लक्ष्यप्राप्तिका लागि राजनीति

गगन थापाले ‘उः हेर्नुस्, भूमिकाजीजस्ता साथी हामीसित हुनुहुन्छ’ भन्दा गर्व लाग्थ्यो

काठमाडौं (पहिचान) पुस २६ – राज्यले अल्पसंख्यक समुदायलाई छुट्टै परिभाषा गरी नीतिगत रुपमै उल्लेख गरेको छ । तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अझै त्यसमा समेटिन सकेका छैनौ । त्यसैले हामीले हाम्रो हकअधिकारका लागि संगठित रुपमै आवाज मुखरित गर्दै आएका छौ । नील हिरा समाज अग्रणी संस्था हो जहाँ छ लाखभन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक आबद्ध भइसकेका छन् ।

आफ्नो समुदायको हकहितका लागि राज्यका हरेक अंगमा संघर्ष गरिरहेका छौ । तर हामीले बोलेर मात्र नहुने भयो । नीतिगत रुपमै उल्लेख हुनुपर्ने आवश्यकता महसुस गरिरहेका थियौ । राजनीतिक दल, कार्यपालिका, न्यायपालिका सबैतिर समन्वय गरिरहेका थियौ । भेट्दा ‘ठीक छ, तपाईंहरुका लागि सक्दो पहल गर्छौं’ भन्दै आश्वासन पाइन्थ्यो, नतिजा भने शून्य । एउटा सल्लाह पनि भएको थियो– नील हिराका सबै अगुवा एउटै दलमा प्रवेश गर्ने र बलियो आधार तयार गर्ने । तर, त्यो सम्भव थिएन ।

‘सबै दलमा हाम्रा कुरा सुन्नेहरुको प्रतिनिधित्व भए राम्रो हुन्थ्यो’, पूर्व सभासद् समेत रहनुभएका सुनिलबाबु पन्तले भन्नुभयो ।

उहाँको विचार सोह्रै आना सही थियो, हामी सहमत भयौ । नील हिरा समाजका अगुवा सबैले दलको सदस्यता लिने निर्णय गरियो । आफ्नो आस्थाका आधारमा जुनसुकै दलमा पनि जान सकिने स्वतन्त्रता थियो ।

पन्तले पहिलो संविधानसभा चुनावकै बेला मूलधारको राजनीति समाइसक्नुभएको थियो । उहाँलाई नेकपा संयुक्त पार्टीले सभासद् बनाएको थियो ।

मलाई राजनीतिबारे खासै जानकारी थिएन न त उतिसारो रुचिको विषय । धेरै मानिस राजनीतिलाई ‘फोहोरी खेल’ भन्थे । मलाई पनि त्यही लाग्थ्यो । बरु सानैदेखि नृत्यमा रमाउँथे । नृत्यमै पो भविष्य छ कि भन्ने सोच्थे । तर, आफ्नो हकअधिकार राजनीतिक तहबाटै सम्बोधन गराउनुको विकल्प थिएन । संस्थागत रुपमै राजनीतिमा जाने निर्णय गरिसकेका थियौ ।

अब कुन दल ठीक होला त ? गम्दै जाँदा मैले नेपाली कांग्रेस रोजे । सोही साता हामीले समाजका तर्फबाट एउटा कार्यक्रम राखेका थियौ । कांगे्रस नेता प्रदीप गिरि पनि आउनुभएको थियो । कार्यक्रम सकिएपछि मैले पार्टी प्रवेश गर्न चाहेको कुरा राखे । उहाँले आश्वासन दिनुभयो । एक सातापछि मेरो गृहक्षेत्रका सभासद् ध्यानगोविन्द रञ्जित र क्षेत्रीय सभापति धर्मराज गौतमले मलाई टीका लगाइदिएर कांग्रेस प्रवेश गराउनुभयो । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गिरि र नेविसंघकी तत्कालीन महामन्त्री प्रतिमा गौतम पनि हुनुहुन्थ्यो ।

मैले कांग्रेसको १२ औ महाधिवेशनअघि साधारण सदस्यता पाएकी थिएँ । केही समयपछि क्रियाशील सदस्यता पनि पाएँ । सामान्यतया साधारण सदस्यता लिएको दुई वर्षपछि मात्र क्रियाशील सदस्यता दिइने प्रावधान छ । तर, मैले एक महिनामै पाएँ । अल्पसंख्यक समुदायको भएकै कारण मलाई यति छिटो क्रियाशील सदस्यता दिइयो । त्यसपछि पार्टी काममा सक्रिय हुन थाले । पार्टीले गर्ने हरेक अन्तरक्रिया, भेला, छलफल सबैतिर जान थाले । प्रतिबद्ध कार्यकर्ता भएँ ।

