समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ

काठमाडौं (पहिचान) जेठ ६ – रामेछापको एक विद्यालयमा कक्षा ६ को स्वास्थ्य र शारीरिक शिक्षाको कक्षा चलिरहेको छ । किताबको ३६औं र ३७औं पेजमा दिइएको किशोरावस्थामा हुने सामाजिक परिवर्तन र यौनिकताका विषयमा शिक्षक मीरा केसी कक्षा लिइरहेकी छन् ।

पुस्तकमा लेखिएको ‘विपरीतलिंगी वा समलिंगीप्रति आकर्षण’ भन्ने बुँदा पढेर विद्यार्थीलाई सुनाउँदै केसीले सक्दो व्याख्या गरेर बुझाउने प्रयत्न गरिन् । कक्षामा पढाउँदा उनले ‘समलिंगी’ र ‘तेस्रोलिंगी’ शब्द धेरै पटक प्रयोग गरिन् । अन्तमा विद्यार्थीले बुझे÷नबुझेको सोधिन् तर कुनै विद्यार्थीले पनि बुझेको प्रतिक्रिया दिएनन् ।

कक्षा सकिएपछि समलिंगी र तेस्रोलिंगीका बारेमा पढाउँदाको अनुभव बताउन आग्रह गर्दा शिक्षक मीराले भनिन्, “यस्ता विषयमा हामी आफैंले राम्ररी बुझने मौका पाएका छैनौं, अनि विद्यार्थीलाई कसरी बुझाउनु ? निकै गाह्रो पर्छ ।”

विद्यालयको निमावि–मावि तहका अधिकांश विद्यार्थीले किशोरावस्थामा पुगेपछि कुनै पनि व्यक्ति सामान्यतया विपरीतलिंगी अर्थात् केटा भए केटीप्रति र केटी भए केटाप्रति आकर्षित हन्छन् भन्ने बुझेका हुन्छन् । तर, समलिंगी सम्बन्धका विषयमा उनीहरूले खासै बझेका हुँदैनन् र यसबारे कसैले  बताउदाँ पनि अनोठौ मान्छन् । किनभने, यस्ता विषयमा पर्याप्त जानकारी न किताबमा छ, न त शिक्षकले नै दिन सक्छन् ।

ललितपुरको पाटनस्थित प्रभात उच्च माविमा २० वर्ष स्वास्थ्य र शारीरिक शिक्षा पढाएर दुई महीनाअघि मात्रै अवकाश पाएकी शिक्षक नानीचुरी बज्राचार्य पनि यस्ता विषयमा आफू अनभिज्ञ रहेको बताउँछिन् । मीरा र नानीचुरीले देशभरका त्यस्ता अधिकांश शिक्षकहरूको प्रतिनिधि गर्छन् जसले समलिंगी र तेस्रोलिंगीबारे पढाउँदा पुस्तक वाचन गरेर विद्यार्थीलाई सुनाउन त सक्छन् तर अर्थ बुझाउन सक्दैनन् । लैंगिक रूपमा स्त्री र पुरुषलाई मात्र चिनेका प्रायः शिक्षकहरू ‘समलिंगी’ ‘द्विलिंगी’ र ‘तेस्रोलिंगी’ भन्ने शब्द सुन्दा पनि अनौठो मान्छन् । तर, विपरीतलिंगीप्रति आकर्षित हुने महिला र पुरुष बाहेक लैंगिक रूपले आफजस्तै अर्काे व्यक्तिप्रति यौनाकर्षित हुने समलिंगी तथा यी सबैभन्दा फरक तेस्रोलिंगी, द्विलिंगी र अन्तरलिंगी समुदाय पनि समाजमा चिनिनका लागि संघर्ष गरिरहेका छन् ।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरू

जहाँतहींको मानव समाजमा विपरीतलिंगीसँग यौन सम्बन्ध राख्न चाहने महिला र पुरुषको संख्या अत्यधिक हुन्छ । उनीहरूको ठूलो संख्याका बीच अल्प अर्थात् थोरै संख्याका त्यस्ता मानिस पनि हुन्छन् जो लैंगिक तथा यौनिक रूपमा बहुसंख्यक भन्दा फरक हुन्छन् । विभिन्न पाँच किसिमका त्यस्ता मानिसहरूको समूहलाई ‘लैंगिक तथा यौनिक अल्पसंख्यक’ भनेर सम्बोधन गर्ने गरिएको छ । अंग्रेजीमा ती प्रत्येकको पहिचान जनाउने शब्दको पहिलो अक्षर जम्मा गरेर संक्षिप्त रूपमा ‘एलजीबीटीआई’ (LGBTI) भन्ने चलन छ । यिनको परिचय यस्तो छ :

