के (जातीय)ब्राम्हण वाट पूर्व- ब्राम्हण हुने कुरा सम्भव छ ?

जातीय हिंसाको बेलिविस्तार पढेपछि केहि कुरा व्यक्त गर्न मन लाग्यो :

काठमाडौं (पहिचान) माघ १६ – पहिलो कुरा, श्री प्रकास विकजीलाई धन्यवाद, लेख निकै अर्थपूर्ण र यथार्थ परक लाग्यो। दु:ख पनि लाग्यो कि दसकौं लामो ‘दलित मुक्ति’ आन्दोलन पश्चात पनि छुवाछुत र भेदवाभ कायमै छ, स्थिति निराश जनक नै छ। आफै पनि नेपाली समाजमा हुर्केको र केहि वर्ष पहिला सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारको लागि लडेको हुंदा मलाई राम्रोसंग थाहा छ, दलित समूदाय माथि तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि हुने भेदभावमा निकै समानता छ।

(सवै हिन्दु ग्रन्थले होइन) केहि हिन्दु ग्रन्थहरुमा वर्ण व्यबस्था र यसमा जोडेर वनाएका नियम-कानुनले जात-जात विचमा छुवाछुतको व्यबस्था गरे जस्तै, (सबै होइन) केहि हिन्दु ग्रन्थहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथी पनि उस्तै-उस्तै खाले भेदभाव र छुवाछुतको कानुन-नियम बनाएको पाइन्छ। जस्तै मनु-स्मृतीले समलिंगी संबन्ध राखेमा अपवित्र (वा विटुलो) भइने र यस्तो गर्नेले कपडा सहित नुहाएर चोखो हुनु पर्ने र केहि रकम दण्ड तिर्नु पर्ने भनेको छ। साथै, फेरि फेरि यस्तै सम्बन्ध राखेमा ‘जात’ खस्ने भनेको छ।

हिन्दु ग्रन्थले मात्र होइन, बौध्द ग्रन्थले त पाण्डक (तेस्रोलिंगी ) हरुलाई भिक्छु-भिक्छुनी प्रब्रज्जा हुनवाट निषेध गरेको छ भने, जेन धर्मले त झनै पर गएर तेस्रोलिंगीहरुले भिक्छा दान दिन समेत निषेध गरेको छ, अर्थात राम्रो काम (पुण्य) गर्न पनि नपाउने व्यवस्था गरेको पाइन्छ। यस्तै अन्य पनि थुप्रै उदाहरणहरु छन्, जस्तै तेस्रोलिंगीहरुले खास-खास पेशा (जस्तै मालिको काम, मालिसवालाको काम, संगित, नृत्याकला लगायत केहि गिने चिनेका पेशा मात्र) अपानाउन पाउने व्यवस्था गरिएको छ। इस्लाम र कृष्चियन धर्मले त, झन कडारुपमा, समलिंगी संबन्धलाई ‘हराम र पाप’ भनेको छ। यस्ता ग्रन्थहरुले यस्तै किसिमले महिलाहरुलाई पनि विभेद गरेका छन्।

विडम्वना, सायद, हामी विभेदमा परेकाहरु माझ पनि ‘हाइरार्खि’ भएर हो कि (वा अन्य कारणले हो), महिला आन्दोनलले दलितको मुद्दामा मौन बसिदिने वा खासै ऐकबद्दता नदेखाउने; दलित आन्दोलनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आन्दोलनमा कुनै चासो नदिने; यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अपांगता भएका व्यक्तिहरुको अन्दोलनलाई कुनै योगदान नदिने र अपांगता भएका व्यक्तिहरुको समुदायले पनि आफ्नै मुद्दा भन्दा बाहिर अरुको हकका लागि बोल्ने गरेको पाइन्न। यस विषयमा कसरि एक ठाउंमा आउने भनेर सल्लाह र संवादको खांचो छ, विभेदमा परेका समुदायहरु माझ। एक जुट भएर संघर्ष गरे हामी सबैको आन्दोलन बलियो हुन्छ भनेर भनीरहनु पर्दैन मैले।

