भूमिका श्रेष्ठ : फलामलाई घनले हानेर बनेकी धारिली तरबार

काठमाडौं (पहिचान) असार १६ – भूमिका श्रेष्ठ। यो नाम मात्र होइन। युवापीढिका लागि प्रेरणाको श्रोत हो। उनी विश्वको प्रभावशाली व्यक्ती मध्ये एक हुन्। त्यो भन्दा अगाडी उनी तेस्रो लिङ्गी समुदायको नेतृत्व पनि गर्छिन्। सामन्यत: महिला र पुरूष भन्दा फरक आनिबानी भएकालाई तेस्रोलिङ्गी भनिन्छ।

उनीहरू जन्मिँदा महिला-पुरूषकै रुपमा हुन्छन्। तर उमेर बढ्दै गएपछि आनीबानीमा परिवर्तन हुँदै जान्छ। शारीरिक रूपले पुरुष भए पनि महिलासँग नजिकिन मन लाग्ने, पुरुष देख्दा लजाउने। पुरूषका कपडा लगाउन मन नलाग्‍ने। अर्कातिर महिला भएर जन्मिएकाको आनीबानी र रहर पुरूषको जस्तो हुनेलाई तेस्रोलिङ्गी भनिन्छ।

तेस्रोलिङ्गी रहरले भन्दा प्राकृतिक विशेषता हो। भूमिकाको पनि पुरूषकै रुपमा जन्म भयो। तर सोच, व्यवहार, विशेषता ठ्याक्कै उल्टो महिलाको। नेपालका तेस्रो लिङ्गी र अन्यमा पनि उनी सेलिब्रिटी नै हुन्। तेस्रोलिङ्गीको परिचय दिन उनलाई कुनै अफ्ठेरो लाग्दैन। सार्वजनिक कार्यक्रममा उनी आफूलाई सगर्व तेस्रोलिङ्गीको परिचय दिन्छिन्।

‘सायद म मात्रै अरू भन्दा फरक हुँला’, सुरूमा उनलाई लाग्थ्यो, ‘जब म नील हिरा समाजमा आबद्ध भएँ, तब म जस्तै अरु पनि रहेछन् भन्‍ने विश्‍वास पलायो र ढुक्क भएँ।’

हिजोका संघर्षका कथालाई ओझेलमा छाड्ने हो भने आजको दिनमा उनको उचाई चलचित्रका सेलिब्रिटी पात्रको भन्दा कम छैन। उनी देशसँगै विदेशमा पनि चर्चित छिन्। तर यो यात्रा कहाँ सहज थियो र उनका लागि । उनले कयौँ हण्डर भोगिन्, अपमान खेपिन्, हेला र छिछिको त वर्णन गरिसाध्य छैन। ‘अपमान, हेला छिछि त कति भोगियो भोगियो’, उनी विगतमा फर्किइन्, ‘फलामलाई यति धेरै घन ठोके कि त्यसले तरबारकै रूप लियो।’ उनको यहाँसम्मको यात्रा एक्लै सम्भव थिएन। परिवार र नीलहिरा समाजको कसिलो साथ र मायाले उनी यो उचाईमा पुगेकी हुन्।

सयौं प्रभावशालीमा व्यक्तीमा भूमिका  

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालकी उपाध्यक्ष भूमिका नील हिरा समाजमा पनि सक्रिय छिन्। उनले  यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान र अस्तित्व स्थापित गर्न खेलेको भूमिकाको मूल्याङ्कन गर्दै बेलायती संस्था एपोलिटकलले लैङ्गिक समानतासम्बन्धी शीर्ष सय व्यक्तिको सूचीमा राखेको छ।

जिन्दगी अनपेक्षित घटनाको जोडघटाउ हो। यस्तै जोडघटाउको श्रृंखला छिचोल्दै भूमिका प्रभावशाली भएकी हुन्। यो सूचीमा परेपछि अल्पसंख्यकको पक्षमा आवाज उठाउन थप बल मिलेको छ भूमिकालाई। ‘यो त सुरूवात मात्रै हो। जबसम्म तेस्रो लिङ्गीले सम्मानजनक जीवनयापन र अधिकार पाउँदैनन् तबसम्म लडिरहनेछु,’ उनी प्रण गर्छिन्, ‘कुनै व्यक्तिविरूद्धको लडाईं होइन यो,  समाजको नजर र सोच फेर्ने एउटा मौन अभियान हो यो।’

