तेस्रोलिंगीको आत्मकथा

काठमाडौं (पहिचान) फागुन १९ – मानिसका भोगाइहरु अनेक हुन्छन् । ती भोगाइहरु अभिब्यक्त गर्न सहज छैन । किनकी नेपाली समाजमा आफ्ना भावना र भोगाइहरु अभिब्यक्त गर्न ठूलो चुनौति मोल्नुपर्छ । सोचेजस्तो उदार छैन नेपाली समाज । फरक पहिचान बनाएका र समाजमा लुकेर रहेका पात्रहरु अर्थात फरक शारीरिक क्षमता भएका मानिसले आफ्नो फेहरिस्त सुनाउन सहज मान्दैनन् । जन्मिदा पुरुष तर पछि महिला बनेकी एक पात्रले ठूलो चुनौति मोलेकी छन् र पुस्तकका रुपमा सार्बजनिक गरेकी छन् ।

जन्मिँदा छोराकै रुप, जननेन्द्रिय पुरुषकै थियो अनि नाम राखियो–कैलाश । घर–समाजमा छोराकै व्यवहार गरियो किनकी तन–मन पुरुषकै थियो । त्यो पुरुषको जव उमेर बढ्दै जान्छ अनि स्वाभावमा परिवर्तन हुँदै जान्छ । गाजल, क्रिम, पाउडर लगाएर ऐंना अघिल्तिर गएर मुसुक्क हाँस्छ । भाँडाकुटी खेल्नमा खुब मजा लिन्छ । सर्ट–पाइन्ट होइन कुर्ता, म्याक्सी लगाउन बढो रुची लाग्छ । कपडा पनि राता, गुलावी र चहकिला मन पर्छन । अचम्म त के छ भने उसलाई पुरुष होइन महिला साथी बनाउन र रमाउन खुबै आनन्द आउँछ । भकुन्डो र गुच्छा खेल्न रुची पटक्कै जाँदैन तर गुडिया र भाँडाकुटीमा आनन्द लाग्छ । कपाल अलिक लामो होस अनि दुई चुल्ठी बाट्न मनपर्छ । केटा देख्दा संकोच लाग्ने तर केटी देख्दा अपनत्व महसुस हुँदै जान्छ ।

उमेरले १०–११ टेकेपछि व्यक्तिगत चेतनाले पुरुष होइन महिला भएको महसुश गराउँछ । छाती छोपेर नुहाउन मनपर्छ । कट्टु मात्र लगाएर नुहाउने केटाहरुको अघिल्तिर उ टावल बेरेर अनि पेटीकोटले तिघ्रा छोपेर नुहाउन थाल्छ । स्त्रीका जस्ता स्तन त थिएनन तर ब्रा लगाउन मनपर्छ । हर ब्यवहार र स्वभावमा बदलिंदै गएको एउटा केटो कालान्तरमा आफ्नो नाम बदलेर कैलाशबाट भूमिका बन्न पुग्छ । किशोर अवस्था पुगेपछि शरीर र स्वभावबीच तालमेल नमिलेपछि उ महिलाको नामले चर्चित बन्दै जान्छ ।

हो, उनै तेस्रोलिंगी भूमिका श्रेष्ठले सामान्य मानिस भन्दा फरक भोगाइहरु समेटर आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । जन्मिदा पुरुष अनि पछि महिला बनेका जर्ज जोर्गेन्सनलाई प्रेरणाको स्रोत मानेर ‘भूमिका’ (तेस्रोलिंगीको आत्मकथा) नाम दिइएको पुस्तक नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रतिनिधिका रुपमा सार्वजनिक भएको छ । संभवत नेपालमा तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका लागि यो आत्मकथा पहिलो बन्न पुगेको छ । एक शताब्दी अघि जन्मिदा पुरुष हुकँदै गएपछि महिलाको स्वभाव भएका र मिस क्रिस्टिन बनेर विश्व चर्चित बनेका जर्ज जोर्गेन्सनको वायोग्राफीलाई भूमिकाले प्रेरणाको केन्द्रविन्दु मानेकी छन् ।

