‘दृष्टिकोण राम्रो भए एक अर्काका भावना बुझ्न सक्छौ’

काठमाडौं (पहिचान) साउन २ – मैले भर्खरै त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातकोत्तर गरेको छु । यस क्रममा मैले मनोविज्ञानका धेरै कुराहरु सिक्ने अवसर पाएको छु । यसले गर्दा म अझ मानिसको भावनासँग नजिकिन सक्छु र चाहेको खण्डमा उनीहरुलाई राम्रोसँग काउन्सिलिङ गर्ने क्षमता पनि राख्दछु ।

मैले स्नातकोत्तरमा सोधपत्र समलिंगी र तेस्रोलिंगीको विषयमा गरे । यो गर्नको कारण पनि छ । मैले तीन वर्ष अगाडी “मायालाई बुझौं“ भन्ने अभियान चलाएको थिए । जुन यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको समाजमा स्वीकृती र सहनशिलताको बढावा गर्न काठमाडौंका विभिन्न स्थानमा गरिएको थियो । हामीले सडक र ग्यालेरीमा तस्विरहरु मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका भावनालाई प्रस्तुत गरेका थियौं ।

यस अभियानबाट मलाई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बुझ्न धेरै मद्दत मिल्यो र यही कारणले होला फेरी पनि मलाई उहाँहरुवारे अरु ज्ञान लिन र त्यो सबै माझ पुर्याउन मन लाग्यो ।

मेरो सोधपत्र मानसिक स्वास्थ्य, लैंगिक पहिचान र आत्मदृष्टान्तमा केन्द्रीत छ । यसले रोगको अनुपस्थिति, जीवनको सन्तुष्टी र आनन्दमा ध्यान केन्द्रित गर्दछ । लैंगिक पहिचान र आत्मदृष्टान्तलाई पुष्टी गर्दछ । एक व्यक्तिले कसरी आफुलाई हेर्दछ र महशुस गर्दछ भन्ने खुलाउँछ ।
आत्म अवधारण भनेको आत्म स्पष्टता हो अर्थात् कसरी एउटा व्यक्तिले आफुलाई मुल्याङकन गर्दछ र आफ्नो भावनाबारे बुझ्दछ । मेरो सोधपत्र यि तीन कुराको सम्बन्धमा रहेको छ र यो सम्बन्ध मार्फत चारवटा एकदमै महत्वपुर्ण कुराहरु पत्ता लागेको छ ।

पहिलो कुरा, जब समलिंगी महिलामा लैंगिक पहिचान र आत्मदृष्टान्त बढ्छ, तब उनीहरुको मानसिक स्वास्थ पनि बढ्छ । तर समलिंगी पुरुष र तेस्रोलिंगीहरुमा यो ठिक उल्टो भएको देखिन्छ । यसको कारण समलिंगी महिला अझ समाजमा आफु को हो भनेर खुलेर आउन गार्हो परेको पाइन्छ ।

आफु समलिंगी महिला (लेजवियन) भएको र अरु लेजवियनलाई छुट्ट्याउन नसकेको कारण उनीहरु आफु को हो भनेर अरुलाई भन्न गार्हो मान्छन् । एक त पुरुष प्रधान समाजमा नारी जाति, अनि परिवार र समाजको डर छ । उनीहरु आफ्नो भावनालाई दबाएर, लुकाएर राख्न वाध्य हुन्छन । समाजले के भन्ला ? परिवारले स्वीकार्ला कि नकार्ला ? आदि भयका कारणले उनीहरुलाई विभिन्न खालका स्वास्थ्य समस्याहरु देखा पर्छन् । यस कारण उनीहरुले आफ्नो जिन्दगी हाँसिखुसी बिताउन पाएका छैनन ।

समलिंगी पुरुष (गे) र तेस्रोलिंगी (ट्रान्सजेण्डर) हरुको कुरामा उनीहरुको हाउभाउको कारणले अरुले सजिलै ठम्याउन सक्छन् । त्यस कारण उनीहरुलाई म को हुँ भनेर लुकाउन पर्दैन । उनीहरु एक अर्कासँग आफनो अनुभव, सुख दुख आदान प्रदान गर्छन् । यसको कारण उनीहरुलाई जीवनमा हौसला र साथ मिलेको हुन्छ । त्यसैले होला उनीहरुको मानसिकता र स्वास्थ्यमा त्यति समस्या देखिएको छैन ।

दोस्रोमा, जब गेहरुमा आत्म अबधारण मध्य विन्दुसम्म बढ्छ, तब मानसिक स्वास्थ्य पनि बढ्छ । तर मध्य विन्दु पश्चात आत्म अवधारण बढ्दै जान्छ, मानसिक स्वास्थ्य भने घटदै जान्छ । यसको मतलब जब गेहरु आफ्नो परिवारसँग निर्भर रहन्छन, तबसम्म उनीहरुलाई वास्तविकता के हो भन्ने स्पस्ट हुँदैन र आफ्ना आकंक्षालाई व्यक्त गर्न सक्दैनन् । उनीहरुको आफ्नो परिवार प्रति डर हुन्छ ।

