समलिंगी जोडीको प्रश्न : विवाहको कानून कहिले बन्छ ?

झापा (पहिचान) असार २३ – झण्डै २ वर्ष देखिको सम्बन्धलाई झापा अर्जुनधाराका २० वर्षिय रुपक गिरी र काठमाडौमा बस्दै आएका १८ वर्षिय अनुभव दर्जीले विवाहमा परिणत गरेका छन् । अनुभवलाई आफ्नो घरमा भित्रयाएका रुपकका अनुसार सुरुमा परिवारले नमाने पनि सम्झाए पछि अहिले उनीहरु परिवारसँगै छन् ।

तर अनुभवको परिवारले भने अझै पनि समलिंगी विवाहलाई स्विकारेको छैन । डेढ वर्ष देखि एक अर्कालाई दम्पत्ती स्विकार गरि सँगै बस्दै आएका उनीहरु केहि समय अघि अनुभवको परिवार भेट्न काठमाडौं पुगे पनि स्विकार नगरेको बताउँछन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको वकालत काम गर्दैै आएको लिड नेपालको दमक स्थित कार्यालयमा उनीहरुले आफ्नो अनुभूती सुनाएका हुन ।
झापा चन्द्रगढीका कविर रहमान डेढ वर्षदेखि समलिंगी सम्बन्धमा छन् । उनीहरु दुवैजना एक अर्कामा समर्पित भएर जीवन बिताउन चाहन्छन् । विवाहको कुरा पनि भईरहन्छ तर गरिहाल्न सकेका छैनन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको पक्षमा काम गर्दै आएको लिड नेपाल नामक संस्थाको दमक स्थित कार्यालयमा उनले भने– ‘हामी दुवै परिवारलाई मनाउने प्रयासमा छौं, भयो भने ६ महिना भित्रमा विवाह गर्ने तयारी छ ।’ आफू लैंगिक रुपमा समलिंगी भए पनि परिवार र समाजले स्वीकार्न नचाहँदा अझै पनि सहज रुपमा जिउन नपाएको उनको गुनासो छ ।

अझै कठोर समाज

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको सवालमा अझै पनि उदार हुन नसकेको नेपाली समाजमा यस्ता भोगाई धेरैका छन् । झापा शिवसताक्षी–१ का एक १९ वर्षीय युवक २ वर्ष देखिको समलिंगी सम्बन्धलाई सार्वजनिक गर्न चाहन्छन् । तर हिम्मत अझै पुगेको छैन । परिवारले आफ्नो लैंगिक अवस्थालाई स्वीकार गरे पनि समाजले हेर्ने दृष्टिकोण अझै कठोर रहेको उनले बताए ।

अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु आफ्नो प्राकृतिक पहिचानलाई लुकाएर बाँच्न बाध्य भएको उनीहरुको पक्षमा काम गर्दै आएको संस्था लिड नेपाल झापाकी कार्यक्रम संयोजक नुमा लिम्बूको भनाई छ । ‘संसारका हरेक सिर्जनाको समान महत्व छ, हामी पनि यहि प्रकृतिका सिर्जना हौं तर हामीलाई अर्कै ग्रहबाट आएको बस्तु वा जन्तुको रुपमा व्यवहार गरिन्छ’ उनले भनिन्–‘हामी आफ्नो पहिचानमा गर्व गर्छौं खुलेर जिउन चाहन्छौं तर परिवार र समाज अझै हाम्रो अस्तित्व स्वीकार्न तयार भई सकेको छैन ।’

लिड नेपालका अध्यक्ष सुशील शर्मा कोही पनि आफ्नो रहरले तेस्रोलिंगी बन्न नचाहने बताउँछन् । जन्मँदा छोरा वा छोरीको रुप भए पनि उमेर बढ्दै जाँदा आफू कुन लिंगको हुँ भनेर हरेक व्यक्तिले थाहा पाउँछन्, तर त्यसबेलासम्म आफ्नै परिवार र समाजले आफूलाई हेर्ने दृष्टिकोण बदल्न गाह्रो रहेकाले धेरै व्यक्तिहरु पहिचान लुकाउन बाध्य भएको उनी बताउँछन् ।

