धेरै सहयोग र सम्मान पाए । प्रहरीको धेरै सहयोग हुदा हुदै दुरभाग्य म म्यादी प्रहरीमा नाम निकाल्न सकिन ।

तर निरास भैन म नाम ननिकालेर किनकी म त्यो ठाउँसम्म पुग्नु थियो । प्रहरीसंग नजिक हुनुनै मेरो लागी ठुलो कुरा थियो । अहिले पनि कदम नेपालले पहुच परियोजना अन्तरगत विभिन्न खालका नागरिक—प्रहरी सम्वाद कार्यक्रम, तालिम गोष्ठि कार्यक्रम संचालन गरीरहेको छ । यी कार्यक्रममा पनि म निरन्तर सहभागी भएको छु ।

पहुच परियोजनाका यस्ता किसिमका कार्यक्रम, तालिम, नाट्यशालाहरुले मलाई प्रहरीसंग धेरै नजिक बनाएको छ भने विना कारण समलिंगी तेस्रोलिंगी समुदायलाई दुख दिने प्रहरीहरुसंग आफ्नो अधिकारको विषयमा खुलेर बोल्न सक्ने भएको छु । पहुच परियोजनको नगर स्तरीय कार्यदलमा अहिले सिद्धार्थ नगरको कार्यदलको संयोजक भएर काम गरिरहेको छु ।

मलाई यो स्थानसम्म पुरयाउन सहयोग गर्ने पुर्व सभासद सुनिल बाबु पन्त, पहिचान मिडियाका माधब दुलाल, नील हिरा समाज केन्द्रिय कार्यालय काठमाडौंकी निर्देशक मनिषा ढकाल, नील हिरा समाजका सम्पुर्ण सदस्यहरु, कदम नेपालकी अध्यक्ष ईन्दिरा आचार्य, पहुच परियोजनाका पूर्व कार्यक्रम संयोजक सुसिल खनाल, हाल कि संयोजक कमला गहतराज, कदम नेपालकी सचिव तथा पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम, जिल्ला प्रहरी कार्यालयका असई ईन्दिरा महतो लगायत कदम नेपाल, नील हिरा समाज, नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपाने, सन्तु पुन, ईलाका प्रहरी कार्यलय बुटवल, जिल्ला प्रहरी कार्यलय भैरहवा लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।

यहाँहरुको भोलिका दिनमा अझै सहयोगको आशा र अपेक्षा राख्दै कदम नेपाल र पहुँच परियोजनालाई भोलिको दिनमा म र मेरो समुदायको विषयमा अझै राम्रो अवसर जुटाईदिन आग्रह गर्दछु । साथै नील हिरा समाजले मलाई पत्रकारिता र मानब अधिकारको बारेमा केही बोल्न सक्ने बानिको विकास गराएकोमा कृतज्ञता प्रदान गर्दछु ।

(बिनोद बि.सी. पहिचानका लागि रुपन्देही सम्बाददाता पनि हुन् ।)