‘आ.. विवाह गर्ने हो बच्चा जन्माउने हो, जस्तो जन्म्योस जन्म्योस’

काठमाडौं (पहिचान) चैत्र २० – हेराल्ड इन्टरनेशनल कलेजका करिव एक सय विद्यार्थी समलिंगी तेस्रोलिंगीको अधिकारका लागि र काम गर्दै आएको संस्था नील हिरा समाजमा जम्मा भएका थिए । ‘सोसल वर्क’ विषयका ति विद्यार्थीहरु समाजमा महिला र पुरुष बाहेक ‘तेस्रोलिंग’ पनि हुन्छ भन्ने थाहा पाएपछि नील हिरा समाजमा आएका हुन् ।
को हुन् एलजीबीटीआई ?
नील हिरा समाज पुगेका विद्यार्थीको एउटै प्रश्न थियो ‘तेस्रोलिंगी हुँ भनेर मानिसले कसरी थाहा पाउँछ ?’ विद्यार्थीहरुको जिज्ञासा मेटाउने प्रयास गरेकी थिइन् तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले । स्नातक तह प्रथम र दोस्रो वर्षका ति विद्यार्थीलाई उनले जैविक लिंग (Sex) समाजिक लिंग अर्थात लिंगका आधारमा समाजले दिने भूमिका (Gender) यौनिक अभिमुखीकरण अर्थात व्यक्तिको मनोवैज्ञानिक यौन झुकाव र आकर्षण (Sexual Orientation) का विषयमा विद्यार्थीहरुको धारणा बुझ्दै त्यसका विषयमा जानकारी गराईन् । Bhumika
उनले तेस्रोलिंगी भित्र समलिंगी तेस्रोलिंगी द्विलिंगी र अन्तरलिंगी (LGBTI) गरी पाँच क्याटागोरी हुने भन्दै त्यसका विशेषताबारे पनि जानकारी दिएकी थिइन् । ‘प्राकृतिक रुपमा छोरीकै रुपमा जन्म भएर छोरीकै रुपमा हुर्कीएका तर पुरुष सँग आकर्षित नभएर महिलासँगै आकर्षित हुनेहरु लेसवियन हुन्’ भूमिकाले भनिन्, ‘प्राकृतिक रुपममा छोराकै रुपमा जन्म भएर छोराकै रुपमा हुर्कीएका र आफुलाई मर्दाङ्गी सम्झिएपनि आकर्षण भने पुरुष तर्फनै हुनेहरु पुरुष समलिंगी (Gay) हुन् ।’ उनले तेस्रो लिंगीका भने दुइवटा विशेषता हुने बताइन् ।
‘छोरीको यौनाङ्ग लिएर जन्मिएर हुर्कदै जाँदा छोराको जस्तो इच्छा र व्यवहार हुनेहरु ट्रान्स मेन हुन् भने जन्मदा पुरुष यौनाङ्ग लिएर जन्मिए पनि पछि छोरीका रुपमा विकास हुनेहरु ट्रान्स ओमन हुन्’ उनले भनिन्, ‘मलाइ हेर्नुस म नै हो ट्रान्स ओमनको उदाहरण ।’ उनले महिला वा पुरुष जो भए पनि महिला र पुरुष दुबैसँग वराबर आकर्षण हुनेहरु द्वीलिंगी भएको भन्दै त्यस्ता व्यक्तिहरु नखुल्ने र व्यवहारबाट थाहा हुने बताइन् । उनले जन्मदा पुरुष र महिलाको दुबै यौनाङ्ग लिएर जन्मने वा दुबै अस्पस्ट हुने वा पछि यौनाङ्ग वा यौन व्यवहार उचितरुपमा विकास नहुनेहरु अन्तरलिंगी भनेर चिनिने बताइन् ।
उनले विद्यार्थीहरुलाई बुझाउन चार प्रकारका समुहका मानिस ल्याएर उनीहरुका विशेषताबारे जानकारी गराईन् । ‘उहाँ जन्मदा महिला भएर जन्मनु भयो तर अहिले तपाइले देखिरहनुभएको छ उहाँ महिला जस्तो हुनुहुन्न र महिला हुन उहाँलाई मन पनि पदैन’ तेस्रोलिंगी भक्ति साहलाई देखाउदै भूमिकाले भनिन । उनले त्यसैगरी आफूलाई हेर्न आग्रह गर्दै पुरुष भएर जन्मिएकी आफूमा कुनै पुरुषको विशेषता छ भन्दै प्रश्न गरिन् । ‘हेर्नुहोस म जन्मदा बालक थिए कुनै समस्याहरु देखिदैन थियो’ उनले भनिन्, ‘तर म हुर्कदै जाँदा फुटबल खेल्न भन्दा पुतलीको विवाह खेल्न रुचाउने भएँ मलाई पुरुष जस्तो देखिने इच्छा नै कहिलै जागेन ।’Bhakti
