अमेरिकाले लिएको नीतिबाट सिक्ने कि सिकाउने ?

काठमाडौं (पहिचान) कार्तिक ९ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत ऱ्याडी बेरीले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयका छबिन्द्र पराजुलीले राष्ट्रपति समक्ष बेरीले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेको जानकारी दिए ।

ओहदाको प्रमाणपत्र पेश गरेपछि अमेरिकी दूतावाले जारी गरेको बिज्ञप्तीमा राजदूत बेरीले नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा आफूलाई ज्यादै खुशी लागेको उल्लेख गरिएको छ । बेरीले भनेका छन्, “नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ, हामीहरूको कूटनीतिक संलग्नताले हाम्रा दुई देशबीच जारी रहँदै आएको साझेदारी तथा सहकार्यलाई प्रवर्द्धन गर्नेछ ।”

नवनियुक्त राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसकेका छन् । उनी सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौँमा डेप्युटी चिफ अफ मिसन (नियोग उप प्रमुख) को पदमा कार्यरत थिए ।

राजदूत बेरीको जीवनी

राजदूत बेरी मिनिस्टर काउन्सेलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । सन् १९९३ देखि कूटनीतिज्ञका रूपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रहेर विदेशमा २० वर्षभन्दा लामो समय बिताएका छन् । पछिल्लो समय उनी वाशिङ्टन, डी.सी. मा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्यूरोमा दक्षिण तथा मध्य एसियाका लागि डेप्युटी एसिस्टेन्ट सेक्रेटरी थिए, जुन पद उनले सन् २०१६ को उत्तरार्द्धदेखि सम्हाल्दै आएका थिए ।

त्यसअघि उनी यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीआई) व्यक्तिहरूको मानव अधिकारसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रथम विशेष दूतका रूपमा नियुक्त भएका थिए । राजदूत बेरीको यो दोस्रो नेपाल बसाइ हो । यसअघि उनी सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत थिए । त्यसपछि उनी प्रिन्सिपल अफिसर तथा महावाणिज्यदूतका रूपमा दुई पटक नियुक्त भए, सुरुमा न्यूजिल्याण्डको अकल्याण्डस्थित अमेरिकी महावाणिज्य दूतावासमा र पछि नेदरल्याण्ड्सको एम्सटरड्यामस्थित अमेरिकी महावाणिज्य दूतावासमा ।

उनी सन् २००३ देखि २००७ सम्म दक्षिण अफ्रिकाको केप टाउनस्थित अमेरिकी महावाणिज्य दूतावासमा डेप्युटी प्रिन्सिपल अफिसर तथा उप महावाणिज्यदूतको पदमा कार्यरत थिए ।

आफ्नो परराष्ट्र सेवाका प्रारम्भिक वर्षहरूमा राजदूत बेरी बंगलादेश, इजिप्ट तथा युगान्डामा विभिन्न पदहरूमा कार्यरत भए । साथै, उनी वाशिङ्टन, डी.सी. मा अमेरिकी विदेश मन्त्रालयको अफ्रिकन मामिलासम्बन्धी ब्यूरोमा समेत सेवारत थिए । ग्रामीण कोलोराडोका बासिन्दा राजदूत बेरीले कान्सास राज्यको लिन्ड्सबर्ग्स्थित बेथनी कलेजबाट स्नातक गरेका छन् ।

साथै, रोटरी फाउन्डेशन स्कलरका रूपमा उनले अस्ट्रेलियाको एडेलेइडस्थित एडेलेइड विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी विवाहित हुनु र उनका दुई सन्तान छन् । बेरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय एलजीबीटीआई (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स) को मानवअधिकार प्रवर्द्धनका लागि पहिलो अमेरिकी दूत हुन् ।

उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले फेबु्रअरी २०१५ मा यो पदमा नियुक्त गरेका थिए । बेरी २०१७ सम्म सो पदमा रहे ।
त्यसपछि उनी लोकतन्त्र मानवअधिकार तथा श्रमसम्वन्धी ब्यूरोमा दक्षिण तथा मध्यएसियाका लागि डेपुटी एसिस्टेन्ट सेक्रेटरी बने ।
परराष्ट्र सेवामा आउनुअघि बेरी यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा खुलेका थिए । त्यसबेलासम्म अमेरिकी विदेश मन्त्रालयले तेस्रोलिंगीलाई सेवामा लिँदैनथ्यो ।

विदेश मन्त्रालयमा जागिर खान थालेपछि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा उनी खुलेर लागे ।
बेरीले प्रवेश सिंहसँग २०१२ मा बिहे गरेका छन् । प्रवेश श्रीमान र बेरी श्रीमतीको भूमिकामा छन् । बेरी र प्रवेशका एक छोरा र एक छोरी छन् । छोरी आर्या ६ वर्षकी भइन् भने छोरा जान्डर ५ वर्षका भए । काठमाडौंस्थित अमेरिकी राजदूतावासले भने राजदूत बेरीको जीवनीमा उनलाई पुरुषको पहिचान दिएको छ ।

नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य लिंग जनाएर नागरिकता र पासपोर्ट दिइसकेको छ । डिभी चिठ्ठामा अन्य उल्लेख नगरेको अमेरिकाले बेरीलाई राजदूत नियुक्त गरेर दिन खोजेको सन्देश अहिले गर्वमै रहेको छ ।

नेपालले संबिधानको धारा १२ मा लैंगिक पहिचान अनुसार नागरिकता दिने भनेको छ । धारा १८ मा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद नगर्ने र धारा ४२ मा समावेशी सिद्धान्त अनुसार राज्यका हरेक नीति निर्माण तहमा समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर यो व्यवस्था अनुसार कानून बनाउने चाजो पाजो भने छैन ।

अमेरिकामा सन् २००४ मा पहिलोपटक एउटा राज्यले समलिंगी विवाहलाई वैधता दिएको थियो । सन् २०१५ सम्म आइपुग्दा सबै ५० वटै राज्यमा समलिंगी विवाहले मान्यता पाइसकेको छ ।

अमेरिकी सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मानव अधिकार र लैंगिक समानताको सम्मान गरेको छ । उसले हाल जर्मनीमा कार्यरत अमेरिकी राजदूत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाटै पठाएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि नेपालले पनि अमेरिकाले लिएको नीतिबाट सिक्ने हो कि ?