उनीहरु विद्यार्थी जीवनमा निकै सहनशिल हुनुपर्दछ । उनीहरु आफु बेग्लै भएको महसुस हुने हुँदा मानसिक तनाब र शारिरीक रोगहरु देखा पर्न थाल्छन् । जब उनीहरु आफ्नो जिन्दगीमा आर्थिक रुपमा स्वतन्त्र हुन्छन् तब यि समस्याहरु हराउन थाल्छन् । उनीहरु आफु को हो भनेर आफ्नो चाहना र पहिचानको खोजमा लाग्छन् । यसक्रममा उनीहरु आफु जस्तै अरुलाई भेट्टाउँछन, जसकारण उनीहरुको मनोबलमा बृद्धि हुन जान्छ । त्यसरी उनीहरु जिन्दगीको लक्ष र अर्थ भेटन थाल्छन् । उनीहरुको मानसिक तनाब र शारिरीक समस्या घटेको देखिन्छ ।

तेस्रोमा, जब समलिंगी महिलामा आत्म अवधारण बढ्छ, तब मानसिक स्वास्थ्य पनि बढ्छ । तर तेस्रोलिंगीहरुमा आत्म अवधारण बढेसँगै मानसिक स्वास्थ घटेको देखियो । यो किनभने समलिंगी महिलामा आफु के हो भन्ने ज्ञान नभएसम्म उनीहरुलाई मानसिक तनाब र स्वास्थमा समस्या देखिन सक्छ । उनीहरुको समस्या किसोर अवस्थाबाट सुरु हुन थाल्दछ । जब अरु किसोरी केटा मन पराएको कुरा गर्न थाल्दछन, तब आफु फरक भएको महसुस गर्न थाल्छन् ।

उनीहरु अरुले के भन्लान ? के सोच्लान ? भनेर डर र त्रासमा बाचेका हुन्छन् । उनीहरुमा यो समस्या पछिसम्म पनि रहिरहको देखिएको छ । जबसम्म एउटा नारीको विवाह हुदैन तब सम्म घरमै परिवारसँग बस्नु पर्ने हुन्छ । त्यसै कारण धेरै समलिंगी महिला आफ्नो वास्तबिकता लुकाएर र आफ्ना ईच्छा र भावनालाई दबाएर राख्न बाध्य भएको देखिएको छ । यसले उनीहरुमा विभिन्न समस्या समेत देखा पर्ने हुन्छ ।

तेस्रोलिंगीहरुको कुरा गर्दा, जब उनीहरु आफु को हो ? के हो ? भन्ने प्रष्ट थाह पाउँछन् र समाजले पनि उनीहरुलाई प्रष्ट चिन्न सक्छन । तापनि उनीहरुको जीवन संर्घषमय हुन्छ । उनीहरुलाई समाजले हेला र तिरस्कार नै गरेको पाईन्छ । त्यहि भएर होला धेरै तेस्रोलिंगीहरु घर छाडेर हिंड्छन् र आफु जस्तै अरुसँग बस्न रुचाउँछन् । यसले उनीहरुको मनोबलमा समेत राम्रो प्रभाव पार्दछ ।

आफन्तको साथ नपाए पनि आफु जस्तै अरुको साथ पाएर जीवन सहज हुन थाल्छ । उनीहरुले केहि मात्रामा भएपनि राम्रो जिन्दगी जिउने अवसर पाएको देखिन्छ ।

चौथोमा, सबैभन्दा धेरै लैंगिक पहिचान र आत्मदृष्टान्त तेस्रोलिंगीहरुमा देख्न पाईन्छ । किनभने धेरै तेस्रोलिंगीहरु आफ्नो शारिरीक बनोटका कारणले दुखि भएको देखिन्छ । यसको प्रत्यक्ष उदाहरण तेस्रोलिंगीहरुले बिभिन्न हर्मोन प्रयोग गर्ने गरेका छन । यसका कारण उनीहरुले धेरै दुख र पीडा खेप्ने गरेका छन् ।

मेरो सोधपत्रले यि चार महत्वपुर्ण कुराहरुलाई औंल्याएको छ र एलजीटीको वर्तमान अवस्था देखाउन मद्धत गरेको छ । मलाई लाग्छ हामीले एलजीटीलाई बुझ्न उनीहरु प्रति संबेदनशिल दृष्टिकोणले हेर्नुपर्दछ । किनकी यो संसारमा राम्रो दृष्टिकोण भएमात्र हामी एक अर्काका भावनालाई बुझ्न सक्छौं र साथसाथै एक भएर नयाँ संसार निर्माण गर्न सक्छौं ।

(यो स्रृष्टीले त्रिभुवन विश्वविद्यालयमा बुझाएको सोधपत्रको सारंश हो)