समलिंगी जोडी: परिवारमा अस्वीकार, समाजमा तिरस्कार

काठमाडौं (पहिचान) पुस २० – महिलाको पुरुषप्रति र पुरुषको महिलाप्रति शारीरिक–मानसिक आकर्षणलाई स्वभाविक र वैध मानिन्छ । तर, जब एउटै लिंगका व्यक्तिहरुबीच यस्तो आशक्ति देखापर्छ, संसारमा जहीँकहीँ समस्या उब्जिन्छ । उनीहरु परिवार–समाजबाट तिरस्कृत हुन्छन् ।

सर्वोच्च अदालतले २०६९ कार्तिक २० गते उमेर पुगेका दुई व्यक्ति आफ्नो इच्छा अनुसारसँगै बस्न पाउने फैसला गरेको थियो । तर, समलिंगी विवाहका विषयमा भने संविधान मौन छ । समाजमा त यस्तो सम्वन्धलाई ठूलै अपराधका रुपमा हेरिन्छ ।

यही कानूनी र सामाजिक जटिलताभित्र गुम्सिएको छ अर्मान्ड शमशेर राणा र आर्टिशा मगरको दाम्पत्य सम्बन्ध । ६ वर्षअगाडि नै घरजम गरेका उनीहरु अहिले पनि आफ्नो सम्वन्ध खुलेर प्रकट गर्न सक्दैनन् । यसको कारण हो, उनीहरु समलिंगी हुनु । दुवै शारीरिकरुपमा पुरुष र मानसिकरुपमा स्त्री हुन् ।

घरमा अस्वीकार, समाजमा तिरस्कार

अर्मान्डले स्कुल जाने उमेरदेखि आफूप्रति अरुको फरक व्यवहार महसुस गर्न थाले । स्कुलका शिक्षक–विद्यार्थीले उनलाई तिरस्कार गर्थे ।

अर्मान्डलाई शिक्षकले कक्षा कोठाको अगाडि बेन्चमा बस्न दिँदैनथे । अर्मान्ड पछाडिको बेन्चमा एक्लै हुन्थे । सहपाठीहरु परैबाट तर्कन्थे मानौं उनी अर्कै ग्रहबाट झरेका अद्भुत प्राणी हुन् ।

उनीसित नजिक भएर कहिल्यै कुनै शिक्षकले सिकाएनन् । सकभर अगाडि नै परेनन् । लैनचौरका २४ वर्षिय अर्मान्ड स्कुले जीवनको तितो भोगाई सुनाउँछन्, ‘नबुझेको कुरा सरलाई सोधौँ–सोधौँ लाग्थ्यो । तर, कसैले जिस्क्याउला कि भनेर चुपचाप बसिरहन्थेँ ।’

किन यस्तो भइरहेको छ ? अर्मान्डलाई थाहा थिएन । उनी छोराको अंग लिएर जन्मिएका थिए, तर केटाभन्दा केटीहरुसित बढी हेलमेल हुन मन लाग्थ्यो । आमाले टीका र गाजल लगाएर स्कुल पठाउँदा उनलाई निकै मजा लाग्थ्यो । दिदीको कपडाहरु लगाउँदा खुशी हुन्थे ।

दिनहरु बित्दै थिए । १२ वर्षमा हिँडिरहँदा उनले आफ्नो स्वभावको विश्लेषण गर्दै निस्कर्ष निकाले, ‘म केटा होइन केटी हुँ ।’ धेरै तेस्रोलिंगीले जसरी उनले लामो समय अन्तरभाव मनमा गुम्सिन दिएनन् । आमा–बालाई भनिदिए, ‘मलाई किन–किन केटीजस्तै हुन मन लाग्छ, ह्यान्डसम केटा देख्दा काउँकुती लाग्छ ।’

अर्मान्डका बाबु यो सुनेर आक्रोशित भएनन् । न त छोरालाई हप्काए । बरु उल्टै खुशी हुँदै भने, ‘म त कस्तो भाग्यमानी । एउटै सन्तानमा छोरा र छोरी दुवै पाएँ । अरुले जे सुकै भनुन्, जस्तो छौ त्यस्तै रहनु ।’

घरमा त समस्या भएन । तर, जव घरबाट उनी बाहिर निस्कन्थे पाइलैपिच्छे टाउको निहुर्‍याएर हिँड्नुपर्थ्यो । धेरैको मुखबाट उनले सुन्नुपर्थ्यो – ए छक्का !

