सडकमा उभिएकै कारण सजाय भोग्नु परेकोे गुनासो

राज्यले संरक्षण र आरक्षण नदिदाँ सडकमा उभिन बाध्य

काठमाडौं (पहिचान) साउन २८ – काठमाडौंका विभिन्न ठाउँबाट लुटपाटमा संलग्न भएको आरोपमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई प्रहरीले पक्रेको छ । स्थानीय बासिन्दा, व्यवसायी र घुमफिर गर्नेहरुले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

लुटपाटमा संलग्न भएको जनगुनासो बढेपछि रातको समयमा सडक पेटीमा बस्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई पक्राउ गरेको लैनचौरका प्रहरी नायव निरीक्षक राम बहादुर महतराले बताए ।

पछिल्लो पटक पक्राउ परेका ६ जना जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा ८ दिन हिरासतमा बसेर छुटेका छन् । प्रशासनले उनीहरुबाट जनही ५ हजार रुपैयाँ धरौटी लिएको छ । लुटपाटको आरोपमा पक्राउ परेकाहरुलाई प्रहरी माथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

‘लुटपाट गरेको पुष्टी भएन प्रहरी नायव निरीक्षक महतराले भने, सोधपुछ गर्दा अभद्र व्यवहार गरेको आरोपमा धरौटी बुझाएर उनीहरु आज रिहा भए ।’ उनले पछिल्लो समय लुटपाट गरिरहँदा रंगेहात पक्राउ पर्नेहरु भने नभएको बताए । ‘पहिले घाटीमा लगाएको सुनको सिक्री लुट्दा लुट्दै पक्राउ पर्थे उनले भने, अहिले त्यसरी रंगेहात पक्राउ परेका छैनन् ।’

पर्यटकिय क्षेत्र ठमेल चौविसै घण्टा खुल्ला हुनेगर्छ । सडकमा महिला, पुरुष, समलिंगी, तेस्रोलिंगी व्यक्तिहरुको चहल पहल भइरहन्छ । ‘तर, सवैको तारोमा हामी जस्ता तेस्रोलिंगी पर्छौ आज रिहा भएकी एक जना तेस्रोलिंगी महिलाले आँखाभरी आँशु पार्दै भनिन्, के कारणले हामीलाई पक्राउ गर्नुभएको भनेर सोध्दा अभद्र व्यवहारको आरोप लगाइयो ।’

पहिचान दिएको राज्यले संरक्षण र आरक्षण नदिदाँ सडकमा उभिन बाध्य भएको उनीहरुले गुनासो गरे । प्रहरीलाई यो गुनासो गर्दा अभद्र व्यवहारको आरोप लगाएर हिरासतमा राखिएको समलिंगी तेस्रोलिंगीले बताए ।

फरक लैंगिक पहिचानकै कारण घर, परिवारबाट निकालिनु परेको बताउँदै उनीहरुले प्रश्न गरे, ‘राज्य महिला र पुरुषको मात्रै हो ?’ उनीहरुले राज्यका हरेक निकायबाट फरक लैंगिक पहिचान भएका आफुहरुजस्ता व्यक्तिलाई अपराधीको जस्तो व्यवहार हुँदै आएको सुनाए ।

संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान सहितको अधिकार लेखिएपनि कानून बनेर कार्यान्वयनमा नआउँदा अनगिन्ती आरोपमा पक्राउ पर्नुपरेको उनीहरुको भनाई छ । पक्राउ परेकाहरु मध्ये धरौटी बुझाउन नसक्नेहरुलाई प्रहरीले जेल पठाउने गरेको छ । केहीदिन अघि पक्राउ परेका एक जना तेस्रोलिंगी ६ हजार धरौटी बुझाउन नसकेर जेल चलान भएका प्रहरी स्रोतले बताएको छ ।

महानगरिय प्रहरी वृत्त दरवारमार्गले पनि पछिल्लो समय सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेको आरोपमा ५ जनालाई पक्रेको जनाएको छ । दरवारमार्गका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले पछिल्लो समय सार्वजनिक ठाउँमा अभद्र गरेको व्यवहार गरेको आरोपमा ५ जना तेस्रोलिंगीलाई पक्राउ गरेर अनुशन्धान भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले सडकमा लुटपाट, यौनजन्य, अभद्र व्यवहार गर्नेहरुलाई पक्राउ पर्ने गरेको बताए । समलिंगी तेस्रोलिंगीलाई मात्रै लक्षित गरेर नभइ अमर्यादित व्यवहार गर्ने, लुटपाट गर्ने लगायतका क्रियाकलापमा संलग्न पक्राउ परेको जानकारी दिए ।

पक्राउ परेकालाई अनुशन्धान गरेर १० हजार रुपैयाँसम्म जरिवाना वा एक बर्षको सजाय दिने गरिएको आचार्यले बताए । धरौटी बुझाउन नसकेर जेल चलान भएको प्रश्नमा प्रमुख जिल्ला अधिकारी आचार्यले कोही कोहीलाई सानो रकम पनि ठूलो हुन सक्ने भएकाले त्यस्तो हुने बताए ।