हो, मैले शल्यक्रिया गरेर लिंग फाले, योनी जोडेँ 

काठमाडौं (पहिचान) असोज १६ – हेटौंडाकी सन्ध्या लामाको जन्म छोराको रुपमा भयो । कहिलेकाहीँं प्रकृति आफैंले दिएको चिज पनि घाँडो हुने रहेछ । सन्ध्याको सन्दर्भमा पनि त्यस्तै भयो । छोरा भएर जन्मे पनि उनको स्वभाव भने छोराजस्तो थिएन । उनको हाउभाउ, बोल्ने हिँड्ने शैली देखेर सबैले भन्थे, ‘कस्तो केटी जस्तो ।’ छोरीको लुगा लगाउन मन लाग्ने र छोरीले गर्ने काममा नै उनको लगाव बढी हुन्थ्यो ।

‘छक्का’ शब्दको प्रहार
बालापनमा त आफू के हो, किन यस्तो व्यवहार गर्छु भन्ने कुराको चाल नै पाइनन् उनले । उनले छोरीजस्तै व्यवहार देखाएर पनि होला घरमा पनि दाजु दिदीहरूले रहर गरेर उनलाई फ्रक लगाइदिन्थे । आफू बुझ्ने भएपछि आफ्नो स्वभाव अरु सामान्य केटाहरूको भन्दा फरक भएको चाल पाइन् । सानैदेखिको बानीमा केही परिवर्तन नआएपछि घरमा पनि सबैले चाल पाए ।

त्यतिबेसम्म घरमा पनि परिवारले केही भनेनन् । तर कहिलेकाँही आफ्नै दाजुले, ‘छक्का जस्तो व्यवहार किन गर्छस् ?’ भन्दा उनको मनमा चिसो पस्थ्यो । के गर्ने के नगर्ने दिमागमा केही आउँथेन । घन्टौं कोठामा थुनिएर रुदैँ भगवानलाई गुनासो पोख्दै बस्थिन् सन्ध्या ।

विद्यालयमा पनि त्यस्तै भयो । उनी अरु भन्दा फरक थिइन् । ‘शरिर केटाको मन केटीको’ । तर उनीसँग मन मिल्ने साथी थिएनन् विद्यालयमा । त्यसकारण साथीहरूले पनि गिज्याउँथे । नराम्रो शब्द प्रयोग गर्थे । ‘छक्का’ भन्ने शब्दको प्रहार त उनलाई धेरै पटक हुन्थ्यो । आफ्नो हिँडाई बोलाई केटीको जस्तो भएको कारण उनको केटा साथी कमै हुन्थे स्कुलमा । त्यसैले उनले संगत पनि केटीहरुकै गर्न थाले ।

कहिलेकाहीं एक्लै हुँदा मन भत्भति पोलेर आउँथ्यो । सबैले गर्ने व्यवहार सम्झिँदा छाती फुट्लाजस्तो हुन्थ्यो । ऐनामा आफूलाई हेर्थँे, किन म यस्तो भएको होला भनेर सोच्थेँ । सोच्दा सोच्दै दिक्क लाग्थ्यो । प्रकृतिले नै दिएको हो भन्दै चित्त बुझाउँथे । केही सीप नलागेपछि भगवानलाई नै सरापेर बस्थिन् उनी ।

तन केटाको र मन केटीको
यौनांग केटाको भए पनि उनी केटाप्रति नै आकर्षक हुन्थे । तर त्यो बेला केटा केटाबीच पनि शारिरिक सम्बन्ध हुन सक्छ भन्ने उनलाई थाहा थिएन । तर मनमा भने राम्रा केटा देख्ने बित्तिकै काउकुती लागेर आउथ्यो । मनमनै भन्थिन्, ‘आहा कस्तो राम्रो केटा’ । स्कुल पढ्दा एक जना केटा धेरै मन परेको थियो । तर त्यो आकर्षण पनि मन भित्रै सिमित रहन गयो । टुसाएको मायाको पालुवा बढ्नै नपाई झर्‍यो ।

केटाको रुपमा पनि ‘ह्यान्डसम’ नै थिए उनी । केटीहरूले पनि मन नपराउने होइनन् । थुपै्र प्रेमपत्र पनि आउथ्यो । सायरीसहितको प्रेमपत्र आउथ्यो उनलाई । तर केटीहरुतिर भने मरिगए गएन उनको मन । ‘तन पो केटाको मन त केटीकै हो अनि कसरी होस् केटीहरुतिर लगाव ।’ उनले बेलीविस्तार लगाइन् ।