जर्जले एक शताब्दी अघि नै लिंग परिवर्तन गरेको र आफ्नो खुशी पोख्ने क्रममा ‘म बच्चा जन्माउन सक्दिन तर धित मरुन्जेल प्राकृतिक सहवास गर्न सक्छु र केटा भएर केटासँगै सहवास गरेको आरोप लाग्न नसक्ने’ प्रसंगले आत्मकथामा आफ्नो भावना व्यक्त गर्न भूमिकालाई सहज भएको पाइन्छ । २४० पृष्ठको पुस्तकमा ३४ शिर्षकमा आत्मकथा समेटिएको छ । आत्मकथाको सुरुवातीमा ‘शिखण्डीको नियति’ शिर्षकमा हिन्दु धर्मशास्त्रको एक पौराणिक कथालाई उदाहरणका लागि प्रस्तुत गरिएको छ । शिखण्डीको उदाहरण र पतञ्जली ऋषिले स्त्रीलिंगी र पुलिंगबाहेक उभयलिंग, नपुसक लिंग र द्विलिंग गरी पाँच प्रकारका लैंगिक विश्लेषण गरी शारीरिक रुपमा एउटा र यौनिक रुपमा अर्को व्यवहार देखाउने व्यक्ति आदिकालदेखि नै थिए भन्ने प्रमाणलाई आधार मानिएको छ ।

‘कैलाश (कुमारी) का कष्ट’ शिर्षकमा भूमिकामा समाजमा ब्यहोरेको दुःख र कष्टहरुको फेहरस्ती लगाइएको छ । छिमेकी र आफन्त सबैले गिज्याउँदा आमाले भोगेको पीडा मात्र होइन परिवारले छोरा नै भएको देख्न चाहने असिम चाहनालाई पुरा गर्न नसक्नुलाई प्रकृतिको दोष देखाइएको छ । तनले कुमार–केटो मन, व्यवहार र आत्माले ‘कन्याकुमारी’ भएको कथा रमाइलो रुपमा प्रस्तुत गरिएको छ । आफ्नी दिदी सूर्यमाया महिनावारी हुँदा गोप्य र अध्याँरो कोठा अर्थात गुफामा राख्दा आफ्नो पनि दृढ चाहना गुफा बस्ने हुँदाहुँदै बस्न नपाएको, परिवारले क्रन्दन नसुनेको र संस्कारगत गुफा बस्न नपाएको पीडा ब्यक्त गरिएको छ । तर पनि स्त्रीको भेषमा गुफामा बसेर अनुभव बटुलेको साथै ब्रतबन्ध गर्दा कपाल खौरिंदा खिन्नता महसुश गरेको प्रसंग ‘गुफापछि ब्रतबन्ध’ शिर्षकमा रमाइलो प्रसंग जोडिएको छ । बुबाको निधनपछि दुःख, अभाव र घरायसी विचलन भोगेकी भूमिकाले नेवारी कथाकी पात्र इन्द्रायणी अजिमाले भोगेको दुखान्त आफूसँग मेल खाएपछि सामाजिक सजायको भागिदार बन्दै, अपमानबोद हुँदै आजको अवस्था अर्थात आफ्नो समुदायको नेतृत्व गरिरहेकोमा गर्व महशुस गरेकी छन् ।

बुबाको देहान्तपछि आर्थिक संकटका बाबजुत बोर्डिङ स्कुल छाडेर सरकारी स्कुल पढ्दा र बीचैमा पढाइ छाड्नुको दुःखतपूर्ण प्रसंग ‘यसरी छुट्यो पढाइ’ शिर्षकमा मार्मिक ढंगले प्रस्तुत छ । नील हिरा समाजको न्यानो आश्रय पाएर समुदायको अधिकार प्राप्तीका लागि लडिरहेको र नील हिरा समाजमै पुगेर आफूजस्ता थुप्रै ब्यक्तिहरु भेटेको कुरालाई भूमिकाले उत्साहपूर्ण रुपमा प्रस्तुत गरेकी छिन् । १६ बर्ष टेकेपछि वि.स. २०६२ सालमा स्त्री–पोसाक लगाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भए पनि जन्मदर्तामा लेखिएको ‘कैलाश श्रेष्ठ’ कोष्टमा लेखिएको ‘पुरुष’ शब्दले भूमिकालाई सबैभन्दा ठूलो मर्माहत बनाएको पाइन्छ । ‘मैले नपाएको नागरिकता’ शिर्षकमा कर्मचारीले गरेको असमान व्यवहारलाई क्रोध र मर्मस्पर्सी रुपमा प्रस्तुत गरिएको छ । कर्मचारीबाट ब्यक्त ‘आईमाइ ड्रेसमा फोटो खिचेर हुँदैन, केटा नै बन्नुपर्छ’ भन्ने वाक्य निकै ठूलो चोट ब्यवहोरेको उल्लेख छ । किनकी उनले नागरिकता बनाउँदा नेपालको कानुनमा महिला, पुरुष र अन्य भनेर नागरिकता वितरण गर्ने व्यवस्था भइसकेको थिएन क्यारे ।