स्कुलका साथीहरु ट्वाइलेट जाँदा उनको पछि लाग्थे, यो चियाउन कि बसेर पिसाव फेर्छन् या उठेर । उनी आफैभित्र पिरोलिन्थे, ‘यो संसारमा म मात्रै रहेछु कि क्या हो यस्तो मान्छे । म किन अरु जस्तो भईन ?’ अरु साथीहरु हाफ छुट्टीमा खेल्दा उनी ग्राउण्डको छेउमा एक्लै टोलाइरहेका हुन्थे ।

गर्लफ्रेन्डसँग सकस

विस्तारै केही उनका केही केटी साथीहरु बन्न थाले । घर नजिकै निकै मिल्ने उनका दुई–तीन जना केटी साथी थिए । मान्छेको मुखमा बुजो लगाउनले जुक्ति निकाले – गर्लफ्रेण्ड बनाउने ।

गर्लफ्रेन्ड बनाए पनि । फोनमा घण्टौ कुरा गर्थे उनीहरु । तर, जब गर्लफ्रेण्डले अर्मान्डलाई भेट्न बोलाउँथिन्, शारीरिक रुपमा नजिकिन खोज्थिन्, उनी अन्योलमा पर्थे ।

‘मलाई अगाडि पर्नै मन पर्थेन । भेट्ने कुनै चाहना नै हुन्थेन,’ अनुभव सुनाउँछन् अर्मान्ड, ‘साथीहरुलाई देखाउनको लागि गर्लफ्रेण्ड बनाएको थिएँ । तर, असफल भएँ, यत्तिकै ब्रेकअप भयो ।’

अब उनले आफ्नो स्वभावबारे थप अध्ययन गर्न थाले । गुगलको सहारा लिए । निलहिरा समाजमा धाउन थाले । आफुजस्तो मानिस संसारमा अरु पनि लाखौँ छन् भन्ने कुरा थाहा पाएपछि उनको मन अलिकति उज्यालियो । उनलाई यो पनि थाहा भयो की – म ‘गे’ हुँ । र, १९ वर्षको उमेरमा उनको जीवनले नयाँ मोड लियो जब भेटिइन् – आर्टिशा ।

केही वर्ष पहिले आफ्नो आफै न्वारान गरेर आर्टिशा भएकी हुन्, धरानका एक युवक । आजभन्दा करिव सात वर्षअघि स्नातक तह अध्ययनको लागि काठमाडौं आइपुग्दा उनी छोरा नै थिए । पुरुषकै ड्रेसमा हिँडडुल गर्थे । तर, आफ्नो पुरुष आवरणभित्र कत्रो उकुसमुकस थियो त्यो उनलाई मात्रै थाहा थियो ।


त्यो उकुसमुकुस सानैमा भाडाकुटी खेल्नेबेला पनि व्यक्त गर्थे । पछ्यौराको जामा बनाएर भन्थे, ‘तिमी चाहीँ बुढा र म बुढी हुनी है ?’

विस्तारै उनलाई साथीहरुले जिस्काउने क्रम बढ्न थाल्यो । त्यति मात्र होइन् घरमा पनि दाई–बाहरुले झ्याप्पै भनिदिन्थे, ‘कस्तो हिँजडाजस्तो भएर हिँड्छस् ।’

हो, उनलाई साँच्चिकै केटी हुन मन पर्थ्यो । तर, उनी न यस्तो कुरा घरमा सुनाउन सक्थे न त आफन्तलाई नै । मात्र आफैभित्र गुम्स्याएर राख्थे । एकान्तमा बसेर सोचिरहन्थे, ‘यो संसारमा मेरो कुरा सुन्ने एउटा मात्र साथी भइदिएको भए पनि हुन्थ्यो नी !’

एउटा ‘अवैध’ प्रेम

जतिबेला काठमाडौं छामा (आन्टि) को बस्दै थिए, उनले आफ्नो नाम फेरेर आर्टिशा राखे । फेसबुकमा उनको चिनजान अर्मान्डसँग भयो । फेसबुकमै उनीहरुले एकअर्कासँग आफ्नो वास्तविकता सुनाए । आर्टिशाले वर्षौंदेखि गुम्सिएका भावना मेसेन्जरमै फुकाउन थाले दुवैले । मोवाइल नम्बर पनि साटासाट गरे । अनि भेट्ने दिन तय गरे ।

‘ला भेटेर के भन्ने ! मलाई त आँट नै आएन त्यसैले टाँरिदिएँ’, आर्टिशा लजाउँदै भन्छिन्, ‘भोलिपल्ट अर्को साथीलाई भेट्न पुगेको थिएँ । उहाँ त त्यही आउनुभएको रहेछ । हामीलाई थाहा थिएन, तर, दुवैको एउटै साझा साथी रहेछ ऊ ।’