L अर्थात् Lesbian (महिला समलिंगी) : यी त्यस्ता अल्पसंख्यक हुन् जो लैंगिक रुपले महिला हुन् तर उनीहरूमा महिलालाई नै यौनसाथी बनाउने चाहना हुन्छ । यस्ता महिला यौनका लागि पुरुषप्रति कहिल्यै आकर्षित हुँदैनन् । नेपालमा समलिंगी महिलाको संख्या निकै ठूलो रहेको त्यस सम्बन्धी अध्ययन गर्नेहरूको दाबी छ । हाल बंगलादेशका समलिंगी तथा तेस्रोलिंगीबारे अध्ययन गरिरहेकी मकवानपुरकी अपेक्षा दाहाल (तस्वीरमा) तिनैमध्येकी एक हुन् ।

G अर्थात् Gay (पुरुष समलिंगी) : यो समूहमा पर्ने व्यक्तिको पहिचान पूर्ण रूपले पुरुष नै हुन्छ तर उनीहरूमा महिला यौनसाथी बनाउने चाहना कत्ति पनि हुँदैन । आफूजस्तै अर्को पुरुषसँग आकर्षित हुने यौन स्वभाव उनीहरूमा हुन्छ । नेपालमा समलिंगी र तेस्रोलिंगीको पहिचान सहित सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि खुलेर आवाज उठाउने पहिलो व्यक्ति सुनिलबाबु पन्त समलिंगी पुरुष हुन् । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी तत्कालीन नेकपा (संयुक्त) का तर्फबाट समानुपातिक सीटमा निर्वाचित सभासद समेत भएका थिए । पन्त आफ्नो यौनिक पहिचान खुलाउने एशियाकै पहिलो समलिंगी विधायक समेत भएका थिए ।

B अर्थात् Bisexual (द्विलिङ्गी) : कतिपय महिला र पुरुषहरू त्यस्ता हुन्छन् जो यौनका लागि समानलिङ्गी र विपरीतलिङ्गी दुवैप्रति आकर्षित हुन्छन् । शरीरका यौनग्रन्थीले निकाल्ने हर्मोनले नै उनीहरूलाई त्यस्तो बनाएको हुन्छ । यस समूहका यौनिक अल्पसंख्यकहरू कुनैबेला समलिङ्गी जस्तो र कुनैबेला विपरीतलिङ्गी जस्तो यौन व्यवहार देखाउँछन् । त्यसकारण नै उनीहरूलाई द्विलिङ्गी भनिएको हो । धेरैले उनीहरूमा महिला र पुरुष दुवैका यौनाङ्ग हुन्छन् भनेर बुझने गरेता पनि त्यो सत्य होइन । स्त्री र पुरुष दुवैसँग शारीरिक सम्बन्ध राख्ने स्वभावका महिला वा पुरुष जो पनि यसभित्र पर्दछन् । नेपालका एक तेक्वान्दो खेलाडी नवराज कार्कीले आफूलाई द्विलिङ्गीका रूपमा चिनाएका छन् ।

T अर्थात् Transgender (तेस्रोलिंगी) : बहुसंख्यक विपरीतलिङ्गी समुदायमा सबैभन्दा भ्रमपूर्ण बुझाइ रहेको लैंगिक तथा यौनिक अल्पसंख्यक समूह यही हो । तेस्रोलिंगीलाई अधिकांश मानिसहरू न महिला, न पुरुष अर्थात् नपुंसकलिङ्गी ठान्दछन् जुन बुझाइ पूर्ण रूपले गलत हो । यो समूहका व्यक्तिहरू महिला र पुरुषभन्दा फरक लिङ्गका भएर तिनलाई तेस्रोलिंगी भनिएको होइन । बरु महिला र पुरुष दुवै लिङ्गको संगम उनीहरूमा पाइन्छ । त्यो कसरी भने तेस्रोलिंगीहरूमध्ये एकथरी जैविक रूपमा महिला भइकन शारीरिक लवज, हाउभाउ तथा सामाजिक भूमिकामा पुरुष जस्ता देखिन्छन् भने अर्काथरीले चाहिं पुरुष जननेन्द्रिय लिएर जन्मेता पनि हाउभाउ, कटाक्ष, स्वभाव र व्यवहार सबै महिलाको जस्तो देखाउँछन् । अर्थात् जन्मँदा पुरुष शरीर भए पनि महिला जस्तो भई हुर्कन/बाँच्न चाहने र जन्मँदा महिला शरीर पाए पनि पुरुष बनेर जिउन चाहने जति सबै तेस्रोलिंगी हुन् ।