अनि आत्मकथा

परापूर्वकालदेखि नै समाजका अनेकौँ कथा लेखिँदै आएका छन्। नेपाली समाजमा पौराणिककालदेखि नै हार्नेका भन्दा धेरै जित्नेका कथा लेखिएका छन्। सामाजिक असन्तुलन, वर्ग संघर्ष, उत्पीडन, गरिब, दलित, सर्वहारा र सल्वार्टन आवाजलाई लेखकले कहीँ न कहीँ उधिनेका छन्। तर तेस्रोलिंगीबारे आजसम्म कसैले आवाज उठाएका छैनन्, मसीमा कलम चोबेका छैनन्।

केही लेखक छन् तर उनीहरु पनि संघर्षकै चरणमा। चलचित्र नबनेका होइनन् तर तेस्रोलिङ्गीलाई मनोरञ्जनको साधन मात्रै बनाइयो। लैङ्गिक अल्पसंख्यकबारे बनेका नेपाली फिल्म पनि औँलामा गन्‍न सकिने मात्रै छन्। तेस्रोलिङ्गीको वास्तविक धरातल के हो? उनीहरूको समस्याहरू के हुन्? यसबारे खोजी नै भएको छैन।

भूमिकाले यसैवर्ष आत्मकथा ल्याइन्।  ‘आत्मकथा लेख्‍ने उमेर भएको छैन होला’, उनी सुनाउँछिन्, ‘तर मैले र म जस्तैले भोगेको जिन्दगी बुझाउन र ब्याख्या गर्न बुढ्यौली लाग्नुपर्छ भन्‍ने होइन।’

जन्मँदा पुरुष भूमिका हुर्कँदै बढ्दै जाँदा महिलाको हाउभाउसहित परिपक्व भइन्। भूमिकाको आत्मकथा सबै तेस्रो लिङ्गीको कथा व्यथा समेट्ने पुस्तक हो। ‘भूमिका पढेपछि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ’, उनले बुझेको यही हो।

यो एउटा किताब मात्रै नभएर तेस्रो लिङ्गीको जीवनको पाना र एैना पनि हो। नेपालमा भूमिकाहरुले अहिले पनि अपहेलित र तल्लो दर्जाको व्यवहार खेप्नुपरेको छ। त्यही भएरै आफूले भोगेको जीवनको कथा लेख्‍नै पर्ने निचोड निकालिन्। अनि लेखिन् आत्मकथा ‘भूमिका’

कथा पासपोर्टको

भूमिकाको परिचय नेपालमा मात्रै सीमित छैन। उनी विदेशसम्म फैलिएकी छन्। नेपाली राहदानीमा लिङ्ग महिला र पुरुष उल्लेख हुन्छ। तर भूमिका लिङ्ग शीर्षकमा ‘अन्य’ उल्लेख गरेको राहदानी बोकेर विदेश निस्किने पहिलो व्यक्ति हुन्।

लिंगको महलमा ‘अन्य’ उल्लेख भएको नागरिकता र पासपोर्ट उनैसँग छ। भूमिकाले नाम भने फेरेकी छैनन्। उनको नागरिकता र पासपोर्टमा अहिले पनि कैलाश श्रेष्ठ नै लेखिएको छ अर्थात् पुरुष नाम। ‘समाजलाई आफू अनुकल बनाएन बाँच्‍न पाउने हरेक नागरिकको अधिकार हो’, उनको अनुहारको भावले पनि यही भन्छ, ‘तर नागरिकतामा नाम फेर्न पाउने अधिकार हुन सकेन किन हो कुन्‍नि !’

