अधुरै रह्यो तेस्रोलिंगीकोे घरजम सपना

काठमाडौं (पहिचान) कार्तिक ८ – अर्मण्ड राणा (२३) काठमाडौं लैनचौरका बासिन्दा हुन । उच्च माध्यमिक तह पुरा गरिसकेका छन् । ५ बर्षअघि धरानबाट काठमाडौं आइ बसेका युवतीको भेषमा हिड्न रुचाउने आफ्नै उमेरका पुरुषसँग देखादेख, बोलचाल र हिमचिम बढदै गयो जो सँग फेसबुकमार्फत सम्पर्क भएको थियो । उनीहरु ४ बर्षदेखि त ‘बेड पार्टनर’ छन् । जैविक लिङ्ग पुरुष भएका मगर थरका ति धराने आफ्नो नागरिकतामा भएको पुरानो नाम सम्झिन पनि चाहदैनन् ।

परिचय गर्दा उनी भन्छन्, “म उहाँको जोडी तेस्रोलिंगी आर्टिसा राणा ।” ‘लोग्ने’ को भुमिकामा रहेका अर्मण्ड र श्रीमतीको भुमिकामा रहेका ‘आर्टिसा’लाई अर्मण्डको घर परिवारले मज्जाले स्विकारिसकेको छ । साथमा अर्मण्डकी विधवा आमा माया राणा (५०) पनि छिन् । ‘छोरा’को घरजम हेर्न धरानबाट आर्टिसाकी आमा केहि महिना अघि काठमाडौं आइ एकसातासम्म उनीहरु साथै रहिन । २३ बर्षे उच्च माध्यमिक तह उत्तिर्ण आर्टिसा भन्छिन्, “कानूनले बाटो खोलिदिएको भए हामी श्रीमान श्रीमतीको रुपमा बिहे दर्ता गरि एकजना अनाथ बालबालिकालाई सन्तानको रुपमा अपनाउने थियौं ।”

केटा साथीले जिस्क्याएको मन पराउने आर्टिसा सानैदेखि महिलाको पहिरन र अनुहारमा टिका गाजल लगाँउथिन । एक बर्ष यता उनी बैंककबाट मगाएको डायन ३५ नामको स्त्री हर्मन ट्यावलेट खान्छिन् । यस्तो ट्यावलेटले शरिरमा स्त्री स्वभाव बढाँउछ भन्ने उनको भनाई छ । हर्मनको नियमित सेवनले स्तनको आकार र छालाको नरमपना बढदै गएको छ । गत तिजको छेक उनी छड्के तिलहरी, पोते, लिपिस्टिक, सिन्दुरमा सजिएर हसिँला लोग्ने अर्मण्डसाथ थिइन । “ठुलो चिन्तामा छौं,” २९ भदौमा लौनचौरस्थित डेरामा भेटिएका आर्टिसाले भने, “यो देशका कानून बनाउनेले हामीपनि छौं भन्नेकुरा कानून बनाउँदा देखेनछन् ।”

गत १ भदौदेखि लागू नयाँ मुलुकी ऐनको देवानी संहिताको विवाह सम्बन्धी ब्यवस्था (दफा ६७)मा ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीको रुपमा स्विकार गरेमा विवाह भएको मानिनेछ’ भनिएको छ । कानूनको यो प्रावधानले पुरुष र महिला बिचको बिहेलाई मात्र मान्यता दिएपछि परिवारले स्विकारिसकेका समलिंगी जोडीहरु आघातमा छन् । यो प्रावधानले केहि बर्षयता आँट गरेर सार्वजनिक भएका त्यस्ता समलिंगी जोडीहरुको घरजम गर्ने सपना हाललाई अधुरो बनाइदिएको छ ।

काभ्रेका १९ बर्षे एन्जल लामा र सौरभ समलिंगी जोडी हुन । एन्जललाई सानैदेखि घर सिंगार्न, केटीका कपडा र श्रृंगारमा रमिन मन लाग्थ्यो । २ बर्षदेखि उनी सौरभका साथ छिन् । दुबैलाई एकअर्काका परिवारले स्विकारिसकेका छन् । एन्जलपनि महिला हर्मन बढाउन बैंककबाट मगाएको डायन ३५ खान्छिन् । पिठ्युको तल्लोभाग सम्म छोप्ने कपाल भएकी उनी छोटो मिनिस्कर्टमा निर्धक्क हिँड्डुल गर्छिन । देवानी संहिताले पुरुष र महिलाबिच मात्र बिहेबारी हुने भनेपछि तनाव भएको बताँउने एन्जल भन्छिन्, “स्नातक पढ्न अष्ट्रेलिया जाने र लोग्ने सौरभलाई डिपेण्डेन्ट भिसामा उतै बोलाउने सपना कानूनले पुरा हुन देला जस्तो छैन ।” यस्तो सपना पुरा हुन कम्तिमा उनीहरुको विहेदर्ता हुनु पर्ने हुन्छ जुन हालको कानून मुताविक सम्भव छैन ।