‘लाइसेन्स हुँदा र नहुँदा’को प्रशंगमा भूमिकाले अनौठो अनुभव साटेकी छन् । सरकारी निकायमा बस्नेहरु मात्र होइन राजनीतिको उच्च नेतृत्वमा बस्नेहरुले पनि समाजमा तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी हुन्छन भन्ने हेक्का नभएकोबारे छेंड हानेकी छन् । स्कुटीमा हुइकिने भूमिकाले सवारी लाइसन्स निकाल्न र लाइसन्स नहुँदा भोगेको यथार्थलाई पनि रमाइलो पाराले समेटेकी छन् ।

सार्वजनिक रुपमा भूमिकाको असली परिचय स्थापित भएकोमा निकै प्रफुल्लित बनाएको पुस्तकमा उल्लेख छ । कैलाश नाम लोप भएर भूमिका बनेर सार्वजनिक रुपमा उदाउँदा अर्थात सार्वजनिक सभा–समारोह, घर–समाजमा भूमिका नाम स्थापित हुँदा उनमा आएको चमकपन लोभलाग्दो पाइन्छ । त्यतिमात्र होइन सर्बोच्च अदालतले अन्य लैंगिक पहिचान भएको नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफूले इच्छाएको नाम राख्न पाउने परमादेश जारी गरेपछि आफूले ठूलो संघर्षबाट मुक्ति पाएको ‘भूमिका श्रेष्ठ–असली पहिचान’मा यथार्थपरक ढंगबाट प्रस्तुत गरिएको छ ।

घरको आर्थिक समस्याले गुज्रिरहेका उनीजस्तै साथीहरु रात्रीकालिन ब्यवसायमा आबद्ध भएको तर आफूचाहीं नील हिरा समाजको साथीशिक्षा कार्यक्रममा आबद्ध भइ रात्रीकालिन जीवन विताइरहेका साथीहरुको भावना बुझ्न डिस्को, रेस्टुराँ, गजल र दोहोरीसाँझमा गएर भोगेको पीडा उनले ‘रात्रीकालिन जीवन र गिरफ्तारी’मा दुःखदपूर्ण रुपमा समेटेकी छन् । तेस्रोलिंगी समुदायका साथीहरुको भलाइका लागि खटिंदा १२ दिनसम्म थुनामा परेको र तेस्रोलिंगी भएर समाजमा विकृति फैलाएको भनी खेपेको आरोपलाई उनले आक्रोश र दुःख दुवै तरिकाले अभिब्यक्त गरेकी छन् ।

हुनत यसमा कानूनी जटिलता, बुझाइमा कमी र समुदायकै केही विकृतपूर्ण व्यवहारले पनि भूमिका खेलेको हुनुपर्छ । देह व्यापारमा लागेर रात्री जीवन विताइरहेका समुदायका व्यक्तिहरुको कथा मार्मिक रुपमा प्रस्तुत छ । समुदायका केही ब्यक्तिहरुको उश्रृंखलता र अब्यवहारिकपनालाई थोरै ढाकछोप गर्ने प्रयास पुस्तकले गरेको पाइन्छ ।