शारीरिक रूपमा महिला भए पनि आफ्नो रोजाइले पुरुष जस्तो भएकाहरूलाई तेस्रोलिंगी पुरुष र पुरुष शरीरमा जन्मेर महिलाको जीवन बाँच्न चाहनेहरूलाई तेस्रोलिंगी महिला भनिन्छ । लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको संस्था नील हीरा समाजकी वर्तमान अध्यक्ष पिंकी गुरुङ (तस्वीरमा) तेस्रोलिंगी महिला हुन् ।

जैविक रूपमा पुरुष यौनाङ्ग भए पनि लैंगिक भूमिका र पहिचानले उनी महिला हुन् । त्यसैगरी शरीरमा स्त्री यौनाङ्ग भए पनि भक्ति शाह सामाजिक रूपमा तेस्रोलिंगी पुरुष हुन् । उनी नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाको सदस्य समेत छन् ।

तेस्रोलिंगी व्यक्तिहरूको चालढाल र जीवनशैली सँगै यौन स्वभाव पनि जैविक शरीरको भन्दा विपरीत हुन्छ । यसको तात्पर्य हो, तेस्रोलिंगी पुरुषले महिला र तेस्रोलिंगी महिलाले पुरुषलाई यौनसाथीका रूपमा रोज्छन् । उनीहरूको यौनाङ्ग पनि आफ्नो यौनसाथीकै जस्तो हुन्छ । आधुनिक विज्ञानले पुरुषबाट महिला र महिलाबाट पुरुष बन्न चाहनेहरूलाई विशेष किसिमको शल्यक्रिया गरेर शारीरिक रूपमै लिङ्ग परिवर्तन गर्ने सुविधा दिन थालेको छ ।

त्यसरी लिङ्ग बदलेर पुरुषबाट महिला र महिलाबाट पुरुष भएकाहरू नेपालमा पनि एक दर्जनको हाराहारीमा छन् । हास्यकलाकार सन्तोष पन्तका छोरा प्रतीकबाट छोरी बनेकी केट्लिन पन्त त्यसको उदाहरण हुन् । पुलिङ्गीबाट स्त्रीलिङ्गी भएपछि उनले मन्त्रीस्तरीय निर्णयबाट स्त्रीलिङ्गी पहिचानमा नागरिकता समेत लिएकी छन् ।

यसरी लिङ्ग बदलेका व्यक्तिलाई ‘ट्रान्सजेन्डर’ (Transgender) होइन, ‘ट्रान्ससेक्सुअल’ (Transsexual) भन्ने गरिन्छ । यद्यपि नेपालीमा यी दुवैलाई बुझाउन ‘तेस्रोलिंगी’ शब्द नै प्रचलित छ । नेपालमा तेस्रोलिङ्गीलाई परम्परादेखि नै भूगोल अनुसार भिन्नाभिन्नै संज्ञा दिइएको पाइन्छ । पूर्वी नेपालमा उनीहरूलाई जनाउन मेटी शब्द प्रचलित छ । पश्चिम पहाडतिर सिंगारु भनिने तेस्रोलिंगीलाई तराईतिर मौगिया वा कोथी र हिमाली भेगमा फुलुमुलु भनिन्छ ।

महाभारतका प्रसिद्ध पात्र शिखण्डी जन्मँदा छोरी भए पनि पछि पुरुषको रूपमा आफूलाई प्रस्तुत गर्ने तेस्रोलिङ्गी हुन् । हिन्दू, बौद्ध र जैन धर्मग्रन्थहरूमा तेस्रोलिङ्गीलाई पाण्डक, किन्नरकिन्नरी, नपुंसक, नास्त्री, किंपुरुष आदि नामले उल्लेख गरेको पाइन्छ । वैदिक मान्यता अनुसार मानिसलाई तीन प्रकारले विभाजन गरिएको छ, पुंश प्रकृति, स्त्री प्रकृति र तृतीय प्रकृति । त्यसकारण पुरुष, महिला र तेस्रोलिङ्गी भनी अहिले प्रचलित लैंगिक पहिचानको आधार नयाँ होइन ।