त्यतिबेला अर्मान्डलाई आर्टिशा निकै ‘हेन्डसम’ लाग्यो । आर्टिशालाई पनि अर्मान्डको बोल्ने शैली, निडरता र मुस्कानले तान्यो । त्यसपछि विस्तारै उनीहरु नजिकिन थाले । प्रेमको टुसा अंकुराउन थाल्यो । त्यो एउटा ‘अवैध’ प्रेम थियो ।

उनीहरुले विभिन्न ठाउँमा डेट गरे । भेटेर आफुभित्रका अनुभव सेयर गर्दा उनीहरु दुवैलाई हल्का हुन्थ्यो । एक दिन छामालाई आर्टिशाले कुरा राखिन्, ‘एक जनासँग मेरो लभ छ । अब हामी विहे गर्छौँ ।’ छामाले भने – ‘हेरौं न लिएर आइजा ।’

आर्टिशाले अर्मान्डसँग बेला–बेला भन्छिन्, ‘कानुनले विवाहको मान्यता दिएको भए त हातभरी चुरा र सारी लगाएर पुरै गाउँ डुलेर देखाउनहुन्थ्यो है ।’

अर्मान्डले पनि ठट्यौली पारामा बाबुआमालाई भने, ‘अब म बुहारी ल्याइदिन्छु है ।’ परिवार अर्मान्डको खुशीमा पर्खाल बनेन । त्यसपछि आमाबाबुको छोरा आर्टिशा अर्मान्डको घरमा बुहारी बन्न आइपुगिन् ।

अर्मान्डलाई धुमधामसँग विहे गर्न मन थियो । त्यसैले विहेको तयारीमा लागे । तर, जतिबेला उनीहरुले अफुहरुको विहे नेपालमा सम्भव छैन भन्ने थाहा पाए, आफुहरु संसारको सबैभन्दा अभागीजस्तो मानिसजस्तो लाग्न थाल्यो ।

यद्यपि, ६ वर्षदेखि एउटै परिवारमा छन् अर्मान्ड–आर्टिशा । आर्टिशा भन्छिन्, ‘मलाई त जीवन नै भर्खर शुरुवात भएको जस्तो लाग्छ ।’

अहिले आर्टिशाको पहिरन फेरिएको छ । सिल्की र लामा कपाल छन् । जेन्स पाइन्ट र टिसर्ट हटाएर प्रायः युवतिकै पहिरनमा हुन्छिन् । कानमा झुम्का लगाएकी छिन् । दुई वर्ष भयो उनी नयाँ अवतारमा उदाएकी ।

तर, आफ्नो असली पहिचानमा बाँच्न थालेपछि उनको लागि घरको ढोका बन्द भएको छ । आफन्तलाई आफ्नो बास्तविकता अहिलेसम्म सुनाउन सकेकी छैनन् । समाजकै डरले पुरानो नामसमेत खुलाउँदिनन् ।

यति लामो समयसम्म समाजमा खुल्न नसकेको रहस्यको पोको खोल्न थाल्छिन् आर्टिशा, ‘पहिले नै खुलेको भए म खुशी हुन्थेँ । तर, मेरो परिवारलाई त समाजले राम्रो भन्ने थिएन नी ! धेरैको खुशीको लागि म एक्लै गुम्सिएर के भयो र ! कम्तीमा तेरो छोरो विग्रीयो भनेर र त कसैले भन्न पाएनन् ।’

दुई वर्ष पहिले आर्टिशाले अर्मान्डलाई लिएर धरान पनि नपुगेकी होइनन् । तर, त्यतिबेला उनले अर्मान्डलाई साथीको रुपमा चिनाइन् ।

गत भदौको आफ्नो बर्थ डेमा भने आर्टिशाले ठूलो साहस जुटाइन् । र, आमा र बहिनीसामु अर्मान्डलाई ज्वाईंको रुपमा चिनाइन् ।

अर्टिशा पीडा पोख्छिन्, ‘बहिनी र आमाले त कुरा बुझ्नुहुन्छ । तर, दाइ, मामाहरुले मार्नुहुन्छ । यो कुरा थाहा पाउनुभयो भने मेरो घरमै जानुहुन्न ।’

आर्टिशाले अर्मान्डसँग बेला–बेला भन्छिन्, ‘कानुनले विवाहको मान्यता दिएको भए त हातभरी चुरा र सारी लगाएर पुरै गाउँ डुलेर देखाउनहुन्थ्यो है ।’

