‘आमाले छोरी भनेर बोलाउँदा दंग पर्थेँ’

काठमाडौं (पहिचान) भदौ २ – काठमाडौं हाडीगाउँका अर्मोन्तशमसेर राणा जन्मँदा केटा थिए। उनको हाउभाउ, बोली, लवाइ-खुवाइ केटाकै थियो। आफूलाई कुनै कोणबाट केटी जस्तो देख्थेनन् उनी।

एक दिन उनलाई कसैले सोच्न बाध्य तुल्याइदियो– तँ केटी होस् कि क्या हो? तेरो आँखा र ओठ केटीको जस्तो छ। आवाज त भन्नै पर्दैन। दुरुस्तै केटीको जस्तो।

दस वर्षका हुँदा हुन्, सुरूमा त उनलाई पत्यार लागेन। आफ्ना शरीरका अङ्ग नियाले। इन्द्रीय जाँचे। उनलाई कतैबाट पनि आफू केटीजस्तो लागेन।

तै पनि कसैले जिस्काउन छाडेन। साथीभाइले व्यवहार परिवर्तन गरेनन्। एकदिन कक्षाकोठामा शान्त बसिरहेका थिए। साथीहरूले एक्कासि आएर उही कुरा दोहोर्याए। अपशब्द बोले। उनलाई हाँसी-मजाकको पात्र बनाए।

आर्मोन्तलाई झनक्क रिस उठ्यो। जुरुक्क उठेर कोठाबाट बाहिरिए। साथीहरूले झन् ठूल्ठूलो श्वरमा गिज्याए– ऊ हेरन, हिँड्दा पनि केटी जस्तै कम्मर हल्लाउँदै हिँड्छ यो अर्मोन्त त!

सानैबाट कम्मर मर्काइ-मर्काइ नाच्ने खुबीले पनि अर्मोन्तलाई ‘केटी’ झल्काउन टेवा पुर्याएको थियो। कसैसँग ठूलो स्वर नगर्ने, लजालू स्वभावले झन् बढावा दिन्थ्यो।

त्यो दिन उनलाई अलि धेरै नै दुःख लाग्यो। सरासर घर आएर ऐना अगाडि उभिए। आफूलाई एकसरो नियाले। एक-दुई पटक ऐनामा हेर्दै हिँडे पनि।

अहँ ! आफ्नो हिँडाइ र चालढालमा केटीपना देखेनन्।

उनको मनले प्रश्न गर्याे, ‘साथीहरूकै आँखाले मात्र किन खराब देख्छन्? ‘छक्का’ भनेको के हो? मैले कस्लाई छक्काएँ र?’

जति घोत्लिए पनि उपयुक्त जवाफ पाउनै सकेनन्। अनुत्तरित रह्यो मन।

साथीभाइले भनेर होइन। आफ्नो शारीरिक चालढाल देखेर पनि होइन, केही समयपछि उनी आफैंलाई आफ्नो स्वभाव अनौठो लाग्न थाल्यो। किशोरकाल भइसकेको थियो। विपरित लिंगीप्रति आकर्षण हुनुपर्ने ठाउँमा उनलाई पुरुष साथीहरू नै मनपर्न थाल्यो।

 
आर्मोन्तशमशेर राणा र उनकी आमा मंगलीमाया। तस्बिरः निशा भण्डारी/सेतोपाटी

‘केटामान्छे नजिक आउँदा अनुहार रातो हुथ्यो, डर लाग्थ्यो, ढुकढुकी दुई गुणा बढ्थ्यो,’ उनी ती दिन सम्झँदै सुनाउँछन् ‘मलाई त केटा नै मनपर्न थालेको रहेछ। मलाई मात्रै यो के भएको होला भनेर खुबै डर लाग्यो।’

त्यति बेला उनी १३ वर्षका मात्रै थिए। साथीहरूको भनाइ र आफूबीचका विरोधाभाष लामै समय जारी रह्यो। कसैलाई खुलेर भन्न सक्थेनन्। भन्न मन मिल्ने साथी पनि थिएनन्। केटीसाथीहरू उनको नजिकै नपर्ने, केटाहरूसँग उनी आफैं तर्किएर हिँड्थे। समाजबाट आफू निक्कै पर रहेको र आफू सर्वदा एक्लो रहेको अनुभूति भयो।

साथीसंगीको निरन्तर हेपाइ सहन नसकेर उनले चार कक्षाको पढाइ बीचमै हापे। लजालू थिए। संकीर्णता थपियो। के चाहियो? घरबाट निस्कनै छाडे।

समलिंगी हुनु उनको दोष थिएन। आमाबाबुको पनि थिएन। प्रकृतिको पनि थिएन। सायद एउटा योगमात्रै थियो। तर, साथीभाइ र समाजले उनलाई लामो समय दोषी बनाइरह्यो।

परिवारका कान्छो सन्तान हुन् अर्मोन्त। उनीमाथिका दुई दिदीहरू आँखा अगाडि नभएपछि आमाले अर्मोन्तलाई नै कान्छी भनेर बोलाउन थालिन्।

‘छोरीहरू एउटी सानैमा हराइन्, एउटीको मृत्यु भयो,’ अर्मोन्ततिर देखाउँदै आमा मंगलीमाया भन्छिन् ‘यो त बोल्दा नि बोल्दैनथ्यो, लजाउँथ्यो। जे भने नि खुरुखुरु मान्ने। छोरी नै जस्तो लाग्थ्यो, त्यसैले छोरी भन्थेँ।’