I अर्थात् Intersex (अन्तरलिङ्गी) : एउटै शरीरमा स्त्री र पुरुष दुवैका यौनाङ्ग अथवा स्त्री र पुरुष नछुट्टिने गरी अस्पष्ट किसिमले बनेको यौनाङ्ग लिएर जन्मेका व्यक्तिहरू अन्तरलिङ्गी हुन् । ललितपुर इमाडोल निवासी कुसुम विष्ट यसको उदाहरण हुन् । हाल नील हिरा समाजमा कार्यरत विष्टको शारीरिक रूपमा स्त्री र पुरुष दुवैका यौनाङ्गसहित जन्म भएको थियो ।

कतिपय परिवारमा महिला र पुरुष दुवैको यौनाङ्ग सहित जन्मेका अन्तरलिङ्गी बच्चालाई बाबुआमाको रोजाइमा स्त्री या पुरुषमध्ये कुनै एक अंग राखेर अर्को अंग शल्यक्रियाबाट हटाउने प्रचलन पनि छ । तर त्यसो गर्नु शारीरिक स्वास्थ्यका लागि युक्तिसंगत र बच्चाले यौवनावस्थामा पुगेपछि पहिल्याउने आफ्नो यौन पहिचानका लागि न्यायोचित मानिंदैन । त्यस्ता बच्चामध्ये कतिपयको लैंगिक तथा यौनिक पहिचान महिला वा पुरुष के हो भन्ने कुरा बच्चा हुर्किएर यौवनावस्थामा पुगेपछि स्वयंलाई मात्र थाहा हुन्छ । अझ कतिपय अन्तरलिङ्गी बच्चाहरू त यस्ता पनि जन्मिन्छन् जसको लैंगिक पहिचान जीवनभर उनीहरू आफैंले समेत निक्र्योल गर्न सक्दैनन् । त्यसकारण लिङ्ग नछुट्टिने गरी जन्मिएका र महिला वा पुरुष दुवै हुनसक्ने सम्भावना लिएर जन्मिएका अन्तरलिङ्गी बच्चाहरूको चिकित्सा शल्यक्रियाबाट लिङ्ग निर्धारण गरिदिने हतार कसैले भुलेर पनि गर्नुहुँदैन ।

बाबुआमाको रोजाइमा अन्तरलिङ्गी बच्चालाई छोरा वा छोरीमध्ये एउटा पहिचान दिने गरी शल्यक्रिया गरेकै कारण जटिल शारीरिक समस्याहरू पनि देखिने गरेका छन् । लैंगिक रूपमा आफू के हो भन्ने कुरा स्वयं बच्चाले बुझन नपाउँदै अरूले गरेको निर्णयका आधारमा नामकरण र जन्मदर्तादेखि नै जीवनको जटिल यात्रा शुरू हुन थाल्छ । छोरी ठानेर शल्यक्रियाबाट लिङ्ग र नाम निर्धारण गरिएको बच्चा हुर्केपछि दाह्रीजुँगा आउन सक्छ भने छोरो भन्ठानेर त्यही अनुसारको यौनाङ्ग र नाम तय गरिएको बच्चामा पछि गएर स्तन बढ्ने, महीनावारी हुने जस्ता शारीरिक परिवर्तनहरू देखिन सक्छन् । फलस्वरुप स्पष्टसँग महिला वा पुरुषका रूपमा जन्मेका बच्चाले पनि हुर्केपछि आफू यौनिक तथा लैंगिक रूपमा अरूले देखेभन्दा विपरीतको रहेछु भनेर पत्ता लगाउन पुग्छन् । तसर्थ दुईथरी वा अस्पष्ट यौनाङ्गका साथ जन्मेका बच्चाको लिङ्ग निर्धारणका लागि हतारिनु धेरै कारणले हानिकारक हुन्छ ।