भारतको किन्नर संस्कृति अनि भारतका समलिंगी र तेस्रोलिंगीहरुले भोगिरहेको कथालाई सानो अंशका रुपमा पुस्तकमा जोडिएको छ । विश्वमा भइरहेको सामाजिक परिवर्तनले नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा पनि केही प्रभाव परिरहेको थियो । बिश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ मा समलिंगी वा तेस्रोलिंगी भएर जन्मनु अप्राकृतिक होइन भनेर घोषणा गर्नु र हर्षबढाइ स्वरुप नेपालमा २००७ मे १७ मा मिस पिंक प्रतियोगिता सुरु गरिएको क्षण र आफूले उपाधिको ताज पहिरेको सुखद् क्षणलाई भूमिकाले जीवनको ट्रनिङ पोइन्ट मानेकी छन् ।

छोरा भएर जन्मिएकी भूमिकाको घरमा बुहारी चाहिएको तथा परिवार र समाजबाट बुहारी भित्र्याउन दिएको दबाबबाट उनी निकै तनावपूर्ण अवस्था झेलेको कथा बेग्लै रुपमा प्रस्तुत छ । तर त्यो भन्दा पनि ‘ब्रेस्ट इन टेस्टिज आउट’को कथन रोचक छ । आफ्नो रुची अनुसारको लैंगिक पहिचान देखाउने इच्छा र हर्मोन सेवन गर्नुपर्ने बाध्यता झेल्नुपरको कथन आश्चर्यलाग्दो छ । किनकी भूमिका स्वयम पनि ‘स्ट्रोजन’ हर्मोन सेवन गरिरहेको उल्लेख गरेकी छन् । किनकी यो हर्मोनले र्दाही–जुँगा आउन रोकेको र छाला मुलायम बनाएको अनुभव साटेकी छन् । तर कतिपय अवस्थामा यस्तो हर्मोन सेवनले नकारात्मक असर परेको प्रष्ट खुलाइएको छैन् । भूमिकाले यो हर्मोन सेवनबाट स्तनको बृद्धि खासै नभएको उल्लेख गरेकी छन् । केटाको अंग छ भावना केटीको हुने र केटीको अंग छ भावना केटाको हुने भएकाले यस्ताखाले अंग बोझिलो लाग्ने भएकाले हर्मोन सेवन गरिएको जानकारीमुलक र रोचक प्रसंग उनले साटेकी छन् ।

थाइल्यान्डमा पुगेर ब्रेस्ट इम्प्लान्ट (स्तन जडान) यौनांग परिवर्तनको सुविधाभोग गर्न पुगेको क्षण साथै विश्वमा लिंग परिवर्तनका श्रृखंलाहरुलाई उदाहरणसहित प्रस्तुत गरिएकाले पुस्तकको मध्यभाग चाखलाग्दो बनेको छ । यता यौन अभ्यास कस्तो रहन्छ भन्ने कुरालाई ‘हाम्रो यौन–अभ्यास’का रुपमा प्रस्तुत गरिएको छ । जहाँ तेस्रोलिंगी तथा समलिंगीहरुले मुखमैथुन, गुदामैथुन, हस्तमैथुन गरेर यौन प्यास मेटाउने गरेको जानकारी दिइएको छ । भूमिकाले ‘समुदायका केही साथी’को कथा ब्यथा, बानी, व्यवहार, सामाजिक अवस्थालाई पनि उदाहरणका रुपमा पस्किएकी छन् । समलिंगी पुरुष अनुज पिटर, तेस्रोलिंगी पुरुष, एलिन भण्डारी, अन्तरलिंगी महिला कुसुम विष्टको कहानी निकै दुखद तर रोचक रुपमा प्रस्तुत छ ।