आर्टिशाले जीवनमा अर्मान्डलाई नभेटेकी हुन्थिन् भने सायद कुनै केटीलाई विहे गरेर घरमा भित्र्याउनुपर्थ्यो ।

आर्टिशाले बोल्दै गर्दा अर्मान्डलाई आफ्नो ‘गे’ साथीको याद आउँछ । जसले केही वर्ष पहिले परिवारको दवावमा केटीसँग बिहे गरे । केही समयपछि छोरा पनि जन्माए । तर, केही समयपछि जीवनदेखि आजित भएर आत्महत्याको बाटो रोजे । त्यतिमात्र होइन्, अर्मान्डका त्यस्ता थुप्रै साथीहरु छन्, जो खुलेकै कारण घरबाट सदाका निम्ति निकालिनु परेको छ, समलिंगी विहेकै कारण समाजको वहिष्करणमा पर्नु परेको छ ।

बच्चाको चाहना ?

के अर्मान्ड–आर्टिशालाई बच्चाको आवश्यकता छैन ?

प्रश्न नखस्दै आर्टिशा बोल्न कस्सिन्छिन्, ‘हरेक मानिसले पक्कै पनि सन्तानको आवश्यकता महशुस गर्छ । यदि कानुनले मान्यता दिएको भए हामीले पनि एडप्ट गथ्यौँ ।’

अर्मान्ड भन्छन्, ‘कहिलेकाहीँ सन्तान नभएपछि बुढेसकालमा गाह्रो हुन्छ कि भनेजस्तो लाग्छ । म मरिहाले भने उसलाई कसले साथ देला भनेर चिन्ता लाग्छ । तर, सन्तानकै लागि अरु कुनै केटीसँग त विहे गर्न सक्दिनँ । बरु दुवै जना सँगै मर्छौँ ।’

भनिरहनु नपर्ला, उनीहरु आफ्नो यौन चाहना ‘एनल सेक्सबाट’ पूरा गर्छन् ।

अवहेलनाको श्रृंखला

समाजले हेयको नजरले हेर्ने हुनाले अर्मान्डको व्यवसाय गर्ने धोको धोकोमै सीमित भएको छ । आर्किटेक्ट कला छ उनीसँग, तर, कसैले उनको कलालाई मूल्य दिनेवाला छैन ।

‘मेरो गे साथीले होटेल खोलेको थियो । तर, ग्राहक नै गइदिएनन् । मेरो पनि त्यस्तै होला भनेर आँट गर्न सकेको छैन’ उनले सुनाए ।

सडकमा हिँड्न गाह्रो हुन्छ । सार्वजनिक गाडीमा हिँड्दा मानिसहरुले नाक खुम्च्याउँछन् । त्यसैले उनीहरु जहिल्यै ट्याक्सीको सहारा लिन वाध्य छन् । सामान किन्न जाँदा आफ्नो जेन्डरकै कारण महंगो मूल्य तिर्नुपरेको अनुभव छ, आर्टिसा र अर्मान्डसँग । स्वास्थ्यपरीक्षणको लागि हस्पिटल जाँदा चिकित्सकको व्यवहार पनि ठिक नभएको उनीहरु बताउँछन् ।

आर्टिशा भन्छिन्, ‘डाक्टरहरुले पनि चेकअप गर्दा कहाँ–कहाँ समातिरहनुहुन्छ । निकै असहज लाग्छ ।’

अहिले अर्मान्ड ब्लु डाइमन्ड सोसाइटीमा काम गर्छन् । बच्चाहरुलाई अभिभुखीकरण गर्छन् । उनले ‘मिस्टर गे हेन्डसम’ मा भाग लिएर बेस्ट क्याटवाकको उपाधी उचाले । तर, एलजीबीटीआईको ओरियन्टेशनपछि पनि शिक्षकहरु छोइएला कि भनेर तर्केको देख्दा उनलाई अचम्म लागेर आउँछ । भन्छन्, ‘छोइयो भने हाम्रो पनि सन्तान यस्तै हुन्छ भन्ने भ्रम छ धेरैमा । गाउँतिर त सन्तान खुलेपछि धामीझाँक्री–झारफुक गर्न थाल्छन् ।’

अनि धेरै ठाउँमा बाटो हिँडिरहेको बेला केटाहरुले आर्टिशालाई भन्ने गर्छन्, ‘बेलुकी ठमेलमा भेटौँ न है ।’

साभार : अनलाइन खबर