उनले महिला समलिंगी अपेक्षा दाहाललाई देखाउँदै ‘उहाँ जन्मदा देखि अहिलेसम्म बालिका हुुँदै महिला भएपनि आकर्षण पनि महिलातर्फ नै छ’ भनिन् । उनले पुरुष भएर जन्मिएर पुरुषकै रुपमा हुर्कीए पनि पछि यौनिक झुकाव र आकर्षण पुरुषतर्फनै हुनेलाई पनि त्यहानै प्रस्तुत गरेकी थिइन् । ‘उहाँलाई हेर्नुहोस उहाँ जन्मदा देखि अहिलेसम्म पुरुष नै हुनुहुन्छ’ समलिंगी बिश्वराज अधिकारीलाई देखाउँदै उनले भनिन्, ‘तर उहाँको आकर्षण महिलातर्फ छैन पुरुष तर्फ नै छ ।’ इशान रेग्मीलाई देखाउँदै भुमिकाले भनिन्, उहाँलाई हेर्नुहोस त, दारी जुगाँ आएका छन् देख्दा पुरुष जस्तो आवाज महिलाको जस्तो तर उहाँ अन्तरलिंगी हुनुहुन्छ ।
विद्यार्थीका जिज्ञासा
विद्यार्थीहरुले उनले बुझाइ सकेपछि एलजीवीटीआईका समुहगत विशेषताका विषयमा जिज्ञासा राख्दै उनीहरुबाट सन्तान हुने नहुने विषय, उनीहरुका आकर्षण समाजमा हुने विभेद लगायतका विषयमा जिज्ञासा राखेका थिए । विद्यार्थीहरुको जिज्ञासाका विषय फरक फरक विशेषताका व्यक्तिहरुले नै समाधानको प्रयास गरेका थिए ।
बालिका जन्मिएर अहिले पुरुषको रुपमा चिनिने भक्ति साहले आफूलाई बैनी म्याडम, दिदी जस्तो संबोधन नै महसुस नगर्ने बताए । आफूलाई कस्तो सोच्नुहुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा उनले ‘म आफूलाई राजेश हमाल र सलमान खान जस्तो सोच्ने’ बताए । तत्कालै विद्यार्थीले अर्काे प्रश्न गरिहाले, ‘तपाई हरेक महिना मिन्स हुनुहुन्न ?’ भक्तिले भावुक हुँदै जवाफ फर्काए, ‘हरेक महिना एक दिन जव मिन्स हुन्छ अनि भगवानले पनि आफूलाई सजाय दिएको महसुस गर्छु ।’Heralda
पुरुष समलिंगी र महिला समलिंगीले आफ्नो पार्टनरलाई के भनेर सम्बोधन गर्छन् ? विद्यार्थीहरुले प्रश्न थपे । ‘विवाह पछि महिला समलिंगीहरु दुबैले एक अर्कालाई श्रीमती भन्छन् र पुरुष समलिंगीले एक अर्कालाई श्रीमान भन्छन्’ समलिंगी बिश्वराज अधिकारीले भने, ‘विवाह अघि पनि महिला महिलाले दुबैलाइ गर्लफ्रेन्ड र पुरुषले ब्वाईफ्रेन्ड भनेर संबोधन गर्छन् ।’
अन्तरलिंगीका विषयमा भने अन्तरलिंगी इशान रेग्मीले जानकारी दिएका थिए । ‘म जन्मदा छोरी थिए पछि हुर्कदै जाँदा छोराको रुपमा विकास भएपछि घरबाट उपचारका लागि भारत लैजानुभयो तर उपचार संभव भएन’ उनले भने, ‘म आफैलाई पनि अनौठो लागेको थियो, तर विडिएसमा आएपछि आफ्नोबारेमा बुझ्ने मौका पाए ।’ उनले अन्तरलिंगीहरुको अन्तराष्ट्रिय नेटवर्क नै बनिसकेकाले अन्तरलिंगीका विषयमा अध्ययन पनि धेरै भएको बताए । ‘अन्तरलिंगी सम्बन्धी एक अमेरीकी संस्थाको अध्ययन अनुसार १६ प्रकारका अन्तरलिंगीहरु हुन्छन्’ उनले भने, ‘म त्यसै क्याटागोरी मध्ये एउटा स्थानमा पर्छु ।’
समलिंगी बिश्वराज अधिकारीले अब तपाई विवाह पछि छोरा छोरी र हामीजस्तो तेस्रोलिंगी बच्चा जन्माउन चाहुनुहुन्छ भन्दा विद्यार्थीहरुले छोरा वा छोरी मात्र जन्माउन चाहेको बताए । ‘हामी समलिंगीहरुबाट बच्चा जन्मदैन तपाईहरु जस्तै विपरितलिंगी जोडीबाट जन्मिएका हौ’ विद्यार्थीहरुसँग उनले भने, ‘यदी हामी जस्तो बच्चा जन्माउन चाहनुहुन्न भने अविवाहित नै बस्नु राम्रो हुन्छ ।’ उनको जवाफ सुन्न नपाउँदै एक विद्यार्थीले भनिन्, ‘आ.. विवाह गर्ने हो बच्चा जन्माउने हो, जस्तो जन्मियोस जन्मियोस ।’