अन्तरलिङ्गी बच्चाहरू महिला या पुरुष के हुन् भनेर चिन्न शरीरका बाहिरी अंग हेर्नु मात्र पर्याप्त हुँदैन । उनीहरूको लिङ्ग निर्धारणमा त्योभन्दा ज्यादा जिम्मेवार र महत्वपूर्ण अरू दुई आधार हुन्छन् । भित्री प्रजनन अंगका साथै क्रोमोजोमको संरचना र यौवनावस्थामा पुगेपछि शरीरका विभिन्न ग्रन्थीले निष्काशन गर्ने महिला वा पुरुष हर्मोन समेतले मात्र अन्तरलिङ्गी अवस्थामा जन्मेको कुनै बच्चाको यौन जीवन र पहिचान यकिन गर्न सकिन्छ । कतिपय त अझ महिला वा पुरुष प्रष्टसँग छुट्टिने गरी एकथरी मात्र यौनाङ्गका साथ जन्मिएका व्यक्तिमा समेत उमेर पुगेपछि लैंगिक रूपमा विपरीत लक्षणहरू देखा पर्छन् । पुरुष अंग हुनेको डिम्ब उत्पादन तथा पाठेघरको विकास र महिला अंग हुनेको शुक्रकीट उत्पादन र अण्डकोषको विकास त्यसका केही उदाहरण हुन् । उनीहरूको भित्री प्रजनन अंग बाहिरी अंगको ठीक विपरीत भएका कारण यस्तो हुन्छ । त्यस्तै किसिमको शारीरिक जटिलता व्यहोर्दै पाँच वर्षअघि धुलिखेल अस्पताल आइपुगेका काभ्रेका एक जना अन्तरलिङ्गी अहिले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका छन् । यद्यपि यस्तो हुनु स्वास्थ्यको समस्या नभई जन्मजात प्रकृति हो ।

हिजडा को हुन् ?

पुरुषबाट महिला बन्ने एक किसिमको सांस्कृतिक प्रतिज्ञा स्वरुप लिंग काटेका व्यक्तिलाई हिजडा भनिन्छ । हिजडा वर्गमा सामेल समुदाय नेपालको तराई र भारतमा चार हजार वर्ष अघिदेखि नै रहँदै आएका छन् । हिजडाहरू पनि तेस्रोलिंगी नै हुन् तर सबै तेस्रोलिंगी हिजडा होइनन् । किनभने हिजडा धार्मिक विश्वास र सांस्कृतिक प्रतिज्ञाले जन्माएको समुदाय हो । पिंगला अर्थात् शिव शक्तिको आधा पुरुष तथा आधा महिला (अर्धनारीश्वर) को रूप लिएको ठान्ने हिजडाहरू आफूलाई पवित्र मान्दछन् । हिजडा हुन चाहने पुरुषले उनीहरूको समुदायमा सामेल भई महिलाको भेषमा उठबस गर्न‘पर्ने, उठेर पिसाब गर्न नहुने लगायतका विभिन्न नियम तथा अनुशासन पालनाकको पर्वूअभ्यास गर्नुपर्छ । तोकिएका नीति नियम तथा अनुशासनहरू कडा रूपले पालना गर्न सक्ने व्यक्ति मात्र लिंग काटी पूर्णरूपमा हिजडा हुन पाउँछन् ।

समलिंगीयता र समाज

यौनिक रूपले समलिंगी पहिचान बोकेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरूमा पनि विपरीतलिङ्गीमा जत्तिकै कामवासना हुन्छ । तर समान लिङ्गका यौनसाथीप्रति आकर्षित हुने स्वभावका कारण उनीहरू पुरुष भए पुरुषसँग र महिला भए महिलासँग नै विवाह गर्न चाहन्छन् । नेपालमा अहिलेसम्म समान लिङ्गका दुई व्यक्तिबीचको (समलिंगी) विवाहले कानूनी मान्यता भने पाइसकेको छैन ।

समलिंगी, द्विलिङ्गी वा तेस्रोलिंगी हुनु कुनै विकृति नभई व्यक्तिको स्वतन्त्र लैंगिक तथा यौनिक पहिचान भएकाले समाजले उनीहरूको सम्मान गर्नुपर्ने समाजशास्त्री डा. चैतन्य मिश्र बताउँछन् । उनी भन्छन्, “समलिंगी, द्विलिङ्गी, तेस्रोलिंगी वा अन्तरलिङ्गीबारे सुन्दा शुरूमा मलाई पनि अनौठो र अश्लील कुरा जस्तो लाग्थ्यो तर अहिले बुझेपछि त्यस्तो होइनरहेछ । यो त मानिसको प्राकृतिक विशेषता नै रहेछ ।” लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र आत्मसम्मानको माग गर्दै सरकार विरुद्ध परेको रिटमाथि २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले दिएको आदेश अनुसार समलिंगी विवाहबारे अध्ययन गरी प्रतिवेदन बुझाउन गठित समितिमा डा. मिश्र पनि एक सदस्य थिए ।