झापामा मात्र करिव ५ हजारको संख्यामा यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको अनुमान लिड नेपालको छ । ति मध्ये ३ हजार ५ सय संस्थाको सम्पर्कमा छन् । अरु अझै पनि खुल्न नसकिरहेको कार्यक्रम संयोजक लिम्बूको भनाई छ । यस्तै एक सयभन्दा बढी जोडी समलिंगी सम्बन्धमा रहे पनि छिटफुटले मात्र खुल्ने हिम्मत गरेको उनले बताईन् ।

पहिचान खोज्दा अनागरिक

झापा गौरादह घर भएकी नतासा चक्रवर्तीलाई ६ वर्ष हुँदासम्म परिवारले छोरा भनेर हुर्कायो । त्यसपछि उनमा क्रमिक रुपमा आएका परिवर्तनले उनी आफंैले आफूलाई पुरुषको रुपमा स्वीकार गरिनन् । १२ वर्षको हुँदा उनले आफूलाई महिलाको रुपमा सार्वजनिक गराईन् ।
तर त्योसँगै परिवारसँगको साथ टुट्यो । छोरा भनेर हुर्काई रहेको सन्तानलाई परिवारले छोरीको रुपमा ग्रहण गर्न सकेन ।

उनको उमेर २८ वर्षको भयो । तर अझै नागरिकता लिएकी छैनन् । ‘बुवा हुन्जेल मैले छोराको रुपमा नागरिकता लिन चाहिन, खासमा छोरा होईन पनि तर केहि महिना अघि बुवाको निधन भयो, मैले बुवाको अन्तिम सास देख्न पनि पाईंन’ आफ्नो लैंगिक पहिचानका लागि परिवार भित्रै संघर्ष गरेकी उनले स्तव्ध हुँदै सुनाईन्–‘मेरो पहिचान नस्वीकारे पछि परिवार छोडेर म अन्यत्रै वस्न थालें, बुवाको निधनका बेला समेत मैले परम्परागत रुपमा अन्तिम संस्कार गर्न पाईन ।’

अझैसम्म पनि नागरिकता पाउन नसकेकी उनको परिवारसँग सम्बन्ध टाढै छ । लैंगिक पहिचानकै कारण परिवारबाट नागरिकताको प्रकृया अघि नबढेको उनको गुनासो छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी नुमा लिम्बूको तर्क छ–‘२०६४ सालमा सर्वोच्च अदालतले लैंगिक पहिचान सहितको नागरिक दिन र समलिंगी विवाहका बारेमा अध्ययन गरि प्रतिवेदन तयार पार्न सरकारलाई निर्देशनात्मक आदेश दियो, आदेश पछि समिति गठन भई सरकारलाई प्रतिवेदन पनि बुझायो । प्रतिवेदनले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष निकालेको छ तर किन कार्यान्वयन भई रहेको छैन ?’

नागरिकताकै सम्बन्धमा अर्को पनि समस्या छ । नागरिकता लिँदा जुन लैंगिक अवस्था थियो, जैविक कारणले धेरै बदलिएका छन् । पुरुषको नाममा नागिरकता लिएकाहरु महिला र महिलाको नाममा नागरिकता लिएकाहरु पुरुष बनेका छन् तर नागरिकतामा नाम पुरानै भएकाले हरेक सरकारी काम वा नागरिकता पेश गर्नु पर्ने ठाउँमा समस्या रहेको अध्यक्ष शर्माले बताए । उनले भने–‘कसैले छोरा मान्छेको नाममा नागरिकता लिएको थियो तर उ जैविक रुपमा बदलिएर छोरी भएको छ । नागरिकतामा चाँहि पुरुषको नाम हुने अनि झट्ट हेर्दा चाँहि महिला भए पछि समाज, व्यक्ति वा जुनसुकै कार्यालयमा विश्वास गरिन्न । यसले एका तर्फ झनै लान्छना र बिभेद बढाएको छ भने आवश्यक प्रकृया पनि अघि बढ्न नसक्ने अवस्था छ ।’

(गोपाल झापाली थाहा खबरका लागि झापाबाट रिपोटिङ गर्छन ।)