कांग्रेसको १२औ महाधिवेशन आउन लागेको थियो । सबै जना त्यसकै तयारीमा लागेका थिए । पार्टी विधानमा पनि पछाडि पारिएका समुदायलाई प्रवद्र्धन गर्ने प्रावधान छ । मैले सोही आधारमा महाधिवेशन प्रतिनिधि हुने सोच बनाएँ । यो चाहना इकाइमा राखे । इकाइ चुनावमा निर्विरोध भएँ । त्यसपछि क्षेत्रमा चुनाव नै भयो । त्यसमा मधेसी, मुस्लिम, अल्पसंख्यक सबैलाई एउटै कोटामा राखियो ।

मैले उम्मेदवारी दिएकोमा झा थरका पुरmष–साथीले निकै आक्रोश जनाए । उम्मेदवारी फिर्ता लिन दबाब दिए । ‘तिम्रो वशमा छैन राजनीति, यसमा लागेर के गर्न सक्छ्यौ ?’ भन्दै धम्की पनि दिए । मैले टेरिनँ । आखिरमा उनले १५ मत पाए, मैले ५४ मतले जिते । यसरी म महाधिवेशन प्रतिनिधि भएँ । नेपालभरिबाट चार हजारजति महाधिवेशन प्रतिनिधिमध्ये तेस्रोलिंगी म मात्र थिएँ ।

जिल्ला अधिवेशनका बेला गगन थापाले कांगे्रस समावेशी पार्टी भएको दाबी गर्नुभयो । ‘उः हेर्नुस्, भूमिकाजीजस्ता साथी हामीसित हुनुहुन्छ’ भन्दै मतिर औंल्याउनुभयो । मैले गर्व महसुस गरे । मलाई उहाँको भाषणले अझ ऊर्जा दियो । पार्टीमा झन् सक्रिय हुन थाले । महाधिवेशनपछि दोस्रो संविधानसभा चुनावको तयारी भयो ।

मैले अल्पसं्ख्यकको कोटामा तेस्रोलिंगी समुदायलाई पनि समावेशी उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखे । इकाइले समानुपातिकमा मलाई सिफारिस ग¥यो तर क्षेत्रमा पुगेपछि मेरो नाम काटियो । नयाँलाई किन दिने भन्दै कुरा उठेछ । केन्द्रीय नेताहरुको घरदैलो धाएँ । तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ‘सात सालदेखि टिकट नपाएका नेताहरु छन्, तपाईंले प्रतीक्षा गर्नुपर्छ’ भन्नुभयो । नरहरि आचार्य, बालकृष्ण खाँडले सक्दो कोसिस गर्नुभयो । शेरबहादुर देउवाको घर गएँ । ‘कुरो मिलाउँला’ भनेर बिदा गर्नुभयो । प्रकाशमान सिंहले पनि आश्वासन दिनुभयो ।

मैले पाएको हन्डर सुनिलबाबु पन्तलाई जानकारी थियो । उहाँले त्यही बेला ‘छुट्टै पार्टी खोलौ’ सम्म भन्नुभयो । हामीलाई सम्मान गर्ने कुनै पार्टीमा एकमुष्ट जाने सल्लाह पनि गर्नुभयो । हरियाली पार्टीसित सामूहिक प्रवेशबारे छलफल भयो तर पछि कुरा मिलेन । दोधारकै बीच सुनिल दाइ नेकपा संयुक्त छाडेर तत्कालीन नेकपा एमाले प्रवेश गर्नुभयो । म कांग्रेसमै रहिरहे ।

एमालेमा उहाँलाई पाँच जनासम्म सभासद् कोटा दिउँला भनेर लोभ्याइएको रहेछ । त्यही भएर मलाई पनि ‘एमालेमा आऊ, कांगे्रसले केही गर्दैन’ भन्दै कन्भिन्स गर्न खोज्नुभयो । त्यही विषयमा छलफल भइरहेको थियो तर केही मिडियामा हामीबीच ‘निकै खटपट भयो’ भनेर समाचार आयो । खासमा केही भएकै थिएन ।

कांग्रेसका काठमाडौ जिल्ला सभापति भीमसेनदास प्रधान मैले पनि पार्टीमा अवसर पाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँले जिल्लाबाट समानुपातिकमा मेरो नाम सिफारिस गरिदिनुभयो । यता, आनिक रानामगर जनमुक्ति पार्टीमा प्रवेश गरिन । उनको नाम सिफारिस पनि भयो ।
उता, सुनील दाइले साह्रै धोका पाउनुभयो ।