लैंगिकता र यौनिकता

पुरुष, महिला र तेस्रोलिंगी समुदायबाट समाजले राख्ने अपेक्षा अनुसारको छुट्टाछुट्टै सामाजिक भूमिका नै लैंगिकता (Gender) हो । अलग अलग लैंगिक पहिचान भएका व्यक्तिहरूले के कस्तो काम गर्ने भनी समाजले बनाएको मान्यताले व्यक्तिको लैंगिकता निर्धारण गरेको हुन्छ । तर यौनिकता नितान्त वैयक्तिक विषय हो । कुनै व्यक्तिमा विद्यमान कामवासना अथवा यौनक्रियाको अभिरुचिलाई नै ‘यौनिकता’ भनिन्छ जुन अंग्रेजी शब्द Sexuality  को नेपाली अनुवाद हो । अहिले संसारभर विविध खालका लैंगिक तथा यौनिक पहिचानको चर्चा हुने गरे पनि यसका मुख्यतया दुई हाँगा छन् । पहिलो, लैंगिकतामा आधारित पहिचान, जनु पूर्वीय दशर्न र सभ्यतामा आधारित छ र दोस्रो, यौनिकतामा आधारित पहिचान, जुन पश्चिमा दर्शन र सभ्यतामा आधारित छ ।

पूर्वीय दर्शन र सभ्यता अनुसार महिला, पुरुष र तेस्रोलिंगी वा तृतीय प्रकृति गरी तीन किसिमका लैंगिक पहिचान हुन्छन् । परापूर्वकालदेखि नै समाजले पुरुष र महिलालाई आपसमा विवाह गरेर गृहस्थ जीवन बिताउने भूमिका दियो । तर तेस्रोलिंगीहरूबाट समाजले त्यस्तो अपेक्षा राखेन । उनीहरूलाई शृङ्गार, नृत्य, कला, सजावट तथा चाडपर्व र मेला–उत्सवमा मनोरञ्जन दिलाउने, उच्च शिक्षा अध्ययन गर्ने र राजकाजमा सल्लाह दिने भूमिका दिइन्थ्यो । त्यस्ता तृतीय प्रकृतिका मानिसलाई पनि पूर्वीय सभ्यतामा निम्न पाँच प्रकारले विभाजन गरिएको छ :

१) नपुंसक (जो पुरुष होइन)

२) परुुष नपुंसक (पुरुषकै भेषमा बस्ने वा पुरुष जस्तै देखिने नपुंसक)

३) नास्त्री (जो महिला होइनन्)

४) स्त्री नास्त्री (महिलाकै भेषमा बस्ने वा महिला जस्तै देखिने नास्त्री)

५) उभयलिङ्गी (दुवैथरी यौनाङ्ग भएको वा कुनै पनि नभएको अन्तरलिङ्गी)

विभिन्न शास्त्र र ग्रन्थहरूमा तृतीय प्रकृतिका मानिसहरूलाई अथ्र्याउनका लागि मात्र ५० भन्दा बढी शब्दहरू प्रयोग भएको पाइन्छ । यसले त्यस्ता मानिसहरू पौराणिक कालदेखि नै समाजमा स्थापित थिए भन्ने प्रमाणित गर्छ । शब्द आफैंमा नराम्रो नभए तापनि लामो समयदेखि होच्याउन प्रयोग हुँदै आएकाले ‘नपुंसक’, ‘हिजडा’ जस्ता शब्दहरूलाई अपमानजनक मानिन्छ । महिला र पुरुषभन्दा फरक लैंगिक तथा यौनिक पहिचान भएका मानिसहरूलाई बुझाउन प्रयोग गरिने सबैभन्दा सम्मानजनक शब्दका रूपमा हिजोआज ‘तेस्रोलिंगी’ नै बढी प्रचलनमा छ ।