यस्ता सानातिना आकर्षणका घटना त कति भए भए ।  एक पटक भने शिक्षकसँगै मन बसेछ । ती शिक्षकको नसालु आँखामा भुतुक्कै हुन्थेन् उनी । तर त्यो नसालु आँखामा लठ्ठ हुनुबाहेक अरु केही हुन सकेन । यो बेला पनि आँखा जुधाजुधमै मायामा पूर्णविराम लाग्यो ।

एसएलसी दिएपछि उनले बल्ल आफू तेस्रो लिंगी भएको भेउ पाइन् । सुरुमा आफूमात्र यस्तो भएँ भन्ने लाग्थ्यो । तर, टिभी हेरे पछि आफूजस्तै अरु पनि रहेछन् भन्ने उनले थाहा पाइन् । आफूजस्तै अरु तेस्रो लिंगीलाई पनि भेट्ने उत्सुकता जाग्यो उनमा । उनकै दिदीले सल्लाह दिइन्, ‘रत्नपार्कतिर भेटिन्छन् । उतै जा संगत गर साथी बना ।’

दिदीको कुरा सुन्ने बित्तिकै उनी रत्नपार्क पुगिन् । त्यहीँंबाट ‘ब्लु डायमण्ड सोसाइटी’ भन्ने संस्थासँग आवद्ध भइन् । त्यहाँ पुगेपछि त उनलाई समुन्द्रको लहरमा पुगेजस्तो भयो । आफूजस्तै अरु थुप्रै तेस्रो लिंगी र पूर्णरुपमा कटा वा केटी भइसकेकाहरुलाई देख्दा उनी प्रफूल्लित र अचम्मित एकै पटक भइन् । महिला हर्मन उत्पादन गर्ने औषधिहरु खाएर केटीजस्तै भएकाहरुलाई देखेर उनलाई पनि त्यस्तै हुने इच्छा जाग्यो ।

त्यस्तो हर्मोन उत्पादन गर्ने औषधि सेवन गरेपछि शारिरीक बनावट र अन्य कुराहरुमा परिवर्तन देखा पर्न थाल्यो । ‘यो औषधीले छालाहरू नरम बनाउँछ । मैले पनि दुई तीन वर्ष खाएँ । टा«न्सप्लान्ट गर्नु भन्दा पहिलेदेखि नै खान्थे ।’

यौनांग प्रत्यारोपण 
उनले सन् २०१७ को अगस्टमा लिंग ‘ट्रान्सप्लान्ट’ गरिन् । यो गर्नु भन्दा पहिला उनलाई कपडाहरू लगाउँदा पनि असहज महशुस हुन्थ्यो । केटाको शरिर लिएर केटीको लुगा लगाउनुपर्दा कपडा फेर्दा पनि गार्‍हो हुन्थ्यो ।

शरिर केटाकै हुँदा कहिलेकाहीं उनलाई दिदीबहिनीहरूसँगै सुत्न, कपडा फेर्न गाह्रो हुन्थ्यो । ‘तेश्रोलिंगीबाट केटी मान्छे बन्न साह्रै गाह्रो रहेछ । छोरी मान्छेको जिन्दगी कति गाह्रो हुन्छ अहिले आएर पो थाहा पाइयो । केटीहरूले भन्छन् नि, केटा मान्छेहरूलाई कति आनन्द जहाँ गए पनि हुने । जति राति घर फर्के पनि हुने । अब आएर मलाई कति टेन्सन् हुन्छ । रातिराति हिड्न डर लाग्छ, केटा मान्छे आएर रेप पो गर्दिने हो कि ! ’ उनले सुनाइन् ।

उनी ब्लु डाइमण्ड सोसाइटीमा जागिरे थिइन् । तलब ३५ हजार थियो । उनले त्यहाँ ८ वर्ष जति काम गरिन् । काम गर्दासम्म उनले घरमा एक पैसा पनि मागिनन् । काम गरेर जम्मा गरेको पैसाले ब्यांकक गएर भएको लिंग काटेर फालिन । करिब पाँच घण्टा चलेको शल्यक्रियाका लागि उनले आठ वर्ष लगाएर कमाएको १५ लाख खर्च गरिन् ।

यसवाहेक डान्स गरेर पनि उनले पैसा जम्मा गरेकी थिइन् । ‘अप्रेसन जस्तो कुरा सजिलो हुँदैन र अप्रेसन गर्छु भन्ने बितिकै पनि डाक्टरले गर्दैनन् । इच्छुकलाई परामर्श नगरी यो सम्भव छैन । १८ वर्ष पुरा भएपछि मात्र लिंक परिवर्तन सम्बन्धी सर्जरी गरिन्छ ।’ उनले थपिन् ।

करिब ५–६ घण्टाको सर्जरीपछि होस आउँदा उनी ‘थ्याङक्यू डाक्टर’ भन्दै बर्बराइरहेकी थिइन् । अपरेसनको पीडा त छँदै थियो । तर, योसँगै अर्को खशीले पनि गद्गद् थिइन् उनी । अब पूर्ण रुपमा महिला भएर, कपडाहरू लगाउन सहज हुने कुराले उनलाई मनमनै खुसी दिइरहेको थियो ।