कानूनले घरजमको बाटो नखोलिदए पनि सँगै रहेका समलिंगी जोडीहरु खुल्दै र समाजमा चिनिदै जाने बताँउछन् । सन् २०१९ को मध्यतिर बैंककको पटायामा हुने तेस्रोलिंगीहरुको विश्वस्तरिय सौन्दर्य प्रतियोगितामा नेपाललाई आफुले प्रतिनिधित्व गर्ने एन्जल गर्वपुर्वक सुनाँउछिन् । “हाम्रा बारेमा जसले नबुझेर वा कम बुझेर गलत धारण बनाउँछ त्यो उनीहरुकै समस्या हो” एन्जल भन्छिन्, “म हजारौं मान्छेको विचमा उभिएर भन्नसक्छु कि म तेस्रोलिंगी हुँ र यहि हुनका लागि जन्मिएको हुँ ।”

दिपेश भण्डारी(२७) र एनी लामा (२५) काठमाडौंको लाजिम्पाटमा ३ बर्षदेखि ‘लिभिङ टुगेदर’मा छन् । फेसबुक मार्फत चिनजान भएका उनीहरु एकअर्कालाई श्रीमान श्रीमतीको रुपमा चिनाउछन् । जैविक लिंग पुरुष भएका विराटनगरका एनीले त ६ महिना अघि बैंकक गएर शल्यक्रिया गरि आफ्नो यौेनाङ्ग समेत परिवर्तन गरिसकेकी छिन् । थापाथलीस्थित आफ्नो घरमा एनीलाई बुहारीको रुपमा र विराटनगरस्थित एनीको घरमा आफुलाई ज्वाईंको रुपमा स्विकारिएको बताँउने दिपेश भन्छन्, “कानून दाहिने भइदिएको थियो भने हामी विहेदर्ता गरेर मज्जासँग घरजम गरेर बस्थ्यौं ।” उनी तेस्रोलिंगीहरुको हितको लागि खोलिएको एउटा गैह्रसरकारी संस्थामा तथ्याङ्क प्रमुखको रुपमा काम गरिरहेका भने ‘श्रीमती’ एनीले साथीहरुसँग मिलेर बुटिक चलाएकी छन् ।

‘पढेलेखेकाहरु नै मजाक मान्छन्’

अघिल्लो बर्ष एन्जल नागरिकता बनाउन काभ्रे गएकी थिइन । गाविस सचिबको कार्यकक्षमा अरु पनि थिए । एन्जलको जन्मदर्ता प्रमाणपत्रमा नाम सविन लामा थियो । आफ्नो नाम एन्जल र लिंग अन्य लेख्न आग्रह गर्दा गाविस सचिबले ‘तिमिलाई भाई भनौं कि बहिनी भनौं’ भन्दै हाँसेपछि वरिपरि भएका मान्छे पनि हाँसेर एन्जलको मजाक उडाए । तेस्रोलिंगीहरुको सौन्दर्य प्रतियोगिता मिस पिंक २०१८ की विजेता एन्जल भन्छिन, “यस्तो अपमान त हामिले पाइलैपिच्छे भोग्नु परिरहेको छ ।”

कानूनमा ठाँउठाँउमा बिभेद

देवानी संहिताको दफा ७० मा २० बर्ष उमेर पुरा भएका पुरुष र महिलाले एक अर्कालाई पतिपत्नीको रुपमा स्विकारेमा विहे हुनसक्ने प्रावधान छ । सो दफामा त्यस्ता ब्यक्तिहरु हाडनाताको हुन नहुने र विवाह हुने बखत दुबैको अन्यसँग वैवाहिक सम्बन्ध कायम रहेको हुन नहुने समेत उल्लेख छ । यसको अर्थ कानूनी रुपमा पुरुष र महिला विचमात्र बिहे हुनसक्ने भन्ने हुन्छ । यसैगरि दफा ११३ मा छोरा छोरीको जन्मदर्ता गर्नुपर्ने प्रावधानमा समेत तोकिएको कानुनी प्रकृया पुरा गरि छोरा वा छोरीको जन्मदर्ताको लागि निवेदन गर्नुपर्ने उल्लेख छ । यो दफाले जन्मजात तेस्रोलिंगीहरुको जन्मदर्ताको कल्पना समेत गर्दैन ।