ऋषिमुनिले रचना गरेका पौराणिक दर्शन र शास्त्रहरूमा यौनिकताका आधारमा सामाजिक पहिचान नै स्थापित भएको भने पाइँदैन । तथापि महर्षि पतञ्जलीले स्त्रीलिङ्ग र पुलिङ्ग बाहेक पनि उभयलिङ्ग, नपुंसक लिङ्ग र द्विलिङ्ग गरी पाँच प्रकारका लैंगिक विविधताको व्याख्या गरेका छन् । पौराणिक कालका शिखण्डी, उमामहेश्वर, अर्धनारीश्वर, मोहनी जस्ता पात्रहरू नै त्यसबेलाका लैंगिक तथा यौनिक अल्पसंख्यकहरू थिए ।

पश्चिमा दर्शन र सभ्यताले लैंगिक रूपमा मानिस पुरुष र महिला गरी दुई थरी मात्र हुने मान्यता राखेको छ । पाश्चात्य दृष्टिकोण अनुसार स्त्रीलिङ्गीका रूपमा जन्मेर पनि महिला बन्न नसक्ने वा पुलिङ्गीका रूपमा जन्मेर पनि पुरुष बन्न नसक्ने व्यक्तिले आफ्नो लैंगिकता बदलेर महिलाबाट पुरुष वा पुरुषबाट महिला बन्नुपर्छ । यस मान्यताले लिङ्ग (Gender) परिवर्तन गरी तेस्रोलिंगी  (Transgender) बनेर भए पनि हरेक व्यक्ति महिला र पुरुष गरी दुईथरी लैंगिक संरचनाभित्रै बाँधिनुपर्ने अपेक्षा राख्छ ।

पश्चिमा देशहरूमा पनि बितेका दुई/तीन दशकयता लैङ्गिक पहिचानका विषयमा निकै बहस भएका छन् । फलस्वरुप ती देशहरूमा लैंगिक भूमिका बदलेका ‘ट्रान्सजेन्डर’ (Transgender) र शारीरिक रूपमा नै शल्यक्रियाबाट लिंग परिवर्तन गरेका ‘ट्रान्ससेक्सुअल’ (Transsexual)  तथा त्यसखालका व्यक्तिहरूलाई बुझाउन समुच्चमा प्रयोग गरिने ‘क्वीर’ (Queer) जस्ता शब्दहरूले स्वीकृति र सम्मान पाउन थालेका छन् । यौनिकताका विषयमा केही उदार देखिने पश्चिमा सभ्यतामा अहिले विश्वव्यापी मानवअधिकारका रूपमा यौनिकतामा आधारित लैंगिक पहिचान स्थापित हुँदै गएको छ ।

पहिचान र आत्मसम्मानका लागि संसारभर संघर्ष गरिरहेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई नेपालको संविधान २०७२ ले प्रतिष्ठापूर्वक सम्बोधन गरेको छ । संविधानको धारा १२ मा प्रत्येक नागरिकले लैंगिक पहिचान सहितको नागरिकता पाउने व्यवस्था गरिएको छ । संविधानको धारा १८ को समानताको हकमा लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै आधारमा विभेद गर्न‘हुँदैन भनिएको छ भने धारा ४२ को सामाजिक न्यायको हकमा यौनिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई समावेशी सिद्धान्त अनसुार राज्यका हरेक नीतिनिर्माण तहमा प्रतिनिधित्वको हक हुनेछ भनिएको छ । नेपालमा यो समुदायको पहिचानका लागि परेको रिटमा सर्वोच्च अदालतले २०६४ साल पुस ६ गते सरकारका नाममा दिएको निर्देशनात्मक आदेशलाई ऐतिहासिक मानिन्छ र छिमेकी देश भारत सहितका विभिन्न देशमा त्यो आदेशलाई नजिरका रूपमा समेत लिने गरिएको छ । भारतमा समलैंगिकतालाई अपराध मान्ने कानूनको दफा ३७७ खारेज गर्दा नेपालको सर्वोच्च अदालतको यही आदेशलाई उल्लेख गरिनु पछिल्लो उदाहरण हो ।

