बेहुला बन्नै आँटेका मनोज बेहुली बनेपछि

कैलाली (पहिचान) साउन १३ – कैलालीको कैलारी गाउँपालिकाको दुदिया गाँउमा २०४६ सालमा दोस्रो छोराका रुपमा जन्मिए मनोज चौधरी, मनोजको जन्मसंगै दुई छोराकी आमा बनिन् पुनितादेवी चौधरी । दुई सन्तान ईश्वरका बरदान भनेझैँ घरमा छोरा जन्मेसँगै खुशियाली छायो ।
घर सुखशान्तीले चलिरहेको बेला मनोजका बुबाको मृत्यु भएपछि परिवारमा समस्या थपिदै गए । ‘म ९÷१० वर्षको थिएँ क्यारे, बुबाको मृत्यु भयो,’ उनले भने, ‘घरमा अलि समस्या थपियो, तर पनि जसोतसो घर धन्दा चलायौं ।’ मनोज सानैदेखि नै अन्य बालबालिका भन्दा आफु फरक स्वभाव भएको बताउँछन् । तर उनले आफ्नो समस्या न कसैसँग राखे न कसैले उनलाई बुझ्न सके । मनोजलाई जन्मदिने उनकी आमाले मात्र होइन सिंगो समुदायले नै उनलाई छोरो मान्छे भनेर चिन्थे ।

समयले पनि काँचुली फेर्दै गयो, कक्षा १० सम्म स्थानीय लक्ष्मी माद्यामिक विद्यालय पृथ्वीपुरमा अध्ययन गरेका उनले त्यसपछि धनगढी आउने सोच बनाए । उमेर बढ्दै जाँदा उनका विभिन्न शारिरीक अंगहरुको बनावटमा सोचे जति परिवर्तन आउन सकेन । यति सम्म कि उनले आफु तेस्रोलिंगी भएको महसुस समेत गरेका थिएनन् । त्यतिखेर आफ्नो दैनिकी केटा साथीहरुसँग वित्ने गरेको उनी बताउँछन् । उनी भन्छन, ‘म जता जाँदा नि केटा साथीहरुसँग नै जाने गर्दथेँ, म आफुलाई केटो नै सम्झन्थेँ, न मलाई तेस्रोलिंगी शब्द थाहँ थियो न कसैले यसको बारेमा मलाई भनेका थिए ।’

कक्षा १० पास गरिसकेपछि मनोज धनगढी पुगे । कुरा २०६४ साल तिरको हो । उनी धनगढीको त्रिनगर माद्यामिक विद्यालयमा भर्ना भए । कक्षा कोठामा मनोज केटासाथीहरुसंग नै रमाउँथे । ‘म आफ्ना केटा दौतरीहरुसँग नै आकर्षित हुन्थे, उनीहरु सँग यौनभाव उत्पन्न हुन्थ्यो । तर पनि मैले आफ्नो समस्या कसैसित पनि भनेको थिएन ।’ उनले सुनाए, त्यहि दौरानमा तेस्रोलिंगीको क्षेत्रमा काम गर्ने एक संस्थाले उनलाई यो बिषयमा जानकारी दियो । संस्थाले भनेका हरेक कुराहरु उनीसँग मिल्न पुगे । सो समयमा भने मनोज आफु तेस्रोलिंगी भएको कुरामा निश्चित भए । उनले सँगै हिड्ने साथीहरुसँगको घुलमिल पनि कम गर्न थाले । केटा साथीहरुलाई उनी विपरितलिंगी ठान्न थाले । मनोजले आफु तेस्रोलिंगी भएको थाहाँ पाइसकेपछि उनले आफ्नो नाम परिवर्तन गरे, मनोजबाट आशिका ।

उनी भन्छिन, ‘पहिले सँगै हिँड्ने केटा साथीहरु मेरो क्रियाकलाप देखेर छक्क पर्थे । किनकी मैले उनीहरुलाई केही भनेकी थिइन् । एकाएक एउटा केटासँग प्रेम सम्बन्ध बस्यो ।’ करिब तीन वर्षको सम्बन्धपछि तेस्रोलिंगी भएकै कारण प्रेम सम्बन्धमा पूर्णविराम लागेको उनी बताउँछिन् । यति सम्म पनि उनको घरको मान्छेलाई थाहा थिएनकी मनोज तेस्रोलिंगी हो । तर मनोज उर्फ आशिकाको कैलारी गाँउपालिका जाने–आउने क्रम भने जारी थियो ।

छोराको उमेर पुगेपछि घरको मान्छेले बिहेको प्रस्ताव राख्नु स्वभाविक हो । एकदिन मनोज धनगढीबाट घर गए । घरमा मनोजको आमा र उनका भिनाजुले मनोजका लागि केटी हेरेका रहेछन् । बिहेको कुरा पनि निश्चित भइसकेको रहेछ । बाँकी थियो त मनोजले केटी हेर्नु । मनोज (आशिका) भन्छिन, ‘घर गएको बेला भिनाजुले केटी हेर्न जाऔं भने, म अकमक्क परे, यो बिषयले मलाई हैरान बनायो, आमाले पनि विवाह गर्ने समय भएको भन्दै दवाव दिन थालेकी थिइन् ।’

अहिले म पल्लो गाउँको मेलामा जान्छु पछि केटी हेर्न जाउँला भन्दै त्यहाँबाट आफु भागेको उनी बताउँछिन् । त्यति खेर नजिकैको गाउँमा मेला लागेको थियो । उनी भन्छिन, ‘मोवाईल स्विचअफ गरेर मेला गएँ, त्यतैबाट धनगढी लागे, घरको मान्छेसँग केही दिन सम्पर्कमा बसिन, पछि घरको मान्छेले थाहा पाइसके छन, घरका मान्छेले सानैदेखि छोरा भनेर पालेको, एक्कासी तेस्रोलिंगी हुँ भन्ने आँट नआएको आशिका बताउँछिन् ।

आशिका भन्छिन, ‘घरको मान्छेले थाहा पाइसकेपछि बाहिर भन्न डर लागेन, पछि खुलेर आफु तेस्रोलिंगी भएको पहिचान दिन थालें ।’ म तेस्रोलिंगी भएपनि घरमा दाजुले अहिले सम्म भाई भनेर सम्बोधन गर्ने गरेको उनी बताउँछिन् । उनकी आमा पुनिता भन्छिन, ‘सानैदेखि छोरा भनेर पाले, छोरा भनेर नै बोलाए, अहिले छोरी भन्न मनले मान्दैन, यो सब दैवको खेल न हो ।’

आशिकाले भने अहिले एक जना केटासँग विवाह गरेकी छिन् । कैलालीको प्रमुख धार्मिक स्थल गोदावरी धाममा गएर उनले सिउँदोमा सिन्दुर सजाएकी हुन् । आफु तेस्रोलिंगी भएपनि परिवारबीचको सम्बन्ध राम्रो भएको उनी बताउँछिन् । उनी भन्छिन, जहाँ इच्छा त्यहाँ उपाय, तेस्रोलिंगी भएकै कारण म विवाह नगरी बस्न सकिन । विवाह गरेँ, हामी दुई श्रीमान–श्रीमतीबिच सम्बन्ध पनि राम्रै छ ।

स्रोत : दीनेश खबर