सुनिताको सिन्दुर पुछियो (भिडियो स्टोरी)

काठमाडौं (पहिचान) साउन १ – विछोडको पीडाले सुनिता लामालाई न रातमा निन्द्रा न दिनमा भोक सबै विर्साएको छ । एकछिन घर आउन ढिला हुँदा सोधीखोजी गर्ने जीवन साथीसँगको पीडाले सुनिताको जिन्दगीमा बज्रपात परेको छ ।

माया प्रेम गरेर आठ बर्षदेखिसँगै बस्दै आएको सुनिताका पार्टनरले अहिले अर्कैसँग विवाह गरेका छन् । नवलपरासीकी सुनिता र पर्साका एक युवकबीच झाङ्गिदै गएको माया परिवारले फाडिदियो । सुनिता तेस्रोलिंगी महिला हुन् । उनका जीवन साथीले परिवारको करकापमा परेर विवाह गरेको सुनिता बताउँछिन् ।

आठ बर्षदेखिको जीवन साथीले छोडेर गएपछि सुनितालाई अहिले एक्लै बस्छु भन्ने हिम्मत आएको छ ।’ विगत सम्झदै सुनिता भन्छिन्, महिला पुरुषको जस्तै माया प्रेम थियो, म अलिकति १०/१५ मिनेट लेट भए भने उ आफैं साइकल लिएर लिन आउँथ्यो मलाई ।’

उनका जीवन साथीले पराई पुरुषसँग कुराकानी गरेको मन पराउँदैने । महिला र पुरुषको भन्दा कम माया प्रेम थिएन । जीवनका योजना बनिरहेका थिए । उनले तिनै युवकको नाममा सिन्दुर लगाएकी थिइन । तर, उसले अर्की महिलासँग विवाह गरेको दिन सुनिताले सिन्दुर पुछिन ।

गएको असार ४ गते आफ्नै विवाहमा सुनितालाई उसले बोलायो । उनी अघिल्लो दिननै उसको विवाहका लागि विरगंज गइन । तर, उसकी आमाले तिमीलाई यहाँदेखेपछि विवाह हुँदैन भनेर फर्काइदिए । उसको घर सुनिता पहिलो पटक गएकी थिइनन् । उनी पटक पटक जीवन साथी कै रुपमा उसको घरमा गएकी थिइन । तर, परिवारको एक्लो छोरो बंश चलाउन भनेर केटीसँग विवाह गरेपछि सुनिताको त्यो घर जाने बाटो बन्द भएको छ ।

उसले सम्झेर फोन गर्ला भनेर अहिले मोबाइलको सीम परिवर्तन गरेकी छन् । उसलाई मेरो याद आयो भनेर मलाई भेट्न आउँला सुनिता भन्छिन्, हामी जस्ता व्यक्तिको विवाहले कानूनी मान्यता नपाउँदा धेरैले सिन्दुर पुछ्नु परेको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्र पर्ने सुनिता विवाहको कानून बनेको भए प्रेममा विछोड नहुने बताउँछिन् । उनी विवाहको कानून छिटो बनाउन सरकारसँग माग गर्छिन । ‘विवाहको कानुन चाहियो, छोडपत्र हुँदा महिला पुरुषले पाउने अधिकार हामीले पनि पाउनु पर्यो सुनिता भन्छिन्, श्रीमान वित्यो भने महिला पुरुषको जस्तै हक हामीले पानु पर्छ ।’

सुनिताको जीवन

सुनिता जन्मदाँ छोरा हुन् । उनी सानो उमेरदेखि नै केटी साथीहरुसँग खेल्थिन । भाँडाकुटी, पुतली जो छोरी मान्छेले खेल्थे उनी त्यसमै रमाउँथिन । जव सुनिता १६ १७ बर्षको भइन तब उनी काठमाडौं आइन । उनले काठमाडौं आएपछि आफु जस्ता साथी भेटिन । जो आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर चिनाइरहेका छन् ।

उनी महिलाले लगाउने सारी, चोलो लगाउन मन पराउछिन् । ‘देउसी भैलो खेल्ने बेलामा उनी सारी चोलो लगाउन पाउँदा फुरुङ हुन्थिन । अरुले लगाउनु भनेर लगाएको होइन सुनिता भन्छिन्, भित्रैदेखि महिलाको भावना (फिलिङ) आएर नै लगाएको हुँ ।’

सुनितालाई घरमा आमा, दाई सबैले माया गर्छन । पहिला घर छोडेर आफू जस्तै साथीहरु भेट्न हिडेकी सुनिताको अहिले घरमा आउँजाउँ बाक्लो छ । घरमा सबैले हप्ताको एक पटक आउनु है भन्छन् सुनितालाई । ‘दाईले भाई र भाईले दाई भन्ने गरेको सुनाउँदै सुनिता भन्छिन्, दाई र भाइका छोरा छोरीले भने फुपु भन्छन् ।’

ठूलोबुबा भन भन्दा मलाई हेर्छन र अनौठो मान्छन् । म पनि हाँस्छु । म को हो ? भन्दा उनीहरु फुपु भन्छन् सुनिता भन्छिन्, मैले सिकाएको होइन, बच्चाहरु आफैंले भन्छन् । सुनिताले सुरुवातदेखि नै कपाल पालेकी हुन् । उनी मेकअपका सामान व्यागमा बोकेर हिड्छिन् । सुनिता कतै नाँचगान हुँदा र सिनेमा हेर्न जादाँ लुकी लुकी मेकअप गर्थिन ।

सुनितालाई अहिले पहिलो जस्तो लुकी लुकी मेकअप गर्नुपर्ने अबस्था छैन । उनी अहिले यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकारको क्षेत्रमा वकालत गर्ने मानव सचेत समाज चितवनमा काम गर्छिन । अहिले उनी दिनरात केटीकै कपडा लगाउँछिन् । घरबेटी पनि राम्रै पाको छु सुनिता भन्छिन्, खुलेर जिउनु पर्छ, आफ्नो इच्छा अनुसार बाँच्नु पर्छ भन्छन् घरबेटीले ।

नागरिकतामा नाम परिवर्तन

सुनिताले पहिचान अनुसारको नागरिकता पाउन सकेकी छैनन् । चितवनमा एक जना तेस्रोलिंगीले पहिचान अनुसारको नागरिकता लिन पहल गरिरहेका छन् । तर, जिल्ला प्रशासन कार्यालयले डाक्टरको रिपोर्ट लिएर आउनु, प्रमाण लिएर आउनु अनि मात्रै नागरिकता दिन्छु भनेको सुनिताले सुनाइन ।

आफ्नो इच्छा अनुसार नागरिकता पाउनु पर्ने सुनिताको माग छ । ‘मेरो पुरुषको नागरिकता छ, मान्छेले ३ ४ बच्चाकी आमा जस्तो भन्छन् सुनिता भन्छिन्, लिंगको महलमा अन्य मात्रै नभएर महिलाकै नाम राख्ने इच्छा छ ।’  तर, उनको यो चाहना सरकारी निकायले बुझेको छैन ।