रोग होइन

कतिपयले समलिंगी र तेस्रोलिंगी हुनुलाई मानसिक रोगका रूपमा बुझदछन् । सन् १९९० अघि समलिंगी तेस्रोलिंगीपनलाई मानसिक रोगकै सूचीमा राखिएको थियो । तर, १९९० को मे १७ मा विश्व स्वास्थ्य संगठनले यसलाई कुनै मानसिक रोग नभई प्राकृतिक मानवीय स्वभाव हो भनेर घोषणा ग¥यो । त्यसपछि नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले हरेक वर्षको मे १७ लाई समलिंगी तथा तेस्रोलिंगीप्रति गरिने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएका छन् । विज्ञानले पनि समलिंगी र तेस्रोलिंगीपनलाई मानिसको स्वाभाविक प्राकृतिक विशेषता मानिसकेको छ । यस विपरीत महिला र पुरुषका बीच मात्र यौन आकर्षण हुनुपर्छ र यो नै प्राकृतिक नियम हो भनी समाजका कतिपय मानिसले राख्दै आएको परम्परागत मान्यता अब पुरातन सावित भएको छ । 

व्यक्तिको यौन व्यवहार हर्मोनको प्रभाव

कुनै व्यक्ति लैंगिक तथा यौनिक रूपमा पुरुष हो कि महिला हो बाहिरबाट हेर्दा चिनिंदैन । मैले बेल्जियममा एक जना यस्तो डाक्टर भेटें जो दुई बच्चाको बाबु भइसकेपछि महिलाको हर्मोन लिएर आमा बन्नुभएको रहेछ । पहिले उहाँको नाम पिटर थियो, पछि म उहाँसँग एउटा तालिम लिन जाँदा त त्यो नाम बदलेर पेड्रा भइसक्नुभएको रहेछ । यसबाट के बुझनुपर्छ भने जीवनको एउटा विन्दुमा पुगेर आफ्नो लैंगिक तथा यौनिक पहिचान त्यसरी शारीरिक रूपमा बदल्न समेत औषधिबाट सम्भव भइसक्यो ।

समलिंगी यौन सम्बन्धका विषयमा पनि संकुचित हुनु जरूरी छैन । पुरुषले पुरुषसँग र महिलाले महिलासँग शारीरिक सम्बन्ध राख्ने व्यक्तिको इच्छा उसको शरीरमा उत्पन्न हुने हर्मोनको प्रभाव हो । शरीरका अंग र समाजले राख्ने अपेक्षासँग यसको कुनै सम्बन्ध हुँदैन । कस्तो यौन जीवन बाँच्ने भन्ने कुरा व्यक्तिको निजी छनोटमा भर पर्छ ।

व्यक्तिमा यौनइच्छा कम भएर देखिने नपुंसकता चाहिं स्वास्थ्यसँग सम्बन्धित विषय हो । यस्ता समस्याको औषधिउपचार छ । तर तेस्रोलिंगी बन्नु नपुंसक हुनु होइन र यो उपचार गरेर बदल्न मिल्ने अवस्था पनि होइन । व्यक्तिका यौन ग्रन्थीले शरीरभित्रै पैदा गर्ने वा आफ्नै चाहनाले बाहिरबाट लिइने हर्मोनको प्रभावले यौनभूमिका निर्धारण गर्छ । यसलाई रोग वा अप्राकृतिक व्यवहारका रूपमा बुझनु गलत हो । 

– डा. उमा श्रीवास्तव, हर्मोन विशेषज्ञ

तथ्याङ्क छैन

नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको संख्याबारे यकिन तथ्याङ्क अहिलेसम्म छैन । राष्ट्रिय जनगणना २०६८ सम्म यो समुदायका व्यक्तिको गणना नगरी महिला र पुरुषको मात्र संख्या लिइएको थियो । अब २०७८ मा हुने राष्ट्रिय जनगणनाले यो समुदायका व्यक्तिको गणना गरे मात्रै आधिकारिक तथ्याङ्क आउनेछ । समलिंगी तथा तेस्रोलिंगीहरूमध्ये तेस्रोलिंगी समुदायलाई सहजै चिन्न सकिए पनि समलिंगी र द्विलिङ्गीलाई उनीहरू स्वयंले नचिनाएसम्म अरूले चिन्न सक्दैनन् । किनभने शारीरिक रूपमा आम महिला र पुरुष जस्तै देखिने उनीहरूको यौन व्यवहार मात्र फरक हुन्छ । 

  • यो लेख बैशाख अंकको शिक्षक मासिक पत्रिकामा प्रकाशित छ ।