मलाई श्रीमतीसँग सुत्ने चाहनै छैन….

काठमाडौं (पहिचान) फागुन २२ – २०३२ सालमा भोजपुर जिल्लाको ग्रामिण गाउंमा ब्राम्हण कुलमा पुरुषको रुपमा मेरो जन्म भएको हो । मैले जान्दा देखिनै म भिन्न खाल्को थिए । बाल्यकालमा पनि आमाको किरिम, पाउडर चोरि चोरि लाउने गर्थे ।

आमाले गर्ने कामहरु गर्न मन पथ्र्यो । उमेर बढ्दै जादाँ आमा भाउजू संगै ढिकि जाँतो गर्ने दुना टपरी गास्ने खाना बनाउने, भाडा माझ्ने काम गर्थे । यस्ता कामहरु गर्न असाध्यै मन पथ्र्यो । भाउजुसँग सारी लाउन सिकाइ माग्थे । भाउजुको कपडा लाएर फोटो खिचेको थिए । बाबाले देखेर खुब कुट्नु भयो । यो मेरो जीवनको अविष्मरणिय क्षण हो ।

जिन्दगिमा मेरो कहिले केटा साथी भएनन, गोमा परियार (नाम परिवर्तन) मेरो अति नै मिल्ने साथी थिइन । स्कुल जादाहोस वा गोठालो मेलापात उनी र अरु पनि केटी साथी हामी सँगै हुन्थेम, संगै खेल्थ्यौ, संगै खान्थ्यौ । हाम्रो समाजले यस्ता कुरा पचाएन ।

म ब्राम्हण कुलको खानदानी बाउको छोरो । केटाको त केटै साथी हुनुपर्छ भन्ने मान्यता राख्ने गाउँमा मेरो कुरा काट्नेहरु बढ्दै गएका थिए । केटी साथी बनाउनु किरिम पाउडर र राता लुगा लाउनु, कपाल पाल्नु, घर भित्रको काम गर्नु मेरो सोख नै थियो ।

यिनै म भित्रका चाहनाको बिरुद्धमा घर, परिवार र समाजले आवाज उठाउन थालिसकेको थियो । स्कुल गै सक्नु थिएन । गाउघरमा पनि नपुङसक भन्ने गर्थे । बुबाले दिनै जसो केटीको संगत छुटा, किन टीका लाको ? भनेर पिटिरहनु हुन्थ्यो ।

मलाइ सुधार्ने बाहानामा विवाह गर्ने कुरा भयो । म १६ बर्षकै उमेरमा घर छोडेर हिड्न बाध्य भए । साथमा केही थिएन । कसो कसो दार्जलिङ पुगे । त्यहाँ कामको सिलसिलमा सुरेन्द्र सुन्दास (नाम परिवर्तन) सँग भेट भयो । उहाँ पनि म जस्तै हुनुहुदो रहेछ ।

उहाले आफ्नो नाम टार्जन राख्नु भएको रहेछ । मेरो जेसिका राखिदिनु भयो । म रातिको समयमा केटीको र दिनको समयमा केटाको कपडा लाउथे । म श्रीमती र उहाँ श्रीमान भएर २ बर्ष जति संगै बसेका थियौ ।

हामीलाई पुलिसले पक्रेर १७ दिन थुनेर मलाई नेपाल पठायो । उहाँ काहाँ हुनुहुन्छ थाहा छैन । नेपाल आएपछि त्यो ठाउँमा जान मन लागेन । कसो कसो पिउनमा जब पाए । आमालाई फोक्सोको क्यान्सर भएको थाहा पाएर घर गए । १२ बर्ष पछि, त्यति बेला म खरिदार भैसकेको थिए ।
आमा अतिनै रुनु भयो । म जिउदै हुँदा विवाह गर बुहारीको मुख हेरेर मर्छु भनेर कचकच धेरै गर्नु भयो । आमाको खुशीका लागि विवाह गर्न बध्य भए । विवाह भयो तर कहिलेसंगै सुत्न मन लाग्दैन सुतेको पनि छैन ।

अहिले त मेरो पेन्सन भइसकेको छ । जिन्दगीमा कुनै अभाब पनि छैन । तर पनि मन खुशी हुदैन । बाघलाई बाघकै बथान स्याललाई स्यालकै बथान भने जस्तो आफु जस्तै बिचारका साथी बनाउने इच्छा छ । जिन्दगीमा मेरो दुर्भाग्य भनेकै समाजमा खुल्न नसक्नु हो । तर पनि तपाई सबैको साथ सहयोगको सधै अपेक्षा गरेको छु ।

धन्यबाद ।

(जेसिकाले यो पहिचान अनलाइनको फेसबुक पेजमा पठाएको सन्देश हो । उनको यो सन्देश जस्ताको त्यस्तै प्रकाशित गरिएको छ । यो उनको बास्तविक तस्विर होइन । उनले नै आफ्नो तस्विरलाई एनिमेटेट गरेर पठाएका हुन । )