धेरै मानिस दोधारमा पर्छन्, लिंग ट्रान्सप्लान्ट गरेपछि बच्चा जन्माउन सकिन्छ कि सकिदैंन भनेर । यसबारे जिज्ञासा मेटाउँदै उनले भनिन्, ‘म महिला त भएँ । तर बच्चा जन्माउन सक्दिनँ ।’ उनले पाठेघर प्रत्यारोपणबारे थप भनिन्, ‘यो सम्भवत त छ तर, बढी खर्चिलो छ ।’

उनी अहिले प्रेम सम्बन्धमा पनि छन् । ती प्रेमीसँग प्रेम सम्बन्धमा बसेको करिब १० वर्ष जति भयो । उनी पूर्ण रुपमा महिला नबन्दै उनीहरु प्रेम सम्बन्धमा थिए । एकअर्काले घरपरिवारसँग पनि यस सम्बन्धबारे कुरा गरिसकेका छन् । छिटै वैवाहिक सम्बन्धमा गाँसिने खबर पनि उनले सुनाइन् ।

बलात्कारीलाई फाँसी दिने होइन 
नेपालमा बलात्कारका घटना बढी हुने गरेका छन् । बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने माग सडकमा चर्किने गरेको छ । महिला र पुरष दुवैको अनुभूति सँगालेकी सन्ध्याकोमतमा फाँसीको सजाय उपयुक्त होइन । किन त ?उनी भन्छिन्, ‘ फाँसको सजाय होइन लामो काराबासको सजाय उपयुक्त हुन्छ ।’

उनको अकौ विकल्प पनि छ । ‘बलात्कार गर्नेहरुको यौनांग सिथिल बनाउने प्रविधि प्रयोग गर्ने । ताकि उसले जीवनमा फेरि कसैलाई बलात्कार गर्न नसाकोस् । एउटा इन्जेक्सन आउछ रे त्यो लगायो भने केटाको लिंगले काम नै गर्दैन । त्यसो गर्दा जिवन त पायो नि त्यो आफै मर्छ, फाँसी नै दिनु पर्दैन । गिल्टी फिल हुन्छ, जिउदो लास जस्तो हुन्छ ।’ उनले थपिन् ।

सावित्री सुवेदी तेस्रोलिंगी जस्तै 
सामाजिक अभियानकर्ता सावित्री सुवेदी पनि आफूलाई तेस्रोलिंगी जस्तै लाग्ने गरेको उनले भनिन् । सावित्रीले देखाउने व्यवहार ‘लेसबिएन’ जस्तो लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘जबसम्म व्यक्तिले आफैँ आगाडि आएर भन्दैन तबसम्म हामीले भन्न पनि मिलेन नि । हाम्रो त्यो अधिकार पनि छैन् । तर सावित्रीले आफ्नो व्यवहार चालचलन तेश्रोलिंगी जस्तो देखाउछिन् । बाहिर हल्ला त्यस्तै सुनिएकोले गर्दा मलाई पनि त्यस्तै लाग्छ ।’

उक्त प्रदर्शनमा सन्ध्या पनि सामेल थिइन् । तर, ‘पेटिकोट’ लगाएर प्रदर्शन गरेको भन्नेबारे बाहिर चर्को आलोचना पनि भयो । यस्ता आलोचनालाई चिर्दै उनले भनिन्, ‘एक जना व्यक्तिले भदौ १ गते सिंहदरबारमा नग्न भएरै प्रदर्शन गरेको थियो । उसकै कपी गर्ने भए त हामी ब्रा र पेन्टी मै ओर्लिन्थ्यौ । किन पेटिकोट लाउनु पर्यो र होइन ?

नेपाल सरकार आफै अनौठो भएको भन्दै उनले भनिन्, ‘हाम्रो देशमा केही अनौठो नगरी चर्चा हुँदैन । हाम्रो देशको सरकार नै तेस्रोलिंगी हो । म त भन्छु हाम्रो सरकार नै यताको न उताको बीचको हो । एउटा कुरा गर्छ अर्को काम गर्छ । छक्याउँछ । छक्काको व्यवहार गर्छ । कानुन एउटा छ काम अर्को गरेको छ । यो सरकारलाई हामीले भोट दिएर त्यहाँसम्म पुर्‍याएको हो । अनि हामी जनतालाई दुःख दिएर हुन्छ त ? म त भन्छु सरकारले पनि पेटिकोट लगाए हुन्छ, हातमा चुरा र सारी लगाएर बसे हुन्छ ।’

साभार : नेपाल आज