नेपालको संविधान र कानूनले फरक पहिचान भएका व्यक्तिहरुलाई केही राहत महशुस हुने गरी व्यवस्था लागू गरिदिएपछि भूमिकाले आफूहरुको सफलता ठानेकी छन् । लक्ष्य प्राप्तीका लागि गरिएको राजनीति, राजनीतिप्रतिको मोह पनि रमाइलो रुपमा भूमिकाले आफ्नो आत्मबृत्तान्त ब्यक्त गरेकी छन् । आफ्नो समुदायप्रति विभिन्न राजनीतिक दलहरुले राखेको पूर्वाग्रही विचार, भावना र व्यवहार साथै विश्वका कतिपय मूलुकहरुमा समलिंगी, तेस्रोलिंगी ब्यक्तिहरुले पाएको सफलतालाई उल्लेख गरिएको छ । विश्व चर्चित समलिंगी तेस्रोलिंगी व्यक्तिहरुको छोटो जीवनी साथै विश्व विख्यात सेलिब्रेटी लेडी गागाको प्रसंगले पनि पुस्तकमा सुगन्ध भरेको छ । अन्य जानकारी मुलक प्रसंगमा ‘भिन्न देश भिन्न व्यवहार’ शिर्षकमा केही रमाइला उदाहरणहरु र धर्मशास्त्रको धारणा प्रस्तुत छन् ।

भूमिकाले आत्मकथाको अन्त्यतिर समलिंगी, तेस्रोलिंगीहरुलाई बाबुआमा बन्ने रहर र अनुभवलाई पनि समेटेकी छन् । जसबाट नयाँ जानकारी लिन सकिन्छ । तर ति सबै कुराहरु आजको नेपाली समाजले कतिको स्वीकार्न सक्छ त्यो निकै सोचनिय विषय छ । भूमिकाले चलचित्र ‘हाइवे’, ‘कान्छी’मा निभाएको अभियनको अनुभव पनि पुस्तकको अन्त्यतिर साटेकी छन् ।

घोस्ट राइटिङ नेपालले सार्वजनिक गरेको पुस्तकमा भूमिकाको प्रेम जीवन पनि रोचक रुपमा प्रस्तुत छ । उनले प्रेमभावनामा लेनदेन, नाफा–घाटा, धनी–गरिबजस्ता पक्षको गुञ्जायसलाई स्थान दिएकोप्रति असन्तुष्ट ब्यक्त गरेको पाइन्छ । किनकी उनी धेरैजनासँग अफेयर्स चलेर अवाक बनेजस्तो र विरक्तिएको महशुस गरेजस्तो अभिव्यक्त दिएकी छन् । प्रेममा धेरै प्रताड्न भोगेपनि भावनामा बगेर बरालिन नसकेको उनको दरिलो आत्मविश्वास आजको सफलताका रुपमा चित्रण गर्न सकिन्छ । पदम श्रेष्ठ र कमल ढकालले सम्पादन गरेको आत्मकथामा साँच्चिनै अन्तरआत्मा र जीवन भोगाइको कथा थोरै र समाज, समुदाय र विश्वको अभ्यास, अवस्थाको ब्याख्या धेरै पाइन्छ ।

आफ्नी आमा नुमायाँ श्रेष्ठलाई भगवान मानेकी भूमिकाले आमाले भनेको एउटा प्रसंगलाई अन्तिममा जोडेकी छन–‘तेरो ज्यान जलाउने होइन, मन जलाउने मात्र छन’ त्यसैले उनी पशुपतिनाथमा पुगेर भावना बगेको, आँशु बगाएको र केही हिनतावोध भएको अवस्थालाई चित्रण गरिएको छ ।

मन्दिरमा दर्शनका लागि उभिएका, आर्यघाटमा जलिरहेको लाश र रोहिरहेका व्यक्तिहरुलाई हेरेर उनले आफैंलाई प्रश्न गरेकी छन–आमा म भन्दा अघि नै मर्छिन अनी मेरो को हुन्छ आफ्नो, को हुन्छ आर्यघाटमा ल्याएर जलाउने, मलाइ सम्झेर रुने ? सायद उनलाई यसबेला एक्लोपना महशुस भएको छ । ‘मान्छेहरु सृष्टिको निरन्तरताका लागि बंशबृक्ष फैलाउँछन् तर हाम्रो हकमा भने त्यो बृक्ष हामीसँगै मर्छ ।’ यही बाक्यांशले उनलाई केही बोझ महशुस गराए पनि हिम्मत हार्न नसकेको र साहस बटुलेर संघर्ष गरिरहेको प्रसंग जोडेर आफूजस्ता सयौं प्रतिनिधी पात्रहरुलाई सन्देश प्रवाह गरेको भूमिकाभित्रको सन्देश बुझ्न सकिन्छ ।
साभार : इमेज खबर