 
आर्मोन्तकी आमा मंगलीमाया। तस्बिरः निशा भण्डारी/सेतोपाटी

जे होस्, अर्मोन्त छोरा नभए पनि आमालाई कुनै गुनासो थिएन।

यता अर्मोन्तलाई भने आमाले छोरीभन्दा मनमनै कम्ता खुसी लाग्थेन।

‘यसै त छोरी बन्न मन लागेको, आमाले झन् छोरी भन्ने, छोरी झैं गर्ने, दंगै पर्थेँ,’ अर्मोन्त खुसी साट्छन्।

छोराको आनीबानी नियालेर बुबा गौरव राणाले भनेको सम्झिन्छन् अर्मोन्त, ‘कान्छी त केटी जस्तै बन्न खोज्छ, अब एउटा राम्री केटी खोजेर यसको बिहे गरिदिने हो।’

आफ्नो मनोभाव जानेर होइन, बुझेर पनि होइन। उनले पनि मस्किँदै मनमा लागेको कुरा बुबालाई भने, ‘नाइँ, मलाई त केटा मनपर्छ, म केटासँग पो बिहे गर्ने हो।’

बुबा हाँसे मात्र। केही प्रतिक्रिया आएन। आमालाई पनि थाहा भयो। उनले पनि आश्चर्य जनाइनन्।

‘छोरालाई जे मन लाग्छ त्यही हुन्छ नि। मलाई त खुब्बै खुसी ला’छ,’ मंगलीमायाले हाँस्दै भनिन्।

त्यसको धेरै समयपछि उनले समलिंगी, तेश्रोलिंगी, अल्पसंख्यक र भिन्न यौनिक विशेषता भएकाबारे राम्ररी बुझे। समलिंगीबारे बुझेपछि उनलाई आफ्नो अवस्थाबारे पूर्ण ज्ञात भयो। त्यसअघि उनी कुहिराको काग बनिरहेका रहेछन्। मनको तुवाँलो बिस्तारै हट्दै गयो।

आर्मोन्तशमशेर राणा। तस्बिरः निशा भण्डारी/सेतोपाटी

‘परिवारको साथ, सहयोग नपाएर भौतारिँदै हिडेका थुप्रै साथी मलाई देखेर डाह गर्छन्,’ अर्मोन्त पुलकित हुँदै सुनाउँछन्, ‘कहिलेकाहीँ त आफैंलाई आफ्नो भाग्य देखेर आरिस लाग्छ। मेरा आमाबुबाले मलाई बुझ्नुभयो। समाज पनि स्वीकार्न बाध्य भयो।’

जिस्केर होस् वा हाँसो ठट्टामा, अर्मोन्तको वास्तविकता उजागर हुँदै गयो। हाँडिगाउँ छाडेर लाजिम्पाट आइसकेका थिए। नील हिरा समाज (ब्लुडाइमन्ड सोसाइटी)को भवन देखाउँदै छिमेकी महिलाले जिस्काइन्, ‘ऊ त्याँ हेर त, त्यो घरमा तँ जस्तै मान्छे आउँछन्। तँ पनि अब त्यहीँ जा।’

ती महिलाले के भनिन् अर्मोन्तले भेउ पाएनन्। तर देखाएको घरमा कस्तो मान्छे आउन्छन् भन्ने कौतुहलता जागृत भयो। एक दिनैभरी घर अगाडि बसेर हेर्दा केही पुरुष भित्र छिरे। एकै छिनपछि महिलाको भेषमा बाहिरिए।

‘एकछिन त म अचम्म परेँ, केटा मान्छे कसरी केटी बन्यो?’ अर्मोन्त सुनाउँछन्, ‘तर आफूलाई पनि त्यस्तै बन्न मन लागेको हो भन्ने चाहिँ छर्लंग भएँ।’

गत जेठबाट उमेर २५ नाघ्यो। केही वर्षअघि मन मिल्ने मान्छे भटे। समलिंगी पुरुषसँगै बिहे गरे। आमाबुबाको खुसी दोब्बर भयो।

 
आर्मोन्तशमशेर राणा र उनकी आमा मंगलीमाया। तस्बिरः निशा भण्डारी/सेतोपाटी

समाजले के भन्ला भन्ने पीर छैन, आमाछोरा दुवैलाई। डेढ वर्षअघि बुबाको मृत्यु भयो। जीवित हुन्थे भने उनी पनि उस्तै खुसी हुँदा हुन्। छोराको आड भरोसा बन्दा हुन्। सम्झिँदै पनि दुखी देखिन्छन् अर्मोन्त।

‘छोरा भए पनि आफ्नै हो, छोरी भए पनि आफ्नै,’ मंगलीमाया निर्धक्क सुनाउँछिन्, ‘अरुले जे सुकै भनोस्, बुढाले पनि कहिल्यै दुःखी मन गरेनन्।’

नियमित, निरन्तर आफ्नो पहिचानसँग जुझ्दै आएका आर्मोन्त अहिले अभियन्ता भएका छन्। समयअन्तरालमा नील हिरा समाजसँगै जोडिए। आफूजस्तै ठूलो जमात देखेपछि संघर्ष गर्ने साहस बढेको छ। हिजो आफ्ना लागि लड्थे। आज अरूका लागि लड्ने भएका छन्।

‘मेरा आमाबुबाले पढ्न पाउनुभएन, तै पनि मलाई बुझ्नुभयो,’ अर्मोन्त भन्छन् ‘पढेलेखेका, बुझेका परिवारले नै आफ्ना सन्तान स्वीकार्न मान्दैनन्। घरबाट निकाल्छन्, मरोस् भनेर छाडिदिन्छन्, समाजको तितो यथार्थ यही हो।’

साभार : सेतोपाटी