लैङ्गिक अल्पसंख्यकको अवस्था

नेपालमा लैङ्गिक अल्पसंख्यकको अधिकार र पहिचान बनाउन धेरै संस्था संघर्षरत छन्। यस क्षेत्रमा आबद्ध धेरैले गौरवकासाथ आफ्नो पहिचान खुलाउन थालेका छन्। संस्थामा कयौँ तेस्रो लिंगी आबद्ध भइरहेका छन्।

अहिलेसम्म सरकारी दस्तावेजमा महिला र पुरुष मात्रै उल्लेख छ। तेस्रोलिङ्गीका लागि यो अपमान हो। आफ्नो पहिचान खुलाउँदा सार्वजनिक स्थानमा उनीहरूले भोग्ने समस्या उस्तै छन्। ‘लैङ्गिक अल्पसंख्यकबारे अन्य दक्षिण एसियाली मुलुक भन्दा नेपालमा धेरै राम्रा काम भएका छन्’, भूमिकाले भनिन्,’तर संविधानमा हाम्रा हकअधिकार सुनिश्चित हुँदा आमजनतामा जागेका छैनन्।’

अनेकन चुनौतीका बावजुद यौनिक अल्पसंख्यक समुदायको पहिचान र अधिकार स्थापनाको दिशामा धेरै प्रगति भएको छ। यस समुदायको आन्दोलनले पहिचान र अधिकारको कानुनी हैसियत प्राप्त गरेको छ। पहिचानसहित खुलेर बहस गर्ने मैदान बनेको छ।

तेस्रोलिङ्गीप्रतिको नजर

बझ्ने, नबुझ्ने, बुझ्न नचाहने र बुझ पचाउने समाजमा चारथरी मानिस छन्। कुनै पनि व्यक्ति अपवादबाहेक लैङ्गिक अल्पसंख्यकलाई बुझ्न चाहँदैनन्। उनीहरूले तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोणमा फेर्न नसकेको भूमिकाको गुनासो छ। हर्मोनको कमी या बढीले हुने शरिरको बनावटलाई हेरेर पुर्वजन्मको पाप सोच्नु। नचाहिने आक्षेप सहेर बाँच्नु, लैङ्गिक अल्पसंख्यहरुको दैनिकी हो।

‘हाम्रो पनि पनि मन हुन्छ। रहर हुन्छ। जिन्दगीमा केही बन्‍ने लक्ष्य हुन्छ’, भूमिका भन्छिन्, ‘तर छिछि र दुरदुर गरिदिँदा हामीले प्रताडित हुनुपरेको छ।’ नेपालमा लैङ्गिक अल्पसंख्यक कति छन् त? यसको उत्तर न सरकारले दिन्छ न त तेस्रो लिङ्गी समुदायले। पहिचान खुलाउँदा सामाजिक हेला र भेदभाव भोग्नुपर्ने भएकाले  यौनिक अल्पसंख्यक समुदायकाहरु आफूलाई लुकाएरै राख्छन्।   सामाजिक तथा यौन जीवनलाई अझै घृणा, तिरष्कार र लाञ्छना लगाइँदा पीडा भोग्नुपरेको छ।

देहव्यापारमा लैङ्गिक अल्पसंख्यक

समाजमा देहव्यापार गर्नेको संख्या दिनदिनै बढ्दैछ। राजधानी सहरमा महिला र पुरूष यौनकर्मीको कमी छैन। तर महिला-पुरूष यौनकर्मी भन्दा धेरै बदनामी तेस्रोलिङ्गीले कमाएका छन्। देशका मुख्य सहरका केन्द्रमा यौन व्यवसायीका रुपमा तेस्रोलिङ्गीको प्रभाव बढ्दो छ। लैङ्गिक अल्पसंख्यकको हितमा काम गरिरहेकी भूमिका पनि यो कुरामा मान्छिन्। आखिर किन भइरहेको छ यस्तो? ‘शैक्षिक योग्यता छ। काम गर्ने क्षमता छ। तर काम दिन कोही तयार छैनन्’, उनी भन्छिन्, ‘केही विकल्प नभएपछि गरुन् के?’

पारिवारिक अपहेलना सहँदै, सामाजिक तिरस्कार भोग्दै हिँड्नुपरेपछि मानिस किन आत्महत्या गर्छ कि त विद्रोह। विद्रोह गर्न पनि कसै न कसैको साथ चाहिन्छ। यसैले लैङ्गिक अल्पसंख्यकहरू देह व्यापार गर्न विवश छन्। ‘हरेक रात आफ्नो शरीर एक दुई हजारमा बेचेर अपमानजनक जिन्दगी जिउँने रहर कसलाई हुन्छ र?’, उनी विवशता सुनाउँछनि्, ‘नियती नै यस्तो छ।’

साभार : थाहा खबर