काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। कार्यतालिका अनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन्।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरूमा पठाउने कार्य जारी रहेको आयोगले जनाएको छ।
निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको र मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६७४३ वडामा निरन्तर सञ्चालन हुने आयोगले जनाएको छ।
आयोगका अनुसार आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जानकारी आयोगले दिएको छ।
आयोगका अनुसार कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको र अन्य प्रदेशहरूमा ढुवानी कार्य जारी छ। मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ।
मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेन्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा २०८२ पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो।
आयोगले अद्यावधिक विवरण अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैङ्क खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयहरूमा गराएका जनाएको छ। २५३९ जना उम्मेदवारले अझै बैङ्क खाता खोलेका छैनन्।
चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले बैङ्क खाता खोल्न उम्मेदवारहरूलाई ताकेता गरिरहेको आयोगकी उपसचिव/सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन।
आयोगको निर्देशानुसार ४१ राजनीतिक दलहरूले मात्र घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराएका छन्। फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको जनाएको छ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा ५२ वटाको जवाफ प्राप्त भएको छ।
जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
अनुगमन अधिकृतहरूले आचारसंहिता परिपालनाका लागि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने, आचारसंहिता उल्लङ्घनका घटनाको जानकारी लिने र स्पष्टीकरण लिने लगायतका काम प्रभावकारी रूपमा अघि बढाइरहेका आयोगले बताएको छ।
आयोगले हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई भनेको छ। ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको आयोगले जनाएको छ।
६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र १ वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको छ।
आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन ७ गतेसम्म भ्वाइस मेलसमेत गरी जम्मा ३०६४ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन्।
प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित १५०८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३११ मतदाता शिक्षा सम्बन्धित १२५ र अन्य ८०० रहेका छन्। कूल जिज्ञासामा ३२० भ्वाइस मेल रहेका आयोगकी उपसचिव एवं प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.