यसैगरि दफा १२२ मा आमाबाबुको हेरचाह सम्बन्धी व्यवस्थामा प्रत्येक छोराछोरीले आफ्ना आमाबाबुलाई आदर तथा सम्मानसाथ हेरचाह ब्यवहार गर्नुपर्नेछ भनिएको छ । तेस्रोलिंगीले पनि आमाबाबुको हेरविचार तथा स्याहार गर्नसक्ने कुरा समेत कानूनमा छैन ।

यसैगरि देवानी संहिताको दफा २०५ मा भएको अंश सम्बन्धी ब्यवस्थामा पति पत्नी, आमा बाबु, छोरा, छोरी समान अंशियार रहने उल्लेख छ । यसै संहिताको दफा २०६ ले गर्भभित्रको शिशुलाई पनि समान अंशियार मानेको छ । तर तेस्रोलिंगीको हकमा भने केहि उल्लेख छैन । अंश पाउन छोरा वा छोरी हुनुपर्ने प्रावधानको ठाँउमा ‘सन्तान’ उल्लेख गरिदिएको भए तेस्रोलिंगीले पनि अंश पाउने लगायत सबैखाले अधिकारको बाटो खुल्थ्यो । वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेल यसलाई कानुन बनाँउदा भएको गल्ती ठान्छन् । भन्छन्, “पुरुष र महिला बाहेकको पनि मान्छे हुन्छ भन्ने आधारभुत सत्यलाई मुलुकी र फौजदारी संहिताले स्विकारेको छैन ।”

तर नेपालको संविधान २०७२ को धारा १२ मा प्रत्येक ब्यक्तिले आमाबाबुबाट बंशिय तथा लैंगिक पहिचान सहितको नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ भने धारा १८ मा यौनिक अल्पसंख्यक समेतको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन भन्ने ब्यहोरा उल्लेख छ । यसैगरि धारा ४२ मा (सामाजीक न्यायको हक) मा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भन्ने ब्यहोरा उल्ल्लेख छ । वरिष्ठ अधिवक्ता खरेल भर्खरै लागू भएका संहिता संविधानका यि धाराको मर्म विपरित रहेको तर्क गर्छन । “यौनिक अल्पसंख्यकलाई संविधानले चिन्यो तर कानुनले अनदेखा ग¥यो” उनी भन्छन्, “संविधान बनाँउदाको बखत भन्दा कानुन बनाँउदा संसद पछि हट्यो, यो ठिक भएन् ।”

कानुनमा समलिंगीलाई विहेगर्ने बाटो नखुल्दा कयौं समलिंगी जोडी समस्यामा परेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ बताँउछिन् । देवानी संहिताको सो प्रावधान संसोधन गर्न सांसदहरुसँग लविङ गरिरहेको बताँउने पिंकी भन्छिन “नबुझ्ने भन्दा बुझेर बुझ पचाउनेहरुबाट हामी बढि आहात छौं ।”

संसदको विधायन समितीमा रहि देवानी संहिता बनाउने उप समितीको संयोजक समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सो संहिता बनाउने क्रममा तेस्रोलिंगी समुदाय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीसँग छलफल गरेको स्मरण गर्छन । त्यस बखत मन्त्रालयका अधिकारीहरुले समलैंगिक विवाहलाई मान्यता दिनेगरि विशेष कानुन ल्याइन लागेको बताएको स्मरण गर्दै अधिकारीले भने, “आजसम्म मन्त्रालयले त्यस्तो कानुनको मस्यौदा समेत नबनाँउदा उनीहरु समस्यामा परेका हुन ।” महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाका प्रमुख भरतराज शर्मा मन्त्री परिषदको पुर्वस्विकृतीपछि मात्र कानुनको मस्यौदा तयार हुने बताँउछन् । उनले मन्त्रालयले २ बर्षअघि नै समलिंगीहरु विचको बिहेबारे बिधेयक मस्यौदा बनाउनका लागि अवधारणपत्र तयार पारि मन्त्रीपरिषद्को स्विकृति पर्खिरहेको बताए ।

नेपालमा पुरुष र महिला बाहेकको लैगिक पहिचान भएका ब्यक्ति कति छन् भन्ने एकिन तथ्यांक नभएपनि जनसंख्याको सयकडा ५ यस्तो फरक लैंगिक पहिचानका हुने बिश्वास गरिन्छ । नील हिरा समाज मुलुकभरि करिव ६ लाख यस्ता तेस्रोलिंगी रहेको बताँउछ । तर अनुकल कानूनको अभाव, घर र समाजले नस्विकार्ने गरेका कारण उकुसमुकुसको वातावरणमा पहिचान लुकाएर बाच्न बाध्य रहेको उनीहरु बताँउछन् ।

(यो रिपोर्ट हिमाल खवरमा प्रकाशित भइसकेको छ । )