पाँच जना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समानुपातिक टिकट दिने भनी गरिएको वाचा नेताहरुले मौका आएपछि लत्याइदिए । पुरानोलाई दिन नमिल्ने भन्दै सुनिल दाइलाई एमालेमा पन्छाइयो । म भने जिल्ला समितिबाट सिफारिस भएकोमा मक्ख थिएँ । मेरो नाम केन्द्रसम्म पुग्यो । चिन्ने–भेट्नेजतिले बधाई दिन थाले । ‘तिमी पक्का सभासद् हुने भयौ’ भन्न थाले । यौनिक अल्पसंख्यक समुदायको सशक्त उम्मेदवार भएकाले म आफै पनि सभासद् हुनेमा विश्वस्त थिएँ ।

तर, प्रशासनिक झन्झटका कारण मैले अवसर चुकाएँ । पार्टीले मेरो नाम महिला कोटाबाट सिफारिस गरेको रहेछ । नागरिकतामा भने ढाकाटोपी लगाएर खिचेको फोटो थियो, नाम पनि केटाकै । आखिरमा त्यही ढाकाटोपीले मलाई लडायो । निर्वाचन आयोगको निर्वाचन निर्देशिकाले समानुपातिक अन्तर्गतको अल्पसंख्यकको परिभाषाभित्र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेश नगरेका कारण मेरो नाम पर्न सकेन ।

मैले आफ्नो खास पहिचान स्थापित गर्न धेरैतिर दौडधुप गरे । तर, पार्टीका केन्द्रीय नेताहरुले यसमा त्यति चासो दिनुभएन । यही प्राविधिक समस्याले गर्दा मेरो नाम राखिएन । निर्वाचन आयोग पनि गएँ । तर, सिफारिसमा त्यो त्रुटि सच्याइएन । नाम, लिंग र नागरिकता आदि कारण देखाउँदै आयोगले ‘पार्टीबाट नै मिलाउनू, यहाँबाट मिल्दैन’ भन्दै फर्काइदियो ।

विडम्बना ! म सभासद् हुन पाइनँ । पार्टी नेताहरुदेखि दिक्क लाग्न थाल्यो । पार्टीका कार्यक्रममा खासै गइनँ । उता एमालेले पनि हाम्रा साथीहरुको नाम सिफारिस गरेन । जनमुक्तिले आनिकको नाम सिफारिस त ग¥यो तर पार्टीले कम भोट ल्याएकाले उनी पनि सभासद् हुन पाइनन् ।

यसरी हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कोही पनि राजनीतिक मूल धारमा आउन सकेनौ । आफ्ना हक–अधिकार संविधानसभा र व्यवस्थापिका दुवैबाट नीतिगत सम्बोधन गर्न चाहेका थियौ । तर, यो हाम्रो इच्छा पूरा हुन सकेन ।

पार्टीमा सक्रियता घटेपछि मेरा बारे ‘पदका लागि मात्र आएकी रहिछ’ भनी हल्ला चल्न थालेछ । त्यसलाई चिर्न फेरि सक्रिय हुन थाले । १३ औ महाधिवेशनको तयारी सुरु भयो । तर, बिरामी परेकाले खासै समय दिन सकिनँ । इकाइ र क्षेत्रबाट पनि मलाई भेदभाव गरियो । मैले ‘क्रियाशील सदस्यकै रुपमा काम गर्छु, ठूलो पद चाहिदैन’ भने ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँडले मलाई तरुण दलमै बसेर काम गर्न भन्नुभयो । उहाँकै सहयोगमा त्यसको जिल्ला कमिटीमा निर्विरोध सदस्य भएँ । तरुण दलको चुनावमा केन्द्रीय सदस्यमा मेरो दाबेदारी थियो । विधानमा पनि तेस्रोलिंगीलाई समावेशीकरणमा ल्याउने भनिएको छ । यस आधारमा मैले अवसर पाउने पक्का थियो । तर, २०७३ सालमा दलको केन्द्रीय चुनाव नै हुन सकेन । सहमतिमा संगठनको संरचना तयार पारियो । केन्द्रीय कमिटीलाई पूर्णता दिन अझै केही सदस्य मनोनयन गर्नुपर्छ । अहिले म त्यसैमा पर्न तत्पर छु ।
( तेस्रोलिंगी अधिकारकर्मी भूमिकाको भोली लोकापर्ण हुन लागेको आत्मकथा पुस्तकको एक अंश )