दोस्रो कुरा: ‘धर्म’ खासमा भन्ने हो भने हिन्दु, बौध्द, इसाइ वा इस्लाम भन्ने हुदैन। यी त सम्प्रदायहरु हुन त्यसैले हिन्दु सम्प्रदाय, बौध्द सम्प्रदाय, इसाइ सम्प्रदाय वा इस्लाम सम्प्रदाय भन्दा उचित हुन्छ। धर्मको परिभाषा हेर्दा, धारयति- इति धर्म:! जो धारण गरिएको छ: धर्म, अर्थात (मानिसका लागि) चित्तले जे धारण गरेको छ त्यो नै धर्म, चित्तले राम्रो कुरा धारण गरेको छ: धर्म र त्यस्तो व्यक्ति धार्मिक; र चित्तले नाराम्रो कुरा धारण गरेको छ: अधर्म र तेस्तो ब्यक्ति अधार्मिक। धर्मलाई कुनै पनि ‘धातु’ वा बस्तु वा खण्डको (भित्रि) प्रकृतिको रुपमा पनि परिभाषित गरिएको छ जस्तै आगोको धर्म: जलाउने; हावाको धर्म: हलचल गराउने; हिंसकको धर्म: हिंसा गर्ने; त्यस्तै विभेदिकारीको धर्म: विभेद गर्ने हुन जान्छ। हामीले बुझ्नु पर्ने कुरा भनेको जस्ले विभेद गर्छ उस्को धर्म के हो त? ऊ हिन्दु सम्प्रदायको वा बौध्द सम्प्रदायको वा कृस्चियन सम्प्रदायको वा अन्य कुनै समुदायको होला, तर उसको धर्म भनेको विभेदकारी नै हो, जो अधर्म नै हो।

अब हामीले देख्नु पर्ने कुरा भनेको सवै हिन्दु सम्प्रदायका (वा बौध्द सम्प्रदायका वा कृस्चियन सम्प्रदायका वा अन्य कुनै सम्प्रदायका वा समुदायका) अधार्मिक (वा धार्मिक) हुन्छन् भन्ने छैन। हरेक व्यक्तिको धर्म (nature, चित्तले के धारण गरेको छ) फरक हुन सक्छ, हुन्छ नै। यसैले सबै हिन्दु सम्प्रदायका ( वा बौध्द सम्प्रदायका वा कृस्चियन सम्प्रदायका वा अन्य कुनै सम्प्रदायका वा समुदायका) मानिसहरुलाई ‘फलानो धर्मका’, ‘फलानो जातका’ वा फलानो लिङ्गका वा फलानि लैङ्गिकताका भनेर एउटै सोलो-डोलोमा राखेर, “छुवाछुत र भेदभाव गर्छन्”, भन्दा यी सबै सम्प्रदायका वा समुदायका धेरै मानिसहरु जस्ले भेदवाव र छुवाछुत गर्दैनन् र मान्दैनन् पनि, उनीहरुमाथि अन्याय हुन जान्छ। सथै उनीहरुको साथ पाउन गारो हुने र वाहांहरुलाई ‘छुवाछुत र भेदभाव’ को बिरोधमा बोल्न पनि हतोत्साह हुन सक्छ, ‘जे हरे पनि गालि नै खाने हो’ भन्ने लाग्न सक्छ वाहांहरुलाई।

आउनुहोस् छलफल गरौं:

१) विभेदमा परेका सबै समुदायहरु कसरि मिलेर संघर्ष गर्ने?

२) विभेदमा नपरेका तर ‘छुवाछुत र भेदभाव’ नगर्ने र नमान्ने (जुन सुकै सम्प्रदाय, जात, लिङ्ग, लैङ्गिकता, अंग-अबस्थाका ब्यक्ति भएपनि) समाजलाई कसरि साथ लिने?

३) जात-जातीको आधारमा हुने छुवाछुत र विभेदलाई अन्त गर्नका लागि, चलि आएको जात-जातीको आधारका पहिचानहरुलाई यथावत नै राखेर, छुवाछुत र विभेदलाई दण्डनिय बनाएर साथै समाजलाई सिक्षित बनाएर र समाज सुधारका विभिध कार्यक्रम (??) लागु गरेर यो समस्याको समाधान हुने हो कि? वा जात-जातीको आधारका पहिचानहरुलाई संपूर्णरुपमा हटाएर समस्याको समाधान हुने हो अर्थात ब्राम्हण वाट पूर्व- ब्राम्हण हुने, दलित वाट पूर्व-दलित हुने, क्षेत्रि वाट पूर्व-क्षेत्रि हुने, वैश्य वाट पूर्व-वैश्य हुने कुरा सम्भव छ की छैन? यदि छ भने पूर्व- ब्राम्हण, पूर्व-दलित, पूर्व-क्षेत्रि, पूर्व-वैश्य हुने एजेण्डा के-के हुन सक्छ?

धन्यवाद !

साभार : medium.com